जब जीवाणुले एन्टिबायोटिक्सको प्रतिरोध गर्छ, त्यस्तो अवस्थालाई ‘एन्टिबायोटिक्स रेसिस्टेन्स’ भनिन्छ। यस्तो अवस्थामा संक्रमित व्यक्तिमा औषधि (एन्टिबायोटिक) ले काम गर्न छोड्छ।
पछिल्लो दशकमा संसारभर जीवाणु प्रतिरोधको अवस्थामा वृद्धि भएको पाइन्छ। ब्याक्टेरियल रेसिस्टेन्स कुनै पनि एन्टिबायोटिक्स प्रयोगले हुन सक्छ। अति प्रयोगले मल्टिरेसिस्टेन्स बढ्न सक्छ, जसले थप समस्या निम्त्याउँछ।
विकासोन्मुख देशमा अझै पनि संक्रमणले मृत्यु हुनेको संख्या बढ्दो छ। यकिन तथ्यांक नभए पनि पछिल्लो समय नेपालमा एन्टिबायोटिक्स प्रतिरोधी भएर मृत्यु हुने संख्यामा वृद्धि आएको छ।
रोग नियन्त्रण तथा रोकथाम केन्द्रले एन्टिबायोटिक्स प्रतिरोध सम्बन्धी रिपोर्ट नै निकालेको छ। एन्टिबायोटिक प्रतिरोधको कारणले संक्रमणको परिणाम स्वरूप अमेरिकामा मात्र २० लाख व्यक्ति बिरामी पर्छन्। त्यसमध्ये २३ हजारले ज्यान गुमाउँछन्।
विश्व स्वास्थ्य संगठनले ११४ देशको तथ्यांकको आधारमा यस विषयमा सर्वेक्षण प्रकाशित गरेको छ। उक्त सर्वेक्षण अनुसार मुख्य रूपमा ७ वटा ब्याक्टेरिया सामान्य संक्रमण (जस्तैः डायरिया, निमोनिया, सेप्सिस, गोनोरिया) का लागि जिम्मेवार छन्। रिपोर्ट अनुसार एन्टिबायोटिक्स रेसिस्टेन्स विश्वको कैयौं ठाउँमा चेतावनीको स्तरसम्म पुगिसकेको छ। नेपाल पब्लिक हेल्थ फाउन्डेसनले जनचेतनामूलक कार्यक्रम तथा नीति निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको गरिरहेको छ।
नेपालमा एन्टिबायोटिक्स डाक्टरको स्वकृतिबिना औषधि पसलले जथाभावी बेचिरहेको अवस्था छ। विभिन्न प्रकारका नक्कली डाक्टरमार्फत यसको अत्यधिक प्रयोग भइरहेको छ। जसले गर्दा जनस्वास्थ्यमा गम्भीर समस्या निम्त्याएको छ। नियामक निकायको यतातिर ध्यान गएको देखिन्न।
कसरी बच्ने ?
१) एन्टिबायोटिक प्रतिरोधबाट बच्न मुख्यतः संक्रमण नै रोक्नु हो।
२) रुघाखोकी, ज्वरो, फ्लु आदिमा एन्टिबायोटिक्स प्रयोग नगर्ने। बरु पर्याप्त पानी पिएर आराम गर्ने।
३) नियमित रूपमा हात सफा गर्ने बानी बसाल्ने।
४) डाक्टरको स्वीकृति र सल्लाहमा मात्र एन्टिबायोटिक्स प्रयोग गर्ने। एन्टिबायोटिक्सलाई जहिले पनि अन्तिम विकल्पका रूपमा लिने।
५) एन्टिबायोटिक्सको खुराक र अवधि नबिराई पूरा गर्ने। औषधि खाएको केही दिनमा निको भए पनि मात्रा नसकिउन्जेल खाइराख्ने।
६) आफ्ना बालबालिकालाई हालसम्म लगाउनुपर्ने सबै खोप लगाइएको छ÷छैन सुनिश्चित गर्ने।
७) श्वासप्रश्वास सम्बन्धी कुनै समस्या भए मास्क लगाउने। खोक्दा रुमालले मुख थुन्ने।
८) संक्रमण हुन नदिन घाउलाई खुल्ला नराख्ने।
९) संक्रमणको लक्षण देखिएका बच्चाहरूलाई अरू बच्चाबाट टाढै राख्ने।
१०) अधिकांश खाद्य उत्पादकमा एन्टिबायोटिक्सको प्रयोग गरिएको हुन्छ। जस्तैः चाँडै बढ्ने र वजन धेरै हुने भएकाले कुखुरामा एन्टिबायोटिक्स पनि प्रयोग गरिएको हुन सक्छ, त्यसबाट बच्ने।
११) राम्रोसँग पकाएको तथा उमालिएको खाना वा झोलिलो खानेकुरा बढी लिने।
(ठाकुर काठमाडौं विश्वविद्यायल स्कुल अफ मेडिकल साइन्समा आबद्ध छन्।)