जन्मेदेखि एक महिनासम्मको बच्चालाई नवजात शिशु भनिन्छ। बच्चा जन्मिन ३७ हप्ता पुग्नुपर्ने भए पनि कुनैकुनै बच्चा समय नपुगी जन्मिन्छन्। ३७ हप्ता नपुग्दै जन्मिएका बच्चालाई समय नपुगी जन्मिएको भनिन्छ। आमाको गर्भबाट भर्खर बाहिर निस्केको हुनाले यस्ता बच्चामा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ र विभिन्न स्वास्थ्य समस्या देखिने गर्छ।
समय नपुगी जन्मने शिशुमा देखिने स्वास्थ्य समस्या
३४ हप्ताभन्दा पहिले नै जन्मिएका बच्चा अन्य समय पुगेर जन्मिएका बच्चाको तुलनामा निकै कमजोर हुन्छन्। समय पुगेर जन्मिएका बच्चामा भन्दा संक्रमण छिटो हुन्छ। यस्ता बच्चामा दूध नचुस्ने, दिसा–पिसाब गर्न नसक्ने र मुटुमा पनि विभिन्न समस्या देखिन सक्छन्। निमोनिया बढी मात्रमा हुने गर्छ र तौल बढ्न समय लाग्छ। समय नपुगी जन्मिएका बच्चालाई उचित स्याहार गर्न सकिएन भने बचाउन निकै गाह्रो हुन्छ। स्याहार गरिएन भने ठूलो भएपछि उनीहरुको शारीरिक र मानसिक विकास राम्रोसँग हुँदैन।
समय पुगेर जन्मिने शिशुमा देखिने स्वास्थ्य समस्या
३७ देखि ४० हप्ताभित्र जन्मिएका १ सय जना बच्चामध्ये १० जनामा विभिन्न स्वास्थ्य समस्या देखिन्छ भने एक जनामा जटिल समस्या देखीन सक्छ। जस्तैः बच्चा जन्मिनासाथ नरुनु। अक्सिजनको कमी भयो भने जन्मिनसाथ बच्चा रुँदैनन्। समयमा नै ख्याल गरिएन भने पछि लुलो हुने सम्भावना हुन्छ। बच्चालाई चिसोले छिटो समात्ने हुँदा निमोनियाले सताउन सक्छ।
नवजात शिशुमा देखिने अर्को समस्या भनेको जन्डिस हो। यदि जन्डिस टाउकोमा पुग्यो भने बच्चाको मानसिक विकासमा अवरोध आउँछ। त्यसैले तुरुन्तै चिकित्सकको परामर्श लिएर जन्डिसको उपचार गर्नुपर्छ।
समय पुगेर जन्मिएका बच्चामा ज्वरो आउने, सितांग हुने, दूध नचुस्ने, वान्ता गर्ने, छिटोछिटो श्वास फेर्ने, सुस्त हुने, कम्पन आउने,कान पाक्ने,काप पाक्ने, नाइटो वरिपरि पाक्ने, छाला रातो हुने, हातखुट्टा पहेँलो देखिने, दिसा–पिसाब नगर्ने जस्ता समस्या देखिन सक्छन्। यस्ता समस्या देखिएमा तुरुन्त चिकित्सकसँग प्ररामर्श गर्नुपर्छ।
जन्मजात लिएर आउने समस्या जस्तैः मुटुमा प्वाल पर्ने, मुटु, आन्द्रा र दिसा गर्ने ठाउँको विकास नहुने भयो भने बच्चालाई एनआसियूमा राखेर उपचार गर्नुपर्छ।
बचाउने उपाय
– बच्चा गर्भमा आएपछि नियमित गर्भ जाँच गर्ने र चिकित्सकले दिएको आइरनचक्की नियमीत खाने।
– स्वास्थ्य संस्थामा बच्चा जन्माउने
– बच्चा जन्मिएको एक घन्टाभित्र आमाको दूध चुसाउने
– नियमित खोप लगाउने
– धुलो, धुुवाँ, चिसोबाट बचाउने र बच्चालाई सफा सुग्घर बनाएर राख्ने
– जन्मिएको पहिलो ६ महिना आमाको दूध मात्र खुवाउने
– बच्चालाई छिटो चिसोले समात्ने हुँदा न्यानो गरेर राख्ने तर नगुम्स्याउने
– बच्चालाई छुनुभन्दा पहिला हात–खुट्टा राम्रोसँग सफा गर्ने
कस्तो बच्चालाई एनआसियूमा राख्ने?
स्वास्थ्यमा गम्भीर समस्या भएका नवजात शिशुलाई दक्ष चिकित्सकको निगरानीमा राखिनुपर्ने हुनाले उचित प्रविधियुक्त एनआइसियूमा राख्ने गरिन्छ। ३४ हप्ताभन्दा मुनिको बच्चाको तौल १५ सय ग्रामभन्दा कम छ भने यस्तो बच्चालाई श्वास फेर्न गाह्रो हुन्छ। शारीरिक रुपमा पनि राम्रोसँग विकास भएको हुँदैन। यस्तो कम तौल भएको बच्चालाई एनआइसियूमा राख्दा स्वास्थ्यमा आउने समस्या पहिचान गरेर उपचार गर्न सहज हुन्छ। बच्चाको तौल १५ सयदेखि १८ सय ग्रामसम्म नपुगेसम्म समय नपुगी जन्मिएका बच्चालाई एनआइयिूमा राख्नुपर्छ।
कहिलेकाहिँ नर्मल जन्मिएका बच्चामा पनि विभिन्न स्वास्थ्य समस्या उत्पन्न भएर एनआइसियूमा राख्नुपर्ने हुन्छ। बच्चाले दिसा–पिसाब नगरेमा, दूध नचुसेमा, पेट फुलेमा, तौल चाहिनेभन्दा बढी वा कम भएमा एनआइसियूमा राख्नुपर्ने अवस्था आउँछ। पिसाब फेरेन, सुतेको सुत्यै गर्यो, हातखुट्टा चलेनन्, धेरै रोइराख्यो, उल्टी गरेको छ भने पनि एनआसियूमा राख्नुपर्ने अवस्था आउन सक्छ।
एनआसियुमा बच्चा राखेको आमा बुबालई सामाजिक र पारीवारीक सहयोग गर्नु पर्छ।
धेरै आमाहरको बच्चालाई दुध आउँदैँन बच्चालाई आमाको पोषीलो दुध दिनको निमीत सरकारले बेस्ट मिल्क बैकको स्थापना गर्नु पर्छ।
एनआसियुमा राखेका बच्चाहरुलाई स्याहर गर्नको निमीत सरकारी स्थरमा आवश्यक उपकरणहरुको व्यवस्था गर्नुका साथै डाक्टर नर्सहरुलाई एनआसियु सम्बन्धि तालिमको व्यवस्था गर्नु पर्छ।
(नवजात शिशु तथा बाल रोग विशेषज्ञ डा गुप्ता नर्भिक अस्पतालमा कार्यरत छन्)