प्रश्न : मस्तिष्कघात कसरी हुन्छ? उपचार के हो?
डा पंकज जलानको उत्तर : सामान्यतय मस्तिष्कघात वृद्ध उमेरका मानिसको रोग हो। तर, अहिले यो रोग युवामा पनि देखिन थालेको छ। नर्भिकमा मात्र एक महिनाको अवधिमा ७० देखि ९० जना मस्तिष्कघातका बिरामी आइपुग्छन्। उपचारका लागि आएका बिरामीमध्ये नशा बन्द भएर हुने मस्तिष्कघातका बिरामी ८५ प्रतिशत र नशा फुटेर हुने ब्रेन हेमरेजको समस्या लिएर आउने १५ प्रतिशत छन्।
मस्तिष्कघात भएका बिरामीलाई सबैभन्दा पहिला सिटी स्क्यान गरेर उपचार प्रक्रिया सुरु गरिन्छ। रगतको नशा फुटेर हुने स्ट्रोक र नशा थुनिएर भएको स्ट्रोकको उपचार पद्धतिमा पूरै फरक छ। मस्तिष्कघातले कुन भागमा कति असर गरेको छ भन्ने सिटी स्क्यानमा देखिएको आधारमा उपचार गरिन्छ। बिरामीलाई पूर्ण रुपमा ठीक हुन्छ कि हँुदैन भन्न सकिन्न। यसकोे प्रकार, उपचार प्रविधि, उपचार सुरु गरेको समय, बिरामीको उमेर र उसको अन्य शारीरिक समस्या आदिमा भर पर्छ।
मस्तिष्कघातले दिमागको मुख्य र ठूलो भागमा असर गरेको छ भने बिरामीमा अपेक्षाकृत सुधार नआउन पनि सक्छ। तर, दिमागको छेउमा र सामान्य मात्र क्षति भएको छ भने पुरानै अवस्थामै फर्कन सक्छन्। केहीमा क्रमिक रुपमा सुधार आउँदै जाने हुन्छ। तर, अधिकांश बिरामीमा मस्तिष्कघात भएपछि शरीरको कुनै भाग नचल्ने तथा प्यारालाइसिस हुने सम्भावना बढी छ। प्रायः यस्ता बिरामी जीवनभर लौरोको सहारामा वा ह्वीलचेयरमै बसी राख्ने वा हिँड्डुल गर्नसक्ने अवस्थामा पुग्छन्। कतिपय बिरामीचाहिँ उठबस गर्न सक्ने नभई ओछ्यानमै परिराख्ने अवस्थामा पनि हुनसक्छ।
स्ट्रोक भइसकेपछि सकेसम्म चाँडै उपचार सुरु गर्नुपर्छ। स्ट्रोकको उपचार जति छिटो गर्न सक्यो, त्यति धेरै बिरामीलाई पर्न सक्ने अन्य असर कम गर्न सकिन्छ। नशा बन्द भएर हुने स्ट्रोकमा केही घण्टाभित्रै उपचार थाल्न सकियो भने बन्द भएका नशा खुली मस्तिष्कमा स्थायी असर पर्नबाट जोगाउन सकिन्छ। यसको मूलभूत उपचार भनेकै औषधिको प्रयोग हो। औषधि प्रयोग गरी पर्याप्त मात्रमा मस्तिष्कमा रक्तसञ्चार र अक्सिजन सञ्चार गराई मस्तिष्कको थप क्षति हुन कम गर्न सकिन्छ।
यसका लागि टिस्यु प्लाज्मोपमनेजम एक्टिभर (टिपिए) नामको औषधि दिने गरिन्छ। तर, यसलाई औषधि व्यवस्था विभागले स्वीकृति दिएर सहजै उपलब्ध हुने वातावरण बनाउन सकेको छैन। सरकारले यो औषधिलाई सहज उपलब्ध हुने वातावरण बनाउन आवश्यक छ। यो थेरापीबाट थुनिएको नशा खोलेर बिरामीलाई बचाउन सकिन्छ। तर, ब्रेनमा रगत बगेको अवस्थामा यो थेरापीले काम गर्दैन।
कहिलेकाहीँ मस्तिष्कको पे्रसर अत्यधिक बढ्न गएमा शल्यक्रिया आवश्यक हुन सक्छ। यी सबै उपचार गर्दागर्दै पनि कहिलेकाहीँ समस्या नियन्त्रण गर्न नसकी बिरामीको अवस्था झनै नाजुक हुनसक्छ। त्यस्तो अवस्थामा बिरामीलाई भेन्टिलेटर (कृत्रिम श्वासप्रश्वास) मा राख्नुपर्ने हुनसक्छ। त्यसको बाबजुत बिरामीको अवस्थामा सुधार नआई मृत्यु पनि हुनसक्छ। मस्तिष्कमा रगत प्रवाह गर्ने नशाका भित्री भागमा जमेको क्लर्टलाई निकाल्न अहिले नयाँ प्रविधिसमेत आइसकेको छ। मर्सी, सलिटोरजस्ता प्रविधिको प्रयोगबाट त्यस्ता क्लर्टलाई तान्न सकिन्छ। यस्तो क्लर्टलाई तान्न समस्या पर्ने अवस्था भएमा नशा पूर्ण रुपमा थुनिएको छ भने बाइपास सर्जरी समेत गरिन्छ।
नशा फुटेर ह्यामरेज भएको बिरामीको दिमागमा जमेको रगतलाई चिकिस्तकहरुले निकाल्ने काम गर्छन्। बिरामीको दिमागमा जमेको रगतलाई टाउकोमा सानो प्वालबाट निकाल्ने गरिन्छ। यदि दिमागमा ३० एमएलभन्दा बढी रगत जमेको छ भने शल्यक्रिया नै गर्नुपर्ने हुन्छ। अस्पतालमा आएर उपचार भइसकेका बिरामीलाई त्यसपछि फिजियोथेरापीको आवश्यकता पर्छ।
मस्तिष्कघातका कारण बिरामी लामो समयसम्म ओछ्यानमा परिराख्ने, हलचल गर्न नसक्ने अवस्थामा हुने भएकाले शरीरमा थप नयाँ समस्या आउने गर्छ। यस्तो अवस्थामा धेरैलाई छातीको संक्रमणकोसंभावना अधिक हुन्छ। निमोनिया तथा फोक्सोको संक्रमणसमेत हुने खतरा रहन्छ। त्यसकारण बिरामीहरुलाई चिकित्सकको निगरानीमा राखेर नै अन्य उपचार पनि गर्नुपर्छ। बिरामीको हातगोडामा रक्तनली जाम हुने, हात÷गोडा आदिमा खाटे घाउको पनि जोखिम रहन्छ। बिस्तारै मिर्गौला र कलेजोको काम गर्ने शक्ति कम हुँदै जान सक्छ। यस्ता समस्या सकेसम्म हुन नदिन सुरुदेखि नै ध्यान पु¥याउनु पर्छ। शल्यक्रिया र अस्पतालको उपचारपश्चात पनि परिवारले बिरामीको शरीरको उचित हेरचाह गर्नुपर्ने हुन्छ।
(डा जलान नर्भिक अस्पतालमा कार्यरत छन्।)