मुटु शरीरको एक महत्वपूर्ण अंग हो। शरीरका विभिन्न भागबाट अशुद्ध भई फर्केको रगतलाई संकलन गरेर शुद्धीकरणका लागि फोक्सोमा प्रवाह गर्नु र फोक्सोबाट शुद्धीकरणपछि फर्केको रगतलाई शरीरका विभिन्न भागमा पम्प गरेर पुनः प्रवाह गर्नु मुटुको प्रमुख काम हो।
मुटुमा लाग्ने विभिन्न रोगमध्ये ‘हर्ट फेल्युअर’ एक प्रमुख रोग हो । यो मृत्युको एउटा महत्वपूर्ण कारण पनि हो । मुटुले स्वाभाविक रुपमा पम्प गर्न नसकेर वा पम्प गर्न सक्ने क्षमता स्थिर भइकन पनि स्वाभाविक रुपमा रगत संकलन गर्न नसक्दासमेत हर्ट फेल्युअरका लक्षण देखा पर्न सक्छन्।
यसको कारणले संसारमा करोडौं मानिस प्रभावित रहेको कुरा तथ्यहरूले बताउँछन् र यो रोग अझ दिनप्रतिदिन बढ्दै गइरहेको विश्वास गरिन्छ । यो एक संवेदनशील मुटु रोग हो, जसबाट हुने मृत्युदर महत्वपूर्ण क्यान्सर रोगकै हाराहारीमा रहेको विज्ञहरूको बुझाइ छ । समयमै रोग पहिचान, नियमित औषधि उपचार र 18मा सुधार गर्न सकिए यसबाट हुनसक्ने क्षतिबाट बँच्न सकिन्छ।
के हुन् त ‘हर्ट फेल्युअर’ का लक्षण?
हर्ट फेल्युअरका बिरामीका प्रमुख लक्षणमा श्वास फेर्न गाह्रो हुनु, मुटुको धड्कन बढ्नु, अस्वाभाविक थकान र कमजोरी महसुस हुनु, शरीर सुन्निनु, पेट फुलेको अनुभव हुनु, खानामा रुचि घट्नु आदि पर्छन् । शरीरमा अक्सिजनको मात्रा कम भएपछि हातगोडा र जिब्रो नीलो हुने खालका लक्षण पनि देखिन सक्छन्।
प्रारम्भिक अवस्थामा बिरामीलाई धेरै धपेडी हुने काम गर्दा मात्र स्वाँस्वाँ हुन सक्छ । तर रोग बढ्दै जाँदा साधारण हिँडडुल गर्दा र अझ पछि त सामान्य रुपमा बसिरहँदासमेत स्वाँस्वाँ हुन सक्छ । बिरामीलाई साधारण रुपमा खाटमा पल्टिन गाह्रो हुन्छ। सुतिहाले पनि केही बिरामी केही छिनपछि ब्युँझेर अक्सिजनको कमीको महसुस गरी झ्यालतिर लम्कन खोज्छन्।
बिरामीको पिसाब कम हुन सक्छ । यस्ता लक्षण फोक्सोको कारण (दम) ले समेत हुने हुँदा त्यो फोक्सो वा मुटु कुन कारणले भएको हो, समयमै छुट्याउन जरुरी छ किनभने यी दुवैको उपचार नितान्त भिन्न छ।
के कारणले हुन्छ ?
मुटुमा प्रभाव पार्ने प्रायः सबै खालका रोगहरूले अन्ततः हर्ट फेल्युअर गराउन सक्छन् । यसको मतलब हर्ट अट्याक, मुटुका भल्भका रोग, जन्मजात हुने मुटुका रोग, मुटुको संक्रमण (मायोकार्डाइटिस, इन्डोकार्डाइटिस) आदि सबैले हर्ट फेल्युअर गराउन सक्छन् । यसका अलावा उच्च रक्तचाप, जन्मजात हुने मुटुका रोग, मुटुको मांसपेशीको आन्तरिक रोग (विभिन्न प्रकारका कार्डियोमायोप्याथी), थायोराइड रोग र शरीरका अन्य अंगका रोगहरूले समेत हर्ट फेल्युअर गराउन सक्छन्।
पहिचान, उपचार र बचावट
माथि उल्लेखित लक्षण देखिएमा तुरुन्त स्वास्थ्यसंस्थामा गएर साधारण खालका जाँच गरी रोग पहिचान गर्नु जरुरी छ । स्वास्थ्यकर्मीले गर्ने शारीरिक परीक्षण, रगतको साधारण जाँच, इसीजी, एक्स–रे र मुटुको भिडियो एक्स–रे (इकोकार्डियोग्राम) गरेर रोग पहिचान गर्न सकिन्छ । आजभोलि धेरै हदसम्म हर्ट फेल्युअरको उपचार सम्भव छ।
चिकित्सकको सल्लाहअनुसार नियमित रुपमा औषधि सेवन गर्नुपर्ने हुन्छ । यो दीर्घकालीन रोग भएकाले उपचार लामो समयसम्म जरुरी पर्न सक्छ । बिरामीलाई साह्रोगाह्रो भएको अवस्थामा अस्पतालमै भर्ना गरी उपचार गराउनुपर्ने पनि हुन सक्छ।
औषधि सेवन गरिरहँदा समेत लक्षणहरू देखापरिराख्ने (रिफ्र्याक्टोरी हर्ट फेल्युअर) बिरामीका लागि विभिन्न किसिमका यन्त्रहरू (डिभाइस थेरापी, सर्कुलेटरी सर्पोट डिभाइस, कृत्रिम मुटु) जडान गरी उपचार गर्ने पद्दतिहरू विकास भइसकेका छन् । विदेशी मुलुकहरूमा हर्ट फेल्युअरका केही विशेष अवस्थाका बिरामीहरूलाई मुटु प्रत्यारोपण पनि गर्ने गरिएको छ।
हर्ट फेल्युअर भइसकेपछि उपचार गराउनुभन्दा साधारण मुटुरोग देखिनेबित्तिकै त्यसलाई प्रारम्भिक चरणमै पहिचान गरेर उपचार गर्दा भोलि हुनसक्ने हर्ट फेल्युअरबाट बँच्न सकिन्छ । समयमै उच्च रक्तचाप र मधुमेह जस्ता रोगको नियन्त्रण गर्ने, क्रियाशील 18 अपनाउने, धुम्रपान र मद्यपानबाट टाढै बस्ने हो भने हर्ट फेल्युअरबाट धेरै हदसम्म बँच्न सकिन्छ।
विकल्प के ?
हर्ट फेल्युअर एक जटिल प्रकारको मुटुरोग हो । मुटुमा लाग्न सक्ने प्रायः सबै प्रकारका रोगको अन्तिम गन्तव्य भनेकै हर्ट फेल्युअर हो । समयमै रोग पहिचान गर्न सकेर उपचार शुरु गर्दा यो रोग धेरै हदसम्म नियन्त्रणमा रहन्छ । यस विषयमा जनचेतना अभिवृद्धि गर्ने र दिनप्रतिदिन विकास हुँदै गइरहेको नयाँ उपचारविधिहरू सहज रुपमा उपलब्ध हुनसक्ने वातावरण सरकारी स्तरबाट अझ तदारुकताका साथ निर्माण हुन सकेदेखि हर्ट फेल्युअरबाट बँच्न र बचाउन सकिन्छ।
(मुटुरोग विशेषाज्ञ डा सिमखडा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत छन्)