अमेरिकन क्यान्सर सोसाइटीका अनुसार स्टेज–४ को डिम्बाशयको क्यान्सरबाट बाँच्ने दर जम्मा १९ प्रतिशत छ। तर, म त्यसका बावजुद पनि अझै जिउँदै छु। बाँचिरहेकी छु। बाँच्ने आशा नगरेको भए पनि अझै बाँचिरहेको छु। मैले आफ्नो वंशाणुगत कमजोरीलाई जितेँ। मेरा दुविधा र बाधाहरूलाई अनि मेरो जिन्दगीका उतारचढावलाई पनि। मलाई थाहा भएन, केले काम गर्यो? पक्कै पनि केहीले त गर्यो होला!
यसको अर्थ के हो भने, त्यो १९ प्रतिशतमा जो पनि पर्न सक्छन्। त्यसैले हामीले आशा मार्नु हुँदैन (जसलाई क्यान्सर छ, यसदेखि डराइरहनुभएको छ, या जो क्यान्सरसँग लडिरहनुभएको छ)। म तपाईंको दिमागलाई एकछिन विश्राम दिन चाहन्छु।
‘क्यान्सर’ शब्दले मृत्यु जनाउँदैन। आशा अथ्र्याउँछ। चिकित्सा विज्ञानले फड्को मारिसक्यो र क्यान्सरको जड पत्ता लगाउन विश्वमा अझै पनि अध्ययन भइरहेका छन्। जसरी हामीले विश्वलाई पोलियोरहित बनायौं, त्यसरी नै सम्भवतः विश्व क्यान्सररहित पनि बनाउन सक्छौं। पहिलेभन्दा अहिले यो रोगबाट धेरै मानिस बाँचिरहेका छन् त्यसैले आशा गर्न नछाडौं।
म मर्न चाहन्नँ
व्यायामले पनि पेटको बोसो घटाउन नसकेपछि दिक्क लागेर म चिकित्सकको सल्लाह लिन थालेँ। मुम्बईका धेरै डाक्टरकहाँ उपचार गर्न गएँ। ‘होल बडी चेकअप’ गराउने तयारीमा पनि थिएँ। त्यही बेला मलाई काठमाडौं जानुपर्यो।
प्रशंसकहरूका आँखामा युवा र आकर्षक देखिनुपर्ने कलाकारहरू उमेर छिप्पिँदै जाँदा ऐना हेर्न डराउँछन्। उनीहरूलाई बुढ्यौलीले चाउरी पर्न थालेका आफ्नै अनुहारदेखि डर लाग्न थाल्छ। म पनि आफूलाई बुढ्यौलीले छोप्दै गएको स्वीकार गर्न थालेकी थिएँ, किनकि म चालीसकी भइसकेकी थिएँ।
काठमाडौं आउनु तीन महिनाअघि म मुम्बईको सिद्धिविनायक मन्दिर गएकी थिएँ। सामान्य पूजापाठ गरेँ। भित्रभित्रै मन्त्र जपेँ। बढेको तौलबाट मुक्ति पाउन भाकल गरेकी थिएँ– अर्को तीन महिनासम्म अन्न खानेछैन। माछामासु र जाँडरक्सी त छुँदै छुन्न। मैले यसैगरी साधुहरू उपवास बस्छन् भन्ने सुनेकी थिएँ। यस्तो अवस्थामा म जेसुकै गर्न पनि तयार थिएँ।
त्यसैबीच नोभेम्बर २०१२ मा म काठमाडौं उडेँ। त्यो दिन मेरा मेरा लागि एक अविस्मरणीय दिन थियो। मेरो साथीकी बहिनीको विवाह हुँदै थियो। मैले जुन स्वअनुशासनबाट आफूलाई बाँधेर राखेकी थिएँ, त्यसलाई फुकाउने त्योभन्दा अर्को उपयुक्त अवसर भेटिँदैनथ्यो। आज फर्केर हेर्दा सम्झन्छु, त्यो मलाई भित्रैभित्रै पञ्जामा पारेर बसेको रोगको पहिचान हुनुभन्दा दुई दिनअघिको कुरा थियो।
यसभन्दा अघि ममाथि कस्तो बज्रपात हुँदै छ भन्ने कुराबाट बेखबर म विवाह उत्सवमा रमाइरहेकी थिएँ। सबै साथीहरू पिउँदै थिए। खुसी मनाउँदै थिए। म पनि एक गिलास वाइन लिएर त्यो खुसीमा समाहित भएँ। त्यही बेला पेट फेरि डुम्म फुलेझैं लाग्यो।
पार्टी सकेर म आफ्नो कारमा काठमाडौंस्थित घर फर्कंदै थिएँ। मैले पेटनिर असह्य पीडा महसुस गरेँ। त्यो पूरै रात मैले घोप्टो सुतेर काटेँ। म कोल्टे फेर्नसम्म सक्दिनथेँ। मलाई के भइरहेको छ ? म आफैंसँग भुतभुताएँ, दुविधा महसुस भयो र निकै डराएँ पनि।
भोलिपल्ट बिहानै मैले आफ्नो भाइ सिद्धार्थसँग कुराकानी गरेँ। भाइले तुरुन्तै मलाई अस्पताल लग्यो। अनि, म नर्भिक अस्पताल आइपुगेँ।
त्यो बिहान जब डा मधु घिमिरेले मेरो परीक्षण गरे। परीक्षणपछि उनले मलाई ‘सामान्य संक्रमण हो मनीषा, चिन्ता लिनुपर्दैन। सन्चो भइहाल्छ’ भन्छन् भन्ने सोचेकी थिएँ।
‘तपाईंको पेटमा धेरै तरल पदार्थ जमेको छ, यसलाई झिकेर परीक्षण गर्नुपर्छ,’ डा घिमिरेले भने। उनले सुई झिके। सुई देख्नेबित्तिकै मेरो जिउ कक्रक्क प¥यो। उनले त्यसको वास्तै नगरी पेटमा सुई रोपे, पेटभित्र जमेको तरलको थोरै अंश बिस्तारै सुईमा स¥यो। उनले त्यो नमुना ‘बायोप्सी’का निम्ति पठाउने बताए।
उपचारपछि घर पठाइन्छ होला सोचेकी थिएँ तर त्यो रात मैले नर्भिकमै कटाउनुपर्यो। दोस्रो दिन पूरै छटपटीमै कटाएँ। डा घिमिरेका बारेमा नर्ससँग अनेकौंपटक सोधेँ।
साँझ छिप्पिँदै थियो। त्यही बेला मेरो परिवारका सदस्यहरू एकएक गर्दै कोठाभित्र छिरे– मेरा आमाबुबा, सिद्धार्थ, मेरी काकी, काका र अरू भाइ–बहिनीहरू। किन ! यिनीहरू किन यस्तरी हुल बाँधेर मलाई हेर्न आइरहेका छन् ?
मैले थकान, छटपटाहट र तनावले गलेको स्वरमा सुस्तरी सोधेँ, ‘के भयो ? किन कोही मलाई केही बताउँदैन ?’
अचम्भित भइरहेका आँखाहरू डा घिमिरेमा गएर अडिए। उनी मेरो परिवारका सदस्यहरूको भिडमा पछाडि उभिएका थिए। उनी त्यहाँबाट अगाडि सरेर मेरो नजिक आए। उनी बिस्तारै मतिर बढ्दै थिए। उनले चस्मा लगाएका थिएनन्। हातमा केही कागजपत्र च्यापेका थिए। एउटा फाइल पनि थियो, जसका पन्नाहरू धेरैचोटि ओल्टाइपल्टाइ गरिरहेका देखिन्थे।
कृपया केही त बताउनुहोस् ?
‘मनीषा, अचेल यस्तो कुराको उपचार हुन्छ,’ उनले भने।
‘उपचार ? तपाईं कस्तो उपचारको कुरा गर्दै हुनुहुन्छ ?’ मैले आफ्नो भासिएको स्वरलाई अलिकति जोड दिएर सोधेँ।
‘समय पहिलेजस्तो छैन। विज्ञानले धेरै प्रगति गरिसक्यो। अचेल यस्तो अवस्थाको धेरै राम्रो उपचार हुन थालेको छ। मान्छेहरू लामो समय बाँच्न थालेका छन्,’ उनी कुरा चपाएर बोल्दै थिए।
‘मलाई के भएको छ ? कुन उपचारको बारेमा बताउँदै हुनुहुन्छ ?
डा घिमिरे एकछिन मौन रहे। उनी भित्रैदेखि आफूलाई बलियो बनाउन खोज्दै थिए।
‘मनीषा, प्रिय, तिमीलाई क्यान्सर भएको छ !’
क्या–न्–स–र ? मैले हरेक शब्दलाई बल दिएर उच्चारण गरेँ, ‘मलाई कसरी क्यान्सर हुन सक्छ ? कहीँकतै कसैबाट गल्ती भएको हुन सक्छ। यो मलाई लाग्ने खालको रोगै होइन !’
मैले मनमा अनेक कुरा खेलाउँदै थिएँ। त्यसलाई भंग गर्दै डा घिमिरेले बिस्तारै भने, ‘डिम्बाशयको क्यान्सर, अन्तिम चरणको।’
उनको बोलीसँग मेरो कानले तालमेल मिलाउन सकिरहेको थिएन। म भन्दै थिएँ, ‘त्यसो हो भने किन तपाईं यसलाई काटेर फालिदिनुहुन्न ?’
त्यही गर्भ रहने पाठेघर मैले चटक्क चुँडालेर फाल्ने कुरा गर्दा डा घिमिरेले प्रस्ट, तर पराजित शैलीमा भने, ‘कति काट्नु ? कहाँसम्म काट्नु ? क्यान्सर जताततै फैलिइसक्यो।’
त्यतिबेला उनले केके भने, केही पनि सुनिनँ। त्यो क्षण पूरै कोठा फनफनी घुम्दै थियो। मेरो पैतालामुनिको जमिन भासिँदै थियो। म शून्यमा घरी तैरिँदै थिएँ, घरी डुब्दै।
अनि, मेरो अन्तरआत्माको आवाज एकोहोरो भन्दै थियो– म मर्न चाहन्नँ।
क्यान्सरबाट जे सिकेँ
अब म निको भइसकेँ। मेरो चाहना हो, म अरूलाई सहयोग गर्न सकूँ। मलाई भन्न मन छ कि म कसरी निको भएँ ? र, मैले क्यान्सरबाट सिकेको पाठ तपाईंहरूलाई बुझाउने कोसिस गर्र्दै छु।
मलाई स्टेज–४ को क्यान्सर भएको थियो, जुन शरीरका अन्य अंगमा पनि फैलिइसकेको थियो। (हो, मैले धेरै समयसम्म यसलाई स्टेज–३ को क्यान्सरको रूपमा लिएकी थिएँ, जबसम्म मेरो ल्याब रिपोर्ट आएको थिएन)। मलाई थाहा छ, मलाई जस्तै क्यान्सर भएका धेरै बिरामी बाँचेका छैनन्। कहिलेकाहीँ जीवित भएकोमा पछुताउँछु। तर, म यस्तो सोचाइलाई कतै टाढा मिल्काइदिन्छु र म फेरि रमाउन चाहन्छु।
कुरा सत्य छ। म यसकारण बाँचे, किनभने मैले राम्रो साथ सहयोग पाएँ। राम्रो मेडिकल सेवा–सुविधा पाएँ अनि मेरोे इच्छाशक्तिले पनि काम गर्यो।
यो सबैले सिक्नुपर्ने कुरा हो। क्यान्सरलाई जित्नको लागि विभिन्न उपाय अपनाउन सकिन्छ। यसका लागि तपाईंलाई धेरै ज्ञानको आवश्यकता छ र बलियो साथ र सहयोग पनि। विदेशीहरू भन्दा हामी एसियालीहरू दुःखको बेला साथ–सहयोग पाउनमा धेरै भाग्यमानी छौं।
क्यान्सरका सम्भावित कारण
मैले किताब लेख्नुको उद्देश्य त्यतिबेलासम्म पूरा हुँदैन, जब मैले अनुभूत गरेका मलाई क्यान्सर गराउने कारण बताउँदिन। म एकदम विश्वस्त छु कि हाम्रा भावनाले हाम्रो वास्तविकता सिर्जनामा ठूलो भूमिका खेल्छन्। त्यसैले मानसिक स्वास्थ्यले शारीरिक विसन्चो दुर गर्न एकदमै महत्वपूर्ण भूमिका खेल्छ। म डाक्टर होइन, तर म यहाँ मेरो जीवनको परामर्शदाता र विश्लेषकको भूमिकामा प्रस्तुत हुँदै छु।
कृतज्ञताको कमी
मेरो फिल्म करिअरको मध्यतिर, जतिबेला म करिअरको शिखरमा थिएँ, खै किन हो, अचानक मलाई नैराश्य जाग्न थाल्यो। मसँग सबथोक थियो र पनि केही अपुग महसुस भइरहेको थियो। वर्षको १२ वटा फिल्म, दैनिक ८ घन्टा सुटिङ, मुम्बईको विभिन्न कुनामा तीन सिफ्ट काम गरिरहिँदा म निकै थाकिसकेकी थिएँ। म मुम्बईको ट्राफिक जामदेखि आजित थिएँ। मेरोको कामको चाप र समय अभावले नयाँ ठाउँ घुम्न पाइरहेकी थिइनँ। मैले आफैंलाई सम्हाल्न सकिरहेकी थिइनँ। के यो दैनिक कामको थकानले थियो ?
सायद मैले त्यही गल्ती गरेँ। मैले पाएका यी अवसरप्रति कृतज्ञ हुनुपथ्र्यो तर म दुःखी भएँ।
मेरा भावनाहरू
मैले अव्यवस्थित महसुस गरिरहेकी थिएँ, मेरो भावुक जीवनले त्यही प्रतिविम्बित गरिरहेको थियो। म छोटोछोटो समय प्रेममा रहेँ, किनकि म जहिल्यै बेखुसी र प्रेमविहीन महसुस गर्थें। आफैंले आफूलाई सम्हाल्नुको सट्टा अरू मानिस खोज्न थालेँे। मैले त्यस्ता मान्छे नपाएको होइन तर ‘भावनात्मक विष’ छाडेर उनीहरू गए; जसलाई मैले झेल्नुपर्यो। मलाई के लाग्छ भने त्यही भावनात्मक विषले मेरो शरीरलाई धुजाधुजा बनायो।
बेपरवाह
कहिलेकाहीँ लाग्थ्यो, म बेपरवाह भएकी छु, केही भेउ नपाउने। आफ्ना र परिवारका इच्छाहरूसँग बेपरवाह। मैले उनीहरूका कुरा सुन्न छाडिदिएँ। उनीहरू म पीडाबाट गुज्रिरहेको देख्थे, यस्तो अवस्थामा उनीहरू (विशेषगरी मेरी आमा) माथि के बितिरहेको थियो, मैले देखिनँ। म पूरै शून्यतामा हराइसकेकी थिएँ। म आफ्नो दैनिक तालिका, टुटेका सम्बन्ध र अक्षम्य पापाराजीबाट आजित भइसकेको थिएँ। बेपरवाह, हठ र अज्ञानताबीच म अन्धाधुन्ध अघि बढिरहेकी थिएँ।
हर्मोनको उपचार
म चालीस पुग्दै छु, एकदिन झसङ्ग भएँ।
मेरो शरीरको घडी निरन्तर अघि बढिरहेको छ। ममा बच्चाको व्यग्र चाहना भयो। मैले बुझेँ, यसका लागि चाँडै विवाह गनुपर्छ। म जोसँग प्रेम सम्बन्धमा थिएँ, उसले मसँग भविष्य देखेन। त्यसैले मैले त्यो सम्बन्धमा पूर्णविराम लगाएँ र हतारमा बिहे गरेँ। दुर्भाग्यवश आफ्नै घर र बालबच्चा चाहेँ। स्पष्ट छ कि यही कारणले विवाह गर्नु मेरो गलत निर्णय थियो। ममा नैराश्य जाग्न थालेपछि लाग्थ्यो, बच्चा भएपछि त्यो ठिक हुनेछ।
म भित्रभित्रै एकदमै निराशाबाट गुज्रिरहेकी थिएँ। सबैतिर खराब भइरहेको थियो। किन मेरो सपनाको घरबार भत्किरहेको थियो ? पक्कै पनि सन्तानले मेरो घरबार जोगाउन सक्छ। म प्राकृतिक रूपमा सन्तान जन्माउन अक्षम रहेँ। त्यसैले अघि बढेँ र आइभिएफ प्रविधि अपनाएँ। त्यसले मेरो स्वास्थ्यमा खराबी ल्याउने कुराको मलाई कमै ज्ञान थियो। म बिआरसिए–आई पोजिटिभ थिएँ। के आइभिएफको त्यही सुईले मलाई डिम्बाशयको क्यान्सर गराएको हो ? कारण यही हो वा होइन कहिल्यै यकिन गर्न सक्दिनँ, किनकि यो चिकित्सा विज्ञानबाट प्रमाणित भएको छैन।
गलत जीवनैशली
एक दशकसम्म मैले आफ्नो शरीरमाथि शोषण गरेँ। मैले अपनाइरहेको खराब जीवनशैलीले मेरो ज्यानलाई रोगतर्फ धकेल्दै गयो। यसले क्यान्सर नै गराउन नसके पनि अन्य रोग भने निम्त्याउँथ्यो। कहिलेकाहीँ एकलास अन्धकार रातमा म सोच्ने गर्छु, के हुन्थ्यो होला वा यो भन्दा अझ नराम्रो हुन सक्थ्यो !
भावनात्मक अत्याचार
म जहिले पनि भावनामा बहकिने व्यक्ति हो। दिमागले होइन, मनले सोच्छु। पहिले नै टुटेका सम्बन्धहरूका कारण मलाई विवाह सफल बनाउन चाहन्थेँ। तर म सांसारिक जीवनका मार्गहरूप्रति अन्जान थिएँ। पछाडि फर्केर हेरेपछि म आफैंलाई अनेक प्रश्न गर्छु।
मेरो अुनभवले अब मलाई बुझ्ने बनाइसकेको छ। जो महिलाहरू आफ्नो सम्बन्धमा अड्किएर बसिरहेका हुन्छन्, मसँग उनीहरूका लागि केही सुझाव छन्। तपाईं सक्दो कोसिस गर्नुस्, तर अवस्थालाई सुधार्न सकिँदैन भने कृपया चुपचाप नभोग्नुहोस्। सामाजप्रतिको लज्जा र दबाबले तपाईं आफ्नो अवस्थालााई दबाएर नराख्नुस्। सहयोगको लागि आग्रह गर्नुस्, सहयोग खोज्नुस्। यदि त्यसलाई तपाईंभित्रै दबाएर सहने प्रयत्न गर्नुहुन्छ भने शरीरले कुनै रोग निम्त्याउने सम्भावना बढ्छ।
कसैलाई किन क्यान्सर हुन्छ वा कसैलाई किन हुँदैन ? हामी कसैलाई थाहा छैन। हामी यो कुरामा पनि अनभिज्ञ छौं कि किन कोही क्यान्सरलाई सहन सक्दैनन् र कोही आफ्ना कथा सुनाउनका लागि निको हुन्छन् ? मलाई यतिमात्र थाहा छ कि म तीमध्ये एउटी भाग्यमानी हुँ र मेरो अनुभवबाट जसलाई सिक्न जरुरी छ, ती महिलाहरूका निम्ति मेरो जीवन प्रयोग गर्नेछु।
चिकित्सा विज्ञानले अझै पनि क्यान्सरको कारण तथा त्यसको उपचारको बारेमा पत्ता लगाउने प्रयास गर्दै छ। पत्ता लाग्ने बेलासम्म हामी आफ्नो शरीरको जतन गरौं। आफ्नो शरीरलाई उपहारका रूपमा स्वस्थ आहार र सही जीवनशैली दिऔं। आत्मैदेखि त्यसतर्फ लाग्ने संकल्प गरौं। आशा फैलाऔं। प्रेम र विनम्रताले एक–अर्कालाई निको हुन सघाऔं। भगवान् जानकार छन्, संसारलाई योभन्दा बढी जरुरी छ।
क्यान्सर मेरो गुरु
मलाई क्यान्सरले कृतज्ञ बन्न सिकायो। हरेक स–साना विषयमा गहिरो अनुभूति दिलायो। क्यान्सरले मलाई फलफूलको स्वादमा ध्यान दिन सिकायो। मैले रसिलो स्याउ खाएँ, टर्रो कागती खाएँ। यसले मलाई पोषक खाना छान्न र खानामा रमाउन सिकायो। यसले मलाई सूर्यास्त र सूर्योदयको महत्व बतायो। यसले मलाई प्रकृतिका हरेक कुरामा सौन्दर्यको अनुभूत गरायो। मान्छेको दैनिक भावभंगीमामा ध्यान केन्द्रित गर्न सिकायो, जहाँ जीवनले संघर्ष र हाँसोका रेखाहरू कोरेको हुन्छ।
छोटकरीमा यसले मलाई हरेक स–साना कुराको प्रशंसा गर्न सिकायो। उत्साह र निराशाको सौन्दर्यबोध गरायो।
सकारात्मक सोचाइले गुनिलो औषधिभन्दा कम चामत्कारिक काम गर्दैन। ‘ल अफ अट्र्याक्सनको सिद्धान्त’ जे कुरामा धेरै केन्द्रित भइन्छ, त्यो प्राप्त हुन्छ भन्ने व्याख्या गरेको छ। सकारात्मक कुरामा केन्द्रित भएर किन आफ्नो जीवन सुन्दर नबनाउने ?
जीवन पक्कै पनि उतारचढाव र समस्याले भरिएको हुन्छ तर त्यो सफलता, खुसी र सपनाले पनि सजिएको हुन्छ। नकारात्मकता स्वास्थ्यको लागि हानिकारक छ। क्यान्सरपछि मैले सकरात्मकतामा ध्यान दिन थालेँ।
हामी सबैलाई थाहा छ, जन्मेपछि एक दिन मर्नुपर्छ। मृत्यु शब्द कसैलाई मन पर्दैन। क्यान्सरले मलाई आफ्नै मृत्युसँग साक्षात्कार गरायो। मैले महसुस गरेँ कि मृत्युको डरले मेरा भावनालाई कमजोर बनायो। मैले आफैंलाई सम्झाएँ, मृत्युप्रतिको डर अनावश्यक कुरा हो। किनकि मृत्यु त प्राकृतिक प्रक्रिया हो। एक समयपछि मेरो मृत्यु आउने नै छ। त्यसैले बेकारमा म किन मृत्युसँग डराएर बसूँ ?
साँच्चिकै क्यान्सर मेरो जीवनमा गुरु बनेर आयो। यसले मलाई स्वास्थ्यप्रति सजग र जागरुक बनायो। मलाई प्राणायाम अनि योगा सिकायो। आध्यात्ममा लाग्न सिकायो। क्यान्सरले मलाई नयाँ ज्ञान, नयाँ बोध र नयाँ प्रश्नहरू गर्न सिकाएको छ।
यदि कुनै चिज नराम्रो भयो भने आफैलाई दोष दिने चलन छ। त्यस्तो महसुस कहिल्यै गर्नु हुँदैन। क्यान्सरपछि म आफैंलाई देखेर घृणा गर्थें, मोटी र नराम्री। मैले यस्तो सोच्न बन्द गर्नुपर्छ भन्ठानेँ। आफूभित्रको सानो बालिकालाई बाहिर निकालेँ, जसले क्यान्सर जितेर सबैलाई छक्क पारेकी छ। मैले आफूलाई यस्ती साहसी महिलाका रूपमा लिएँ, जसले क्यान्सर जितेकी छ। मलाई ऊप्रति गर्व लाग्न थाल्यो। फेरि आफूलाई माया गर्न थालेँ।
किताब, थेरापी र संगीत मेरो जीवनको खम्बाका रूपमा रहेका छन्। आर्ट थेरापीद्वारा म आफूलाई भित्रबाटै महसुस गर्न सक्छु। म आध्यात्मिक संगीत सुन्छु। संगीत, बाँसुरी र पियानोको धुन मन पराउँछु। ज्याज संगीत पनि मन पर्छ।
महिला–मित्रहरू, हामी आफ्नो उमेरलाई स्वीकारौं। खासगरी हाम्रो बढ्दो उमेरलाई। जिन्दगी भनेको उत्सव हो। हाम्रो चाउरीपना र बुढ्यौलीसँगै देखिने अरू कुरामा पनि हामी उत्सव मनाऔं। जहिल्यै पनि सुन्दर बन्न नखोजौं।
जिउँदै छु नयाँ जीवन
मैले आफूलाई भित्री रूपमा हराभरा बनाएपछि नयाँ साथी पाएकी छु, म आफैं मनीषा ! आत्मविश्वास र प्रफुल्ल मुद्राका साथ अगाडि बढिरहेकी छु। म संसार नै थाम्न सक्छु। नयाँ चुनौतीहरूसँगै अघि बढ्न तयार छु। किनकि मैले चुनौतीको सामना गर्ने नयाँ सिप सिकिसकेँ। मैले अब आफ्नो वरिपरि स्पष्ट क्षेत्र बनाइसकेँ। मेरो अनवरत प्रयासले दुःख तोडिए। म कमजोर पनि भइनँ।
प्रेमी खोज्दै छु म ?
के म अझै प्रेमी चाहन्छु ?
चाहन्छु।
के म फेरि कसैलाई राम्ररी परीक्षण नगरी आफ्नो पवित्र ठाउँमा राख्नु सक्छु ? म अर्को सम्बन्ध टुटेको देख्न चाहन्न। त्यसो भए कस्तो खोज्दै छु त म ?
जो मेरो बराबरीको होस्, मलाई म जुन अवस्थाबाट गुज्रिएँ, त्यसको सम्मान गरोस्। जो मेरो काममा सहयोग गरोस् र आफ्नो काममा पनि सहयोग मागोस्। छोटकरीमा परिपक्व, आध्यात्मिक, आर्थिक रुपमा सबल र हेर्दा राम्रो देखियोस्। यस्तो व्यक्ति प्राप्त नगरुन्जेलसम्म म एक्लो हुन्छु तर खुसी हुन्छु, आफ्नै साथसँग।
के मलाई क्यान्सरले परिवर्तन गर्यो ?
गर्यो। नयाँ जीवनको हरेक बिहानीमा म आफू विभिन्न बाधा अड्चनबाट मुक्त भएको महसुस गर्छु। जसरी वर्षाले सबै मैलो पखाल्छ।
सम्बन्ध मुल्यवान् हुन्छन्। समय व्यतित गर्नका लागि होइनन्। नाटक अरू केही होइन, मैले देखाउने काँचको पर्दामात्र हो। म गहिरो पीडाबाट गुज्रिएँ, मेरो नकारात्मक जिन्दगी र खराब मानिस, अवस्था र सम्बन्धबाट पनि। अस्तव्यस्तता जिन्दगीबाट अब मेरो दिन स्वस्थ पोषिलो खाना, व्यायाम, योग र प्राणायामले भरिएको छ। मैले फिल्म करिअर फेरि बनाउन लागिसकेँ। म यसको लागि कृतज्ञ छु, जसरी हृदयदेखि नै मेरो नयाँ जीवनप्रति कृतज्ञ छु। खासमा म अहिले जरासहितको बलियो रुखमा परिणत भइसकेकी छु।
क्यान्सर मेरो उपहार
मलाई के लाग्छ भने क्यान्सर मेरो जीवनमा उपहार बनेर आयो। क्यान्सर भएपछि मेरो सोचाइ र दृष्टिकोण अझ निखारिएको छ। स्पष्ट भएको छ। मैले आफ्नो मौन रिस आवेगलाई नियन्त्रण गर्न र त्यसलाई शान्त भावमा परिणत गर्न सिकेँ। तर म मानव हुँ, कहिलेकाहीँ कमजोरी हुन सक्छन्। यस अर्थमा म अझै सुधारको क्रममा छु। तर म पक्कै पनि असल मानिस बनिसकेकी छु। अझ उदार र वास्तविक।
मैले भित्रैबाट आफूलाई परिवर्तन गरिसकेँ, त्यसरी नै आफ्नो दुनियाँ पनि। अन्ततः मैले जीवनलाई अँगालिसकेँ, माया गर्न थालिसकेँ। लाग्छ, जीवनले मलाई पनि माया गर्यो।
क्यान्सरमुक्त भएको अहिले ६ वर्ष भइसकेको छ। मैले आफ्नो पुनर्जीवन खुसीसाथ जिइरहेकी छु। मेरो जीवनको सुरुवात त बल्ल भएको छ।
क्यान्सरबाट जोगिन के गर्ने ?
अहिले धेरै मानिस तनावमा जीवन बाँचिरहेका छन्। मानिस रोबोटजस्तै भएका छन्। मेसिनजस्तै काम गर्छन्। दुर्भाग्यवश, म पनि त्यस्तै हतासपूर्ण जीवन बाँचिरहेकी थिएँ। र, हेर्नुहोस् अहिले मैले कहाँ अवतरण गरेकी छु। क्यान्सरले मलाई हरेक कुरामा सावधान रहन सिकायो। निरन्तर ध्यानले मलाई निकै लाभ मिलेको छ। अहिले म आफ्नै गहिराइमा पुग्छु, अनि उत्तरहरू खोज्छु।
आफ्नो जीवनलाई पुनर्मूल्यांकन गर्नुस्। आरामले बस्नुस्, ध्यान दिनुस् र सत्य भेट्नुहोस्। एकदेखि १० सम्मको चार्ट बनाउनुहोस्। आफ्नो पेसा, सम्बन्ध, सम्पत्ति र स्वास्थ्यमा तपाईं कहाँ हुनुहुन्छ ? थाहा पाइराख्नुस्, तपाईं इमानदार हुनुपर्छ। याद गर्नुहोस्, सत्य के हो भने सामान्यतया हामी अरूलाई भन्दा बढी आफैंलाई ढाँटिइरहेका हुन्छौं।
आफैंप्रति अनुगृहीत हुनुहोस् किनकि कहिलेकाहीँ हामी आफूप्रति निकै नै क्रूर हुन्छौं। त्यसैले आफैंप्रति दयालु बन्नुहोस्। यदि तपाईं आफूलाई कहीँकतै चुकेको पाइरहनुभएको छ भने भद्रतापूर्वक सच्याउनुहोस्। यहाँनेर मुख्य कुरा ‘भद्रता’ हो।
परिवर्तनमा ध्यान दिनुहोस्। परिवर्तन निकै नै गाह्रो चिज हो, किनकि हामी कुनै बानीसँग धेरै भिजिसकेका हुन्छौं। जब हामी खराब बानीलाई परिवर्तन गर्न खोज्छौं, पक्कै पनि मुस्किल छ। तर, परिवर्तन गरेरै छाड्ने प्रतिबद्धतामा स्थिर रहनुहोस्। तपाईं खराब बानीलाई किन परिवर्तन गर्न चाहँदै हुनुहुन्छ, त्यसमा भने कृपया केन्द्रित हुनुहोस्।
आफ्नो दैनिक जीवनमा पाइरहेको गाँस, बास र कपास र प्रियजनको साथ सहयोगप्रति हामी कति जना अन्तरहृदयदेखि नै कृतज्ञ छौं?
(भर्खरै बजारमा आएको मनिषा कोइरालाको पुस्तक 'हिल्ड'को अनुदित अंश )