सधै झैँ काम सकेर म घर पुगेको थिएँ। घरको ढोकामै छिर्न के लागेको थिएँ मेरो मोबाइलको घण्टी बज्यो। मैले फोन उठाएँ।
‘सुजन जी जरुरी पर्यो। तपाईं आधा घण्टामा अस्पताल आउनुपर्यो। आजको बैठकमा समितिले तपाईंलाई पनि सामेल गराएको छ’ मलाई फोनमा भनियो।
कौतुहुलता, उत्सुकता अनि मनमा डर लिएर म अस्पताल पुगेँ। अस्पताल छिर्ने बित्तिकै मलाई गोष्ठी कक्षमा लिएर गइयो।
सेतो पिपिई, मास्क, हातमा ग्लोब्स लगाएका साथीहरु वेलकम टु आवर टिम भन्नुभयो। पछि थाहा भयो म त कोभिड विपद व्यवस्थापनको फिजियोथेरापी तथा रिहाविलिटेसनको आधारभूत टोलीमा सामेल भएको रहेछु। त्यसपछि विभिन्न सामूहिक योजना र छलफलपछि हाम्रो कामको बाँडफाँड भयो।
अस्पतालको सीमित स्रोत र जनशक्तिको आधारमा कोभिडको यो विषयम परिस्थितमा आफ्नो सजगता, बिरामीको उपचार, मेरो कर्तव्य र टोलीसँगको प्रतिवद्धतालाई पुरा गर्नु निकै चुनौतीपूर्ण थियो। कोभिड-१९ पछिको शारीरिक, मानसिक र वैचारिक सन्तुलन बिग्रिएको -Post intensive care syndrome) अवस्थामा कसरी सामान्यदेखि घरपरिवार, आफन्त र सामाजिक पुनर्स्थापना तर्फ लैजाने भन्ने कुरामा मन खेलिरहन्थ्यो।
सामान्यता आइसीयूमा लामो समयको बसाईमा करिब ७० प्रतिशत बिरामीमा स्वतः विभिन्न शारीरिक कमजोरी हुँदा त्यसपछिको फिजियोथेरापी पुनर्स्थापना निकै महत्वपूर्ण हुने गर्दछ।
मलाई विस्तारै नयाँ जिम्मेवारी थपिँदै गयो। आइसीयूपछिको स्टेपडाउन, कोभिड क्याबिन, जेनरल क्याबिन वार्डमा सुरु भयो। फिजियोथेरापी तथा पुनर्स्थापनामा अत्याधिक मात्रामा बिरामीहरु श्वासप्रश्वास, मुटु, स्नायु र मानसिक असन्तुलनको समस्या हुने गर्थे। जसले गर्दा मस्तिष्क पक्षघात, छातिको संक्रमण, असहज अनि धेरै दुखाई, घाउ र अन्य समस्याहरु सामान्य थिए।
अर्को तिर कोभिडका स्वास्थ्य अवस्था स्थिर रहेका बिरामीहरु भने मैले सिकाएका आधारभूत व्यायामहरुमा रमाइरहेका थिए। सायद त्यो उहाँहरुको सकारात्मक आत्मबल थियो। मलाई अझै याद छ, आइसीयूको लामो बसाईपछि स्लिपडाउन कोभिड डेडिकेटेड वार्डमा एक जना दाई भन्दै हुनुहुन्थ्यो कोभिड भएपछि बाँच्छु भन्ने आशा थिएन। मेरो देब्रे खुट्टा र हात नचल्ने भएछ। हातखुट्टा बांगिएका, शरीरका मांसपेशीहरु सुकेर गएको अवस्थामा उहाँको मानसिक असन्तुलनलाई सामाजिक रुपान्तरणमा कसरी लैजाने भन्ने गहन सोच हुन्थ्यो। बिरामीहरुको उपचारमा यसरी नै दिन कट्न थाल्यो।
बिरामीको उपचारपछि आफुलाई स्यानिटाइज गरेपछि साथीहरुलाई भेट्ने मौका मिल्थ्यो। सहकर्मीहरुसँग चियाको चुस्की लिइरहँदा झ्यालबाट देखिने सेतो कपडामा बेरिएको शव, आफन्तको रोदन, एम्बुलेन्सको आवाजले मनमा चिसो पस्थ्यो।
११ घण्टाको ड्युटी गर्दा भोक, प्यास मरिसकेको हुन्थ्यो। तर उपचारपछि बिरामीहरु जब निको भएर घर फर्कन्छन् त्यो बेलामा मनमा ठुलो आनन्द मिल्छ। उनीहरुको अनुहारमा आउने त्यो मुस्कानले साँच्चै नै एक किसिमको युद्द जिते जस्तो लाग्छ।
हाम्रो टोली विपद् व्यवस्थापनमा निरन्तर खट्यौँ। सीमित स्रोत र साधनको बावजुद पनि कोभिड-१९ को व्यवस्थापन र उपचारमा जुट्नु सहज भने थिएन। अझै पनि कयौँ स्वास्थ्यकर्मीहरु सीमित स्रोत र साधनका बावजुद पनि कोरोना संक्रमितलाई निको बनाउन दिनरात खटिरहेका छन्। हाम्रो देशको स्वास्थ्य प्रणाली र नीतिगत कुरामा समयानुसार परिवर्तनको आवश्यकता देखेको छु।
(डा खनाल अर्थोप्लास्ट रिहाविलिटेशन सेन्टरमा फिजियोथेरापिस्टको रुपमा कार्यरत छन्। )