व्यवस्थित पशु वधशाला नहुँदा अस्वस्थ माछा–मासु खान बाध्य छन् हरेक नेपाली। सरकारी तवरबाट मासु पसलको प्रभावकारी अनुगमनको अभाव र उपभोक्ता आफैं पनि सचेत नहुँदा सहर–बजारमा खुलेआम अस्वस्थ माछा–मासु बिक्री–वितरण भइरहेको देखिन्छ।
काठमाडौंमा खुला रुपमै अव्यवस्थित मासु पसल यत्रतत्र भेटिन्छन्। अधिकांश मासु पसलेलाई न सरसफाइको ज्ञान छ, न त आफूले बेचेको मासु स्वस्थ भए÷नभएको नै थाहा छ। नेपालका साना तथा माझौला मासु पसलेले कुनै तालिम पनि लिएका हुँदैनन्। न त यो पेसामा कोही विज्ञ नै छन्।
माछा–मासुको बिक्री–वितरणमा केही सीमित व्यापारीले मात्र अन्तर्राष्ट्रिय मापदन्ड अपनाएको देखिन्छ। यस्ता व्यवसायीको पहुँचमा उच्च आर्थिक हैसियत भएका उपभोक्ता मात्र हुने हुँदा सबैले स्वस्थ मासु उपभोग गर्न पाएका छैनन्। स्वस्थ मासुको उत्पादन र बिक्री–वितरण गर्ने निश्चित मापदन्ड हुन्छ, जुन सबै व्यवसायीले अनुसरण गर्नुपर्ने हुन्छ।
माछा–मासुको बिक्री–वितरण आम जनताको स्वाथ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकोले यसमा सरकारले नै चासो राख्नु जरुरी छ। स्वस्थ, सफा, सुरक्षित र हाइजेनिक माछा–मासु बिक्री–वितरण र उपभोगका लागि केही उपयुक्त उपाय यहाँ प्रस्तुत गरिएको छ।
व्यवस्थित पशु वधशाला
निश्चित र सरकारले तोकेको स्थानमा मात्र पशुपक्षी वध गर्नु जरुरी छ। ठाउँठाउँमा यस्ता वधशालाको स्थापना गर्नाले मासु स्वस्थ हुनुका साथै व्यवस्थित हुँदै जान्छ।
अन्तर्राष्ट्रिय मापदन्डअनुसार चिस्यानमा भन्डारण गरेर मात्र मासु खाँदा सुरक्षित हुन्छ। विकसित मुलुकहरुमा पशुपक्षीको मासु –१८ डिग्रीमा भन्डारण गरेर मात्र खाने चलन र नियम हुन्छ। जसले गर्दा माछा–मासु पूर्ण रुपमा सुरक्षित हुन्छ। –१८ डिग्रीमा भन्डारण गरिएका सम्पूर्ण मासु या खाद्य पदार्थ पूर्ण रुपमा आइस भई फ्रोजन हुने हुँदा ब्याक्टेरिया ग्रो हुने सम्भावना हुँदैन, जसले गर्दा पूर्ण सुरक्षित मानिन्छ।
ह्यासपको सिद्धान्त अनुसरण जरुरी
ह्यासप भन्नाले कुनै पनि खाद्य वस्तु उत्पादन, भन्डारण र वितरण गर्दा पूर्ण रुपले सुरक्षित र नियमपूर्वक कार्य भइरहेको छ या छैन भनी मनिटरिङ गर्ने विधिलाई जनाउँछ। जुन विधि मासु उत्पादन, भन्डारण र बिक्री–वितरणमा पनि पूर्ण रुपमा लागू हुनु जरुरी छ।
ह्यासपको नियममा बसेर कार्य गर्दा विश्वभर सुरक्षित मानिएको छ, जुन विधिअनुसार फार्म टु फर्ग प्रोसेस लागू हुन्छ। उत्पादनदेखि उपभोक्ताको काँटा–चम्चा हुँदै मुखसम्म पुग्ने प्रोसेसको नियमपूर्वक तह–तह परीक्षण गर्नु र रेकर्ड राख्नु नै ह्यासपको विधि पालना गर्नु हो। यो विधि सम्पूर्ण होटल, रेस्टुरेन्ट र आम उपभोक्तामा पनि लागू हुन्छ।
कस्तो माछा–मासु हाइजेनिक हुन्छ ?
विकसित मुलुकमा पशु या पक्षी स्वस्थ छ भनी सम्पूर्ण चेकजाँच गरेर कानमा सुरक्षित ट्याग लागेपछि मात्र वध गर्न योग्य मानिन्छ। यो काम गर्ने अधिकार राज्यको खाद्य प्रयोगशाला तथा सम्बन्धित विज्ञले मात्र पाएको हुन्छ। अस्वस्थ पशुपक्षीलाई छुट्याएर राखिन्छ र उपचार गरिन्छ, या त उपभोग गर्न अयोग्य ट्याग लगाएर छोडिन्छ। तर नेपालमा यस्तो गरेको पाइँदैन। नियमपूर्वक छाला, रगत र भित्री भागबाट छुट्याएर सेक्रिगेसन गरी सुरक्षित रुपमा डिप फ्रिजमा भन्डारण गरेर तयार गरेको मासु नै हाइजेनिक मानिन्छ, जुन मिश्रित रुपमा भन्डारण गर्नु हुँदैन। यदि त्यसो गरेमा कन्टामिनेसन हुँदा मासु सुरक्षित हुँदैन।
हलाल र हराम विधि भन्नाले के बुझिन्छ ?
मुस्लिम कानुनअनुसार पशुलाई सुरक्षित र हाइजेनिक तवरबाट वध गरी बिक्री–वितरण गर्नु नै हलाल विधि हो। हलाल विधिअनुसार पशुपक्षीलाई रेटेर वध गरिन्छ र पूर्ण रुपमा छाला र रगतलाई मासुबाट अलग गरेपछि मात्र खान योग्य मानिन्छ। छाला तथा रगत खानु मुस्लिम कानुनमा हराम अर्थात् पाप मानिन्छ। हलाल विधिलाई वैज्ञानिक पनि मानिन्छ।
कुनै पनि पशु या पक्षीमा रोग छ भने सबैभन्दा पहिला रगतबाट सजिलै सर्छ र छालामा पनि यस्तो सम्भावना प्रबल रहन्छ। जुन खानु हाइजेनिक पनि मानिँदैन। इस्लामहरुले हलाल सर्टिफाई नभएको होटल या रेस्टुरेन्टमा मांसाहारी खाना कहिले पनि खाँदैनन्।
कुलपूजामा काँचो रगत पिउनु कति स्वस्थकर ?
कुलपूजा अर्थात् देवालीमा अहिले पनि धाँमीले बोकाको काँचो रगत पिउने प्रथा कायमै छ। यो धार्मिक रुपमा राम्रो मानिएला तर वैज्ञानिक हिसाबले सुरक्षित मानिँदैन। बिनापरीक्षण भोग दिन काटिएका बोकाको रगत पिउनु स्वस्थ्यका हिसाबले सुरक्षित नभएको खाद्य विज्ञहरुको भनाइ छ। यसरी भन्डारण नगरी आलो रगत पिउनाले पशुमा भएका रोगका जिवाणु सजिलै मान्छेमा सर्ने हुँदा स्वास्थ्य परीक्षण र चिस्यानमा भन्डारण नगरी रगत पिउनु हुँदैन। कतिले यो कुरा बुझेर भोग खानुको सट्टा नरिवल प्रयोग गर्न पनि थालेको भेटिन्छ।
माछा–मासुलाई कसरी खतरामुक्त र सुरक्षित राख्ने ?
माछा–मासु मात्र नभई कुनै पनि खाद्यान्नलाई सुरक्षित राख्नका लागि डेन्जर जोनबाट जोगाउनु जरुरी हुन्छ। डेन्जर जोन अर्थात् खतरायुक्त स्थान भन्नाले ४ डिग्री सेल्सियसदेखि ६० डिग्री सेल्सियस भित्रको तापक्रमलाई मानिन्छ। यस्तो तापक्रममा राखिएका कुनै पनि खाद्य पदार्थ खतरायुक्त हुन्छ। यो डेन्जर जोनबाट जोगाउन कुनै पनि खाद्य पदार्थलाई कि चिसोमा भन्डारण गर्नुप¥यो, कि त तातोमा, जहाँ कुनै पनि ब्याक्टेरियाले आक्रमण गर्न नसकोस्।
४ देखि ६० डिग्री भित्रको तापक्रम भनेको फ्रिज बाहिरको रुम टेम्प्रेचर मानिन्छ, जुन माछा–मासुका लागि पनि खरारायुक्त तापक्रम मानिन्छ। तसर्थ सदैव आलो मासुलाई फ्रिज या डिप फ्रिजमा भन्डारण गर्नु जरुरी छ।
काठको अचानो कती स्वस्थकर ?
सबै खालका माछा–मासु बिक्री–वितरण गर्दा विशेष ध्यान पु¥याउनुपर्ने अन्तर्राष्ट्रिय नियम छ। तर नेपालमा कमै मात्रले यस्तो नियम लागू गरेका छन्। जस्तो कि, मासु बेच्दा काठको अचानोमा काट्नु पूर्ण गलत हो। यसरी काटिएको मासु सेवन गर्दा काठका टुक्रा र ब्याक्टेरिया मानिसको शरीरमा सजिलै प्रवेश हुन्छ।
कुखुराको मासु बेच्नेले पहेंलो प्लास्टिकको हार्ड चपिङ बोर्ड र पहेंलै रङको बिँड भएको चक्कु या खुर्पा मात्र प्रयोग गर्न पाउँछ। त्यस्तै माछा तथा सामुद्रिक जीवजन्तु बेच्नेले निलो प्लास्टिकको हार्ड चपिङ बोर्डसहित निलै रङको बिँड भएको चक्कु या खुर्पा मात्र प्रयोग गर्नुपर्ने नियम हुन्छ। खसी–बोका, भैंसी, सँुगुर या कुनै पनि रातो मासु बेच्ने व्यापारीले रातो रङको बोर्ड र सोही रङको बिँड भएको चक्कु मात्र प्रयोग गर्न पाउँछ।
भिन्न–भिन्न प्रकारका माछा–मासुलाई एकअर्कासँग संगम गराउँदा कन्टामिनेसन हुने र ब्याक्टेरिया उत्पादन सुरु हुने हुँदा यस्तो नियम संसारभरका विकसित देशहरुमा लागू छ।
(बुढाथोकी सोल्टी क्राउन प्लाजाका सु–सेफ हुन्)