कोरोना विरुद्धको लडाईंका यो ९ महिना तपाईंले महत्वपूर्ण कुरा के छुटाउनुभयो ?
कोरोना संक्रमितको उपचारमा सक्रिय भएर कर्तव्य पूरा गरेको कुरालाई ‘प्राप्ति’ सम्झेर डटिरहेका डा सन्तकुमार दासलाई सोधियो। कोरोना कहर विरुद्धको लडाईं अनुभव उत्साहसाथ सुनाइरहेका डा दास एकछिन मौन भए। मौनता भावुकताको परिणाम थियो। अनि एकछिनको मौनता तोडे, ‘आमाको हातको दसैंको टिका ...।’
चिकित्सा जस्तो हरपल ड्युटीका लागि तयार रहनुपर्ने पेसामा हुँदा पनि उनले हालसम्म नछुटाएको एउटै कुरा हो, दसैं। २०४९ सालदेखि काठमाडौंमा रहेका उनी दसैंमा जसरी पनि घर राजविराज पुगेका छन् र आमाको हातको टिका ग्रहण गरेका छन्।
त्यसपछि विशेषगरी नेपालको तराई भेगमा उमंगका साथ मनाइने छठ आयो। यसपल्ट त्यो पनि छुट्यो। बिरामीको उपचारमै रमाइरहेका उनलाई यो चाडको रमाइलोले त खाश छुँदैनथ्यो। तर, दसैंको दिन उमेरले ७० पुगेकी आमाले आत्मीयता र आशिर्वादको समिश्रण गर्दै फोनमा भनिदिइन्, ‘बाबु खै तिमी आ’को?’
आमाको त्यो मातृवाशल्यसहितको अपेक्षाले उनलाई एकछिन भावुकताको गहिराईमा पुर्याएर उतार्यो। उनले आमासँग वाचा गरे, ‘अवस्था सामान्य हुने बित्तिकै बिदा लिएर घर आउँछु।’
‘अवस्था सामान्य’ भन्ने विषय नै बडो जटिल बनिरहेको अवस्था छ अहिले। डा सन्तकुमारहरु त्यही कुरिरहेका छन्। अर्थात् विश्वभरका सन्तकुमारहरुमा विश्वास छ– एकदिन यसलाई परास्त गरिछाड्छौं। किनभने डा दास परिबन्द परेर होइन, आफ्नै मनवचनले कोरोना विरुद्ध मैदानमा उत्रिएका हुन्।
त्रिवि शिक्षण अस्पताल उपचारका लागि देशभरिकै सामान्य नागरिक होइन, देशकै प्रधानमन्त्रीले समेत भरोसा गर्ने ठाउँ हो। जुन अस्पताल कोरोना महामारीमा कोरोनाका बिरामीको भरोसा टुटाउनै लागेको थियो। यस्ता अवस्थामा डा दास नै अघि बढे। उनले आफू नै अग्रसर हुने विश्वास दिलाउँदै अस्पताल प्रशासनलाई भने, ‘सवै रोगको उपचार हुन्छ भन्ने विश्वास दिलाएको अस्पतालमा कोरोनाको हुँदैन भन्न किन पार्ने? यसका उपचार पनि सुरु गर्नुपर्छ। हामी नै डरायौं भने कसले काम गर्छ र ?’
डा दासकै नेतृत्वमा अस्पतालले कोभिड १९ विरुद्धको लडाकु टिम तयार गर्यो। जसले गर्दा उक्त अस्पतालले धेरै बिरामीलाई कोरोना विरुद्धको लडाईंमा सफल तुल्याएको छ।
कोरोनाको उपचार सुरु गर्दाका संघर्ष
त्रिवि शिक्षण अस्पतालले संक्रमितको उपचार गर्ने तयारी चैत ११ गतेदेखि थालेको थियो। तर, कोरोनाको भय र भ्रम दुवै थियो अस्पतालकै डाक्टर र कर्मचारीहरुमा। त्यसैले उक्त अस्पताललाई कोरोना अस्पताल बनाउन नहुने भन्दै आवाज समेत उठ्यो। त्यही क्रममा केही चिकित्सकले तर्क गरेका थिए, ‘यो अस्पताल अन्य बिरामीका लागि हो कोरोनाको उपचार गर्न हुँदैन।’ तर, डा दास यसमा सहमत भएनन्। उनले प्रतिप्रश्न गरेका थिए, ‘टिचिङ अस्पताल जस्तोले कोरोनाको उपचार गर्दिन भन्न मिल्छ र?’
देशको पुरानोमध्येको एक अनि धेरै बिरामी आउने अस्पताल हो यो। त्यसैले कोरोनाको उपचार गर्दिन भन्न नमिल्ने उनको तर्कले जित्यो र शिक्षण अस्पतालले कोरोना संक्रमितको उपचार थाल्यो। छाती रोग विशेषज्ञ डा दासलाई त्यो बेलै लागेको थियो, ‘कोरोनाको उपचारका लागि छुट्टै व्यवस्था नगर्ने हो र संरचना नबनाउने हो भने अवस्था झन् भयावह हुन सक्छ।’
उनी भन्छन्, ‘कुनै पनि बिरामी कोरोना संक्रमित हो या हैन भनेर हेरेर भन्न मिल्दैन। छुट्टै व्यवस्था गरेनौं भने झन् सबै जना संक्रमित हुन सक्ने जोखिम हुन्छ भनेर मैले धेरैलाई सम्झाएँ त्यो बेला।’
कोरोना संक्रमितको उपचार र व्यवस्थापनका लागि तत्कालीन निर्देशक प्रा.डा प्रेमकृष्ण खड्गाले डा दासको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरे। सबैबाट विरोध सुरु हुँदाहुँदै पनि यो समितिले आफ्नो तयारी भने रोकेन। उनीहरु अस्पतालले लगाएर कोरोना विरुद्ध लड्न गइरहेका थिएनन्, आफ्नै कर्तव्य महशुस गरेर अघि बढेका थिए। त्यसैले विरोध र अवरोधहरु पार गर्ने साहस टुट्न सकेन।
कोरोनाको उपचार गर्नेमा सहमति भएपछि निम्तियोे, कोरोना संक्रमितको उपचारका लागि भवनको छनोट। सबै किसिमले उपयुक्त हुने भन्दै उनीहरुले त्रिवि शिक्षण अस्पताल भित्र रहेको गणेशमान सिंह भवन छनोट गरे। तर समस्या यहीँबाट सुरु भयो।
गणेशमान सिंह भवनमा अर्थोपेडिक र इएनटी विभागको सेवा सञ्चालित हुने गर्छ। त्यसैले पनि यस विभागका चिकित्सक तथा स्वास्थ्यकर्मीले सेवा प्रभावित हुने भन्दै भवन दिन चाहेनन्। डा दास भन्छन्, ‘कुनै विकल्प नभएपछि निर्देशकज्यूले त्यो भवन कोरोना संक्रमितको उपचारका लागि प्रयोग गर्ने भनेर निर्देशन दिएपछि हामीले पायौं र तयारी सुरु गर्यौं।’
त्यसपछि अर्को आइपरेको समस्या थियो, कर्मचारी व्यवस्थापन। त्यो बेला कोरोना संक्रमितको उपचारका लागि कोही पनि जान तयार नभएको डा दास बताउँछन्। उनकधो अनुभव छ, ‘कर्मचारीलाई कोरोनाको उपचारमा खटाउनु त्यो बेला फलामको च्यूरा चपाउनु सरह थियो।’
अस्पतालमा संक्रमित भेटिँदा रुवावासी
त्रिवि शिक्षण अस्पतालमा पहिलो संक्रमित आएको थियो, जेठ २९ गते। त्यो बेला उनको फरक अनुभव छ। यतिसम्मकी पहिलो संक्रमित आएको दिन अस्पतालमा कर्मचारीहरुको रुवावासी समेत भयो। ‘जेठ २९ गते पहिलो कोरोना संक्रमित आयो। त्यसपछि सबैतिर डर। ती संक्रमितको नजिक कोही पनि जान नमान्ने। न्यूरो सर्जरी वार्डका स्टाफहरुमा रुवावासी हुन थाल्यो,’ उनले त्यो समय स्मरण गरे।
न्यूरो सर्जरी वार्डका अन्य बिरामीहरु आफूलाई कोरोना संक्रमितसँग राखेको भन्दै आक्रोशित समेत भए। त्यो बेलासम्म उनीहरुले गणेशमान सिंह भवनमा उपचारका लागि संरचना तयार गरिसकेका थिए।
ती संक्रमितलाई उक्त भवनमा सार्न पनि कोही मानेनन्। त्यसपछि डा दास सहित समितिका सदस्यहरुले नै ती संक्रमितलाई गणेशमान सिंह भवनमा सारे। ‘जब न्यूरो सर्जरी वार्डका बिरामीमा कोरोना भेटियो। उनलाई उपचारका लागि गणेशमान सिंह भवनमा सार्नुपर्ने भयो,’ उनले सुनाए, ‘ती संक्रमितलाई सार्न कोही पनि नमानेपछि हामी कोभिड कमिटिका सदस्यहरु गएर सार्यौं।’
पहिले कोरोना संक्रमितको नजिक जान डराउने कर्मचारीहरु पनि अहिले सहज तरिकाले काम गर्ने गरेको उनी बताउँछन्।
मृतक संक्रमितको शव उठाउन सकस
त्रिवि शिक्षण अस्पतालमा जब पहिलो पटक कोरोना संक्रमितको मृत्यु भयो। त्यो बेला मृतकको शव उठाउने समेत कोही भएनन्। जबकी कोरोना मृतक संक्रमितको शव उठाउनका लागि अस्पतालले आफ्ना कर्मचारीलाई तालिम समेत दिएको थियो।
उनले भने, ‘जब अस्पतालमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भयो। शव उठाउन पनि कोही तयार भएनन्। जबकी हामीले कोरोना संक्रमित मृतकको शव के कसरी उठाउने भन्ने बारेमा तालिम पनि दिएका थियौं।’
कोही नमानेपछि समितिको अग्रसरतामा शव उठाउने र दाहसंस्कार गर्ने काम पनि भयो। तर अहिले अवस्था सहज भइसकेको उनी बताउँछन्। अहिले कोही कसैलाई केही भन्न नपरेको उनको अनुभव छ।
स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछिको अवस्था
एक समय थियो, जहाँ त्रिवि शिक्षण अस्पतालका स्वास्थ्यकर्मीहरु धमाधम संक्रमित हुन थाले। यतिसम्म कि एकैदिन ३०/४० जना स्वास्थ्यकर्मी समेत संक्रमित भए।
स्वास्थ्यकर्मीहरु नै धमाधम संक्रमित हुन थालेपछि अस्पतालले आरोप समेत खेप्नुपर्यो। अस्पतालले स्वास्थ्य सुरक्षाका सामग्रीहरु उपलब्ध नगराएका कारण आफूहरु संक्रमित हुन थालेको उनीहरुको आरोप थियो।
स्वास्थ्यकर्मीहरुको आरोपपछि समितिले छानबीन गर्न थाले। के कारणले यति धेरै स्वास्थ्यकर्मीहरु संक्रमित हुन थाले भन्ने उनीहरुको ठूलो प्रश्न थियो।
संक्रमित हुने स्वास्थ्यकर्मीहरु कोभिड वार्डका थिएनन्। डा दासका अनुसार उनीहरुले पिपिई र मास्क लगाएका थिए। संक्रमित हुने स्वास्थ्यकर्मीहरु नन कोभिड वार्डको भएको उनले बताए।
उनले भने, ‘जसले पिपिई र मास्क लगाएका थिए। उनीहरु कोही पनि संक्रमित भएका थिएनन्। संक्रमित हुने स्वास्थ्यकर्मीहरु नन कोभिड वार्डका थिए।’
त्रिवि शिक्षण अस्पतालमा हालसम्म करिब ५ सय स्वास्थ्यकर्मी संक्रमित भएका छन्।
सुरक्षाका उपाय पालना गर्दा जोगिएका डा दास
कोरोना विरुद्धको लडाईं उनी होमिएको नौ महिना भयो। यो बीचमा उनले कयौं संक्रमितको उपचार गरे। उचित सुरक्षा अपनाएर कोरोना विरुद्धको लडाईंमा अघि बढ्न सकिन्छ भन्ने आत्मविश्वास उनमा थियो।
उनी भन्छन्, ‘सुरक्षा अपनाएर अघि बढे भने म गर्न सक्छु र सुरक्षित हुन सक्छु भन्ने आत्मविश्वास थियो।’
मास्कको सही प्रयोग गरे, मास्क लगाए र सामाजिक दूरी कायम गरे कोरोनाबाट बच्न सकिने उनको आफ्नै अनुभव छ। कोरोना विरुद्धको लडार्इंमा होमिएपछि उनी एक्लै बस्न थाले। यो नौ महिनामा उनी न त परिवारसँग सँगै बस्न पाएका छन्, न त सँगै खान नै।
उनले अपनाएको यही सावधानीका कारण नै उनको परिवार पनि अहिलेसम्म कोरोनाबाट बँच्न सफल भएका छन्।
चुनौती अझै छन् अस्पतालसँग
कर्मचारी व्यवस्थापन अहिले त्रिवि शिक्षण अस्पतालका लागि ठूलो चुनौती बनेको छ। रेजिडेन्ट सहित यहाँ १७ सय कर्मचारीहरु छन्। यी सबै कर्मचारीहरुलाई रुटिन बनाएर कोभिडको उपचारका लागि अस्पतालले खटाउने गरेको छ। तर विस्तारै नन कोभिडका बिरामीको चाप बढ्न थालेपछि कर्मचारी व्यवस्थापन ठुलो चुनौती भएको डा दास बताउँछन्।
उनले भने, ‘अहिले नन कोभिडको सबै वार्डहरु लगभग खुलिसकेको छ। नन कोभिडका बिरामीको चाप पनि बढ्दैछ। त्यसैले कर्मचारी व्यवस्थापन ठूलो चुनौती हो।’
गणेशमान सिंह भवनमा सञ्चालित अर्थोपेडिक र इएनटी विभागको सेवा बन्द गरेर कोरोनाको संरचना निर्माण गरिएको थियो। यस विभागबाट सञ्चालित सेवाहरु अहिले पनि बन्द छन्।
सामान्य सेवाहरु छुट्टै भवनबाट सञ्चालन गरेपनि घुँडा, हिप प्रत्यारोपरण जस्ता विशिष्टकृत सेवाहरु अझै पनि बन्द गर्नु अस्पतालको बाध्यता बनेको छ। हाल बन्द रहेको यी सेवालाई पुनः कसरी सञ्चालन गर्ने भन्ने तर्फ अस्पताल जुटिरहेको छ। सरकारको तर्फबाट खासै सहयोग नपाउँदा आर्थिक रुपमा कमजोर हुँदै गएको डा दास बताउँछन्।
‘कोरोना संक्रमितको निशुल्क उपचार गर्ने सरकारले भनेको छ। उनीहरुको उपचार गरे बापतको रकम पनि हामीले पाएका छैनौ। त्यसैले कर्मचारी थप्न पनि समस्या छ,’ उनले भने।