स्पेन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा विदेशी मानवीय सहयोगमा गरिएको भारी कटौतीले २०३० सम्ममा १ करोड ४० लाखभन्दा बढी मानिसको ज्यान जान सक्ने खतरा रहेको नयाँ अनुसन्धानले देखाएको छ। यो शोध प्रख्यात चिकित्सा जर्नल 'द ल्यानसेट'मा प्रकाशित भएको हो।
बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थका अनुसन्धानकर्ता डाभिडे रासेल्लाले चेतावनी दिँदै भने, 'कम र मध्यम आय भएका देशहरूमा यस्ता कटौतीको प्रभाव विश्वव्यापी महामारी वा ठुलो युद्धजस्तो हुनेछ।'
शोधकर्ताहरूका अनुसार मृत्यु हुने मध्ये करिब एक तिहाइ बालबालिका हुनेछन्। ट्रम्प प्रशासनले अमेरिका फर्स्ट नीतिअनुसार विदेशमा हुने खर्च कटौती गर्दै आएको छ। यसै क्रममा २०२५ को मार्च महिनामा अमेरिकी विदेश मन्त्री मार्को रुबियोले अमेरिकी विकास सहायता एजेन्सी (युएसएआईडी) का ८० प्रतिशतभन्दा बढी कार्यक्रमहरू रद्द गरिएको घोषणा गरेका थिए।
रासेल्लाको नेतृत्वमा गरिएको अध्ययनले सन् २००१ देखि २०२१ सम्ममा युएसएआईडीको सहयोगले करिब ९ करोड जीवन जोगाएको अनुमान गरेको छ। तर अब ८३ प्रतिशत कटौती भएमा २०३० सम्म १ करोड ४० लाखभन्दा बढी मानिसको असामयिक मृत्यु हुने खतरा रहेको उनीहरू बताउँछन्। यसमा पाँच वर्ष मुनिका ४५ लाखभन्दा बढी बालबालिकाको मृत्यु हुने उल्लेख छ।
यी कटौतीहरू चर्चित उद्यमी एलन मस्कको पहलमा भएका थिए, जो त्यो समय संघीय कर्मचारी संख्या घटाउने पहलको नेतृत्व गरिरहेका थिए। यिनै कटौतीका कारण अन्य पश्चिमी मुलुकहरू (जस्तै बेलायत, फ्रान्स र जर्मनी) पनि आफ्ना सहयोग कार्यक्रमहरूमा कटौती गरेका छन्।
मानवीय संस्थाहरूले यी कटौतीको कडा आलोचना गरेका छन्। संयुक्त राष्ट्रसंघले यसलाई 'अन्तर्राष्ट्रिय मानवीय क्षेत्रले भोगेको अहिलेसम्मकै गहिरो आर्थिक संकट' भनेको छ।