हालै इपीडेमिओलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौंमा डेंगु देखिएको सार्वजनिक गरेको छ। पहिलो पटक २७ असोजमा बनस्थली बस्ने एक ३६ वर्षीय युवक डेंगुसँग मिल्दाजुल्दा लक्षण लिएर परामर्श तथा उपचारका लागि आइपुगेका थिए।
प्रयोगशाला परीक्षणबाट उनलाई डेंगु भएको प्रमाणित पनि भयो। मिल्दाजुल्दा लक्षण अरु सहकर्मीमा पनि भएको सो संक्रमित व्यक्तिले बताएपछि डेंगुले प्रकोपको रुप लिएको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि यसबारेमा सम्बन्धित निकायले द्रूत गतिमा अनुसन्धान जारी भने राखेका छन्।
काठमाडौंमा डेंगु फैलाउने लामखुट्टे प्रशस्त मात्रामा भएको एपिडेमिओलोजी तथा रोग नियन्त्रण महाशाखाले केही वर्ष अगाडि नै गरेको सर्वेले देखाएकोले ज्वरो आएपछि डेंगु भाइरस संक्रमण भए/नभएको समयमा नै पहिचान गर्नुपर्ने बेला आएको छ।
डेंगु शंका कस्तो अवस्थामा गर्ने?
डेंगु फैलन भेक्टर अनिवार्य चाहिन्छ। डेंगुको भेक्टर मुख्यतया एडिस जातको लामखुट्टे 'एडिस इजिपटाई वा एडिस एल्बोपिकटस' हुन्। यी लामखुट्टे सक्रिय हुने खासगरी मनसुनपछिको समय कात्तिक र मंसिर महिनामा हो।
मानिसहरु डेंगु देखिइराख्ने ठाउँहरुमा आवतजावत गरिरहेका पनि हुन सक्दछन्। ज्वरो आउने, आखाको गेडी दुख्ने, जोर्नी दुख्ने, शरीरमा स-साना बिबिरा देखिने, आखा रातो हुने, वाकवाक लाग्ने जस्ता लक्षणहरु डेंगु संक्रमणमा देखिने गर्दछन्।
माथि उल्लेखित समय, परिस्थिति र लक्षणको समिश्रण भए डेंगु हुने/फैलने सम्भावना प्रबल हुने गर्दछ। र हाल काठमाडौंमा यी सबै अवस्थाको समिश्रण भएको देखिन्छ।
निश्चित निदान र प्रयोगशाला नतिजाको विश्लेषण कसरी गर्ने?
प्रयोगशाला परीक्षण पोजिटिभ देखिए मात्र डेंगु निश्चित भएको मानिन्छ तर यसको नतिजा विश्लेषण गर्नमा कहिलेकाहीं स्वस्थाकर्मीहरु पनि चुकेका देखिन्छन्। खासगरी डेंगु आइजिजी देखिए पुरानो संक्रमण देखाएको भनेर विश्लेषण गर्ने गरेको देखिन्छ, जुन गलत हो।
हुनत, धेरै चिकित्सकहरुले डेंगु आइजिएम र आइजिजीका नतिजाहरुलाई त्यति नजिकबाट हेरेको पाइँदैन वा यसैको आधारमा बिरामी कति जटिल अवस्थामा जान सक्छ भनेर अनुमान गरी सोअनुसार उपचारमा विशेष चासो दिएको पाइँदैन।
जस्तै माथि उल्लेख गरेजस्तो डेंगु आइजिजी कुनै पुरानो संक्रमण नभई दोस्रो पटक फेरि संक्रमित भएको भनेर बुझ्नु पर्दछ, जसलाई 'रिसेन्ट सकेन्डरी इन्फेक्सन' भन्ने गरिन्छ। र यो प्रथम संक्रमण 'रिसेन्ट प्राइमेरी इन्फेक्सन' भन्दा खतरनाक हुने गर्दछ। डेंगु आइजिएम मात्र पोजिटिभ देखिए 'रिसेन्ट प्राइमेरी इन्फेक्सन' भन्ने गरिन्छ। दुवै डेंगु आइजिएम र आइजिजी देखिए 'रिसेन्ट सकेन्डरी इन्फेक्सन' भनेर बुझ्नु पर्दछ।
डेंगु सेरोटाइप किन आवश्यक?
डेंगु सेरोटाइप नियमित/आधारभूत जाँचअन्तर्गत परीक्षण गर्ने गरिंदैन तर यसले डेंगु संक्रमित बिरामी कति जटिल अवस्थामा जान सक्छ भनेर पूर्वअनुमान गर्न भने महत्वपूर्ण भूमिका खेल्ने गर्दछ।
हाल डेंगुका चार प्रकारका सेरोटाइप छन् जसलाई '१', '२', '३' र '४' गरेर वर्गीकरण गरिएको छ। जस्तै यदि पहिले डेंगु सेरोटाइप '१' ले संक्रमण गरेको थियो र अहिले सेरोटाइप '१' बाहेकको अरु कुनै तीन मध्यको सेरोटाइपले दोस्रो पटक 'रिसेन्ट सकेनडरी इन्फेक्सन' गरेको भए त्यो संक्रमित बिरामी जटिल अवस्थामा जान सक्ने सम्भावना अत्यधिक हुने गर्दछ।
यसकारण पनि डेंगु सेरोटाइप जानकारी हुन् अति आवश्यक हुन्छ तर नेपालमा (अनुसन्धानको लागि बाहेक) हरेक वर्ष डेंगुको सेरोटाइप पहिचान गरेर सार्वजनिक गर्ने गरेको पाइँदैन।
कुन बेला डेंगु जटिल अवस्थामा (warning signs ) भएको अनुमान गर्न सकिन्छ?
विश्व स्वास्थ संगठनले केही लक्षण/चिन्हहरु देखिएमा त्यो जटिल अवस्थाको डेंगु हुनसक्ने भनेको छ। डेंगु पहिचान भइसकेको अवस्थामा, पेट असाध्य दुख्नु, तारन्तार बान्ता हुने, शिथिल हुने, पेटमा पानी जम्नु, मुखबाट रगत बगेमा, कलेजो बढ्नु र त्यस्तै रगतमा प्लेटेलेट्सको मात्र घट्नु/हेमाटोकृत बढेमा डेंगु जटिलटातिर गएको अनुमान गर्न सकिन्छ। र धेरै कडा भएमा बिरामी बिहोस हुनसक्दछ जसलाई डेंगु 'सक सिन्ड्रोम' भनिन्छ।
नेपालमा वर्षेनि डेंगु देखिने गरेको पाइन्छ भने डेंगुको चारै सेरोटाइप पनि देखिइसकेका छन्। यस्तो अवस्थामा डेंगु संक्रमितहरुमा वर्षेनि डेंगु जोखिमका चिन्ह देखिंदैजाने सम्भावनाहरु पनि वर्षेनि बढ्दै जान सक्नेछ।
डेंगु रोगसम्बन्धी स्वास्थकर्मीहरुलाई जानकारी वर्षेनि अत्यावधिक गराउँदै लैजाने र सर्वसाधारणबीच चेतनामूलक कार्यक्रमहरु खासगरी डेंगु सिजन अगाडि नै लागि गर्नसके डेंगु प्रकोपलाई रोक्न वा समयमै नियन्त्रण गर्न धेरै सहज हुनेछ।