आम मानिसलाई लाग्ने सबै रोग डाक्टरलाई पनि लाग्नसक्छ। अन्य रोग जस्तै मानसिक रोग डिप्रेसन डाक्टरलाई पनि हुन्छ। रोगबाट कसरी बच्ने र कसरी आफ्नो स्वास्थ्यको ख्याल राख्ने भन्ने प्रयास कतिपय डाक्टरले गर्छन् भने आफ्नो स्वास्थ्यको खासै ध्यान नराख्ने डाक्टर पनि छन्।
अमेरिकामा गरिएको अध्ययनअनुसार डाक्टरहरु डिप्रेसन रोगबाट पीडित हुन्छन् तर तीमध्ये धेरैजसोले विशेषज्ञसँग जँचाएर, राय लिएर उपचार गराउँदैनन्। डिप्रेसन भएका एकतिहाइ डाक्टरले मात्र प्रोफेसनल हेल्प वा विशेषज्ञको सहयोग लिन्छन् भन्ने पाइएको छ।
डिप्रेसन भएका डाक्टरमध्ये २७ प्रतिशतले आफैं निको पार्ने प्रयास गर्छन्। १४ प्रतिशतले मद्यपान गर्ने र आफूलाई नोक्सान हुने तरिका जस्तैः आत्महत्याको प्रयास गर्छन् भने १० प्रतिशत डाक्टरले केही पनि नगर्ने अध्ययनले देखाएको छ। अन्यले आफैं उपचार गर्ने प्रयास गर्छन् वा आफ्नो पेसा नै छाड्छन भन्ने देखिएको छ। मनोचिकित्सकसँग राय लिने र उपचार गर्नेतर्फ नलाग्नुको मूल कारण मानसिक रोगको भय नै मानिन्छ।
डाक्टरहरुलाई किन डिप्रेसन हुने रहेछ भनेर खोजी गर्दा यस्ता कारणहरु पाएका छन्।
– डाक्टरको मेडिकल ट्रेनिङ निकै कठिन हुने, बिहानदेखि बेलुकासम्म खट्नुपर्ने, बिरामीलाई निको पार्न नसक्दा, बिरामीको मृत्यु हुँदा वा बिरामीका आफन्तले अनेकथरी आक्षेप लगाउँदा हुने मानसिक तनाव र शारीरिक थकान।
– वैवाहिक सम्बन्धमा समस्या
– एक्लोपन
– श्रीमान् वा श्रीमतीको मृत्यु
– आर्थिक कठिनाइ
– केटाकेटी अवस्थामा भोगेका विभिन्न यातना
– वंशाणुगत कारण वा आमाबाबुमध्ये कुनैलाई डिप्रेसन भएको कारण
– आफ्नो कामबाट अवकाश पाएका कारण।
यी दिइएका कारणहरुले डाक्टरलाई मात्र होइन, अरुलाई पनि डिप्रेसन गराउँछन्। लामो समयसम्म मानसिक तनाव दिने धेरैजसो कारणले डिप्रेसन गराएको हुँदा मानसिक तनाव कसरी घटाउने भन्ने जान्नुपर्छ।
डिप्रेसन कडा खालको मानसिक रोग हो र यो जसलाई पनि हुनसक्छ। राम्रो कुरा के छ भने प्रयास गरे डिप्रेसन लाग्नबाट बच्न सकिन्छ भने रोग लागिहाले उपचार गरेपछि निको हुन्छ। बेलाबेलामा डिप्रेसन बल्झिने हुनाले निको भएपछि यो रोग नबल्झियोस भनेर प्रयास गर्नुपर्छ।
डिप्रेसन मनको कमजोरी होइन। डिप्रेसन रोग भएकाले रोग लागेपछि उपचार गर्नुपर्छ। डिप्रेसनका कारण अफिसमा वा कार्यालय वा आफ्नो व्यवसाय गर्न कठिनाइ हुने हुँदा उत्पादनशीलता घट्दै जान्छ र समस्या थपिँदै जान्छन्। उपचार नगराउने हो भने व्यक्ति कुनै कुरामा पनि रमाउन, आनन्द लिन सक्दैन र जीवन पूरै निरस हुन्छ।
डिप्रेसन बढाउने प्रमुख कारण हाम्रोे जीवनशैली, खानपिन, मानसिक तनाव, बदलिँदो सामाजिक परिवेश र आफ्नो क्षमताभन्दा बढी महत्वाकांक्षी हुने कारणहरु मानिन्छन्।
शारीरिक व्यायाम गर्ने, आराम लिने, बेलाबेलामा घुमघाम गर्ने वा छुट्टी बिताउने, दिनको ७ घन्टा सुत्ने र मानसिक तनावको व्यवस्थापन गर्ने तरिकाहरु सिक्नुपर्छ। त्यस्तै थाइरोयडको समस्या, मधुमेह, उच्च रक्तचाप, हृदयरोग, छारेरोग, बाथ, भिटामिन डी र बी–१२ को कमीले डिप्रेसन गराउने हँुदा ती छन् वा छैनन् परीक्षण गरेर हेर्नुपर्छ।
खानेकुरामा विशेष ख्याल राख्नुपर्छ। बदाम, ओखर, सिजनल ताजा फलफूल, हरियो सागपात खास गरेर पालुंगोको साग खानु राम्रो हुन्छ। त्यस्तै गरेर ब्रोकाउली, काउली, च्याउ र कुरिलोले राम्रो गर्छ। ओमेगा–३ फ्याट्टी एसिड जुन माछामा वा आलसमा पाइन्छ, प्रयोग गर्न सकिन्छ। बजारमा ओमेगा–३ फ्याट्टी एसिडका क्याप्सुल किन्न पनि पाइन्छ।
साथै जंक फुडहरु र फास्टफुडहरु सकभर नखाने, चिनी मिलाएका सबै कोल्ड ड्रिक्सहरु र फ्रूट जुसहरु नपिउने र मद्यपान गर्नु हँुदैन। सकिन्छ भने सामाजिक कार्यहरु समयसमयमा गर्ने, योगा तथा मेडिटेसन सिकेर गर्दा निको हुन मद्दत मिल्छ।
यी सबै प्रयास गर्दा धेरै डिप्रेसनमा निकै फाइदा हुन्छ। तर फाइदा भएन भने विशेषज्ञसँग जचाउने, केही औषधि खाने र साइकोथेरापीले निको पार्न सकिन्छ।
चिकित्सा पेशा र आत्महत्या
चिकित्सा सेवामा काम गर्ने १२ प्रतिशत पुरुष र १९ प्रतिशत महिलामा डिप्रेसन हुने गरेको पाइएको छ। मेडिकल स्टुडेन्टलाई डिप्रेसनका लक्षणहरु देखिन्छन्। अन्य पेशामा काम गर्नेभन्दा डाक्टरहरुमा आत्महत्या बढी छ। पुरुष चिकित्सकभन्दा महिला चिकित्सकमा आत्महत्या बढी छ। आत्महत्याको प्रमुख कारणहरुमा डिप्रेसन, बाइपोलर डिसअर्डर र मद्यपान तथा लागुपदार्थको प्रयोग मानिन्छ।
(डा उपाध्याय मनोचिकित्सक हुन्)