काठमाडौं - जानकी मेडिकल कलेज शिक्षण अस्पतालका आन्दोलित कर्मचारीहरुको माग सम्बोधनका लागि कार्यदल गठन गर्ने सहमति भएको छ।
आन्दोलित कर्मचारी, नेपाल स्वास्थ्यकर्मी संघ र अस्पतालका प्रशासनबीच भएको छलफलमा समस्या समाधानका लागि कार्यदल गठन गर्ने सहमति भएको हो। सहमति भएसँगै उनीहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन्।
कलेजबाट २ जना, संघर्ष समितिबाट २, नेपाल स्वास्थ्यकर्मी संघ धनुषाका स्वास्थ्यकर्मी र ट्रेड युनियनको तर्फबाट प्रतिनिधि रहने गरी कार्यदल गठन गर्ने सहमति भएको नेपाल स्वास्थ्यकर्मी संघ धनुषाका अध्यक्ष राम गुलाम कर्णले जानकारी दिए। उक्त कार्यदल यही मंसिर १७ गतेभित्र गठन गरिनेछ।
गठित कार्यदले सबै समस्या माथि छलफल गरी समाधान खोज्ने निर्णय भएको उनले बताए। अस्पतालले श्रम शोषण तथा ज्यादती गरेको भन्दै कार्तिक १६ गतेदेखि आमरण अनसनमा बसेका दुई कर्मचारीले पनि आफ्नो अनसन पनि तोडेका छन्।
आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएसँगै अस्पतालका सबै सेवाहरु पुनः सञ्चालनमा आएको कर्णले जानकारी दिए। आन्दोलन थालेको महिनौ बितिसक्दा पनि अस्पताल प्रशासनले बेवास्ता गरेपछि नेपाल स्वास्थ्यकर्मी संघ धनुषाले आन्दोलित कर्मचारीको माग पुरा गर्न अस्पताललाई ७२ घण्टे अल्टिमेटम दिएका थिए।
शुक्रबारसम्म आन्दोलित कर्मचारीहरुलाई वार्तामा नबोलाए विरोधका कार्यक्रम ल्याउन बाध्य हुने उनीहरुको चेतावनी थियो।
अस्पतालले नियमित तीन महिनादेखिको तलब, ६ वर्षको सञ्चय कोष, २०७५ सालको चैत र वैशाख महिनाको तलब नदिएको भन्दै जानकी मेडिकल कलेजका कर्मचारीहरु गत असोज १२ गतेदेखि आन्दोलनमा थिए।
आन्दोलित कर्मचारीले असोज १२ गतेदेखि नै अस्पतालको इमरजेन्सी बाहेक अन्य सबै सेवा ठप्प पारेका थिए।
इमरजेन्सी, आइसियु, ओटी, क्लिनीकल प्याथोलोजी ल्याब, एक्सरे लगायतको फ्रन्टलाइनमा काम गर्ने कर्मचारीहरुलाई पिपिई, केएन ९५, सेनिटाइजर उपलब्ध गराउन, सम्पूर्ण कर्मचारीको जीवन बिमा र जोखिम भत्ता उपलब्ध गराउनुपर्ने तथा पिसिआर परीक्षण गराउनुपर्ने लगायत माग उनीहरुको छ।