काठमाडौं- ‘सेतो कोट, सेतै क्याप। कोटमाथि कम्मर पेटी र कालो जुत्तामा सजिएकी युवती, वाह !,’ २०४० सालमा एसएलसी पास गरेपछि जब उनका बाबुले ‘छोरी तिमीले नर्सिङ पढ्नुपर्छ’ भन्ने प्रस्ताव राखे, मोरङकी लक्ष्मी लामाले आफूलाई नर्सिङ पोशाकमा सजिएको कल्पना गरिन्।
बाबुको सपनालाई आफ्नो भविष्य बनाउने सोचेकी लक्ष्मीले प्रस्तावलाई इन्कार गर्ने कुरै थिएन। उनी नर्सिङ पढाइका लागि विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना भइहालिन्।
स्टाफ नर्स अध्ययनको पहिलो वर्ष बिरामीको केयरबारे अध्ययन र क्लिनिकल अभ्यास दुवै गर्नुपर्ने हुन्थ्यो। जब अध्ययन गर्ने क्रममा बिरामीको वार्डभित्र पसिन्, उनको सातो गयो। किनकी नर्सिङ पढ्न गर्नुपर्ने अभ्यास उनले कल्पना गरेको सुन्दर पोशाकमा सजिने नर्सभन्दा निकै भिन्न थियो।
त्यतिबेला पढ्दै गरेका नर्सिङ विद्यार्थीका लागि न ग्लोब्स थियो न मास्क। बिरामीले बेडमै गरेको दिसा–पिसाब ग्लोब्स नै नलगाएको हातले सफा गर्नुपर्ने हुन्थ्यो।
‘दिसा र पिसाबले गिलो भएको अस्पतालको बेडका म्याट्रेस बिनामास्क, बिनाग्लोब्स बाटामा पानी राखेर रुमालले पुस्नुपर्ने हुन्थ्यो,’ लक्ष्मी नर्सिङ अध्ययनको सुरुवाती चरण सम्झिन्छिन्, ‘नर्स बनेर चिटिक्क पर्ने कल्पना गरेको थिएँ, त्यहाँ त बिरामीको दिसा–पिसाब सफा गर्नुपर्ने रहेछ। किन नर्सिङ पढ्न आएछु जस्तो लागेर रोएँ पनि।’
२०४१ साल भदौमा नर्सिङ अध्ययन सुरु गरेकी लक्ष्मीले दसैं बिदामा घर गएपछि नर्सिङ पढ्न नफर्किने सोच नै बनाइन्। ‘दसैंमा घर जाँदा अब फर्किन्नँ भन्ने सोचें। घरमा गएर सबै दुःख सुनाएँ, नर्सिङ पढ्दिन भनिदिएँ, उनले भनिन्।
‘भर्याङ चढेपछि बीचबाट फर्किनु हुँदैन, पार नै गर्नुपर्छ। गाह्रो त जुन क्षेत्रमा पनि हुन्छ, चुनौती र अप्ठेराहरुलाई पार गर्ने अठोट लिएर अघि बढ्नुपर्छ,’ लक्ष्मीकी आमाले सम्झाइन्, ‘नर्सिङ पेसा सेवा भाव राखेर गर्ने पेसा हो।’
छोरी सक्षम र सबल हुनुपर्छ भन्ने सोचाइ लामा परिवारमा थियो। आमाले सम्झाएपछि उनले नर्सिङ नपढी सुखै पाइनन्। पढ्दै जाँदा नर्सिङ पेसाको महत्व र सेवाभावलाई बुझ्दै गएपछि उनलाई यो क्षेत्र मन पर्न थाल्यो।
२०४४ सालदेखि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट नर्सिङ स्टाफको रुपमा नर्सिङ पेसा सुरु गरेकी लक्ष्मी अहिले टिचिङ अस्पतालको रेनल ट्रान्सप्लान्ट युनिटको नर्सिङ इन्चार्जको रुपमा कार्यरत छिन्।
टिचिङ अस्पतालमा ३३ वर्षदेखि निरन्तर बिरामीको सेवा गरिरहेकी उनी अहिले यो पेसाप्रति खुसी र सन्तुष्ट छिन्।
बर्मामा जन्मिएर नेपालमा हुर्किन्
लक्ष्मी २०२२ साल असोज ६ गते बर्मामा जन्मिएकी हुन्। उनका हजुरबुबा–हजुरआमा नेपाल छाडेर बर्मामै बसेका थिए। बाबु त्यहाका आर्मी थिए। तर उनकी आमाको माइती परिवार भने मोरङमा थियो।
२०२८ सालमा लामा परिवार नेपाल नै बस्ने योजनाका साथ मोरङ आयो। बर्माबाट ५ वर्षको उमेरमा नेपाल आएकी लक्ष्मीको बाल्यकाल मोरङमा बित्यो। उनले शिशु कक्षादेखि ३ कक्षासम्म कादु पहाडा प्रि–प्राइमरी स्कुलमा पढिन्।
त्यतिबेला प्राथमिक शिक्षाका लागि विद्यालय जाने उनी एकमात्र छात्रा थिइन्। कक्षामा सबै छात्रमात्र हुन्थ्ये। त्यतिबेला नेपाली समाजमा छोरीलाई पढाउने चलन निकै कम थियो। छोरीलाई अहिलेको जस्तो विद्यालय पठाउने आमाबुबा निकै कम हुन्थ्ये।
उनी सम्झिन्छिन्, ‘म भर्ना भएको विद्यालयमा छात्रा त म मात्र थिएँ। २ कक्षामा पुगेपछि अर्को एक जना छात्रा भर्ना भएपछि हामी दुई जना भयौं, त्यतिबेला नेपालमा छोरीलाई पढाउने चलन नै थिएन।’
उनलाई विद्यालय पठाउँदा छरछिमेकले छोरीलाई पढाउन हुँदैन समेत भनेका थिए। तर उनका आमाबुबा समाजको कुरालाई बेवास्ता गर्दै छोरीको भविष्य उज्वल बनाउनुपर्छ भन्नेतर्फ केन्द्रित भए। त्यसैले विद्यालय जानकै लागि लक्ष्मीलाई कुनै रोकतोक भएन।
उनले कक्षा ४ देखि सौठा माध्यमिक विद्यालयमा अध्ययन गर्न थालिन्। सोही विद्यालयबाट २०४० सालमा एसएलसी पास गरिन्।
गोरखापत्रमा आउँथ्यो एसएलसीको नजिता
२०४०–४१ सालमा अहिलेको जस्तो सूचना प्रविधिको विकास भइसकेको थिएन। इन्टरनेटको माध्ययमबाट पढ्न पाउने कुरा त परको थियो, त्यतिबेला एसएलसी नजिता हेर्न समेत हप्तादिनसम्म गोरखापत्रको प्रतीक्षा गर्नुपर्ने अवस्था थियो।
‘गाउँमा हटिया भन्ने बजार हुन्थ्यो, पत्रिका किन्ने लाइनमा बसेर भाइहरुले गोरखापत्र किनेर ल्याए,’ लक्ष्मीले एसएलसीको नतिजा आएको पल सम्झिइन्, ‘गोरखापत्रमा प्रकाशित नजितामा आफ्नो नाम खोजें। सेकेण्ड डिभिजनमा पास भएछु।’
प्राविधिक विषय पढ्न नर्सिङ बाहेक विकल्प थिएन
लक्ष्मीले एसएलसी पास गरेपछि उनका आमा–बाबुले छोरीलाई प्राविधिक विषय पढाउनुपर्छ भन्ने सोच बनाए। तर नेपालमा त्यतिबेला रेडियोलोजी, ल्याब पढ्ने अवसर थिएन। त्यसपछि उनलाई परिवारले नै नर्सिङ पढाउने सोच बनायो। उनले विराट नर्सिङ होममा २०४१ सालमा नर्सिङ पढ्न भर्ना भइन्।
उनको ब्याचले नर्सिङ पढाइ सक्दैगर्दा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज खुल्दै थियो। नर्सिङको तेस्रो वर्षको परीक्षा सकिएलगतै उनीहरुलाई नर्सिङ होमले टिचिङ अस्पतालमा काममा पठाउने योजना बनाइसकेको थियो।
परीक्षा लिन आएका नर्सिङ सुपरभाइजरले प्रयोगात्मक परीक्षा लिने क्रममै भनेका थिए, ‘परीक्षा सकिएपछि घर फर्किने होइन, यहीँबाट झोला बोकेर काठमाडौं जानुपर्छ।’ अन्य साथीहरु परीक्षा सकिएपछि घर नै नगई काठमाडौं आउन तयार भए। लक्ष्मी भने काठमाडौं नआई घर गइन्।
घरमै जागिरको अफर
लक्ष्मीले न नर्सिङ पढ्दा धेरै खर्च गर्नुप¥यो न त जागिर खान ठूलो प्रतिस्पर्धा नै। नर्सिङ अध्ययन सकेर घर गएकी उनलाई जागिरको अवसर सहितको पत्र घरमै पुग्यो।
‘अहिलेजस्तो एउटा नर्सको लागि हजार जनाको आवदेन पर्दैनथ्यो, टिचिङ अस्पताल खुल्दा काम गर्ने नर्स नै थिएनन्,’ लक्ष्मीले जागिरको अवसर आएको दिन सम्झिइन्, ‘परीक्षा सकिएपछि घर गएको थिएँ, जागिर खान आउनु भनेर घरमै चिठ्ठी आइपुग्यो, त्यसपछि टिचिङ आएँ।’
अस्पतालले नै नयाँ जुत्ता र साडी दिँदाको खुसी, तलब १४ सय
अस्पतालले जागिरसँगै नयाँ जुत्ता, सुइटर र साडी दियो। नयाँ जागिर र नयाँ कपडाले लक्ष्मी र उनका साथीहरु निकै खुसी भए। बल्ल कल्पना गरेजस्तो नर्सिङ पोशाकमा उनले आफूलाई पाइन्।
लक्ष्मी र उनका साथीहरुले नर्सिङ पेसा सुरुवात गर्दा भोलेन्टियर भएर पनि काम गर्नु परेन। नर्सिङ परीक्षाको लाइसेन्स नआउँदासम्म उनीहरुलाई टिचिङ अस्पतालले अनमीको पोस्ट दियो। उक्त पदमा काम गर्नेका लागि त्यतिबेला महिनाको १४ सय रुपैयाँ तलब थियो। उनी र उनका साथीहरुले पहिलो महिनाको तलब १४ सय पाएका थिए। नर्सिङ परीक्षाको नतिजा आएपछि भने उनले मासिक २५ सय तलब पाएकी थिइन्।
लक्ष्मीले सुरुवाती चरणमा प्रसूति वार्डमा काम गरिन्। प्रसूति वार्डमा काम गरेको १८ महिनापछि मेल वार्डमा सिफ्ट भइन्। मेल वार्ड, अर्थो ओपिडी, फिमेल वार्ड, मेडिकल वार्ड, इएन्टी वार्ड हुँदै २०५१ सालमा उनी हेमोडायलाइसिस विभागमा सिफ्ट भइन्। १३ वर्ष हेमोडायलाइसिस विभागमा खटिएकी लक्ष्मी २०६४ सालदेखि रेनल ट्रान्सप्लान्ट युनिटमा कार्यरत छिन्।
ड्युटी गर्दागर्दै प्रसव पीडा
लक्ष्मीले टिचिङ अस्पतालमा काम गर्दैगर्दा काभ्रेका प्रेम लामासँग विवाह गरिन्। २०४६ सालमा पहिलो पटक गर्भवती हुँदा समेत उनले बिरामीको सेवा गर्न छाडिनन्। २०४६ साल चैत १९ गते उनको सुत्केरी हुने थियो। तर उनी त्यस दिन पनि अस्पतालमा ड्युटीमै थिइन्। ९ महिनाको ठूलो गर्भ बोकेर बिरामीको सेवामा खटिँदा उनलाई बिरामी र उनका आफन्तले पनि माया गर्थे। सुत्केरी स्याहार्न गाउँबाट आएका लामाका सासु–ससुरा नै उनको काम देखेर अचम्मित भए।
‘९ महिनाको गर्भ हुँदा पनि म त अस्पतालमै ड्युटी गर्थें, बिरामीहरुले तपाईलाई गाह्रो होला नि भन्नुहुन्थ्यो, धेरै माया गर्नुहुन्थ्यो,’ उनले भनिन्, ‘म सुत्केरी हुने समय भयो भनेर गाउँबाट आउनु भएका सासु–ससुरा त म अस्पतालमा ड्युटीमा गएको देखेर दंग पर्नुभयो।’
प्रसव पीडा भएपछि ड्युटी छाडेर लक्ष्मी टिचिङ अस्पतालकै प्रसूति वार्डमा भर्ना भइन्। ‘बिरामी हेर्दाहेर्दै मलाई लेभर पेन सुरु भयो, डाक्टर निलम प्रधानले भर्ना हुनूस् भन्नुभयो,’ उनले भनिन्, ‘लेभर पेन भएपछि घर गएर आफ्ना कपडाहरु लिएर अस्पतालमा भर्ना भएँ, भर्ना भएको भोलिपल्ट २०४६ साल चैत २१ गते सुत्केरी भएँ।’
बिरामीको सेवा गर्दा पाएको खुसी
नर्स लक्ष्मी बिरामीसँग कहिल्यै रिसाउँदिनन्। बिरामीको सेवामा खटिँदा उनले कतिपय बिरामीलाई आर्थिक सहयोग पनि गरेकी छन्।
‘उपचारका लागि भर्ना भएका बिरामीसँग पैसा नभएर ब्लड समेत किन्न नसक्दा, उपचारको क्रममा मृत्यु भएकाहरुको परिवारसँग शव उठाउने पैसा समेत नहुँदा हामीले नै पैसा संकलन गरेर दिएका छौं,’ उनले भनिन्, ‘अस्पतालमा पैसा नभएर पीडामा भएका बिरामी धेरै हुन्छन्, यस्ता बिरामीका लागि सबैले मिलेर सहयोग गर्नुपर्छ।’
नर्सिङ पेसामा ३३ वर्ष अनुभव सँगालेकी लक्ष्मीको जीवनमा बिरामीको सेवा गर्दा मिलेको खुसी र आनन्दका किस्सा अनगिन्ती छन्। ती नै खुसीका पलहरुले पनि उनलाई नर्सिङ क्षेत्रमा लागिरहन प्रेरणा मिल्छ।
‘बिरामीलाई सेवा दिदा उहाँहरुले गर्ने माया र सम्मानका पलहरु त धेरै छन्,’ उनी प्रफुल्ल हुँदै भन्छिन्, ‘जटिल बिरामीलाई रातभरि हातको सपोर्ट दिएर बस्दा उहाँहरुले आर्शिवाद दिएर जानुहुन्थ्यो, रोगले निराश भएर आएका बिरामी निको भएर घर फर्किंदा तपाईंले दिएको सेवाले नयाँ जीवन पाए भन्दै खुसी भएर फर्किनुहुन्छ, त्यो समय निकै आनन्द र खुसी लाग्छ। यस्ता पलहरु थुप्रै छ।’
लाइसेन्सप्राप्त नर्सलाई भोलेन्टियर राख्नु श्रम शोषण हो
२०४१ सालमा नर्सिङ अध्ययन गर्दा सो विषय अध्ययन गरेवापत लक्ष्मीले महिनामा २ सय रुपैयाँ पाउँथिन्। पढाइ सकिएपछि उनलाई कुनै अस्पतालमा भोलेन्टियर भएर काम गर्नुपर्ने बाध्यता आएन, न त श्रम शोषण नै सहनु प¥यो। तर आजभोलि लाइसेन्सप्राप्त नर्सले समेत भोलेन्टियर भएर काम गर्नुपरेको सुन्दा उनको मन बिझाउँछ। लाइसेन्सप्राप्त नर्सहरुमाथि हुने श्रम शोषण अन्त्य हुनुपर्ने उनको धारणा छ।
‘नर्सिङ जनशक्तिले अध्ययन गर्दादेखि नै क्लिनिकल प्राक्टिस गरेका हुन्छन्, पढाइ र क्लिनिकल रुपमा पासआउट भएर लाइसेन्स पाएको नर्स भनेको दक्ष जनशक्ति हो,’ लामाले भनिन्, ‘लाइसेन्स पाइसकेको नर्सलाई भोलेन्टियर राख्नु भनेको त श्रम शोषण हो, यस्तो हुनुहुँदैन।’