करिब १ वर्षअघि एउटा विद्यालयमा आयुर्वेद तथा योगको दैनिक जीवनमा उपयोग सम्बन्धी प्रस्तुति दिँदा एक विद्यार्थीले प्रश्न गरे, 'सर, यो योग-आयुर्वेद हाम्रै देशमा उत्पति भएको भन्नुहुन्छ तर हामी युरोपमा जन्मिएको एथलेटिक्स र फिजिकल ट्रेनिङ मात्र व्यवहारमा लागू गर्छौं, किन हो?'
प्रश्न गम्भीर थियो। भनें, 'राम्रो कुरामा सबको ध्यान जानु स्वभाविक हो। तर जुन कुरा धेरै राम्रो हुन्छ, त्यसलाई थोरै मात्रले बुझ्न र चिन्न सक्छन्। आज तिमी ती सीमित मान्छेभित्र परेका छौं। जसले धेरै राम्रो कुराको खोजी गरेका छौ।'
उत्तर दिँदै गर्दा कता-कता असन्तुष्टि पनि प्रकट भयो। सायद हाम्रै क्षेत्रका मान्छेको कमजोरी होला विद्यार्थीलाई बुझाउन नसक्नु। त्यसपछि मैले उपत्यका र बाहिरका केही कलेज र स्कुलमा गएर योग र आयुर्वेदले हाम्रो दैनिकीमा के-कस्तो भूमिका खेल्न सक्छ भन्ने विषयमा प्रस्तुति दिने क्रमलाई तीव्र बनाउँदै गएँ।
हामीले यसलाई अभियानकै रुपमा लिएर अघि बढ्ने प्रण गर्यौं र 'डे टु डे आयुर्वेद' नामबाट आयुर्वेद र योगलाई विद्यार्थीमाझ लगिरहेका छौं।
'प्रिभेन्सन इज बेटर देन क्योर'लाई कण्ठ परेका स्कुलका विद्यार्थीलाई हामीले दैनिक व्यवस्थापनमा पूरा गर्नुपर्ने नियम, आहार, बिहार, नैतिक ज्ञानका माध्यमबाट सु-शिक्षित गर्ने अवसर मिलिरहेको छ। ऋतु अनुकुलका आहार, बिहार, हाम्रो शरीरलाई चाहिने सोही अनुसारको परिवर्तन, आफ्नै घर वरिपरि पाइने जडीबुटीको प्रयोग, आसन-प्राणायामजस्ता विषय विद्यार्थीले निकै रुचिपूर्वक अध्ययन गर्न चाहेको हामीले भेट्यौं। हामीले विद्यार्थीमाझ आयुर्वेद र योगमा रहेका कुरा समावेश गरेर स्वस्थ्य रहने उपाय सुझाउने गरेका छौं।
विद्यार्थी अवस्थामा देखिने समस्या (जस्तैः कमजोर स्मरण शक्ति, कमजोर दृष्टि, टाउको दुखाइ, तनाव, मनको चञ्चलता, समयमा सुत्ने-उठ्ने बानीको विकास आदि) समाधानको विकल्प योग हो। सानै उमेरदेखि विद्यार्थीलाई यी कुरा सिकाउन सके उनीहरुको 18मा परिवर्तन हुने संकेत देखिन्छ। विभिन्न अनुसन्धानबाट प्रमाणित भएको योग विज्ञानलाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा समेत विश्व समुदायले मनाउनुले यसको व्यापकता र सान्दर्भिकता पुष्टि हुन्छ।
हामीले योग र आयुर्वेदका कुरा गर्दैगर्दा हाम्रो भविष्यमा देखिने नसर्ने रोग र 18मा देखिने समस्या समाधानका लागि पूर्वतयारी गरिरहेका छौं भन्ने बिर्सनु हुँदैन। 'अ चाइल्ड इज फादर अफ अ मेन' भन्ने भनाई निकै चर्चित छ, किनकि एक बालक आफ्नो परिवार तथा समाजको शिक्षक पनि हो र भविष्यको अभिभावक पनि। यसकारण आज हामीले गरेका संकल्पले भोलिको कुशल पुस्ता निर्माणमा जग बसाल्ने देखिन्छ। स्वास्थ्यका खातिर गरिने योग र आयुर्वेदको अभ्यासले देशको स्वास्थ्य क्षेत्रमा पर्ने भारलाई नियन्त्रण मात्र नभएर सभ्य समाजको परिकल्पना समेत गर्न सकिन्छ। किनकि योग जीवनको अनुशासन हो भने आयुर्वेद शैली।
मानसिक, सामाजिक र शारीरिक सबै अंगमा योगले आफ्नो प्रभाव देखाउँछ। सन् २०१२ मा प्रकाशित 'जर्नल अफ बिहेबिअरल हेल्थ एन्ड रिसर्च'का अनुसार योग प्रयोगमा ल्याइएका विद्यालयका बच्चाहरुमा कक्षामा कम हल्ला गर्ने, अरुलाई प्रोत्साहन गर्ने, आत्मविश्वासी जस्ता महत्वपूर्ण गुण भेटिएको थियो। यही नतिजाका आधारमा युरोपका विभिन्न देशका विद्यालयमा योग शिक्षा अनिवार्य गरिएको छ।
हाम्रै छिमेकी देश भारतमा सन् २०१५ देखि कक्षा ६-१० सम्म योगलाई पाठ्यक्रममा समावेश गरी ८० अंकको प्रयोगात्मक परीक्षाका लागि अनुमति दिइएको छ। साथै, भारतमा राष्ट्रिय योग प्रतियोगिताको समेत आयोजना गरिन्छ, जसलाई भारतभरका विद्यालयबाट प्रतिनिधित्व गरेका विद्यार्थीले पर्वका रुपमा मनाउँछन्।
तसर्थ विद्यालय योग तथा आयुर्वेद शिक्षा कार्यक्रम एक दूरदर्शी सोच हो। साथै, स्वस्थ र सम्मुनत समाजका साथै हाम्रो संस्कृतिको पहिचानको अभियान पनि हो। यो अवधारणामा रहेर संघीय नेपालमा योग र आयुर्वेदलाई विद्यालयस्तरकै पाठ्यक्रममा लागू गर्न सके नेपाललाई पनि संसारले योगको जन्मभूमिका रुपमा चिन्नेछ। हाम्रा भविष्यका कर्णधारले पनि यही गौरवलाई आत्मसात् गर्दै राष्ट्रलाई तन, मनदेखि सेवा गर्ने सक्नेछन्।
(डा खनाल नेपाल आयुर्वेद विद्यार्थी संघका अध्यक्ष हुन्)