आजको डिजिटल युगमा मोबाइल, ट्याब्लेट, टेलिभिजन र कम्प्युटर बालबालिकाको जीवनशैलीमा अभिन्न जस्तै बनिसकेको छ। यीनै उपकरणहरूसँग बिताएको समयलाई स्क्रिन टाइम भनिन्छ।
सुरुमा यस्तो रमाइलो लाग्न सक्ने यी उपकरणहरूको अत्यधिक प्रयोगले बच्चाको भाषा विकास, ध्यान, निद्रा, सामाजिक व्यवहार र मानसिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ भन्ने कुरा वैज्ञानिक अनुसन्धानहरूले प्रमाणित गरिसकेका छन्।
स्क्रिन टाइम भनेको के हो?
कुनै पनि स्क्रिन जस्तै टेलिभिजन/मोबाइल/ट्याब्लेटको अगाडि बसेर कुनै पनि डिजिटल गतिविधि जस्तै गेम खेल्ने/ भिडियो हेर्ने/सामाजिक सञ्जाल चलाउनेलाई स्क्रिन टाइम भनिन्छ। स्क्रिन टाइम को बेला तपाईं एकै ठाउँमा बसिरहनु हुन्छ र कम भौतिक गतिविधि गर्नु हुन्छ।
तपाईंको बच्चाको लागि कति स्क्रिन टाइम लाई "धेरै" भनिन्छ?
स्क्रिन टाइम र बोली, भाषाको विकास, संचार, ध्यान दिन सक्ने क्षमता, निद्रा र मानसिक स्वास्थ्य बीच सम्बन्ध रहेको देखिन्छ।
0-५ वर्षसम्मको बच्चालाई कति स्क्रिन टाइम उपयुक्त हुन्छ?
• ०–२ वर्षका बच्चालाई कुनै पनि स्क्रिन नदेखाउने। यद्यपि कहिलेकाहीँ परिवार वा साथीभाइसँग कुरा गर्ने सन्दर्भमा देखाउन सकिनेछ ।
• २ वर्षदेखि ५ वर्षसम्मका बच्चालाई ३० मिनेटभन्दा बढी स्क्रिन टाइम दिनु हुँदैन।
• ठूलो स्क्रिन प्रयोग गर्नुहोस् : यदि तपाईंको बच्चाले स्क्रिनमा केही हेर्दैछ भने सकेसम्म ठूलो स्क्रिन (जस्तै टेलिभिजन वा कम्प्युटर) प्रयोग गर्नुहोस्। ठूलो स्क्रिन प्रयोग गर्दा आँखामा कम असर पर्छ।
• बच्चालाई शान्त पार्न मोबाइल/ट्याब्लेट प्रयोग नगर्नुहोस्। धेरै स्क्रिन टाइम ले बच्चालाई झिँझो लाग्ने र रिसाउने बनाउँछ। यसको सट्टामा बच्चासँग खेल्ने, गफ गर्ने, सँगै किताब पढ्ने वा कथा सुनाउने गर्नुहोस्।
धेरै स्क्रिन देखाउँदा हुने असर:
• बच्चाले थोरै शब्दहरू मात्र बोल्न सक्छ।
• बोली भाषा विकासमा ढिलाइ हुन सक्छ।
• सामाजिक व्यवहारमा कठिनाइ आउन सक्छ।
६ वर्षदेखि १० वर्षसम्मका बालबालिकाका लागि
• बिहान मोबाइल वा अन्य स्क्रिन बिना उठ्ने।
• दिनको १-२ घण्टा मात्र मोबाइलको प्रयोग गर्ने र बिदाको दिनमा २ घण्टाभन्दा बढी प्रयोग नगर्ने ।
• बिहान उठ्ने बेलामा मोबाइल वा अन्य स्क्रिन पहुँच बाहिर राख्नुहोस् ।
• दिनमा १–२ घण्टा व्यायाम गर्ने वा खेल खेल्ने।
• संवेगात्मक–शारीरिक गतिविधि प्रोत्साहन गर्नुहोस् : बच्चाहरू धेरैजसो समय आफूभन्दा ठूला व्यक्तिहरूको नक्कल गर्छन् र उनीहरूकै जस्तै व्यवहार अपनाउँछन्। त्यसैले तपाईंले पनि आफ्नो सामाजिक सञ्जाल र फोन चलाउने बानीमा ध्यान दिनुहोस् र नियन्त्रण गर्नुहोस्।
सुत्नुअघि १ घण्टा अगाडि स्क्रिन प्रयोग नगर्नुहोस्:
बालबालिकालाई सुत्नुभन्दा कम्तिमा पनि १ घण्टा अगाडि कुनै पनि स्क्रिनहरु प्रयोग गर्न नदिनुहोस्।
मोबाइल, ट्याब्लेट वा कम्प्युटर सुत्ने कोठाबाट बाहिर राख्नुहोस्।
बच्चाले मोबाइल वा स्क्रिनमा के हेरिरहेको छ भनेर निगरानी गर्नुहोस्।
हिंसात्मक वा नकारात्मक प्रभाव पार्ने खालका भिडियोहरु हेर्न नदिनुहोस् ।
साथीभाइसँग घुलमिल हुने अवसर दिनुहोस्।
समय हेर्नको लागि भित्ते घडीको प्रयोग गर्नुहोस्; कोठामा कुनै पनि स्क्रिन नराख्नुहोस्।
धेरै स्क्रिन टाइम वा सामाजिक सञ्जालको प्रयोगले बच्चाको ध्यान केन्द्रित गर्ने क्षमता, निद्रा, र मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ। यसले विकसित मस्तिष्कमा पनि असर पार्छ।
स्क्रिन भन्दा बाहिरका विकल्पहरू:
• हिँड्ने, दौडिने, साइकल चलाउने जस्ता भौतिक गतिविधिहरूमा संलग्न गराउनुहोस्।
• बच्चालाई स्क्रिनबाट टाढा राखी एक–आपसमा समय बिताउने प्रयास गर्नुहोस्।
• सुत्नुअघि कथा वाचन गर्ने बानीले बालबालिकाको समग्र विकासमा ठूलो सहयोग पुर्याउँछ
(दवाडी स्पिच ल्यान्ग्वेज प्याथाेलाेजिस्ट हुन्)
।