धरान- धरान उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका औषधि पसल तथा औषधिजन्य व्यवसायहरुले चिकित्सकको प्रेस्क्रिप्सनबीना औषधि बिक्री वितरण नगर्न सूचना जारी गरिएको छ। जनगुनासो आएको बताउँदै उपमहानगरपालिकाले यस्तो अनियमित र अनधिकृत गतिविधि तत्काल रोक्न औषधि व्यवसायीहरुलाई निर्देशन दिएको हो।
उपमहानगरपालिकाले भनेको छ, 'चिकित्सकको सल्लाहबिना औषधि बिक्री वितरण कार्य गैरकानुनी हो र यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई आवश्यक कानूनी कारबाही गरिनेछ।'
यस सम्बन्धमा औषधि पसलहरूलाई सतर्क रहन र स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिन समेत अनुरोध गरिएको छ। साथै, स्वास्थ्य महाशाखालाई आवश्यक अनुगमन गर्न भनिएको छ, जसबाट यस्ता गतिविधिमा संलग्न पसलहरूको पहिचान गरी कारबाही प्रक्रिया अघि बढाउन सकिनेछ।
प्रशासन महाशाखा प्रमुख बेदप्रसाद सापकोटाले सार्वजनिक हितका लागि यस सूचनालाई कार्यान्वयन गर्न आवश्यक पहल थालिएको जानकारी दिएका छन्।
