काभ्रे– सावित्रीदेवी स्मृति प्रतिष्ठानले स्वास्थ्य र सामाजिक सुधारका क्षेत्रमा सक्रिय व्यक्तिहरुलाई सम्मान गरेको छ। प्रतिष्ठानले बुधबार पनौती आईटी पार्कअघि रहेको लोटस इभेन्टमा आयोजित विशेष समारोहमा स्वास्थ्य स्वयंसेविकादेखि लिएर समाजसेवीलाई सम्मान गरेको हो।
प्रतिष्ठानको कार्यक्रममा माईती नेपालकी संस्थापक अध्यक्ष तथा सिएनएन हिरो अनुराधा कोइरालाको हातबाट सम्मान र पुरस्कार प्रदान गरिएको छ।
प्रतिष्ठानले कोइरालाको हातबाट पनौती–११ बल्थलीकी स्वास्थ्य स्वयंसेविका मनकुमारी लामालाई नगद रु १५ हजारसहित सम्मान गरेको छ।
सामान्य पढाई विकट गाउँको हुर्काईपछि ग्रामीण स्वास्थ्य कार्यकर्ता बनेर स्वयसेविका बनेर उनले गाउँमा विशेष गरेर तामाङ समुदायमा स्वास्थ्यको सचेतना जगाउने काम गरेकाले लामालाई सम्मान गरिएको हो । उनलाई पनौती नगरपालिकाको स्वास्थ्य शाखाको सिफारिसमा सम्मान गरेको हो।
प्रतिष्ठानका अध्यक्ष रामईन्द्र न्यौपानेका अनुसार समुदायस्तरमा पुगेर स्वास्थ्य क्षेत्रमा योगदान गर्ने स्वयंसेविकाहरुलाई स्वास्थ्यखबर पत्रिकाले विगत १२ वर्षदेखि प्रदान गर्दै आइरहेको हेल्थ अवार्डबाट प्रभावित भएर नै स्वयंसेविकालाई सम्मान गरिएको जानकारी दिए।
कार्यक्रममा अनिस्मा तामाङलाई दश हजार नगद सहित सम्मान गरिएको छ। भक्तपुरको बागेश्वरी माविमा कक्षा १२ अध्ययनरत अनिस्माको भविष्यमा चार्टर्ड एकाउन्टेन्ट बन्ने लक्ष्यलाई सहयोग पुगोस् भन्ने उद्देश्यले सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष न्यौपानेले बताए।
सोही कार्यक्रममा खोपासीका सामाजिक अभियान्ता भरतप्रसाद शर्मालाई नगद रु २५ हजार र समुदायमा उल्लेखनीय सहयोग पुर्याउने डा आशिष लामिछानेलाई पनि नगद रु २५ हजारले सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै अनुराधा कोइरालाले समाजमा लागुऔषधको समस्या बढ्दै गएकोमा चिन्ता व्यक्त गरिन्। उनले विशेष गरी डिस्को, बार र क्लबहरूमा हुने यस्ता गतिविधिमाथि सरकारले ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिइन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यलाई उनले यस विषयमा सरकारको ध्यानाकर्षण गराउन अनुरोध गरिन्।
कार्यक्रममा पनौती नगरपकालिकाका प्रमुख रामशरण भण्डारी, डा राजेन्द्र कोजू, नेपाली कांग्रेसका नेता मधुप्रसाद आचार्य, युवा अभियन्ता भुषण श्रेष्ठ, ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी लगायतले सावित्रीदेवी प्रतिष्ठानले समाजमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए। प्रतिष्ठानले खोपासीका ज्येष्ठ नागरिकहरूका लागि स्वास्थ्य सामग्रीसमेत हस्तान्तरण गरेको छ। युवा अभियन्ता भुषण श्रेष्ठले प्रतिष्ठानलाई नगद रु २५ हजार सहयोग गरेका छन्।