काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा पढेका चिकित्सक लिने देशसँग रोयल्टी लिने व्यवस्था गरिने बताएका छन्। एमबीबीएस अध्ययन गराउन सरकारको ठूलो खर्च लाग्ने बताउँदै त्यस्तो व्यवस्था गरिने बताएका हुन्।
बुधबार राष्ट्रिय ट्रमा सेन्टरमा आयोजित 'ट्रमा एन्ड इन्जुरी लाइफ सपोर्ट' कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। आफू विश्व स्वास्थ्य सम्मेलनमा स्विट्जरल्यान्ड पुगेपछि यस्तो महशुस भएको उल्लेख गरे।
उनले भने, 'एमबीबीएस पढाउन राज्यको ठूलो लगानी लागेको हुने रहेछ। ती विदेशिँदा राज्यलाई ठूलो हानी हुँदो रहेछ। हामीले लगानी गर्ने, विदेशीले सेवा लिने भइरहेको छ।'
यस्तो अवस्थामा राज्यबाट राज्यलाई नै रोयल्टी तिर्ने व्यवस्था गर्ने उनको भनाइ छ। नेपालमा अवसर नपाएर चिकित्सकहरु विदेशिरहेको समेत उल्लेख गरे। त्यसकारण ट्रमा सेन्टर जस्ता अस्पतालमा प्रशासनका करारहरु आवश्यकता भन्दा बढी भए नवीकरण नगर्न सुझाए।
उनले थपे, 'डाक्टरले करारमा समेत जागिर नपाए विदेशिन्छ। हामीलाई खडदार भन्दा पनि नर्स चाहिएको छ। डाक्टर चाहिएको छ।'
उनले यसअघि मन्त्रीहरुले आफ्नो मान्छेलाई व्यवस्थापन गर्न गैरप्राविधिक जनशक्ति अस्पतालहरुमा भरेको संकेत गरे। आफूले सिफारिस गर्दा पनि चिकित्सक र नर्सबाहेकलाई नगरेको प्रष्ट्याए।
'ट्रमा एन्ड इन्जुरी लाइफ सपोर्ट' तालिम सुरु

सेन्टरले पाइलट प्रोजेक्टमा रुपमा 'ट्रमा एन्ड इन्जुरी लाइफ सपोर्ट' तालिम सुरु गरेको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले उपत्यकाभित्रका विभिन्न अस्पतालका मेडिकल अधिकृतलाई उक्त तालिम दिइने बताए।
तालिममा २४ जना सहभागी छन्। राष्ट्रिय तालिम केन्द्रको सहयोगमा सेन्टरले 'पाइलट प्रोजेक्ट'का रुपमा सुरु गरेको हो। विस्तारै क्यालेन्डर प्रोगामका रुपमा राखिने उनको भनाइ छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा भुपेन्द्र बस्नेतले तालिमले चिकित्सकको सीप विकासमा भूमिका खेल्ने बताए। उनले थपे, 'सैद्धान्तिक ज्ञानका साथै व्यवहारिक प्रयोग हुने भएकाले काममा रुपान्तरण गर्दा यसले भूमिका खेल्नेछ।'
तालिम केन्द्रका निमित्त निर्देशक डा माधव लम्सालले नेपालको स्वास्थ्य प्रणालीमा यस्ता तालिमले नयाँपन दिने बताए। उनले भने, 'प्रिहस्पिटल, हस्पिटल र पोष्ट हस्पिटल केयरमा इन्जुरी र ट्रमाका विषयमा तालिम दिइनेछ। कतिपय अवस्थामा ज्ञान पुरानो हुनसक्छ वा नयाँ अभ्यास र अध्ययनले फरक पारेको हुनसक्छ। यसले अपडेट गराउनेछ।'