काभ्रे– धुलिखेल अस्पताललमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। पनौती नगरपालिका–५ चौकोटकी ५० वर्षीया महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको हो। योसहित काभ्रेमा कोरोना संक्रमित तीन महिला र दुई पुरुष मृत्यु भइसकेको छ।
कोरोना संक्रमण पुष्टि भएपछि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा १९ दिनपछि ती महिलाको मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए। उनका अनुसार आमाशयको क्यान्सर रोगी महिलाले धुलिखेलमा उपचार गर्न आउनुअघि काठमाडौं मेडिसिटी अस्पतालमा ‘केमो’ लिने गरेकी थिइन्।
हालसम्म काभ्रेपलाञ्चोकका ४६९ मा कोरोना संक्रमण देखिएको छ। पोष्टका अनुसार कूल संक्रमितमध्ये पाँच जनाको मृत्यु भएको छ भने ३१२ जना उपचारपछि घर फर्किएका छन्। एक सय ५३ सक्रिय संक्रमितमध्ये ९४ जना अस्पतालको आइसोलेसनमा र ६७ जना होम आइसोलेसनमा उपचाररत छन्। रासस