परिवर्तन संसारको नियम हो। परिवर्तनले मानवीय जीवनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ। परिवर्तन हुनसक्नु मानिसको एउटा शक्ति हो, साथै कमजोरी पनि।
छेपारोझैं परिवर्तन हुन्छन् मानिस आजकाल। कोही लोभ वा कुनै चिजको तृष्णामा सजिलै परिवर्तित हुन्छन्। दुःख, विछोड, मृत्यु भुलेर अगाडि बढ्न सक्नेगरी आफूलाई परिवर्तन गर्ने क्षमता पनि राख्दछ मान्छे।
अहिलेको पिँढी अर्थात् युवा र अभिभावकबीचकोे दूरीमा पनि परिवर्तनले धेरै ठूलो भूमिका निर्वाह गरेको हुन्छ। आजभोलि परिवारमा परिवर्तन हुन नचाहँदा वा नसक्दा मानसिक स्वास्थ्यमा धेरै असर परिरहेको देखिन्छ। कसैले यो एडेप्सन प्रक्रिया खुलेर बताउँछन्, कसैले मनमै राखी तनाव बोकेर हिँड्छन्। आजको समाज र यसको संरचनाले अभिभावक र छोराछोरीलाई नदीको दुई किनाराजस्तो छुट्याइराखेको हुन्छ।
यो कुनै अभिभावक वा छोराछोरीको समस्या होइन। यो एउटा पिँढीको दूरी हो। समय बदलिन्छ। समयसँगै सोच बदलिन्छ, ठाउँ बदलिन्छ, पहिरन बदलिन्छ, आकांक्षा बदलिन्छ। साथै हाम्रो पहिचान पनि बदलिन्छ।
नयाँ प्रविधि आएसँगै एउटा ठूलो टेबुलमा अट्ने टेलिभिजनलाई आज सजिलै पातलो स्मार्ट टिभीमा परिवर्तन गरिएको छ। हाम्रो जीवन पनि यस्तै हो। आज घरमा छोरी छिन्, भोलि कसैको श्रीमती र बुहारी हुन्छिन्। आज बुबाको भूमिकामा कोही छन्। भोलि ससुरा हुन्छन्।
हाफ प्यान्ट लगाएर छोरी हिँड्दा सजिलै अँगाल्ने हामी भोलि बुहारी आउँदा पनि परिवर्तन हुन्छौं त? यो सामान्य कुरा जस्तो लाग्छ, तर यसभित्रको तथ्य भने तितो हुन्छ। कुनै पनि अभिभावकले एकलौटी आफ्नो निर्णयले वर्षौं एउटा घर चलाएको हुन्छ। तर अब नयाँ पिँढी वा बुहारी आएर घरको रङ मात्र बदल्न खोजिन् भने हामी खिसिक्क पर्छौं।
उता छोराछोरी पनि आपूmलाई बढाउँदा र पढाउँदा आफ्ना अभिभावकले गरेको त्याग र परिश्रम सजिलै बिर्सिन्छन् र कुनै नयाँ प्रविधि वा कुनै नयाँ मोबाइलको एप्स मात्र आफ्ना अभिभावकले चलाउन जानेनन् भने प्याच्च बचन लगाइहाल्छन्।
यी त जीवनका साना केही उदाहरण मात्र हुन्। समयसँगै आएका परिवर्तनले जीवनमा नपत्याउने किसिमले मानसिक द्वन्द्व चलाइरहेका हुन्छन्। अभिभावकले छोराछोरीप्रति अस्वस्थ प्रतिस्पर्धाको अपेक्षा राखी आफ्नो सोच लाद्नु हँुदैन र छोराछोरीले पनि अभिभावकको त्याग, तपस्या र अनुभवको आदर गर्नैपर्ने हुन्छ।
अभिभावकले आफ्ना छोराछोरीप्रति धेरै पढ्नुपर्ने, परीक्षामा उत्तीर्ण हुुनैपर्ने, आफ्नो रोजाइको कपडा लगाइदिनुपर्ने, आफ्नो हिसाबको करिअर रोजिदिनुपर्ने जस्ता चाहना राखेर सकारात्मकभन्दा नकारात्मक सोचको विकास गराइरहेका हुन्छन्। छोराछोरीको मनोविज्ञान र बढ्दो उमेरसँगको जीवनप्रतिको अपेक्षाको वास्ता नगर्दिनाले छोराछोरीको मनमा पनि डर र अनावश्यक मानसिक दवाव पैदा हुने गर्छ।
अभिभावकले आफ्ना छोराछोरीलाई सानै उमेरदेखि क्षमताअनुरुप जिम्मेवारी दिनुपर्छ साथै अफ्ठ्यारा र दुःख पनि बाँड्न सक्नुपर्छ। नियम र अनुशासनको पालना घरका हरेक सदस्यले गर्दै गएमा त्यो नियमको पालना स्वयं छोराछोरीले पनि आफंै अपनाउँदै जान्छन्। यहाँ छोराछोरीले के बुझ्नु जरुरी छ भने अभिभावकले घाममा कपाल फुलाएका हुँदैनन्। अर्कोतिर अभिभावकले पनि छोराछोरीको ज्ञान र शिक्षामा विश्वास गर्न सिक्नुपर्छ।
दुवैथरीले आ–आफ्ना परिवर्तनका माध्यमलाई अपनाई समयसापेक्ष व्यवहार गर्न सकेमा अवश्य पनि मानसिक द्वन्द्व कम भई रमाइलो र सरल जीवन व्यतित गर्न सकिन्छ। अभिभावक नभए आज हामी छोराछोरीको के अस्तित्व हुन्थ्यो होला? अभिभावकले पनि आफ्ना छोराछोरीलाई साथीसरहको व्यवहार गर्न सक्नुपर्छ।
समयसँगै परिवर्तन अति आवश्यक छ आजको दिनमा। परिवर्तन हुनसक्नुलाई शक्तिको माध्यम बनाऔं। मानसिक स्वास्थ्यलाई ठिक राख्न आफ्ना मनका भारी बिसाउने गर्नुपर्छ। कम्युनिकेसन ग्यापले ठूलो फाटो ल्याउँछ एउटा अभिभावक र छोराछोरीको जीवनमा।
छोराछोरीको क्षमता र रुचिको पहिचान गरी अभिभावकले आफ्नो सम्बन्धको गाँठो कस्नुपर्छ। समय छँदै एडेप्सन प्रक्रियालाई बुझौं र अँगालौं। मानसिक स्वास्थतालाई विषेश ध्यान दिई आवश्यक मार्गदर्शन अपनाउँदा नै एउटा स्वस्थ परिवार निर्माण गर्न सकिन्छ