चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको नेसनल सेन्टर फर हेल्थ प्रोफेसन एजुकेसनमा रहेको ग्लोबल हेल्थ युनिटले संचालन गर्दै आएको ग्लोबल हेल्थ कोर्सको तेस्रो राष्ट्रिय ग्लोबल हेल्थ कोर्स – २०१७ यहि नोभेम्बर १२ देखि १९ सम्म सम्पन्न भयो । यसमा विभिन्न विधा जस्तै चिकित्सा, जनस्वास्थ्य, आयुर्वेद, भेटेनरी, आदिका स्वास्थ्यकर्मीहरु सहभागी भएका थिए । आवेदन फर्म भरेका मध्ये सर्टलिस्ट गरी 9 मार्फत् ३० जनालाई छानिएको थियो । त्यहाँ जनस्वास्थ्य विधाका सहभागी मध्ये म पनि थिए । यो कोर्समा सहभागी भएपछि एउटा ठूलो धोको पूरा भए जस्तो लग्यो ।
ग्लोबल हेल्थ कोर्स बारे
यो एउटा बहुविधागत ट्रेनिङ प्रोग्राम हो, जसलाई फिनल्याण्डको विदेश मामिला मन्त्रालयले मुख्य रुपमा आर्थिक सहयोग गर्छ । यो कोर्स फिनल्याण्डबाट संयोजित भएपनि यसको नेटवर्कमा एसिया, अफ्रीका र ल्याटिन अमेरिकाका विभिन्न देशमा रहेका स्वास्थ्य सम्बन्धि संस्थाहरु पर्दछन । फिनल्याण्डमा सन् २००१ देखि २००७ सम्म पाँचचोटी ग्लोबल हेल्थको डिप्लोमा कोर्स सम्पन्न भएको थियो । तत्पश्चात ट्यामपेरे विश्वविध्यालयले लगातार तिन वर्षसम्म यहही कोर्स संचालन गरियो । फिनल्याण्ड बाहेक तान्जानियामा सन् २००८ र २०१४ अनि फिलिपिन्समा सन् २००९ र २०१४ मा पनि यो कोर्स संचालन भएको थियो । सन् २००९ मा नेपालबाट चिकित्सा शास्त्र अध्ययन संस्थान पनि यसको सदस्य भयो र सन् २०१०, २०११ र २०१३ मा भएको उक्त कोर्समा सहभागी पनि भयो । फिनल्याण्डमा फिनिस मेडिकल सोसाइटी यसको मुख्य संयोजक अंग हो ।
नेपालमा सर्वप्रथम सन् २०१३ मा चार हप्ते अन्तरास्ट्रिय स्तरको डिप्लोमा ग्लोबल हेल्थ कोर्स संचालन गरिएको थियो । पुनः सन् २०१५ मा तिन हप्ते अन्तरास्ट्रिय स्तरको सो कोर्स सम्पन्न भएको थियो । त्यस बाहेक राष्ट्रिय स्तरको पनि दुइवटा कोर्स सन् २०१६ सम्ममा सम्पन्न भईसकेको थियो । यस वर्ष (२०१७) को यो एक हप्ते कोर्सको मुख्य विषय ‘मातृ तथा बाल स्वास्थ्य’ रहेको थियो । यो कोर्सको मुख्य उद्देश्य ग्लोबलाईजेसनले स्वास्थ्यमा पार्ने असर र अन्य विश्वस्तरीय मुद्दाहरुको बारेमा स्वास्थ्य व्यवसायिहरु तथा विद्यार्थीहरुलाई तालिम दिने रहेको छ ।
राष्ट्रिय ग्लोबल हेल्थ कोर्स – २०१७
यस एक हप्तामा पहिलो चार दिन सैद्धान्तिक र त्यसपछिको दुई दिन भ्रमणात्मक अध्ययन गराईएको थियो । प्रथम दिन उद्घाटन समारोह बाहेक ग्लोबल हेल्थ र कुपोषणलाई कसरी सामना गर्ने सम्बन्धि सत्रहरु भएका थिए । त्यसैगरी दोस्रो दिन स्वास्थ्य सेवामा समता, नेपालमा भएको खोप कार्यक्रमको उपलब्धि र भावी कार्यक्रमहरु, स्वास्थ्य प्रणाली र विभिन्न स्वास्थ्य वित्तीयका नमुनाहरु र स्वास्थ्यका सामाजिक निर्धारकहरु सम्बन्धि सत्रहरू भएका थिए । तत्पश्चात, तेस्रो दिन स्वास्थ्यमा विश्वब्यापी पहुँच, दीगो विकास लक्ष्य, बाल स्वास्थ्यको राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तिथि र चुनौतीहरु, विकासोन्मुख राष्ट्रहरुमा किशोरकिशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि अधिकारहरु र ग्लोबल हेल्थ सम्बन्धि नैतिकता तथा व्यावसायिकता सम्बन्धि सत्रहरू भएका थिए । त्यसै गरी चौथो दिनमा ग्लोबलाईजेसन र त्यसले स्वास्थ्यमा पार्ने असर, स्वास्थ्य सम्बन्धि सूचकहरू, प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्व र जेलमा भएका बच्चाहरूको विकासमा काम गर्ने सम्बन्धि सत्रहरू भएका थिए । पाँचौं दिन माइती नेपाल र समाज कल्याण केन्द्रको पशुपति बृद्धाश्रम र छैठौं दिन नेपाल परिवार नियोजन संघको केन्द्रीय कार्यालय र त्यसको जडिबुटी शाखाको अध्ययन भ्रमण गर्यौं । अन्तःमा सातौं दिन या नि समापन हुने दिनमा हामी सहभागीहरुले भ्रमनात्मक अध्ययनबाट गरेको सिकाई सम्बन्धि प्रस्तुति गर्यौं । त्यसपछि सहभागीहरूको, कोर्सको र सैद्धान्तिक सत्रहरूमा अध्यापन गराउने विज्ञहरुको मूल्यांकन गरियो । सो पछि प्रमाणपत्र बाडेर यो कोर्स सकियो । यस बाहेक छैठौं दिनको राती, ललितपुरको अगेनो द हेस्टिया रेस्टुराँमा रात्रिभोजको समेत आयोजना गरिएको थियो । सो कार्यक्रममा हामी सहभागीहरु नाचगान गरी रमाइलो गरेका थियौं ।
मन परेको कुरा
विभिन्न विधाका विभिन्न संस्था संग आबद्ध स्वास्थ्यकर्मीहरु सहभागी थिए । जसले गर्दा विभिन्न क्षेत्रका अनुभवहरु आदानप्रदान भयो । पहिले पढिएकै कुराहरुलाई फरक परिपेक्ष र दृष्टिकोणबाट हेर्ने मौका पाईयो । यसमा सहभागी भए पश्चात सहभागीहरु स्वतः ग्लोबल हेल्थ अलुमुनी भएका छन् ।
जे सिकियो
स्वास्थ्य प्रर्वर्द्धनको लागि समग्र विकास अति आवश्यक हुन्छ । हामीले सामान्यतया हेर्ने रोगका कारणहरु समीपस्थ कारणहरु हुन् । त्यसको मूल कारण विभिन्न सामाजिक तथा आर्थिक कारणहरू हुन्छन् । जस्तै गरिबी, अशिक्षा, सामाजिक असमता, नीतिगत व्यवस्था, आदि । उही रोग लागेको एक जना मर्छ तर अर्को एक जना बाँच्छ । यस पछाडी के कुराले भूमिका खेलेको हुन्छ भन्ने कुरा बुझ्न अति अवश्यक छ । उक्त मूल कारणहरूको निर्क्योल नभए सम्म स्वास्थ्यमा चाहिएको सुधार ल्याउन गार्हो हुन्छ । एउटा समस्या समाधान गर्न नपाउदै अर्को समस्या आइदिन्छ ।
संसारको एक कुनामा भएको स्वास्थ्य सम्बन्धि अध्ययन, उपलब्धि, नीतिनिर्माण र अन्तरास्ट्रियस्तरमा हुने सन्धि, सम्झौता इत्यादीले संसारको अरु भागमा समेत प्रभाव पार्दछ । आर्थिक ग्लोबलाईजेसन र राजनैतिक तथा कुटनैतिक सम्बन्धहरुले समेत स्वास्थ्य सम्बन्धि निर्णयहरुलाई प्रभावित गर्दछ ।
स्वास्थ्यमा विश्वब्यापी पहुँचको लागि आर्थिक लगानी मात्रै गरेर हुन्न । स्वास्थ्यमा समता ल्याउन स्वास्थ्यबाहेकका अन्य क्षेत्रमा समेत लगानी गर्नु पर्छ । गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको लागि उपयुक्त पुर्बाधार, पर्याप्त दक्ष स्वास्थ्यकर्मीहरु र आर्थिक लगानीको उचित व्यवस्थापन र पारदर्शिता हुनु आवश्यक हुन्छ । स्वास्थ्य सेवा सर्वसुलभ रुपमा पुर्याउन आधुनिक प्रविधिहरुको समेत उचित उपयोग गर्न सक्नुपर्दछ ।
केही सुझाव
कोर्स एकदमै राम्रो भए पनि यसलाई अझ राम्रो र प्रभावकारी बनाउन यसको अबधि अझै बढाउनुपर्ने र यसलाई आवासीय बनाउनुपर्ने करिब सबै सहभागीहरुको सुझाब थियो । यस बाहेक कोर्सको केंही सत्रहरुमा समूह छलफल नभएको र पर्याप्त अध्यनात्मक स्रोत सामग्री उपलब्ध गरईएको थिएन । हुन त आयोजक तर्फबाट बजेट र समय अभावको कारणले यस्तो भएको बताईयो । अझ ग्लोबल हेल्थमा चाहिने केही विषयहरु जस्तै वन हेल्थ, प्लानेटरी हेल्थ, क्लाइमेछ च्यान्ज, इन्टरनल हेल्थ पार्टनरसीप (जुन अहिले ‘युएचसी २०३०’ मा परिणत भएको छ) आदि समाबेश गरिएको थिएन । ती विषयहरु पनि समाबेस गरी मातृ तथा बाल स्वास्थ्यसँग सम्बन्धित गराएको भए अझ राम्रो हुन्थ्यो होला ।
समग्र रुपमा यो कोर्स मलाई राम्रो लग्यो र अन्य सहभागीहरुलाई समेत राम्रो लागेको महसुस गरेको छु । यस कोर्सको माध्यमबाट थुप्रै नयाँ साथीहरु पनि बनाईयो । यो कोर्सको आयोजक, मलाई बिदा उपलब्ध गराई यस अध्ययनमा सहयोग गर्ने म कार्यरत संस्था (नेपाल जनस्वास्थ्य प्रतिष्ठान), हामीलाई सिक्न मद्दत गर्ने सम्पूर्ण विशेषज्ञहरु र सम्पूर्ण सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । ग्लोबल हेल्थको बारेमा थाहा पाइसकेपछि स्वास्थ्य सम्बन्धि घटनाहरुलाई पुरानो दृष्टिले हेर्नुको सट्टा नयाँ दृष्टिले हेरिन्छ । उक्त कोर्सको अनुभवले मलाई मेरो कार्यक्षेत्रमा अवश्य सहयोग गर्नेछ भन्ने विश्वास लिएको छु ।