डा अनुप बास्तोला टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत छन्। सरुवा रोग विशेषज्ञ डा बास्तोला अस्पतालका प्रवक्ता समेत हुन्। गर्मीयाम बढेसँगै नेपालमा सरुवा रोगको जोखिम पनि बढ्ने गरेको छ। गर्मीमा सरुवा रोग संक्रमणको जोखिमका कारण, तुलनात्मक रुपमा बढी जोखिममा रहेका क्षेत्र र उष्ण प्रादेशिक रोगका विविध विषयमा आधारित रहेर डा. बास्तोलासँग स्वास्थ्यखबरका लागि बिन्दु शर्माले गरेको कुराकानीः
उष्ण प्रादेशिक रोग भनेको के हो?
पृथ्वीको भूमध्यरेखादेखि २३ डिग्री उत्तर (ट्रपिक अफ क्यान्सर) र २३ डिग्री दक्षिण (ट्रपिक अफ क्याप्रिकन)को क्षेत्रलाई उष्ण प्रादेशिक क्षेत्र भनिन्छ। यो क्षेत्रमा बढी समय गर्मी हुन्छ। आद्रता पनि बढी नै रहन्छ। पृथ्वीको करिब ४० प्रतिशत भाग उष्णप्रादेशिक क्षेत्रमा पर्छ।
यो क्षेत्रमा लाग्ने जति पनि सरुवा रोग छन्, ती रोगबारे गरिने अध्ययनलाई मेडिकल क्षेत्रमा उष्णप्रादेशिक अध्ययन (ट्रपिकल स्टडिज) र सो क्षेत्रमा लाग्ने रोगलाई उष्णप्रादेशिक रोग (ट्रपिकल डिजिज) भनिन्छ।
उष्णप्रादेशिक रोग कुन क्षेत्रमा बढी लाग्ने गर्छ? नेपालको सन्दर्भमा कुन क्षेत्रमा कस्तो रोग फैलन सक्छ?
माथि भनिएजस्तै पृथ्वीको ४० प्रतिशतभन्दा बढी भाग उष्ण क्षेत्रमा पर्छ। नेपालको करिब ३६ प्रतिशत भूभाग ट्रपिकल र सबट्रपिकल जोन (उष्ण र समशीतोष्ण तापक्रम हुने क्षेत्र)मा पर्छ। अतः यो क्षेत्रमा विभिन्न किसिमका सरुवा रोगको संक्रमण हुने जोखिम बढी हुन्छ।
नेपालको सन्दर्भमा सरुवा रोगसँगै कीटजन्य र पानीजन्य रोग बेवास्तामा परेका रोग हुन्। पछिल्लो समयमा विभिन्न किसिमका रोगको प्रकोप बढिरहेको देखिन्छ। जस्तै इन्फ्लुएन्जा, चिकेनगुनिया, जिका, इबोलालगायतका रोगका संक्रमण फैलने संभावना बढी हुन्छ। नेपालको सन्र्दभमा कुरा गर्नुपर्दा हावापानीका आधारमा उष्णप्रदेश र समशीतोष्ण क्षेत्र गरी छुट्याइएको छ। यो क्षेत्रमा कीटजन्य, पानीजन्य रोगका संक्रमणको जोखिम बढी हुन्छ।
यी र यस्ता रोगहरुले उष्णप्रदेशमा बसोबास गर्ने मानिसमा ठूलो समस्या निम्त्याउने गरेको छ।
उष्णप्रादेशिक रोग कुन उमेर समूहका मानिसमा बढी देखिन्छ?
यी रोग जुनसुकै उमेर समूहका मानिसलाई लाग्न सक्छ। बालबालिकादेखि वृद्ध उमेर सूहका सबै व्यक्तिमा यसको संक्रमण हुन सक्छ। डेङ्गु, मलेरियालगायतका कीटजन्य रोगको संक्रमण हुने संभावना यो क्षेत्रमा बस्ने जो कोहीलाई पनि हुन सक्छ।
उष्णप्रदेशिक रोगका विषयमा बनेका राष्ट्रिय नीति/निर्देशिका कार्यान्वयन भएका छन्?
नेपालमा विद्यमान रोगको निदानका लागि टिबी, एड्स, लिमफेटिक फाइलोरेसिस र कालाजार, क्यूटानिक लेसमेनेसिसजस्ता रोगका विषयमा बनाइएका निर्देशिका इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाको वेबसाइटमा राखिएका छन्। तर यिनको कार्यान्वयन प्रभावकारी रुपमा हुन सकेको देखिँदैन।
एकातिर रोगका विषयमा जनचेतनामा पनि कमी पनि देखिन्छ भने अर्कातिर नीति/निर्देशिका पढ्ने हाम्रो बानी नै अति कम छ। राष्ट्रिय गाइडलाइन पढ्ने र कार्यान्वयन गर्ने हो भने कतिपय रोगलाई न्यूनीकरण गर्न ठुलो सहयोग पुग्छ।
उष्ण प्रदेशिक रोगसम्बन्धी अध्ययन गरेका स्वास्थ्यकर्मीको उपलब्धता चाँहि किन कम छ?
यो बिल्कुलै नयाँ विधा हो। यसका सब-स्पेसियालिटी र फरकफरक अन्तराष्ट्रिय मेडिसिन तथा सर्जरी संकाय बनिसकेकाले यो विषय बुझ्न जरुरी छ। तराईका धेरै जिल्ला उष्ण क्षेत्रभित्र पर्ने भएकाले पनि नेपालमा यससम्बन्धी स्वास्थ्यकर्मीको आवश्यकता छ। उष्ण क्षेत्रमा पुराना रोग त छँदैछन्, नयाँ रोग फैलने क्रम पनि तीव्र छ। डेङ्गुजस्ता रोग सँधै देखिइ रहने रोग हुन्। पोखरा र काठमाडौंमा पनि यो रोगको प्रकोप देखिइसकेको छ।
त्यस्तै, कालाजार उन्मूलनको तयारीमा नेपाल भएपनि यसका बिरामी पहाडी जिल्लामा समेत देखिन थालेका छन्। नेपालमा पहिचान र निदान गर्न नसकेका कतिपय रोगहरु पनि छन्। यसको उपचार कसरी गर्ने भन्ने विषयमा स्वास्थ्यकर्मीमा ज्ञानको कमी देखिन्छ। त्यसकारण पनि यो उष्णप्रादेशिक रोगका विषयमा पढ्न जरुरी छ।
यो विषयमा सरकारले पनि चासो देखाउनु पर्छ। त्यस्तै देशका मुख्य मेडिकल कलेज र अस्पतालमा पनि यसको दरबन्दी रहनुपर्छ।
हुन त आर्थिक हिसाबले यो क्षेत्र त्यति आर्कषक होइन। तर स्वास्थ्यकर्मीले आयको हिसाबले मात्र पनि हेर्नु हुँदैन। आर्थिक रुपमा आकर्षक नभएकाले पनि होला यो विषय अध्ययनरत चिकित्सक कम भेटिन्छन्।
तर उष्णप्रदेशिक क्षेत्रमा लाग्ने रोगका बारेमा भने जो कोहीले पनि बुझ्न जरुरी छ। डेङगु, कालाजार, मलेरिया जस्ता रोग तराईका जिल्लामा बढी मात्रामा देखिने गर्छन्। धेरै बिरामीले समयमा उपचार नपाउँदा ज्यान गुमाउनु परेका घटना पनि छन्। कतिपय अवस्थामा रोगको पहिचान र निदानमा पनि समस्या आउने गर्छ। उष्णप्रादेशिक रोगको अध्ययन र अध्यापनमा त्यति धेरैको चासो देखिँदैन। कतिपय स्वास्थ्यकर्मीलाई यी रोगका विषयमा राम्रो जानकारी नहुँदा उपचारमा समस्या आउने गरेको छ।
सरकारले नियन्त्रण तथा व्यवस्थापनमा कस्तो भूमिका खेलिरहेको छ त?
पछिल्लो समय तराइका जिल्लामा मात्रै नभएर पहाडी क्षेत्रमा पनि उष्णप्रदेशिक रोगको संक्रमण हुने दर बढ्दो छ। नेपालमा वर्षेनी कालाजार, डेङगु ,मलेरिया, हैजालगाएतका महामारीका कारण धेरैको मृत्यु हुने गरेको छ।
नेपाल सरकारले सन् २०२५ देखि २०३० सम्ममा कालाजार, मलेरियाजस्ता महामारी उन्मूलनको लक्ष्य लिएको छ। त्यस्तै कुष्ठरोग निवारणका लागि पनि विभिन्न काम भइरहेका छन्। पहिलेदेखि नै उष्णप्रादेशिक रोग सम्बन्धी भइरहेका काम सुचारु रुपमा भइरहेका छन्। अब बृहत् रूपमा काम गर्ने कोसिसमा छौं।
सम्रगमा उष्णप्रदेशिक रोगबाट बच्न के गर्नुपर्छ?
आफू कुन क्षेत्रमा बस्छु र त्यस क्षेत्रमा कस्तो रोगको संक्रमण हुने जोखिम छ भन्ने कुरा प्रत्येक व्यक्तिले बुझ्नुपर्ने विषय हो। यसका साथै यी रोगबाट कसरी बच्ने भन्ने कुरामा सचेत हुनुपर्छ।
नेपालको सन्दर्भमा डाक्टरले बिरामीलाई कुनै एउटा रोगको शंका गरेर उपचार गर्न खोजेपनि उपचार पद्दतिका लागि आवश्यक सुविधा उपलब्ध छैन। यसले उपचारमा कठिनाई सिर्जना गरेको छ। यसका लागि विभिन्न रोगका लागि फरकफरक उपाय छन्। एड्स हो भने कन्डमको प्रयोग, असुरक्षित यौन समर्पक नगर्नेजस्ता उपाय छन् भने मलेरियाका लागि झूलको प्रयोग गर्नेजस्ता उपाय अपनाउन सकिन्छ।
हेरौं डा बास्तोलासँगको विस्तृत अन्तर्वार्ता भिडियोमा: