रोगका कारण बिरामी र उसको परिवारमा निकै ठूलो भावनात्मक असर गर्छ । चिन्ता, मानसिक तनाव, रिस, निद्रा नलाग्ने समस्या र भविष्यमा के हुने हो भन्ने डर भावनात्मक समस्यामध्ये मुख्य मानिन्छन्।
भावनात्मक स्वास्थ्य, क्यान्सरको उपचार र रोगको सकेसम्म राम्रो व्यवस्थापनका लागि निकै महत्वपूर्ण मानिन्छ । रोगको सामना कसरी गर्ने, यसको राम्रो समाधान के हुन सक्छ भन्ने ध्यान दिन सकियो र त्यसै अनुरुप अगाडि बढ्दा उपचार सफल हुन्छ, औषधिका नकारात्मक असर कम हुन्छन् । निद्रा वा भोक नलाग्ने समस्या बढ्दैनन् । भावनात्मक स्वास्थ्यलाई कसरी ध्यान दिने ?
१) बिरामीले आफ्नो रोगबारे पढ्ने र जानकारी लिने । आफूलाई उपचार गर्ने चिकित्सक वा उपचार गर्ने टिमका सदस्यहरुलाई के पढ्ने, कहाँ पढ्ने र कसरी जानकारी लिने भन्ने सोध्न सक्नुहुन्छ । भनिन्छ, ज्ञान नै शक्ति हो । सही जानकारी पाएपछि मात्र आफूलाई निर्णय गर्न सजिलो हुन्छ । अनिश्चितता हराउँछ ।
२) आराम गर्ने, मनलाई सकभर तनाववाट मुक्त राख्ने प्रयास आवश्यक छ । उपचार गर्ने टिमले कसरी तनाव कम गर्न सकिन्छ, कसरी मन र शरीरलाई आराम दिने भन्ने बारे सिकाउन सक्नुहुन्छ । त्यस्तै, ध्यान गर्ने बानी छ वा प्रार्थना, पुूजा गर्ने बानी छ भने यसले तनाव कम गर्नलाई सहयोग पु¥याउँछ र भावनात्मक स्वास्थ्यको सुधार गर्छ।
३) आफ्ना भावनालाई आफ्नो विश्वासिलो व्यक्तिसँग भन्ने । रोग लोगपछि निकै अत्याउने र मनमा डर लाग्ने भावना आउँछन् र यस्ता भावनालाई आफूभित्रै गुम्साएर राख्नु हुँदैन । आफ्ना भावना आफ्नो परिवार, साथी वा उपचार गर्ने चिकित्सकसँग भन्नुपर्छ, जसले मन हलुका हुन्छ र आफूलाई अझ राम्रो गरी बुझ्न सहयोग मिल्छ ।
४) आफ्ना कुरा भन्ने कोही पाइएन वा भन्ने इच्छा नै भएन भने दिनको २० मिनटजति आफ्नो मनमा आएका भावना लेख्ने गर्न सक्नुहुन्छ । यसरी कागजमै भए पनि आफ्नो भावना पोख्दा आफूलाई सहज हुन्छ।
५) परिवारको सदस्य बिरामी भइसकेपछि आफूभित्र निकै परिवर्तन भएको हुन्छ । परिवारमा पनि तनाव वढेको हुन्छ । त्यसैलो परिवार, साथी, उपचार गर्ने टिम आदि सवैको सहयोग आवश्यक पर्छ । जति सहयोग बढ्यो, त्यति आफ्नो वोझ कम हुन सक्छ । सहयोगी हात जति बढी भए, त्यति विरामीको परिवारलाई सहज हुन्छ र मनोबल बढ्छ।
६) अध्यात्मतर्फ ध्यान दिने: प्रायः ठूलो रोग लागेपछि भविष्य अन्धकारमय देखिन्छ । तर, यस्तो रोग लागेपछि जीवन के हो, जन्म के हो, मृत्यु के हो, परिवारिक सम्बन्ध के रहेछ भन्ने कुरा अझ गहिरो गरी बुझिन्छ । धार्मिक किताव पढ्ने, पूजापाठ गराउने इच्छा भए गराउने, कुनै ठाउँमा जाने इच्छा छ भने सम्भव भए जाने, धार्मिक गुरुहरुलाई भेट्ने र कुरा सुन्ने आदि प्रयास गर्न सकिन्छ । अध्यात्ममा विश्वास छ वा लाग्छ भने गर्ने हो, जबर्जस्ती यसतर्फ लाग्नुपर्छ भन्ने छैन।
७) आफ्नो परिवारका सदस्यहरुसँग प्रस्टसँग कुरा राख्नु राम्रो मानिन्छ । आफ्नो मनमा लागेको डर, चिन्तालाई भन्नुपर्छ । पहिलेदेखि भन्न नसकेका कुरा छन् भने पनि भनेर मन हलुका गर्न सकिन्छ।
८) आफ्नो स्वास्थ्यलाई जति सकिन्छ, राम्रो र तन्दुरुस्त राख्न केही शारीरिक व्यायाम आवश्यक हुन्छ । दिनको १० मिनट नै किन नहोस्, हिँड्नु राम्रो हुन्छ । व्यायामले खाना र निद्रा सुधार गर्छ।
९) वेला बेलामा बोल्ने, हाँस्ने, रमाइलो गर्नेजस्ता क्रियाकलापले शरीरमा स्फूर्ति र ताजापन ल्याउँछन् । संगीत सुन्ने, आफूलाई मनपर्ने टेलिभिजन सो हेर्ने, साथीहरुसँग गफ गर्ने गर्न सकिन्छ।
१०) यहाँ र अहिले (हेयर एन्ड नाउ)मा बढी केन्द्रित हुने । भविष्य त सवैको लागि अनिश्चित छ । सधँै भविष्यका बारेमा सोच्दा मन खिन्न र निराश हुन्छ । आज, अहिले केके काम गर्नु जरुरी छ, आवश्यक छ, महत्वपूर्ण छ, त्यसतर्फ ध्यान दिने र काम गर्ने । एकपटकमा एउटा काम गर्ने र त्यसलाई सकेपछि अर्को काम गर्ने । जति आत्मविश्वास वढी भयो त्यति काम गर्न सकिन्छ र रोगसँग लड्ने शक्ति बढ्छ । विचार गर्नु होला, भावनात्मक समस्या हुँदा परामर्श लिनु भनेको शारीरिक रोग लाग्दा जँचाउनु भनेजस्तै हो । तपाईलाई लगातार चिन्ता, तनाव, रिस, निराशा, घबराहट आदिले गर्दा असर पारेको छ र तपार्ईंको परिवारसमेत यसै कारण चिन्तित र दुःखी छ भने सकभर छिटो परामर्श लिनोस् । परामर्श लिएर समस्या समाधान गर्न सहज हुन्छ । तपार्ईं र तपाईंको परिवार दुवैलाई राम्रो हुन्छ भने विशेषज्ञको सहयोग किन नलिने ?