क्यान्सर सुन्नेबित्तिकै हरेकको मनमा त्रासको उफान उठ्छ। किनभने क्यान्सर भएपछि ज्यान जोगाउन मुस्किल हुने भय फैलिएको छ। तर, चिकित्सकहरूले जोड दिएर भन्ने क्यान्सरका ‘चरण’ बारेमा धेरैले बुझ्ने प्रयत्न गरेको पाइँदैन। चिकित्सकले विस्तृतमा बताउने गरेको अंगपिच्छे क्यान्सर निको हुने दरमा रहेको भिन्नता पनि धेरैले सुनेका छैनन्। धेरैलाई सुनाइएको छैन। त्यसैले बोलीचालीमा क्यान्सरका अगाडि ‘असाध्य’ जोडेर रोग भन्ने गरेको पाइन्छ। भ्रम यही ‘असाध्य’ले फैलाएको छ।
क्यान्सर असाध्य होइन, उपचारपछि साध्य लाग्ने रोग हो। पहिलो चरणमा रहेका अधिकांश अंगका क्यान्सर उपचारबाट निको भएका छन्। त्यसपछिका चरणमा रहेका क्यान्सर पनि कतिपय अवस्थामा निको हुन्छन् र भइरहेका छन्। डिम्बाशय क्यान्सर चौथो चरणमा पत्ता लागेकी चर्चित अभिनेत्री मनीषा कोइराला एउटा उदाहरण हुन्। उनकै अवस्थामा पत्ता लागेका १९ प्रतिशत क्यान्सरका बिरामीको निको हुने अमेरिकन क्यान्सर सोसाइटीको अध्ययनले देखाएको छ।
नेपाल जस्ता विकासोन्मुख देशका मानिसमा प्रायः क्यान्सर अन्तिम चरणमा पुगेपछि पहिचान हुने गरेको छ। त्यस्तो अवस्थामा क्यान्सर देखिएपछि निको पार्न मुस्किल पर्छ। यही कारण धेरैले क्यान्सरलाई ‘असाध्य रोग’को संज्ञा दिएका हुन्। क्यान्सरका विभिन्न लक्षण हुन्छन्। ती सुरुवाती चरणमा सामान्य हुन सक्छन्। जस्तो कि झापाकी यशोदा दाहाल सामान्य ढाड दुखाइको समस्या लिएर अस्पताल पुगेकी थिइन्। तर, त्यो दुखाइ डिम्बाशय क्यान्सरका कारण रहेको देखियो। पहिलो चरणमै रहेको उनको डिम्बाशयको क्यान्सर नेपालकै अस्पतालमा उपचार गराउँदा निको भयो। तर, स्वास्थ्य सम्बन्धी पूर्ण सचेतना फैलिनसकेको नेपालमा अधिकांशले यस्ता सामान्य लक्षणलाई बेवास्ता गरिरहेका हुन्छन्। त्यही बेवास्तापछि महँगो साबित हुन्छ। त्यसैले स्वास्थ्यमा देखिने सामान्यभन्दा सामान्य समस्याका विषयमा आफ्नो पहुँचअनुसारको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीसँग परामर्श गर्न जरुरी हुन्छ।
यो त भइसकेपछि हुने उपचारको कुरा भयो। क्यान्सर के कारणले हुन्छ भन्ने ठ्याक्कै थाहा भइसकेको छैन। तर, चिकित्सकले क्यान्सर गराउन सक्ने केही सम्भावित कारणचाहिँ खुट्याएका छन्। ती कारणलाई नजरअन्दाज गर्ने धेरै भेटिन्छन्। उदाहरणका लागि सूर्तीजन्य पदार्थको सेवनले मुख, घाँटी र फोक्सोको क्यान्सर गराउने चिकित्सा विज्ञानले प्रमाणित गरिसकेको छ। तर, यसको सेवनप्रति सचेत निकै कम भेटिन्छन्।
यसैगरी विषादीयुक्त खानेकुरा पनि क्यान्सरका कारकका रूपमा लिइएको छ। सर्वसाधारणको तहबाट फलफूल र तरकारीमा विषादी प्रयोगमा कमी ल्याउने तथा सरकारका तर्फबाट परीक्षण गर्ने कार्य त्यति तदारुकताका साथ भइरहेको पाइँदैन। यसगरी क्यान्सरबारे सही जानकारीको अभाव पनि त्यत्तिकै छ। सरकारले जानकारी सामान्य व्यक्तिसम्म पु¥याउने प्रभावकारी कदम चाल्न सकेको छैन।
क्यान्सरका बिरामीलाई उपचार सहयोगबापत नेपाल सरकारले एक लाख रुपैयाँ प्रदान गर्ने गरेको छ। जुन रकम पहिलो चरणको क्यान्सर निको पार्न सरकारी अस्पतालमा लाग्ने शुल्कका लागि पुगनपुग रहेको चिकित्सक बताउँछन्। तर, देशमा क्यान्सर उपचारका लागि सरकारी संस्था निकै कम छन्। भएकामा पनि कहिले उपकरण विग्रिने वा कहिले अस्पताल सञ्चालन प्रणालीमा समस्या आउने गरेको छ। त्यसैले यसमा पनि सरकारले ध्यान दिनुपर्छ। क्यान्सरको उपचार निजी अस्पतालमा गराउँदा महँगो पर्छ। त्यसैले क्यान्सर उपचारका लागि प्रोटोकल बनाउने र क्यान्सरका बिरामीलाई दिइरहेको सहयोग समय सापेक्ष वृद्धि गर्नेमा सरकारले ध्यान पुर्याउनुपर्छ।
रोगको उपचारका लागि चिकित्सकीय ज्ञानसिप, औषधि र उपकरणको साथै बिरामी आफ्नै आत्मबल पनि महत्वपूर्ण हुन्छ। त्यो विभिन्न रोगबाट मुक्ति पाएकाहरूले पनि बताउने गरेका छन्। क्यान्सरमाथि विजयी हासिल गरेकी अभिनेत्री कोइरालाले पनि जीवनप्रतिको सकारात्मक दृष्टिकोणले क्यान्सर जित्न सहज हुने कुरामा जोड दिएकी छिन्। त्यसैले क्यान्सर ‘असाध्य’ रोग भनेर आमजनमा सिर्जना गरेको भय निवारण गर्नुपर्छ। बरु भइसके पनि आत्मबल र उपचारबाट जित्ने सकिने आशाको सञ्चार गराउनुपर्छ।