‘आजकल काममा मनै जाँदैन। समायोजनले कता पुर्याउने हो भन्ने कुरा मनमा खेलिरहन्छ।’
गत साता नवलपुरको देवचुली नगरपालिका दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा भेटिएकी सिअनमी कौशिला क्षेत्री भन्दै थिइन। उनी सोही स्वास्थ्य केन्द्रमा कार्यरत छिन्।
अहिलेको भन्दा स्वास्थ्य क्षेत्रको संरचना पहिलेको राम्रो लाग्छ भन्छिन् कौशिला। स्वास्थ्यका सबै कार्यक्रम र उद्देश्यबारे स्थानीय तहलाई कम जानकारी भएको उनको भनाइ छ।
‘जिल्ला स्वास्थ्य अन्र्तगत राखेर काम गराए हुन्थ्यो’, उनी भन्छिन्, ‘समायोजनले कता पु¥याउने हो, जनप्रतिनिधिसँग कसरी काम गर्ने लगायतका कुराले यतिबेला सबै स्वास्थ्यकर्मीहरु चिन्तित बनेका छन्।’
आज हुन्छ, भोलि हुन्छ भन्दाभन्दै वर्ष दिन बित्दा केही टुंगो नलागेको उनले बताइन् । कौशिला भन्दै थिइन्, ‘यहाँ काम गर्दा पनि मन भने अन्तै हुन्छ । तर, जाने ठाउँमा जान पनि पाएको छैन। कहाँ, कहिले जाने भन्ने पनि थाहा छैन। धेरै तनाव भएको छ।’
चितवनस्थित भरतपुर– १० मा रहेको नारायणी माध्यमिक विद्यालयबाट एलएलसी सकेकी उनले नारायनघाटस्थित बालकुमारी कलेजबाट अनमी पढेकी थिइन्।
पढाइ सकिनेबित्तिकै लोकसेवा पास गरिन्। लोकसेवाबाटै उनी २० वर्षअघि स्वास्थ्य क्षेत्रमा प्रवेश गरेकी थिइन्।
दाङबाट लोकसेवा आयोग पास गरकोले उनको पहिलो पोस्टिङ सल्यानको विकट सरिकोट स्वास्थ्य चौकीमा भयो । घरबाट पहिलो पटक टाढा जानु पर्दा निकै नरमाइलो लागेको कौशिला बताउँछिन्।
२०५६ साल वैशाखमा विवाह भएपछि सोही वर्ष मंसिरमा उनको पोस्टिङ सल्यान भयो। ‘श्रीमान् र भाइ पु¥याएर फर्कने बेलामा मनिकै रोएँ। रोएको देखेर उहाँहरुले जागिर खानै पर्दैन भन्नुभएको थियो। पछि मैले बस्न नसके छोडौंला भनेर पठाएकी थिएँ,’ उनले भनिन्।
गाउँलेको सम्मान र मायाले उनलाई त्यहाँ बस्न प्रेरित गर्यो। त्यहाँ गएको एक महिना पुग्न लागेको थियो । थालावाङ गाविस– २ टोड्के भन्ने ठाउँमा एक महिला घरमै सुत्केरी साल अड्केर गम्भीर भइछन्।
कौशिला आफैं पनि गर्भवती थिइन्। त्यो गाउँमा मानिसहरु सरिकोट स्वास्थ्य चौकीमा नर्स छ भन्ने थाहा पाएर लिन आएका रहेछन्। ‘ग्रास्वका दाइले जाउँ भन्नुभयो। मैले भरतपुर अस्पतालमा ओजिटी गर्दाको अनुुभवका आधारमा सामग्री लिन पठाएँ। म र ग्रास्वका दाइ गाउँमा गयौँ।
त्यो समयमा एउटै गाविसको वार्ड–२ मा पुग्न ३ घन्टा लागेको उनले बताइन्। राति ८ बजेमा मात्र उनी बिरामी भएको घरमा पुगिन्।
घर पुग्दा चाहिने सामग्री ल्याइसकेका थिए। उनले सुत्केरी महिलालाई हेरिन्। रक्तचाप निकै कम थियो। ‘बिरामीको प्रेसर निकै कम थियो। मैले रगत चढाउनुपर्ने भएकाले दाङ लैजानु भने,’ उनले भनिन्।
‘परिवारले मानेनन्, मरे पनि बाँचे पनि हजुरले जे गर्नुपर्छ गर्नुस् भने। जोखिममै मैले सुत्केरीको साल झिकेकी थिएँ,’ उनीले सम्झिन्। त्यो समय उनको उमेर २२ वर्षको थियो।
निकै डराएर काम गरेको उनले बताइन्। साल झिकेपछि महिलाको स्वास्थ्यमा सुधार भयो। उनी बाँचिन्। ‘सेवामा लागेपछिको पहिलो त्यस्तो जोखिमपूर्ण तर सफल काम भएर होला मलाई जहिले पनि खुसी लाग्छ,’ उनी भन्छिन्।
त्यो समयमा सुत्केरी हुने क्रममा साल अड्किएर धेरै महिलाहरु गम्भीर अवस्था पुग्ने गरेको उनले बताइन्। कतिको यसैको कारण उपचारको अभावमा मृत्यु समेत हुन्थ्यो।
उनी गोरखाको आरुघाटस्थित स्वास्थ्य केन्द्रमा कार्यरत हुँदा मानिसहरु साल अड्किएको निकाल्ने औषधि दिनुस् भन्दै आउँथे। उनी सम्झिन्छन्, ‘त्यस्तो साल झर्ने औषधि हुँदैन, बिरामी लिएर आउनुस्, अनि म निकालिदिन्छु भनेर पठाउँथे।’
सुत्केरी हुँदा रक्तश्राव भएर, सुत्केरी भएपछि सालको टुक्रा अड्किएर धेरै रगत बग्दा आमाहरु जटिल अवस्थामा पुग्ने, इक्लामसिया (गर्भवती हुँदादेखि प्रेसर बढ्ने, युरिन संक्रमण) हुँदा धेरै आमाहरुको ज्यानै गएको कौशिलाको अनुभव छ।
‘त्यो समयमा घरमा सुत्केरी हुनेको संख्या धेरै भएकाले पनि समस्या धेरै हुने गथ्र्यो। अहिले त ठाउँठाउँमा बर्थिङ सेन्टर छन्। नसक्ने केस आएमा तुरुन्तै रेफर गरेर अस्पतालमा पठाउँछौं। संस्थागत सुत्केरी बढेको छ,’ उनी भन्छिन्।
पहाडको भन्दा तराईमा संस्थागत सुत्केरी हुनेको संख्या बढी भएको उनको भनाइ छ। पछिल्लो समय महिलाहरु गर्भवती जाँच गराउन, परिवार योजनाका साधनबारे बुझन आउने आउँछन्।
दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रलाई नमुना स्वास्थ्य केन्द्रको रुपमा परिचित छ। कौशिला भन्छिन्, ‘आमा सुरक्षा कार्यक्रम निकै सफल छ। हामी २४सै घन्टा सुत्केरी सेवा दिन्छौं। महिनाको ६०–७० जना सुत्केरी हुन्छन्।’
दुम्कौली स्वास्थ्य केन्द्रमै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति लिएर बेलायत सरकारको आर्थिक सहयोगमा आइपास र मेरिस्टोपले ‘सायना प्रेस’ भन्ने नयाँ परिवार योजनाको साधनको सम्भाव्यता अध्ययन सुरु गरेको छ।
भदौ २८ गते गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले सो स्वास्थ्य केन्द्रमै पुगेर ‘सायना प्रेस’को सुभारम्भ गरेकी थिइन्।