स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन्, वर्तमान शिक्षा तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल। स्वास्थ्यमन्त्री हुँदा पोखरेलले जनताको स्वास्थ्यका लागि कति काम गरे, त्यो खोजीकै विषय होला। तर आफ्नो व्यक्तिगत स्वास्थ्यका लागि भने मन्त्री हुँदा होस् या नहुँदा उनी सधैं सचेत छन्।
दैनिक डेढ घन्टा योग गर्छन् मन्त्री पोखरेल। दिनभर मन्त्रालयका काममा दौडधुप गरेर बिताउने मन्त्री पोखरेलले हरेक बिहान डेढ घन्टाको समय भने आफ्नै स्वास्थ्यका लागि छुट्याएका छन्।
सामान्यतः उनी बिहान पाँच बजे उठिसक्छन्। उठ्नेवित्तिकै दिुई गिलास पानी पिउँछन्। नित्यकर्मपछि सुरु हुन्छ उनको योग। फिजियोथेरापी, प्रणायाम र आसनबाट सुरु हुन्छ मन्त्री पोखरेलको दैनिकी।
उनी योगसँग जोडिएको धेरै वर्ष भयो। पहिले स्वस्थ रहने चाहनाले योगभ्यास थालेको भए पनि पछिल्लो समय शारीरिक आवश्यकता बनेको उनी बताउँछन्। मोटामोटी डेढ घन्टा योगसाधना गर्छन् उनी।
प्राणायाम सिकाउन कहिलेकाहीँ उनका गुरु प्रेम आलोक आउने गर्छन् भने कहिलेकाहीँ फिजियोथेरापीका लागि वीर अस्पतालका फिजियोथेरापिस्ट आउने गर्छन्।
राजधानी बाहिर जाँदा भने उनको तालिका भत्किन्छ। समय मिलेसम्म तालिकालाई निरन्तरता दिने उनको कोसिस भने रहन्छ।
०६२ सालमा तीनकुनेमा माइक्रो बसले ठक्कर दिँदा घाइते भएका थिए, मन्त्री पोखरेल। ज्ञानेन्द्र शाहले ‘कु’ गरेपछिको घटना थियो त्यो। लहानमा निरंकुशता विरुद्ध गोष्ठी आयोजना गरिएको थियो। गोष्ठीको अतिथि थिए, प्राध्यापक कृष्ण खनाल। खनालका लागि लिएको प्लेन टिकट लिलामणि पोखरेलको घरमा पुर्याएर फर्किंदै थिए पोखरेल।
तीनकुनेमा ट्याक्सी पर्खंदै गर्दा माइक्रोको ठक्करबाट उनी घाइते भए। होस आउँदा केएमसी अस्पतालमा थिए। उनले सम्झिए, ‘बद्री चौलागाईं भन्ने साथीले मलाई अस्पताल पु¥याउनुभएको रहेछ।’
दुर्घटनामा परेपछि पोखरेललाई लामो समयसम्म आराम गर्नुपर्ने भयो। शरीरका २६ ठाँउमा चोट लागेको थियो। कम्मरमुनिको भागमा बढी समस्या थियो। ८६ दिनसम्म शौचालय जाँदा पनि अरुको साहारा लिनुपरेको उनी सम्झछन्। ‘६ महिना बैसाखीको सहारामा हिँडे,’ उनले भने।
हिँड्न थालेपछि पनि घुँडा दुखिरहन्थ्यो। पछि हेर्दा त्यहाँ सिसाको टुक्रा गाडिएको रहेछ। त्यो निकालियो। डा महेश मास्के र डा बाबुकाजी श्रेष्ठले उनको उपचार गरेका थिए।
त्यो समयमा उनको योगाभ्यास गर्ने क्रम छुट्यो। मोटोपन बढ्यो। ५५ केजीबाट तौल ६० केजी भयो। बसेर पद्मासन गर्न नसक्ने भए दुर्घटनापछि। बस्न समेत समस्या हुन थाल्यो।
शरीरको चोट राम्ररी निको हुन पाएको थिएन, ०६२÷६३ को आन्दोलनमा लाग्नुप¥यो। डडेल्धुराको एक कार्यक्रममा लामो कच्ची बाटो यात्रा गर्दा उनको पुरानो दुखाइ फेरि बल्झियो।
त्यसपछि नियमित तालिका बनाएरै फिजियोथेरापी र योग गर्नुपर्छ भन्ने लाग्यो। अहिले ध्यान नगरेको दिन उनलाई फ्रेस फिल हुँदैन। काम गर्ने उत्साह पनि हुँदैन।
हुन त मन्त्री पोखरेलको योगसँगको सम्बन्ध निकै अघि देखिको हो। पहिले पनि योगका कक्षामा जाने र सिक्ने गर्थे। योग गर्ने मात्र होइन, अरुलाई सिकाउने पनि गर्थे उनी। ०४९ सालमा सालमा उनलाई टाइफाइड भएको थियो। त्यो समय ब्याक पेन भयो। डा विहारीलाल श्रेष्ठसँग जाँच गराए। डाक्टरले फिजियोथेरापीमा जान सुझाए।
त्यसपछि भने उनी आफ्नो शारीरिक आवश्यकताले गर्दा योगसँग जोडिन पुगे। अनि सुरु भयो फिजियोथेरापी, ध्यान र योगको मिश्रण।
उनले विपश्यना ध्यान पनि गरे। दुई पटक १० दिने कक्षा लिए। मन्त्री पोखरेल भन्छन्, ‘विपश्यना निकै वैज्ञानिक लाग्छ। एक घन्टा हिँडेर र बसेर गर्ने विपश्यना गरेको थिएँ, काठमाडौं र लुम्बिनीमा।’
बुद्धले जुन विधिबाट ज्ञान प्राप्त गरे। त्यही विधिलाई विपश्यना भनिन्छ। जुन श्वासप्रश्वासमा आधारित छ।
मन्त्री पोखरेल पहिलेदेखि नै पूर्वीय दर्शनका वैज्ञानिक सिद्धान्तलाई आफूले अपनाएको माक्र्सवादसँग मिलाउनुपर्छ भन्ने धारणा राख्छन्। यसमा आफ्ना समकालीन नेताहरुको भूमिका रहेको उनी बताउँछन्।
०६२ को आन्दोलनअघि उनी पाटन बस्थे। त्यहाँ कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्य आइपुगे। कर्माचार्यको खुट्टामा दुखाइ थियो।
कर्माचार्यलाई पोखरेलले केही योगका उपाय सिकाइदिएका रहेछन्। पोखरेलले सिकाएअनुसार योग गरेपछि उनको दुखाइ कम भएछ। पोखरेल भन्छन्, ‘नरबहादुर दाइ सबैलाई माया गरेर मोरा–मोरी भन्नुहुन्थ्यो। योगले राम्रो भएपछि मलाई पनि यो मोरो त योगराज रहेछ भन्नुहुन्थ्यो। नाम नै योगराज राखिदिनुभएको थियो।’
योग गर्दाका दुई स्मरण
०६२/६३ मा एउटा कार्यक्रममा भाग लिन सिराहको कल्याणपुर गएका थिए पोखरेल। घर बाहिर सुत्ने व्यवस्था थियो। बिहान अँध्यारैमा उठेर उनी योगाभ्यास गर्दै थिए। योग गर्दागर्दै उज्यालो भएछ। ‘आँखा खोल्दा त मेरो योगाभ्यास हेर्न मानिसहरुको भीड नै लागेको रहेछ,’ उनले सम्झिए।
पाल्पाको दोभानमा एक कार्यक्रममा जाँदा अमर भन्ने साथीको घरमा बसेका थिए उनी। बिहान उठेर प्राणयाम गर्दै थिए। प्राणयाम गर्दा आवाज निस्कन्छ। त्यो आवाज सुनेर अमरकी आमाले ‘त्यो बाबु बिरामी भएछ, गएर हेर’ भन्नुभएछ। ‘अहिले त्यो घटना सम्झेर रमाइलो पनि लाग्छ। कहिलेकाहीँ अरुको घरमा जाँदा कसैलाई नभनी योग गर्दा त्यस्तो द्विविधा हुन्छ। अरुलाई समस्या पनि हुन्छ,’ मन्त्री पोखरेल भन्छन्।
मन्त्री भएपछि
गिरिराजमणि पोखरेल दुई पटक स्वास्थ्यमन्त्री भए। अहिले दोस्रो पटक शिक्षामन्त्रीको जिम्मेवारीमा छन्। यो बीचमा उनलेले योग दिवस मनाउने काम सुरु गरे।
२०७२ सालमा शिक्षामन्त्री भएका बेला कांग्रेस नेता नरहरि आचार्यले योग दिवस मनाउने निर्णय कार्यान्वयन गर्नुप¥यो भने। त्यसपछि माघ १ गतेलाई योग दिवसका रुपमा मनाउन सुरु भयो। ‘योगको क्षेत्रमा लागेका सबैलाई शिक्षा मन्त्रालयमा बोलाएर योग दिवस मनायौँ,’ उनले भने।
पूर्वीय दर्शन र योगलाई जोड्नुपर्छ भन्ने मान्यता राख्ने मन्त्री पोखरेल आफ्नो समस्या पनि यसैबाट हल हुन्छ भनेर यसैअनुरुप तालिका मिलाएका छन्।
डा हरिप्रसाद पोखरेलको नेतृत्वमा आयुर्वेद, जटिबुटी, प्राकृतिक चिकित्सा र योगको पाठ्क्रम तयार गर्न लागेका छन् उनी। सामुदायिक विद्यालयमा योगसम्बन्धी अध्यापनका लागि पाठ्यक्रमको तयार भएसकेको छ। सिटिइभिटीको आगामी बैठकमा त्यो ड्राफ्ट पेस हुँदै छ। उनी सिटिइभिटीको माध्यमबाटै यो वर्ष केही सामुदायिक विद्यालयमा पाइलेटिङ गर्ने योजनामा छन्। त्यसबाहेक योगको नेपाली संस्करण सुरु गर्न प्रारम्भिक ड्राफ्ट बनाएर प्रधानमन्त्रीलाई बनाएर बुझाएको उनले बताए।
सुगरका बिरामी मन्त्री पोखरेल करिब सात वर्षदेखि औषधि सेवन गरिरहेका छन्। सकेसम्म अग्र्यानिक खाना खाने उनी बिहानको खाजा पनि लिटो, जाउलो, फलफूल खान्छन्। योगभ्यासलाई बिहान र बेलुका दुई पटक गर्ने कोसिस पनि गरेका छन् उनले। भन्छन्, ‘बेलुका योग गर्न भने समय मिलिरहेको छैन।’