डा सन्तोष दुलाल
विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ कोरोना भाइरस रोग (कोभिड-१९) ले करिब पाँच महिनाको अन्तरालमा १ करोड २७ लाख मानिसलाई संक्रमण गरेको छ। यो भाइरसले ५ लाख ६५ हजारको मृत्यु गराउनुका साथै विश्वको आर्थिक, पर्यटन, व्यापार, शिक्षा र जनस्वास्थ्य क्षेत्रहरुलाई आन्क्रान्त पारेको छ।
कोरोनाको ताजा तथ्यांकलाई विश्लेषण गर्दा संक्रमितको सङ्ख्याको आधारमा श्रेणीकरण गर्दा विश्वमा अमेरिका पहिलो, ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा छन्। यस्तै, पाकिस्तान बाह्रौं, बङ्लादेश सत्रौं स्थानमा र नेपाल ६१औं स्थानमा छ। कोरोना प्रसारण र संक्रमण अहिले दक्षिण एसियामा रेड जोनमा पुगेकोले उच्च सतर्कताका साथ कोरोना सम्बन्धित रोकथामका उपाय र रणनीतिहरू कार्यान्वयन गर्न आवश्यक छ।
नेपालमा कोरोनाको तथ्यांकलाई विश्लेषण गर्दा २०७६ माघ दोस्रो हप्ताको सुरूमा चीनबाट आएका व्यक्तिमा कोरोना पुष्टिपश्चात् पहिलो संक्रमणबाट संक्रमितको सङ्ख्या १० पुग्न ८० दिन (२०७६ चैत ३०), १०० संक्रमित पुग्न १०७ दिन (२०७७ वैशाख २७), संक्रमितको संख्या १,००० पुग्न १२७ दिन (जेठ १६), ५,००० संक्रमित पुग्न केवल १४१ दिन (जेठ ३०), संक्रमितको संख्या १०,००० पुग्न केवल १५२ दिन (असार ९) र संक्रमितको संख्या १५,००० पुग्न १६२ दिन (असार १९) मात्र लाग्यो। कोरोना संक्रमण पुष्टि भएको संख्यामा ९७ प्रतिशत आयातित भएकाले नेपालभित्र भने कोरोना प्रसारण छिटपुट (स्पोराडिक) मात्र देखिएकोले अहिलेसम्म कोरोना प्रसारण समुदाय स्तरमा पुगिनसकेको अवस्था छ।
६ जिल्लाबाट सबै जिल्लामा संक्रमण फैलिन मात्र ५५ दिनको समय अवधिले कोरोना भाइरसको तीव्र संक्रमणको अनुभुति दिलाउँछ। साथै विगत ४१ दिनको अन्तरालमा ३० वटा कोरोना सम्बन्धित मृत्युले यसको गम्भीरता प्रकट गर्छ (लेखा चित्रमा हेर्नुहोस)।
नेपालमा कोरोनाको सम्बन्धित मृत्यु परीक्षण मृत्यु (३८ सङ्ख्या) दर केवल ०.२३ प्रतिशत छ भने अमेरिकामा ४.१ प्रतिशत, बेलायतमा १५.५ प्रतिशत, स्पेनमा ९.४ प्रतिशत, भारतमा २.६६ प्रतिशत, दक्षिण कोरियामा २.१ प्रतिशत र जापानमा ४.७ प्रतिशत छ, जुन नेपालको धेरै न्यून छ।
यसलाई अर्को तरिकाले विश्लेषण गर्दा, सम्बन्धित देशको १० लाख जनसंख्यामा कोरोना सम्बन्धित मृत्यु हेर्दा नेपालमा १, अमेरिकामा ४१४, बेलायतमा ६६०, स्पेनमा ६०७, भारत १६, दक्षिण कोरियामा ६ र जापान ८ हुन आउँछ। यसको कारण सायद कोरोना प्रसारण र संक्रमण नेपालमा समुदाय स्तरमा नपुगेको, विकसित देशहरू अमेरिका र युरोपियन देशहरूको तुलनामा नेपालमा दीर्घरोगी र पाको उमेरका मानिसहरू साविकभन्दा कम संक्रमण देखिनु, भिन्न सांस्कृतिक मूल्यमान्यता र परम्पराका साथै खानापानका आनिबानी र गतिविधिहरुले पनि भूमिका खेलेको हुनसक्छ। थप, आनुवांशिक (होस्ट जेनेटिक्स वा भाइरल जेनेटिक्स) पनि केही भूमिका खेल्न सक्छ। तर यकिन नै गर्न त उचित अनुसन्धानका तथ्य र प्रमाणको निचोड हुन आवश्यक छ।
विगत ३० दिनमा (३० जेष्ठदेखि २७ असारसम्म) नेपालमा कोभिड-१९ प्रसारण र संक्रमणको अवस्थालाई विश्लेषण गर्दा-
- कोरोना संक्रमित पुष्टि भएको संख्यामा ३.३ गुणा वृद्धि
- कोरोना सम्बन्धित मृत्यु संख्यामा २.४ गुणा वृद्धि
- पिसिआर प्रयोगशाला परीक्षणमा २.३ गुणा वृद्धि
- निको भएकाको संख्यामा ९.६ गुणा वृद्धि
- क्वारेन्टाइन छोड्नेको संख्या ६.६ गुणा घट्नु (सायद संक्रमण नदेखिएर)
प्रत्येक दिन औसतमा
- पिसिआर प्रयोगशाला परीक्षण: ५,२५८
- कोरोना संक्रमित पुष्टि: ३८८ जना (७.४ प्रतिशत पिसिआर परीक्षणमा)
- निको भएकाको संख्या: २५२ जना (६५ प्रतिशत कोरोना संक्रमित पुष्टिमा)
- क्वारेन्टाइन छोडने संख्या : ४,४६५ (सायद संक्रमण नदेखिएर)
यस्तै, गत हप्ता (२१ देखि २७ असारसम्म) नेपालमा कोभिड-१९ प्रसारण र संक्रमणको अवस्थालाई विश्लेषण तथा तुलना गर्दा प्रत्येक दिन औसतमा-
- पिसिआर प्रयोगशाला परीक्षण: ४,०८४
- कोरोना संक्रमण पुष्टि: १३३ जना (३.२ प्रतिशत पिसिआर परीक्षणमा)
- निको भएकाको संख्या: २७२ जना (२ गुणा संक्रमित पुष्टि भएकाहरु निको हुने अवस्था)
- क्वारेन्टाइन छोड्नेको संख्या: १,६२५ (३२ प्रतिशत घट्दो क्रम) (सायद संक्रमण नदेखिएर)
यी विविध पक्षहरुलाई अध्ययन तथा विश्लेषण गर्दा, कोरोनाले घट्ने क्रम (फ्ल्याट कर्व) पालना गर्ने आकलन गर्न सकिन्छ।
कोरोना पूर्ण नियन्त्रणको लागि अझै २-३ हप्ता निम्न कार्यहरुलाई निरन्तरता र बढावा दिन अत्यावश्यक छ:
• आयातित व्यक्तिहरुको उचित क्वारेन्टाइन अनुशरण र व्यवस्थापन, व्यापक प्रयोगशाला परीक्षण र निदान
• कोरोना संक्रमित भएकाको उचित आइसोलेसन व्यवस्थापन र वहुपिसिआर परीक्षण नकारात्मक परिणामको निचोड नहुन्जेल
• साविकको भन्दा बढी सम्पर्क ट्रेसिङ गर्ने, शंकास्पदको परीक्षण र निदान गर्ने
• कोरोना हावाबाट पनि सर्न सक्ने विश्व स्वास्थ्य संगठनको पछिल्लो कथनलाई आत्मसात गर्दै अनिवार्य र उचित मास्कको प्रयोग गर्ने
• सार्वजनिक यातायातका साधनहरु (बस र ट्याक्सी) मा कोरोना रोकथाम नियन्त्रणका उपाय र रणनीतिहरूको कडाइका साथ कार्यान्वयन (जस्तै १-२ मिटर भौतिक दूरी कायम गर्ने, प्रवेश र बाहिर निस्कँदाको दूरी व्यवस्थापन, सिटको व्यवस्थापन, सबै यात्रुले र वाहन कर्मचारीले मास्कको अनिवार्य प्रयोग, ठाउँठाउँमा सेनिटाइजरको प्रयोग) र लामो दूरीको यातायातमा अझ कडाइ गर्ने
• कोरोनाको सामुदायिक प्रसारण पुग्नबाट रोक्न र्या पिड रेस्पोन्स टिमको सक्रिय संलग्नता
• अतः वर्तमान परिस्थितिमा स्थानीय अधिकार निकायले संक्रमितको रोकथाम र उपचार लक्षित सुरक्षा नीतिहरु तथा निवारण रणनीतिहरु यथाशीघ्र तयारी, सबै सरोकारवालाहरुसँग सहकार्य गर्दै उचित आर्थिक र संसाधन (भिटिएम, किट, पिपिई) को उचित प्रबन्ध गर्दै आपतकालीन निवारणको लागि द्रुत गतिविधि र जिम्मेवारी वहन गर्ने।
(आनन्दवन अस्पतालमा अनुसन्धान वैज्ञानिक रहेको डा दुलालले दक्षिण कोरियाबाट स्नातकोत्तर र अमेरिकाबाट विद्यावारिधि तथा पोस्ट-डक्टरल फेलोसिप गरेका छन्।)