काठमाडौं- बालबालिकालाई खोप लगाउन लैजाने दायित्व आमाको मात्र हाे भन्ने बुझाइका कारण आमा व्यस्त हुँदा बालबालिका खोप पाउनबाट बन्चित भएको स्वास्थ्यकर्मीहरु बताउँछन्।
युनिसेफमा खोप कार्यक्रम हेरिरहेकी एक जना चिकित्सक भन्छिन्, ‘बच्चालाई खोप लगाउने लैजाने दायित्व आमाबुबा दुवैको हो। तर हामीले यो जिम्मा आमाको मात्र हो भन्ने ठानेका छौँ। आमा काममा व्यस्त हुँदा बुबाहरुले त्यो दायित्व पूरा गर्ने हो भने खोपको कभरेज अहिलेको भन्दा निकै राम्रो हुन्छ।’
उनले अभियानका समयमा र नियमित खोप कार्यक्रममा पनि बुबाहरुलाई आफ्ना बच्चाले खोप पाउने उनीहरुको अधिकारबारे सचेत बन्दै जिम्मेवार बन्न आग्रह गरिन्।
खोपको महत्व, नलगाउन हुने समस्याबारे सबै अभिभावकलाई जानकारी गराउनुपर्ने आवश्यकता रहेको उनको अनुभव छ।
त्यसबाहेक सरकारले खोपमा बालबालिकाको निरन्तर घट्दो पहुँचलाई मध्यनजर गर्दै समायोजनमा काटिएका खोप सुपरभाइजर, खोप अधिकृत, कोल्डचेन अधिकृत लगातयको पनि उचित व्यवस्थापन गर्नुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ।
यसैबीच, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाले आगामी फागुन र चैतमा हुने पाँचौ दादुरा-रुवेला खोप अभियानबारे सञ्चारकर्मीलाई जानकारी दिँदै सबैलाई सहयोगका लागि आग्रह गरेको छ।
शाखाले अभियानका देशभर लागि करिब २९ हजार खोप केन्द्र थपिने जानकारी समेत दिएको छ।
हाल सरकारले नियमित खोप कार्यक्रम सञ्चालन गर्न १६ हजार खोप केन्द्र सञ्चालन गरिरहेको छ। तर अभियानमा ३० हजार बालबालिकालाई खोपाउने कार्यक्रम रहेकोले अपुग हुने भन्दै थप खोप केन्द्रहरु सञ्चालन हुने बताइएको छ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका अनुसार पाँच वर्ष मुनिका करिब ३० लाख बालबालिकालाई फागुन र चैत महिनामा दुई चरणमा करिब १० हजार स्वास्थ्यकर्मीले खोप दिने छन्।
सन् २०२३ मा नेपालबाट दादुरा-रुवेला निवारण गर्नका लागि सरकारले वृहत खोप अभियान गर्न लागेको हो। विश्व स्वास्थ्य संगठनले दादुरा-रुवेला खोपको दुवै मात्राको पहुँच ९५ प्रतिशतभन्दा बढी भएपछि मात्र निवारण भएको मान्छ।
नेपालमा खोपको पहिलो मात्रा बिसिजी खोपको कभरेज ९० प्रतिशतभन्दा माथि भएपछि दोस्रो मात्रा १५ महिनामा लगाइने खोपको कभरेज अझै पनि ७५ प्रतिशतभन्दा कम छ।
नेपालले यसअघि सन् २०१९ मै निवारण गर्ने लक्ष्य लिएको थियो। बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले भने, ‘सन् २०११ को सर्वेक्षणले खोपको कभरेज ८७ प्रतिशत देखाएको थियो। हामीले त्यसैले तोकेको समयसम्म खोपको कभरेज ९५ प्रतिशत पुग्छ भन्ने थियो तर २०१६ को सर्वेले कभरेज घटेर ७८ मा झरेपछि निवारण लक्ष्य तोकिएको समयमा पूरा हुन सकेन।’
दक्षिण एसियाली राष्ट्रले भने सन् २०२० सम्ममा निवारण गर्ने लक्ष्य लिएका छन्।
राष्ट्रिय खोप कार्यक्रमका स्वास्थ्यकर्मीहरु २०११ पछि देशको राजनीतिक परिवर्तन, मधेश आन्दोलन लगायतले खोप कार्यक्रम निकै प्रभावित भएको बताउँछन्। त्यसबाहेक १ प्रतिशत बालबालिकाले खोपबाट बन्चित हुनु, २१ प्रतिशतले आंशिक खोप पाउनु अर्को चुनौती हो।
सरकारले अभियानका क्रममा खोजेर खोपाउने छ। सन् २०१९ को तथ्यांक हेर्न हो भने १ हजार ६ सयले ५० लाई दादुराको शंका गरिएकोमा ३६६ लाई संक्रमण भएको पुष्टि भएको थियो।
संक्रमण भएकामध्ये अधिकांश बालबालिकाले खोप पाएका थिएनन्। विभिन्न स्थानमा महामारी देखिएपछि आकस्मिक खोप अभियान सञ्चालन समेत गरिएको थियो।
संघीयता कार्यान्वयनको अवस्था र कर्मचारी समयोजनको समस्याले कार्यक्रम प्रभावित भइरहेको पनि स्वास्थ्यकर्मीको भनाइ छ।
खोपकै कारणले मृत्यु हुँदैन
शाखा प्रमुख शर्माले खोप लगाएकै कारण कुनै बालबालिको मृत्यु नहुने बताए।
केही समयअघि डोटीमा खोप लगाएकै कारण बालकको मृत्यु भएको भन्ने प्रसंगमा उनले भने, ‘खोप लगाउनुअघि कुनै अन्य स्वास्थ्यका समस्याले मृत्यु भएको हुन सक्छ तर खोप लगाएकै कारणले मृत्यु हुँदैन।'
बच्चालाई खोप लगाउन लैजाँदा निमोनिया, ज्वरो आएको वा अन्य कुनै पनि स्वास्थ्य समस्याहरु भएमा चिकित्सकलाई जानकारी गराउनुपर्ने डा शर्मा बताउँछन्।
‘खोप लगाउनुअघि समस्या छ कि छैन भनेर स्वास्थ्यकर्मी सोध्ने गर्छन्। सो समयमा अभिभावकले नलुकाई बच्चामा कुनै स्वास्थ्य समस्या भए-नभएको बताउनुपर्छ। त्यसले कुनै अप्रिय घटना हुनबाट रोक्छ,’ उनले भने।
खोप लगाउँदा हुन सक्ने असर
खोप लगाइसकेपछि सामान्य र गम्भीर दुई खाले असर बालबालिकामा देखिन सक्छ।
खोप लगाएको ठाउँमा दुख्ने, सुन्निने, ज्वरो आउने र डाबर आउने समस्या देखिएमा ती सामान्य असर हुन्।
तर, मस्तिष्कको सुजन (एन्सेफलाइटिस), प्लेटलेट कम हुनु, कम्पन ज्वरो आउने र एक कडा खालको एलर्जी जसलाई एनाफाइलेक्सिस २ घन्टाभन्दा बढी देखियो भने कडा खालको समस्या भनेर थाहा पाउनुपर्छ।
एनाफाइलेक्सिस विरलै हुने घटना हो। जसको समयमै उपचार हुन सकेन भने बच्चाको ज्यान जान सक्छ।
उच्च ज्वरो, सुई दिएको ठाउँमा धेरै बेर रातो हुने, धेरै सुन्निएर पाक्ने, एकै स्थानका धेरै जनालाई एकै समयमा उस्तै समस्या देखा पर्नु, सुई दिएको ठाँउबाट रगत बगिरहनु, लामो २, ३ घण्टाभन्दा धेरै समय रोइरहनु, दूध चुस्न वा खान नसक्ने वा कम गर्दै जाने जस्ता लक्षण देखिए भने पनि तुरुन्तै चिकित्सककहाँ लग्नुपर्छ।
खोप शाखाका जनस्वास्थ्य अघिकृत बसन्त श्रेष्ठ भन्छन्, ‘खोप लगाएपछि यस्ता खालका समस्या देखियो भने तुरुन्त चिकित्सकलाई सम्पर्क राख्नुपर्छ।’