देशमा धेरै परिवर्तन भए तर भूगोलले मात्र होइन, स्रोत-साधन र देशको केन्द्रबाटै कालिकोट उपेक्षित छ अझै पनि।
सन्दर्भ कालिकोटको स्वास्थ्य क्षेत्रको हो। जहाँ पूरै जिल्लामा मात्र एक अस्पातल छ। केही प्राथमिक स्वास्थ्य केन्द्र छन्; जीर्ण अवस्थाका।
सम्पूर्ण देशको मापकमा पछिल्लो पाँच अंकभन्दा कहिले पनि माथि उक्लिन नसकेको कालिकोटको स्वास्थ्य क्षेत्रमा जनचेतनाको कमी त छँदै छ, सरोकारवालको बेवास्ताका कारण सुधार हुन सकेको छैन।
जिल्लाको एक मात्र अस्पातल, जुन जिल्लाको सदरमुकाममा अवस्थित छ। जिल्लाका जनताको स्वास्थ्य उपचारमा सेवा पुर्याउनुपर्ने अस्पतालको सेवा अझै समायानुकूल प्रभावकारी हुन सकेको छैन। स्वास्थ्यमा चाहिने गुणात्मक उपचार अभावमा विशेषगरी विपन्न जनता निकै समस्यामा परेका छन्।
कहिले चिकित्सक-नर्स-फर्मासिस्ट-स्वास्थ्यकर्मीको अभाव त कहिले औषधिको आभव। गलत उपचार विधिले गर्दा स्वास्थ्य स्थिति जटिल बन्ने अवस्था पनि यहाँ नभएको होइन। यस्ता यावत् कारणले गर्दा सर्वसाधारण जनताले अस्पतालबाट स्वास्थ्य उपचार सहज रुपमा पाउन सकेका छैनन।
त्यसैगरी तीन वर्षको न्युनतम डिप्लो तह पूरा गरेर औषधि बिक्री वितरण र औषधिबारे ज्ञान दिने ठाउँमा तीनदेखि १८ महिनाको सामान्य तालिम गरेकाहरुले औषधि पसल चलाइरहेका छन्। अन्जानवश फरक औषधि सेवन गराएर स्वास्थ्यमा जोखिम उत्पन्न भइरहेको छ भने गरिब जनतामा अर्थिक भार थप्ने कार्य पनि भइरहेको छ। चिकित्सकको प्रेस्क्रिप्सनबिनै चाउचाउ, बिस्कुट बेचेझैं औषधि बिक्रीवितरणले यहाँका जनताको स्वास्थ्यमाथि नै खेलबाड भइरहेको छ।
यस्तो चरम लापरबाही हुँदा पनि सरोकारवालाको ध्यान जान नसक्नु एकदम दु:खद हो। र, अहिलेसम्म कुनै राजनीतिक दलका नेताहरुले यस विषयको उठान गर्ने साहससमेत गरेका छैनन्। जिल्लाको सदरमुकाम मान्ममै रहेको अस्पतालमा समेत सरोकारवालाले चासो राख्दैनन् भने दुर्गम ठाउँको अवस्था के होला?
पिछडिएको कालिकोटले बरु अन्य भौतिक सुखसुविधालाई कुर्न सक्ला तर स्वास्थ्य उपचारलाई कुर्न सक्दैन। कुर्न दिनु पनि हुन्न।