नेपाल सरकारलाई बधाई छ। एउटा जोगी डाक्टरले सरकारसँग निहुँ खोज्यो। त्यो पनि दुई तिहाइको सरकारसँग। यस्तो बलियो सरकारसँग। सरकारले देखाइदियो। सरकारलाई बधाई छ।
सरकारको यस्तो अपार सफलतामा सरकार बनाउने मान्य सांसदहरु खुसी नहुने कुरै भएन। तर खुसी हुनेहरुको लाममा अरु पनि थुप्रै उभिएका रहेछन्।
प्रत्येक वर्ष करिब १५ सय जति विद्यार्थीहरु नेपालभन्दा बाहिर डाक्टरी पढ्न जान्थे। डा केसीले आन्दोलन गरे र भने– नेपालको प्रवेश परीक्षा पास नगरीकन खल्तीमा पैसा बोकेर मात्रै कोही पनि बाहिर पढ्न जान पाउँदैन। १५ सयमध्ये करिब १२ सयले नेपालको प्रवेश परीक्षा पास गर्न सक्दा रहेनछन्। वर्षको १२/१३ सय विद्यार्थी बाहिर पढ्न जान रोकिए। यिनलाई बाहिर पठाएर के सर्वहाराले आफ्नो पेट पालिरहेका थिए? स्वरोजगार भइरहेका थिए। डा केसीलाई देखाइदिएपछि बाहिर पठाउने काम गर्ने, जसको काम चौपट भएको थियो, उनीहरु बडो खुसी भएका छन्। सरकारलाई बधाई छ।
केही बाहेकका मेडिकल कलेजहरुले 'राम्रो' गरिरहेका थिए। यहाँबाट अनुगमन गर्न जाने टोलीहरुलाई पहिल्यै मिलाउँथे। बिरामी पनि भाडामा ल्याउँथे। डाक्टर पनि भाडामा ल्याउँथे। एक सय जना पढाउन पाउने अनुमति पाएको मेडिकल कलेजले भाडामा ल्याएको डाक्टर र बिरामीको आधारमा करिबकरिब दुई सय सिट पाउँदैथिए। डा केसीले आन्दोलन गरे। सिट संख्या घटाएर १०० पुर्याइदिए। त्यतिमात्र होइन, अनुगमन गरेर नक्कली डाक्टर र बिरामी आउने कुरालाई बन्द गराइदिए। र करिबकरिब एक करोडको हाराहारीमा पुग्न लागेको मेडिकल शिक्षाको शुल्कलाई पचास लाखमुनि ल्याइदिए।
ती मेडिकल कलेज सञ्चालन गर्नेहरु डाक्टरसँग औधी रिसाएका थिए। आज ती बडो खुसी भएका छन्। सरकारलाई बधाई छ।
मेडिकल शिक्षाको क्षेत्रमा थुप्रै अनियमितता भयो भनेर डा केसीको आन्दोलनबाट उनले सरकारसँग एउटा माग राखे। त्यो मागअनुसार सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा एउटा समिति बनायो। डाक्टर केसीले भने– समितिले पुग्दैन। न्यायिक आयोग नै बन्नुपर्छ।
त्यो न्यायिक आयोगले थुप्रैलाई पोलेको छ। डामेको छ। विश्वविद्यालयका पदाधिकारीदेखि लिएर थुप्रै नियमनकारी निकायका मानिससम्मले गरेको गलत कामको बारेमा लेखेको छ। सरकारले अहिलेसम्म केही पनि गर्न सकेको छैन। तर ती सबै रिसाएका थिए। डा केसीलाई सरकारले देखाइदिँदै गर्दा उनीहरु खुसी भएका छन्।
को खुसी भएका छैनन्? लोकमानसिंह कार्कीदेखि लिएर कालिकास्थानको टहरामा गएर मेडिकल कलेज सञ्चालन गर्नेसम्म सरकारले डाक्टर केसीलाई देखाइदिएकोमा खुसी भएका छन्। यत्रो मान्छेलाई खुसी बनाउने सरकारलाई बधाई छ।
बधाईको पात्र सरकार मात्रै होइन। सरकार बनाउने पार्टी पनि भएको छ।
पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले चिकित्सा शिक्षा अध्ययन राष्ट्रिय प्रतिष्ठानको नाम परिवर्तन गरेर मनमोहन चिकित्सा शिक्षा अध्ययन प्रतिष्ठान बनाऔं भनेर सरकारले पारित गरेको कुरा संसदमा आएर कानुन बनाउन मात्र बाँकी छ। कमरेड मनमोहनका लागि दुई तिहाइ देख्न पाइएन। कमरेड मनमोहनका लागि दुई तिहाइ देख्न नपाएता पनि कमरेड मार्सीमोहनका लागि दुई तिहाइ देख्न पाइयो। सरकारलाई बधाई छ। सरकार बनाउने पार्टीहरुका लागि पनि बधाई छ।
दुई तिहाइले डाक्टरलाई त उठाइदियो। सुतेका डाक्टर उठे। तर प्रश्न यहाँ डाक्टरको मात्र होइन। यहाँ त प्रधानमन्त्रीको विश्वास सुत्यो। प्रधानमन्त्रीप्रतिको विश्वास सुत्यो अब। ढल्यो। यो ढलेको विश्वासलाई कसले उठाइदिने?
प्रधानमन्त्रीको इमानमा डढेलो लाग्यो। पानी कसले हालिदिने? हुन त, प्रधानमन्त्रीले भन्दै हुनुहुन्छ, हाम्रो काम देखेर संसार आश्चर्यचकित भएको छ। नेपालीहरुले नबुझ्ने भएर भन्नुभएको होला। तर देशभित्र घुमेर हेर्दैगर्दा आश्चर्यचकित होइन, यस्तो वितण्डावादी तर्क र वाच्छलवादी प्रवृत्ति देखेर जनता दिक्क भएका छन्, आक्रोशित भएका छन्।
आम नेपाली जनता चाहन्छन्, प्रधानमन्त्रीले ऐनाअगाडि उभिएर एकपटक आफ्नो अनुहार हेर्नुहोस्। अनुहारमा दागैदाग लागेको छ। दागलाई मेटाउनुहोस्। हाम्रो प्रधानमन्त्री सफा देखिनुहोस्। हाम्रो प्रधानमन्त्री उज्यालो देखिनुहोस्। हाम्रो पनि चाहना यही छ। तर ऐनाको अगाडि उभिएर दाग देख्दैगर्दा प्रधानमन्त्री भन्नुहुन्छ– ऐनामा भएको दागलाई मेटाऊ। किनकि, मेरो अनुहारमा दाग हुनै सक्दैन। सत्य म नै हुँ। ब्रह्मा म नै हुँ। मेरो अनुहारमा दाग हुनसक्छ? पक्कै यो ऐनामा फोहोर छ, त्यसलाई मेटाऊ।
यो देखेर नेपाली जनता साँच्चीकै आक्रोशित भएका छन्। जनताको यो आक्रोशलाई सरकारसमक्ष पुर्याउने जिम्मेवारी हाम्रो हो। वाणी दिने काम हाम्रो हो। यही जिम्मेवारी बोकेर हामी यो सदनमा आएका छौं। हामी हाम्रो जिम्मेवारी पूरा गर्छौं।
हामीले पटकपटक सदन अवरोध गर्यौं। हामी दुईवटा अस्पतालको विषय लिएर उठ्यौं। केही साथीले बडो हल्कासँग जाबो अस्पतालको विषय भन्नुभयो। हामीलाई पनि राम्रोसँग थाहा छ– हाम्रो नेता गिरिजाप्रसाद कोइरालाको नाम कसैले अस्पताल अगाडिबाट मेट्न सक्ला तर शान्ति प्रक्रियामा गरेको हस्ताक्षर मेट्ने आँट छ कसैको?
हाम्रो नेता सुशील कोइरालाको नाम अस्पताल अगाडिबाट मेट्न सक्ला तर जुन संविधानको आधारमा हामी यहाँ छौं, त्यहाँबाट मेट्न सक्ने हिम्मत छ कसैको?
त्यसैले यहाँ प्रश्न दुईटा नेताको नामको अस्पतालको होइन। अस्पताल जोगाउने कुरा आफ्नो ठाउँमा छ। यहाँ प्रश्न सरकारको नियतको हो। प्राथमिकताको हो। सोचको हो। सरकार यति हैसियतमा भएको प्रतिपक्षीलाई त निषेध गरेर जान चाहन्छ, अस्तित्वलाई अस्विकार गरेर जान चाहन्छ भने सरकारले लोकतान्त्रिक आचरण राख्दैन मात्रै होइन, सरकारका प्राथमिकता यी सबै विषयमा हुन्छन्। गर्नुपर्ने काम गर्दैन, नगर्नुपर्ने काम गर्छ। जहाँ नबोल्नुपर्ने हो, त्यहाँ बोल्छ। जहाँ बोल्नुपर्ने हो, त्यहाँ बोल्दैन। यो अवस्थामा प्रतिपक्षी स्वभाविक रुपमा चिन्तित हुन्छ। र ती विषय उठाउँछ।
हामीले सरकारलाई यही ठाउँबाट लडेर गल्ती बाध्य बनाएका छौं। फेरि पनि बनाउँछौं। संवैधानिक आयोगमा प्रतिपक्षी नेतासँग जुन छलछाम गरिएको छ, त्यसलाई पनि सच्याउन बाध्य बनाउँछौं। चिकित्सा शिक्षा विधेयक पारित भएको छ। तर त्यसमा जुन प्वाल राखिएको छ, त्यहाँबाट छिरेर बदनियतका साथमा जे गर्छु भनेर सोचिएको छ, त्यो गर्न दिइन्न। नेपाली कांग्रेस उभिन्छ। र चिकित्सा शिक्षामा भएको सुधारलाई अवरोध गर्न खोज्ने प्रत्येक कदमलाई यसले रोक्छ।
त्यो हिम्मत पनि हामीसँग छ। नैतिक तागत पनि छ।
हामीलाई हाम्रो जिम्मेवारी थाहा छ। निर्वाह गर्छौं।
(प्रतिनिधिसभाको आइतबारको बैठकमा थापाले गरेको सम्बोधनको सम्पादित अंश)