सञ्चारका लागि मानिसको आवाज एउटा महत्वपूर्ण साधन हो, तर व्यवसायीक स्वर प्रयोगकर्ताहरूका लागि, यो उनीहरूको जीविको पार्जनको मुख्य उपकरण हो। व्यवसायीक रूपमा जसको पेशा लामो समयसम्म स्वर प्रयोगमा निर्भर गर्छ, जस्तै गायक, शिक्षक, उद्घोषक, सामाजिक वक्ता, कल सेन्टर कर्मचारीहरूलाई व्यवसायीक स्वर प्रयोगकर्ता भनिन्छ। अत्यधिक स्वर प्रयोग गर्दा उनीहरू व्यवसायीक रूपमा उच्च जोखिमयुक्त समूहमा पर्छन्। धेरै मात्रामा स्वरको प्रयोग गर्दा उनीहरू स्वरसम्बन्धी समस्याको सामना गर्न बाध्य हुन्छन्, जसले उनीहरूको व्यवसायीक विकास र जीवनशैलीमा ठूलो प्रभाव पार्न सक्छ।
व्यवसायीक स्वर प्रयोगकर्ताले सामना गर्ने चुनौतीहरू
पीभीयुएसहरुले लामो समयसम्म आफ्नो स्वरको प्रयोग गर्दा, स्वरयन्त्र (भोकल फोल्ड) मा बढी प्रभाव पर्छ, जसले गर्दा स्वर थाकान, चोट र अन्य समस्याहरू निम्त्याउँछ। जस्तै:
• स्वर थकान: लामो समयसम्म बोल्दा वा गाउँदा स्वरयन्त्र थाक्ने, कार्यक्षमता घट्ने र घस्रिएको आवाज आउने।
• स्वर नोड्युल र पोलिप्स: बोल्दा स्वरयन्त्र बारम्बार ठोक्किँदा यसमा तनावका कारण सानो मासुको गाँठो बन्न सक्छ, जसले स्थायी रूपमा स्वर बिगार्न सक्छ।
• मांसपेशी तनाव स्वर विकार: स्वरको प्रयोग गर्दा अत्यधिक तनाव बढेमा स्वरयन्त्रको गतिशीलतामा बाधा पुग्न सक्छ, जसले गर्दा कष्टपूर्ण स्वर उत्पन्न हुन सक्छ।
स्वर विकारणका लक्षणहरू
स्वर विकारण तब हुन्छ, जब स्वरयन्त्रले सही रूपमा काम गर्न सक्दैन, जसको कारण आवाजको गुणस्तर, स्वरको उचाइ र स्वरको तीव्रतामा परिवर्तन आउँछ। जस्तै:
o आवाज खरखरिएको, करकर गर्ने वा कर्कस सुनिनु,
o बोल्दा आवाज कमजोर वा हावा जस्तो लाग्नु,
o बोल्दा अत्यधिक प्रयास गर्नुपर्ने, आवाज अस्वाभाविक रूपमा फाटो वा खरखरिएको लाग्नु,
o बोल्दा वा गाउँदा स्वर अचानक तल माथि हुनु,
o अग्लो वा गह्रौं स्वर निकाल्न कठिनाइ हुनु,
o घाँटी सफा गर्न बारम्बार खोक्न आवश्यक महसुस गर्नु,
o घाँटीमा केही अड्किएको जस्तो महसुस हुनु तर कुनै वास्तविक अवरोध नहुनु,
o लामो समय बोल्दा आवाज कमजोर वा निष्क्रिय हुनु।
स्वरको हेरचाह
स्वर जोगाउन तथा दीर्घकालीन क्षति रोक्नका लागि उचित हेरचाह आवश्यक छ।
• पर्याप्त पानी सेवन: शरीरमा पानीको उचित मात्राले स्वरयन्त्रलाई नमी राख्न मद्दत गर्छ।
• स्वर आराम: लगातार स्वर प्रयोग गरेपछि केही समय मौन बस्दा स्वरयन्त्रलाई पुनः स्थापना गर्न मद्दत पुग्छ।
• उत्तम ध्वनि अनुनाद : भ्वाइस थेरापी प्रविधिहरूको प्रयोगले स्वर सुधार गर्न सक्छ र अनावश्यक तनाव कम गर्न मद्दत पुर्याउँछ।
• क्याफिन र मदिरा कम गर्नु: यी पदार्थहरूले शरीरलाई निर्जलीकरण गर्छन्, जसले स्वरयन्त्रलाई कठोर बनाउने सम्भावना बढाउँछ।
• घाँटी खोक्ने बानी हटाउने: बारम्बार खोक्दा वा कान्त स्वरमा बोल्दा स्वरयन्त्रमा अनावश्यक घर्षण हुन सक्छ।
कहिले चिकित्सकलाई देखाउने?
यदि दुई हप्ताभन्दा बढी स्वर परिवर्तन रहिरहन्छ, बोल्दा दुखाइ हुन्छ वा दैनिक सञ्चारमा समस्या उत्पन्न हुन्छ भने इएनटी विशेषज्ञ वा वाक तथा भाषा विशेषज्ञको परामर्श लिन आवश्यक छ।
वाक् तथा भाषा विशेषज्ञले स्वर पुनःस्थापनामा महत्वपूर्ण भूमिका खेल्छन्।
• आवाजको मूल्याङ्कन: एसएलपीहरूले तपाईंको कार्यक्षमतामा मूल्याङ्कन गरी कुनै पनि समस्या पत्ता लगाउँछन्।
• आवाजको पुनर्स्थापना: तपाईंको आवाजको क्षमता र सहनशीलता सुधार गर्न विभिन्न अभ्यास (भ्वाइस थेरापी) गराइन्छ।
• आवाजको हेरचाह सम्बन्धी शिक्षा: तपाईंलाई भविष्यमा समस्या रोक्नको लागि आफ्नो आवाज सुरक्षित रूपमा कसरी प्रयोग गर्ने भन्ने कुरा सिकाइन्छ।
निष्कर्ष
यदि तपाईं आफ्नो पेशाका लागि आफ्नो आवाजमा निर्भर हुनुहुन्छ भने, आवाजको स्वास्थ्यलाई प्राथमिकता दिन आवश्यक छ। एसएलपीसँग काम गर्दा, तपाईं आफ्नो आवाजलाई बलियो र स्वस्थ राख्न सक्नुहुन्छ, जसले तपाईंको करियरको दीर्घायु सुनिश्चित गर्छ। नियमित आवाज हेरचाह प्रत्येक व्यवसायीक स्वर प्रयोगकर्ताको जीवनको नियमित हिस्सा हुनुपर्छ।
(दवाडी स्पिच ल्यान्ग्वेज प्याथाेलाेजिस्ट हुन्)