अधिकांशले दाँत ब्रस गर्दा रगत आउनुलाई सामान्य ठान्ने गरेको पाइन्छ। तर, हात खुटा धुँदा रगत नआएजस्तै दाँत ब्रस गर्दा पनि रगत आउनु हुँदैन। गिजाबाट रगत आउनु भनेको ‘पेरियोडेन्ट’ (गिजारोग) को पहिलो लक्षण हो। केही टोक्दा दाँतबाट रगत आउँछ भने त्यसलाई ‘इन्फेक्सन’ भनेर बुझ्नुपर्छ।
हामी दाँत सिरिङ्ग भयो, दुख्यो भने मात्र दत्त चिकित्सककहाँ जान्छौं। तर पेरियोडेन्ट दुख्ने किसिमको रोग होइन। त्यसैले मानिसले यसलाई बेवास्ता गर्छन्।
यो रोग लागेको १०औं वर्षसम्म पनि मानिस डक्टरकहाँ पुग्दैनन्। यदि पुगिहाले पनि डक्टरले तपाईंलाई गिजाको रोग लागेको छ, उपचार गर्नुपर्छ भन्दा विश्वास गर्दैनन्। हुन पनि नदुखेपछि कसले विश्वास गर्छ र। किनकि नेपाली समाज भनेको त बिरामी भएर हिँड्नै नसक्ने भएपछि मात्र अस्पताल जानुपर्छ भन्ने मानसिकताबाट ग्रसित छ।
ब्रस गर्नुपर्छ भन्ने त सबैलाई थाहा छ, तर दाँतको बीचबीचमा पनि ब्रस गर्नुपर्छ, फ्लस गर्नुपर्छ भन्ने कमैलाई थाहा हुन्छ।
९० प्रतिशत मानिसको ब्रस गर्ने तरिका मिलेको हुँदैन। ब्रस गर्ने तरिका नमिलेपछि फोहोर अड्किन्छ। नेपालमा विकसित देशमा जस्तो ६–६ महिनामा डक्टरकहाँ गएर दाँत चेकअप गर्ने चलन पनि छैन।
स्वस्थ गिजाले दाँतको जरालाई छोपेको हुन्छ र हड्डी कसेको हुन्छ। अस्वस्थ गिजालाई ‘जिन्जबाइटिक्स’ भनिन्छ, त्यहाँ गिजा रातोरातो हुन्छ। त्यति नै बेला डक्टरकहाँ गएर सफाइ गर्यो भने ठिक हुन्छ।
तर, हामी सफाइ पनि गर्दैनौं। जब फोहोर गिजा भित्रभित्र जान्छ तब दाँतको हड्डी खिइन थाल्छ। हड्डी खिइँदै गएको २–४ वर्षसम्म थाहै हुँदैन, १०–१५ वर्षपछि थाह पाउँदा हड्डी खिइएर दाँत हल्लिन थालिसकेको हुन्छ।
त्यसरी हड्डी खिइएर दाँत कमजोर भएपछि दाँत निकाल्नुको विकल्प हुँदैन। त्यसपछि ‘इम्पलान्ट’ गरेर कृत्रिम दाँत राखिन्छ जुन प्राकृतिक दाँतजस्तो कदापि हुँदैन। त्यसैले ब्रस गर्दा गिजाबाट अलिकता पनि रगत आएको छ वा सास गह्नाएको छ भने बेलैमा उपचार गराउनुपर्छ।
धेरै डक्टरको दाँत चेकअप गर्दा गिजालाई हेर्ने बानी हुँदैन। दाँत परीक्षण गर्दा किराले खाएको, भाँचिएको भन्ने गरे पनि गिजा हेर्ने चलन छैन। तर, गिजा भनेको दाँतको जग हो। त्यसैले दाँत गिजादेखि नै राम्रो र स्वस्थ हुनुपर्छ।
डाक्टरले पनि दाँतलाई माथि किराले खाएको मात्र हेरेर हुँदैन। किराले खाएको दाँतमा ‘फिल’ गर्नुपर्छ भन्ने सबैलाई थाहा हुन्छ तर गिजाको उपचार गर्नुपर्छ भन्ने धेरैले ख्याल गर्दैनन्। गिजाको रोग लाग्नलाई उमेरले फरक पारेको हुँदैन, कोही ९० वर्षका मानिसको पनि दाँत र गिजा स्वस्थ हुन्छ, कोही २० वर्षकै युवाको दाँत झरिसकेको हुन्छ। यो उमेरले होइन, दाँतमा फोहोर जम्दै गएपछि लाग्ने रोग हो।
दाँत ब्रस गरेर मात्र हुँदैन, ब्रस गर्दा ६० प्रतिशत मात्र सफा हुन्छ। त्यसैले ब्रस सँगसँगै डेन्टल फ्लस, इन्टर डेन्टल ब्रस वा टुथ पिकले सफा गर्नुपर्छ।
गिजा अस्वस्थ छ भने मिर्गौला, मुटुजस्ता अंगमा पनि संक्रमण हुन सक्छ।
गर्भवती महिलामा हर्मनले गर्दा गिजाको रोग लाग्न सक्छ। गर्भावस्थामा एक्सरे गर्न र औषधि प्रयोग गर्न मिल्दैन, त्यसैले गर्भवती हुनुपूर्व एकपटक गिजा र दाँतको चेक गराउनुपर्छ। गर्भवती महिलामा गिजाको रोग छ भने समयभन्दा पहिले नै कम तौल भएको बच्चा जन्मिन सक्छ।
के कारणले लाग्छ रोग?
– सरसफाइको कमी,
– दाँतको उपचार गर्ने तर गिजाको उपचार नगर्ने बानी,
– हर्मोनको गडबढी,
– खाना खाएपछि कुल्ला नगर्ने बानी,
– दाँतको ‘डिप’ सफा नहुँदा,
– धूमपानले गर्दा गिजामा हुने इन्फेक्सन (धूमपान गर्ने मानिसलाई नगर्ने मानिसभन्दा ७ गुणा बढी इन्फेक्सन हुन्छ),
– ब्लड सुगर नियन्त्रणमा नहुँदा,
– दाँत सफा नगर्ने बानी,
– परिवारमा कसैलाई गिजा सम्बन्धी रोग छ भने अन्यलाई सर्ने सम्भावना, आदि।
गिजारोग लाग्न नदिन के गर्ने?
– गिजा र दाँत सफा गर्न दिनमा दुई पटक ब्रस र फ्लस गर्ने।
– कार्बोहाइड्रेड भएकोे खाना खाएपछि कुल्ला गर्ने बानी बसाल्ने।
– कुनै बेला दुई दाँतको बीचमा खानाका टुक्रा फसिरहेको हुन्छ, जसले गर्दा मुखमा गम्भीर असर पर्छ। त्यसका लागि प्रत्येक पटक खाना खाएपछि फ्लसिङ वा कुल्ला गर्नुपर्छ।
– सास गह्नाउने र ब्रस गर्दा रगत आउने भयो भने गिजा स्वस्थ नहुन सक्छ। त्यसैले दन्त चिकित्सकसँग सल्लाहा गर्नुपर्छ।
– हरेक ६–६ महिनामा दाँत परीक्षण गराउने।
– धूमपान र सुर्ती सेवन गर्नु हुँदैन।
उपचार र बच्ने उपचार
पहिलो चरणमै बिरामी आए भने एउटा सुइ पनि लगाउनुपर्दैन। अचेल गिजाको ‘फ्ल्याप सर्जरी’ हुन्छ। त्यसमा गिजालाई सुइ दिएर खोलेर सफा गरिन्छ। यस्तै ‘लेजर’बाट पनि गिजाको सफाइ हुन्छ।
गिजाको रोगको उपचार त्यति गाह्रो छैन। पहिलो त ‘डिप’ सफाइ नै हो। ब्रस राम्रोसँग गर्नुपर्छ, नजानेको भए चिकित्सकसँग सिक्ने पनि सकिन्छ। बेला–बेलामा दत्त चिकित्सकसँग परीक्षण गर्ने। दिनमा दुई पटक ब्रस गर्ने, इन्टर डेन्टल ब्रसले सफा गर्ने र फ्लस गर्ने।
खाना वा गुलियो चिज खाइसकेपछि कुल्ला गर्ने बानी बसाले हामी यो रोग लाग्नबाट जोगिन सक्छौं।
(डा सिंह पेरिओडोन्टोलोजी एन्ड ओरल इम्प्लान्टोलोजीकी अध्यक्ष हुन्)