काठमाडौं - नेपाल फार्मेसी परिषदले पहिलो पटक प्रदेश स्तरीय लाइसेन्स परीक्षा सञ्चालन गर्ने भएको छ।
कोरोना महामारीका कारण प्रभावित भएको परीक्षा असोज १० गतेदेखि प्रदेशस्तरीय सञ्चालन गर्ने भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड १९ सम्बन्धी सुरक्षा निर्देशिका अनुसार परीक्षा सञ्चालन गर्न लागिएको परिषदले जनाएको छ।
असोज १० गते बागमती प्रदेशको काठमाडौंमा, १४ गते प्रदेश ५ को बुटवलमा, १७ गते कर्णाली र सुदूरपश्चिम प्रदेशको नेपालगञ्जमा परीक्षा सञ्चालन हुनेछ। यस्तै, असोज २० गते प्रदेश १ को विराटनगरमा, २३ गते गण्डकी प्रदेशको पोखरामा र २७ गते प्रदेश २ को जनकपुरमा परीक्षा सञ्चालन हुने परिषदले जनाएको छ।
परीक्षाको प्रवेश पत्र असोज ६ गतेबाट वितरण गरिने परिषदका रजिष्ट्रार सञ्जिव पाण्डेले बताए।
काठमाडौंमा एकै पटक परीक्षा सञ्चालन गर्दा कोरोनाको जोखिम हुने भएकाले प्रदेश अनुसार परीक्षा सञ्चालन गर्न लागेको उनले बताए। १५ औं लाइसेन्स परीक्षामा ब्याचलर फार्मेसी तर्फ ७ सय ४ र डिप्लोमा फार्मेसी तर्फ ९ सय ३ गरी १ हजार ६ सय ७ जना फर्मासिस्ट सहभागी हुँदैछन्।
लकडाउन र कोरोना महामारी नभएको भए फार्मेसी परिषदको परीक्षा चैत र साउनमा सञ्चालन हुन्थ्यो। परिषदले ४/४ महिनाको अन्तरालमा वर्षको तीन पटक लाइसेन्स परीक्षा सञ्चालन गर्दै आएको छ।
हाल फार्मेसी ब्याचलर गर्ने ४ हजार ४७ र डिप्लोमा गर्ने ८ हजार फर्मासिस्ट काउन्सिलमा दर्ता भएका छन्।