३५ वर्षीया कल्पना कसैसँग बोल्दिनन् । टोलाएर एकै ठाउँमा बसिरहन्छिन् । उनका श्रीमान दिनहुँ रक्सी पिएर घरमा झगडा गर्छन् । दुई हप्ताअघि परपुरुषसँग हिँडेको आरोप लगाएर श्रीमानले बेस्सरी पिटे । कुनै गल्ती नहँुदा पनि श्रीमानको ज्यादती सहन बाध्य भइन् कल्पना । श्रीमानले सधैं पीडा दिन थालेपछि उनी विस्तारै कम बोल्न थालिन् । दुई दिनदेखि त बोल्न नै छाडिन् । कल्पनाका आँखाभरि आँसु छन् । यस्तो प्रकारको रोगलाई एक प्रकारको डिप्रेसन (डिप्रेसिभ स्टुपर) भनिन्छ।
डिप्रेसन परापूर्वकालदेखि देखिएको रोग हो । डिप्रेसन धेरै मानिसमा देखिने रोग हो । विश्व स्वस्थ्य संगठनले मानिसको जीवनकालमा पुरुषमा १५ प्रतिशत र महिलामा २५ प्रतिशतसम्म डिप्रेसन हुने बताएको छ।
डिप्रेसन रोग लागेको बिरामीलाई आफूलाई अर्कै रोग लागेको भान हुन्छ । बिरामीले पटकपटक उपचारको सिकायत गर्ने, धेरै परीक्षण (रगत, एक्सरे आदि) गर्ने गर्दछन् । जति उपचार गरे पनि रोग नभेटिने यो रोगमा केही बिरामीले पीडा सहन नसकी आत्महत्यासमेत गर्ने गरेको पाइन्छ । एकै पटक धेरै अंगको लक्षण देखिने रोग डिप्रेसन हो । बिरामीले नशा पोल्यो, हात–खुट्टा झम्झमायो, सिल्का हान्यो, शरीर तात्यो जस्ता समस्या देखाउने गर्छन्।
रोग पत्ता नलाग्दा अनेकौं औषधि पसल चार्हछन् बिरामी । कतिपय बिरामी धामी–झाँक्रीकहाँ चहार्छन्, जसबाट बिरामी निको हुँदैन।
नेपालमा डिप्रेसन रोगको कारणमा परिवारिक कलह, काममा असफलता, श्रीमान विदेशिनु, प्रेममा वियोग, मानिस मर्नु, विदेशमा बस्नु, व्यापारमा नोक्सानी, जागिर छाड्नु, बालक अवस्थामा आमा–बाबुबाट टाढा रहनु र राजनीतिक असन्तुलनको असर आदि मुख्य पर्दछन् । कतिपय डिप्रेसन रोगका बिरामी राति निदाउँदैनन्।डिप्रेसनका बिरामी आत्तिने खालका सपना देख्छन्।
डिप्रेसनका धेरैजसो बिरामी आफूलाई असफल ठान्छन् र भविष्यप्रति निराशावादी हुन्छन् । कोही यौन क्रियामा कमी भयो भन्दै डाक्टर कहाँ आउँछन् । डिप्रेसन रोग हो भन्ने यकिन गर्न डिप्रेसनका लक्षणहरु कम्तीमा दुई हप्तासम्म रहनुपर्छ । महिलामा डिपे्रसन बढी हुने खास कारण थाहा भएको छैन तर सहनसक्ने क्षमता महिलामा कम हुने भएकोले रोग बढी लागेको भन्ने अनुमान छ।
डिप्रेसनका बिरामी नेपालमा धेरै छन् । कतिपय बिरामीले सुरुमा बेलुकीपख टाउको दुख्ने, कुराहरु बिर्सने, आत्मबल घट्ने, आत्तिएको महसुस गर्ने, दुःख परेको मानिस देख्दा मन थाम्न नसक्ने हुन्छ । मानिसमा विभिन्न खालका डिपे्रसन देखा पर्छन्, त्यसअनुसार लक्षणमा पनि भिन्नता पाइन्छ । कतिपय डिप्रेसनका बिरामी झर्किने र बढी रिसाउने, एक्लै बस्न रुचाउने गर्छन् । शारीरिक रोग जस्तैः क्यान्सर, चिनी रोग, थाइरोइड ग्रन्थीको गडबडी तथा दीर्घ रोगीहरुमा पछि गएर डिप्रेसन रोग लाग्ने सम्भावना बढी रहन्छ।
डिप्रेसनका कारण कतिपय बिरामीले घाँटीमा केही अड्कियो भन्ने, आफूलाई क्यान्सर भयो भनेर रुने, मर्ने भइयो भनेर आत्तिने, परिवारको बारेमा कुनै चिन्ता नलिने र जीवनमा आशा मारेको भेटिन्छन् । डिप्रेसनका बिरामीले आवश्यक कुरामा पनि मन थाम्न सक्दैनन् । सडकमा कुनै बिरामी देख्दा वा मरेको मानिस देख्दा आत्तिने र चिन्तित हुने गर्छन्।
डिप्रेसनका बिरामी एउटै घटनालाई आधार मानी सधैं अनावश्यक विवाद गर्छन् । परीक्षमा एक पटक फेल भएमा सधैं फेल भइन्छ भनेर आतिन्छन् । कतिपय डिप्रेसनका रोगी नकारात्मक सोचाइबाट पीडित हुन्छन् । मनमा यस्ता सोचाइ लिन्नँ भने पनि ती सोचाइ आउनाले छटपटी महसुस गर्छन् ।
डिप्रेसनका बिरामीको मस्तिष्कको परीक्षण सिटी स्क्यान, एमआरआई गर्दा कुनै खराबी देखिँदैन । न्युरोट्रान्समिटर जुन अत्यन्त सूक्ष्म परीक्षण मानिन्छ, यो परीक्षण गर्दा भने सेरोटोनिन तथा नरइपिनेफ्रिन भन्ने तत्व मस्तिष्कमा घटेको देखिन्छ।
केही डिप्रेसनका बिरामीमा काम्ने, बक्ने, अचानक बेहोस हुने, हातखुट्टा नचल्ने, शरीरको संवेदना हराउने, आफ्नो नाम उल्टो बताउने वा उत्तर उल्टो दिने, नबोल्ने, छिटोछिटो श्वास फेर्ने आदि लक्षण देखिन्छन् । डिप्रेसनका बिरामीले अनौठा लक्षण देखाउँदा कुटाई खाने, बोक्सीको आरोप खेप्ने गरेको पनि भेटिएको छ । मानसिक रोगको झन्डै एक तिहाइ हिस्सा ओगट्ने डिप्रेसनका बिरामी आफूलाई नसाको रोग लाग्यो भन्न रुचाउँछन् । तर आफू पागल बन्छु भन्ने ठूलो पिर उनीहरुमा हुन्छ । वास्तवमा यसका रोगीहरु अर्को रोगीमा परिणत भने हुँदैनन्।
डिप्रेसन एक जटिल रोग हो । लक्षणहरु एकै प्रकारका हुँदैनन् । उपचार गरे यो रोग निको हुन्छ । यो रोग पहिचान गर्न धेरै डाक्टरलाई गाह्रो हुन्छ ।
समुदायमा ५ प्रतिशत मानिस डिप्रेसन रोगबाट पीडित छन्, जुन पहिचान गर्न नसकिने भएकोले उपचार गर्न पाएका हँुदैनन् । समुदायमा आत्महत्या भएको घटना सुनिन्छ । यसको प्रमुख कारण डिप्रेसन नै हो।
लक्षण
दुई हप्ताभन्दा बढी समयसम्म दिक्क लागिरहने ।
रुन मन लाग्ने, निराश हुने ।
एक्लै बस्न रुचाउने ।
झर्को लाग्ने, दिक्क मान्ने ।
बोल्न मन नलाग्ने ।
छटपटी हने, छाती दुख्ने, पेट दुख्ने, हातखुट्टा झमझम गर्ने, पैताला पोल्ने, तालु पोल्ने, मुख सुक्ने ।
आत्मग्लानी हुने ।
भूत, वर्तमान र भविष्यबारे नकारात्मक सोचाइ रहने ।
निदाउन गाह्रो हुने, बिहान चाँडै बिउँझिने ।
खानामा रुची नहुने ।
शारीरिक सम्पर्क गर्न रुची नहुने ।
आफूलाई बकम्मा सम्झने, टाउको दुख्ने, फुर्ती नआउने ।
मर्न पाए हुन्थ्यो भन्ने, कसैले आत्महत्या गर्ने ।
बारम्बार रुने ।
शंका लाग्ने र कानमा आवाज आउने ।
यो रोग पटक–पटक दोहरिन पनि सक्छ ।
डिप्रेसन कति प्रकारका हुन्छन् ?
- न्युरोटिक डिप्रेसन
- साइकोटिक डिप्रेसन
- छटपटी गर्ने डिप्रेसन
- नबोली, नचली बस्ने डिप्रेसन
- बच्चामा पाइने डिप्रेसन
- बयस्कमा पाइने डिप्रेसन
- बुढेसकालमा देखिने डिप्रेसन
- जाडो महिनामा मात्र पाइने डिप्रेसन
- छोपिएको डिप्रेसन
- दोहोरिएको डिप्रेसन आदि
न्युरोटिक डिप्रेसन : यस्ता बिरामी आफूलाई कस्तो रोग लाग्यो भनेर चिन्ता गर्छन् ।
साइकोटिक डिप्रेसन : यस्ता बिरामी अरु मानिसदेखि शंका गर्ने गर्छन् ।
सेनाइल डिप्रेसन : बुढेसकालमा देखिने डिप्रेसनलाई सेनाइल डिप्रेसन भनिन्छ । यस्ता बिरामीले आत्महत्या गर्ने डर हुन्छ । आवाज आउने, एक्लै बोल्ने, एक्लैे हाँस्ने पनि गर्न सक्छन् ।
डिप्रेसन स्टुपर : यस्ता बिरामी नचली, नबोली बस्छन् । कोही बिरामीले आँसु बगाउँछन् ।
एजिटेटेड डिप्रेसन : यस्ता बिरामी अत्यन्त छटपटी गर्छन् । एक ठाउँमा बस्न सक्देैनन् । आत्तिने र अस्थिर मनस्थिति भएका हुन्छन् ।
रेटाडेड डिप्रेसन : यस्ता बिरामी कम बोल्छन् र टोलाउने गर्छन् ।
बच्चामा देखिने डिप्रेसन : बच्चामा दखिने डिप्रेसन केही फरक हुन्छ । पेट दुख्ने, टाउको दुख्ने, रिसाउने, पढ्न नजाने आदि लक्षण देखिन्छन् ।
बयस्कमा पाइने डिप्रेसन : यस्ता बिरामी अनेक शारीरिक लक्षण लिई पटकपटक डाक्टरकहाँ धाउँछन् ।
जाडो महिनामा देखिने डिप्रेसन : केही डिप्रेसन जाडो महिनामा मात्र देखा पर्छ । यस्तो डिप्रेसनलाई जाडो महिनामा पाइने डिप्रेसन भनिन्छ । रात लामो हुनाले मेलाटोनिन भनिने हर्मोन गडबडी हुँदा यो देखिन्छ ।
छोपिएको डिप्रेसन : यस्ता बिरामी बाहिरी रुपमा खुसी देखिन्छन् । जब बिरामीबारे डाक्टरले जानकारी लिन्छन् तब बिरामी रुने गर्छन् ।
दोहोरिएको डिप्रेसन : करिब ५० प्रतिशत बिरामीमा डिपे्रसन देहोरिने सम्भावना रहन्छ । औषधि छुटाउने, बिरामीको घरायसी वातावरण राम्रो नहुनाले र कहिलेकाहीँ औषधि सेवन गर्दागर्दै पनि यस्तो हुन्छ ।
कसरी मानसिक रुपमा स्वास्थ्य बन्ने ?
अनावश्यक कुरामा बारम्बर एकोहोरो गहिरो सोचाइ नगर्ने ।
अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुसी हुने ।
पुराना रुढीवादी कुरा जुन वर्तमानमा झुठा सावित भएका छन्, तिनमा विश्वास नगर्ने ।
हरेक काममा खुसी, सन्तुष्ट र सुखी बन्न सिक्ने ।
जे छ त्यसमा सन्तुष्ट हुने, तर मिहिनेत गर्न नछाड्ने ।
लागू पदार्थ, रक्सी, ड्रग्स सेवन गर्दा मानसिक रोग लाग्ने सम्भावना धेरै रहने भएकोले यी वस्तुबाट टाढा रहने ।
दैनिक जीवनमा स्वस्थ प्रतिस्पर्धा गर्ने ।
समाज, घर–परिवारमा दुष्टताको वातावरण अन्त्य गर्ने ।
अति नैतिकवान नबन्ने र अरुबाट पनि त्यस्तो बढी आसा नगर्ने ।
आफ्ना समस्या आफ्नो परिवार, साथीभाइलाई भन्ने बानी गर्ने, जसबाट मनको उत्तेजना (चिन्ता) कम गर्न सहयोग मिल्छ ।
मनलाई सधैं शान्त राख्ने ।
(सेडाईं नशा तथा मनोरोग विशेषज्ञ हुन्)