डा रमेशकान्त अधिकारी, त्रिविको चिकित्साशास्त्र अध्ययन सँस्थान (आइओएम) का लागि छुटाउनै नहुने नाम हो। भारतको अल इण्डिया इन्सिच्युट अफ मेडिकल साइन्सेज (एम्स) बाट बाल स्वास्थ्यमा एमडी गरेका अधिकारीले आइओएममा लामोसमय बिताए, त्यहाँ उनी क्याम्पस चिफ, डिनसम्म भए र विभिन्न सरकारी समितिमा विज्ञका रुपमा काम गरे। आइओएमबाट रिटायर्ड भएपछि हाल काठमाडौं मेडिकल कलेजमा अध्यापनरत डा. अधिकारी भन्छन्, ‘निस्वार्थ काम गर्ने हो भने चिकित्सक बनेर धेरैलाई सहयोग गर्न सकिने रहेछ’।
मोडियो जीवनको बाटो
हजुरबुबा कविराज थिए। चौबिसै घण्टा घरमा बिरामीको भिड लाग्थ्यो। घरको त्यो वातावरणले उनलाई बिरामीको उपचार गर्ने डाक्टर बन्न मन लाग्नुपर्ने हो। तर, उनको बाल्यकालको सपना थियो, ठुलो वैज्ञानिक बन्ने। यही सपना पूरा गर्न उनले विज्ञानमा बायोलोजी नलिई म्याथम्याटिक्सको फारम भरे। तर, ठुलीआमाको छोरा इन्जिनियर भइसकेका कारण परिवारले डाक्टर भएको देख्न चाह्यो। बुबाले भन्नुभयो, ‘तँ डाक्टर बन्नुपर्छ’। अनि उनको जीवनले अर्को मोड लियो। म्याथम्याटिक्सको फारम रद्द गरेर उनले डाक्टर बन्न बायोलोजीको फारम भरे। अनि, शुरु भयो, डा. रमेशकान्त अधिकारीको सफल, इमान्दार र कर्मठ डाक्टर बन्ने यात्रा।
कहिले काठमाडौं, कहिले बनारस
हजुरबाबु तोयनाथ लम्जुङको दुराडाँडाँमा कविराजको रुपमा लोकप्रिय थिए। परिवारको राम्रै प्रतिष्ठा थियो। बिरामीको भिड लाग्ने भएपनि तोयनाथ पैसा कमाउनभन्दा सामाजिक भावनाले उपचार गर्थे। सामाजिक अभियन्ता तोयनाथ नेपालमा हलोक्रान्तिका नायक पनि हुन्। उनले बाहुनले पनि हलो जोत्नुहुन्छ भनेर आफैंले हलो जोतेर क्रान्ति नै गरेका थिए। तोयनाथका जेठा छोरा चन्द्रकान्त शर्माको पहिलो सन्तानको रुपमा डा.रमेशकान्तको जन्म २००६ सालमा लम्जुङमै भयो। उनी दुई वर्षको हुँदा परिवारले उनलाई काठमाडौं ल्यायो, किनभने उनका पिता चन्द्रकान्त काठमाडौंमा नै जागिरे भइसकेका थिए। सुरुको बसाई गैरीधारामा थियो। दुई वर्षमै ल्याइएकाले रमेशकान्तलाई गाउँको बारेमा खासै संम्झना छैन। काठमाडौ झरेपछि रमेशकान्तलाई दुई कक्षासम्म हजुरबुबाले घरैमा पढाए। नेपाली र गणित हजुरबुबाले र अंग्रजी बुबाले सिकाउँथे। विद्यालय शिक्षा पनि उनको सधै अस्थिर भयो। तीन कक्षादेखि उनी स्कूल भर्ना भए। तीनबाट एकैपटक पाँच कक्षामा पढाई भयो। कक्षा ५ र ६ उनले चेतभवनस्थित कलेज अफ एजुकेशनअन्तर्गत सञ्चालित डेमोस्ट्रेसन स्कूलमा शिक्षा लिने अवसर पाए।
२०१५ सालको आमनिर्वाचनको समयमा उनी ६ कक्षामा पढ्दै थिए। बुबा नेपाल प्रहरीका एसपी थिए। निर्वाचनको तयारीका लागि प्रहरीलाई कपडा र बुट किन्न बुबा भारतको कलकत्ता जानुपर्ने भयो। रमेशकान्त पनि बुबासँगै गए। हजुरबुबा तोयनाथ बनारसमा बस्थे। बुबाले उनलाई हजुरबुबासँगै बनारस छाडेर नेपाल फर्किए। बनारसमा उनी सँस्कृत र वेद पढ्न थाले। एक वर्ष पढेपछि बुबाले सँस्कृत पढाएर भविष्य हुन्न भन्दै नेपाल फर्काए। बुबाको सरुवा राजविराज भयो। ७ र ८ मा राजविराज पढेका उनले पुनः ९ मा पद्मोदयमा पढे। फेरि मामाले त्यतिबेलाको राम्रो स्कूल भन्दै क्षेत्रपाटीको जेपी स्कूलमा १० कक्षामा भर्ना गरिदिए। सो स्कूलबाट उनले द्वितीय श्रेणीमा एसएलसी पास गरे। सानैदेखि गम्भिर स्वाभावका रमेशकान्तलाई पढाईमा रुचि थियो। घरमा सबै शिक्षित भएकाले पढाइमा पनि स्वतन्त्रता थियो। घरमा भारतबाट म्यागेजिनहरु पनि आउथे। पढ्ने लेख्ने रुचि बढाउन ती पत्रिकाले पनि निकै सहयोग गरे।
एम्समा नाम निस्कदा पत्यारै लागेन
एसएलसीपछि उनी तत्कालिन पब्लिक साइन्स कलेज भर्ना भए। कलेजका प्रिन्सिपल अमृतप्रसाद प्रधानको मृत्युपछि यो क्याम्पसको नाम अमृत साइन्स कलेज राखिएको हो। आइएस्सीमा ५० प्रतिशतभन्दा कम अंक आएका कारण उनले डाक्टरी पढ्न छात्रवृत्ति पाएनन्। तर उनले हरेश खाएनन्। बिएस्सी पढ्न त्रिचन्द्र कलेज भर्ना भए। बिएूस्सी पास गरेपछि भारतको दरभंगा मेडिकल कलेजमा छात्रवृत्तिमा एमबिबिएस पढ्ने अवसर पाए। एमबिबिएस सकेपछि तत्कालिन शान्तभवन (हाल पाटन अस्पताल) अस्पतालमा आवेदन पठाउँदा अन्तर्वार्ताका लागि बोलावट आयो। बुबासँग सल्लाह गर्दै त्यता जान उनी विराटनगर पुगे। बुबाले काठमाडौ जानका लागि हवाइजहाजको टिकट काटिदिए। एयरपोर्टमा विराटनगर टेलिफोन एक्सचेन्जको निर्माणका लागि खटिएका भारतीय इन्जिनियर बुबाका साथी एनपी सेन भेटिए। बुबाले छोरालाई थप पढाउँन कठिनाई भएकाले जागिर खुवाउन पठाउन लागेको सुनाए। तर, सेनले सल्लाह दिदैं भने, ‘अहिल्यै जागिर खानु हुँदैंन, पढाईलाई अघि बढाउनुपर्छ।’ अनि सेनले ‘मलाई भेट्नु’ भन्दै काठमाडौंको आफ्नो ठेगाना दिए। काठमाडौको भेटमा सेनले डा. रमेशकान्तलाई भारतीय दुतावास लिएर गए। दुतावासका सचिवले काम नगरी सोझै एमडी पढ्न पठाउने नगरेको बताएपनि उनले दूतावासको फर्म भरेर ‘डिप्लोमा इन चाइल्ड हेल्थ’ पढ्न फेरि दरभंगा मेडिकल कलेज गए। तर एकदिन दरभंगामै रहेका बेला एम्सको पत्र आयो। एमडि पढ्न नाम निस्किएछ। सुरुमा उनलाई पत्यारै लागेन।
पढाईसँगै मुटु पनि साटियो
एम्समा एमडी पढ्ने क्रममै उनी प्रेममा परे। सँगै पढ्ने डा.निलमसँग पढाइ पुरा भएपछि उनको विवाह भयो। एमडि सकेर ०३६ सालमा उनी नेपाल फर्किए। त्यतिबेला चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को स्थापना भैसकेको थियो। तर आइओमको आफ्नो अस्पताल थिएन। उनले आइओएमका डिन रहेका डा.हेमाङ्ग दीक्षितलाई भेटे। दीक्षितले एमडि गरेको मान्छे मैले सिधै लेक्चरर दिन सक्दिन, मिल्दैन, विश्वविद्यालयले आवेदन खोलेपछि पाउनुहुन्छ भने। उनी केहीदिनपछि डा.दीक्षितलाई भेट्न गए। बाहिरबाट चिट पठाए। भित्र दीक्षित र तत्कालिन कम्युनिटी विभाग प्रमुख डा. मथुराप्रसाद श्रेष्ठबीच शिक्षककै विषयमा कुरा हुँदै रहेछ। डा.दीक्षितले त्यही विषय भएपनि पढाउँदै गर्न भने। श्रेष्ठले समर्थन जनाएपछि रमेशकान्तले कम्युनिटी मेडिसिन पढाउन थाले। भोलिपल्टैदेखि उनले करार नियुक्ति पाए, ०३६ असोज ३१ देखि।
त्यतिबेला डा.रिता थापा स्वास्थ्य सेवा विभागमा कार्यरत थिइन्। डा. रितासँग उनको हल्का चिनजान थियो। उनी भेट्न गए। पब्लिक हेल्थका प्रकाशन मागे। डा.थापा निकै खुसी भइन्। क्लिनिकल पृष्ठभूमिका उनले पब्लिक हेल्थका प्रकाशन पढ्न थाले। करिब डेढ वर्ष कम्युनिटि हेल्थ पढाए। नेपालका स्वास्थ्य प्रणालीबारे बुझ्न त्यसले धेरै सघायो। आइओएममा पोष्टग्रायुएट शुरु हुँदै थियो। उनलाई सँस्थाले दुई महिनाका लागि मेडिकल शिक्षासम्बन्धी तालिममा पठायो। शिक्षकका लागि तालिम केन्द्र स्थापना भयो। त्यसमा पनि उनी सहभागी भए। त्यसले उनलाई आइओएमभित्र कार्यरत सबै तहका मानिस चिनजानको अवसर दियो। फेरि उनी तीन महिना लामो मेडिकल एजुकेशनसम्बन्धी तालिमका लागि श्रीलंका गए। डा. गोपाल आचार्य डिन भएका बेला आइओएमले हेल्थ लर्निङ मटेरियल सेन्टर खोल्यो। म्यानुअल तथा गाइडलाइन बनाउनुपर्ने समूहमा उनी परे। डिनले उनलाई त्यस परियोजनाको सहायक निदेशकको जिम्मेवारी दिए।
पेशागत राजनीति शुरु
उनी कान्तिमा बिरामी हेर्थे। सन् १९८५ मा डा मदन उपाध्याय डिन भए। डा. उपाध्यायको पालामा आइओएमका शिक्षकले प्राइभेट प्राक्टिस गर्न नपाउने नियम बनाए। उनले पनि निजी अभ्यास बन्द गरे र शिक्षण पेशामै लागे। प्राक्टिस गर्न नपाइने भएपछि डा.अधिकारीले त्यो समय पढाईलेखाईमा लगाए। ०४६ सालको जनआन्दोलन भयो। डा. मथुराले आइओएममा आन्दोलनको माहौल बनाउदैं लगे। डा.अधिकारी पनि वातावरणअनुसार यी सबैमा संलग्न रहे। उनी सन् १९९५ मा नेपाल चिकित्सक संघको अध्यक्ष भए। आइओएममा राजनैतिक चेतना भएका डाक्टर थिए। जसले गर्दा उनलाई पेशागत राजनीतिमा अघि बढ्न हौसला दियो। सन् १९९९ मा उनी आइओएम महाराजगञ्ज मेडिकल क्याम्पसको चिफ भए र त्यसपछि डिन। डिनमा रहँदा उनले कहिल्यै दबाब र प्रभावमा परेर काम गरेनन्। विवेक र नीतिनियमलाई आत्मसात गरेर दिइएको जिम्मेवारी पूरा गर्नमा उनले कुनै कसर बाँकी राखेनन्। उनी डिन हुदा आइओएममा बेसिक साइन्समा पिजि शुरु भयो। आइओएमलाई स्वायत्तता प्रदान गर्ने प्रयासमा उनी लागे। तर यो अभियान सिनेटमा पुगेर अस्वीकृत भयो। उनको कार्यकालमा मनमोहन कार्डियो थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरको निर्माण शुरु भएको थियो। बाल रोग विभाग छुट्टै बनाउने पहल पनि शुरु भयो।
निस्वार्थ काम गर्ने बानी
सबैसँग घुलमिल हुने र निस्वार्थ काम गर्ने बानीले उनले सबैको सहयोग पाए। उनको कार्यकालमा जनकपुर मेडिकल कलेज र केडिया डेन्टल कलेजले सम्बन्धन पाए। जनकपुर मेडिकल कलेजको निरीक्षणका लागि डा.गोविन्द शर्मासमेत रहेको टोली गएको थियो। सकारात्मक रिपोर्ट आएपछि फ्याकल्टी बोर्डले सम्बन्धन दियो। अहिले आएर उनलाई लाग्छ– रिपोर्टमा मात्रै भर परेर त्यस्तो निर्णय लिन हुन्न थियो। विस २०६३ वैशाख १७ गते डिनको कार्यकाल सकियो। राजनीतिक अस्थिरताको समय थियो। त्रिवि उपकुलपतिमा डा. गोविन्द शर्मा थिए। अर्को व्यवस्था नभएसम्मका लागि उनी नै डिन भए। उनले अतिरिक्त समय काम गरे। मेडिकल शिक्षा र जनस्वास्थ्यमा राम्रो छवि बनाएका अधिकारी अनुसन्धानको क्षेत्रमा पनि संलग्न छन््। त्यसैको उदाहरणस्वरुप उनी स्वास्थ्य अनुसन्धान परिषद्मा विगत १३ वर्षदेखि ‘इथिकल रिन्यु कमिटि’ को संयोजक रहनुलाई मान्न सकिन्छ। बाल स्वास्थ्यमा विशेषज्ञ र पब्लिक हेल्थको पनि ज्ञान भएकाले सरकारले उनलाई पहिलोपटक गठन गरेको ‘नेसनल कमिटि इन इम्युनाइजेसन प्रोगाम’ को अध्यक्षको जिम्मेवारी दिएको छ। यही समितिको सिफारिसमा नेपालमा खोप योजना र कार्यक्रम तय हुन्छ।
यसबाहेक उनले पोलियो इ¥याडिकेसनको एक्सपर्ट रिभ्यु कमिटि, नेसन न्युट्रिसन प्रोगाम कोअर्डिनेटर र नेसनल न्युट्रिसन एन्ड फुड सेक्युरिटि कोअर्डिनेसन कमिटिमा विज्ञ सदस्यको रुपमा कार्य गरे। सन् १९९८ मा नेसनल प्लान फर एक्सन न्युट्रिसन तथा माइक्रो न्युट्रिसन स्टाटस सर्वेक्षणमा संलग्न उनी नेपालको पोषण विषयमा पनि सबैभन्दा विश्वसनीय अनुसन्धानकर्ता विज्ञ हुन्। सरकारले चाहेको समयमा विज्ञताको प्रयोग गर्ने बाहेक उनी २०१२ मा आइओएमवाट रिटायर्ड भएपछि काठमाडौ मेडिकल कलेजमा प्राध्यापकको रुपमा कार्यरत छन्। इमान्दारितापूर्वक काम गर्ने र दिएको जिम्मेवारी पूरा गर्ने उनको विशेषता छ।
पियनको सुझाव स्वीकारे
आफू मातहतमा काम गर्नेलाई जहिले पनि सम्मान गर्ने बानीका कारण उनले आफ्नो कार्यकालभरि साना तहका कर्मचारीको पनि सहयोग पाइरहे। यससन्दर्भमा उनीसँग दुई वटा संम्झना छन्। केही वर्षअघि शिक्षण अस्पतालमा तत्कालिन डिन डा. अरुण सायमीविरुद्ध आन्दोलन हुँदा उनलाई छानबिन समितिमा बस्न भनियो। शुरुमा उनले हुन्छ भने। तर उनलाई एक जना पियनले समितिमा नबस्न सुझाव दिए। उनी समितिमा बसेनन्। उर्जाशील समय आइओएममा खर्चिएका डा.अधिकारी अहिले पनि नजिकबाट शिक्षण अस्पताल र सो सँस्थालाई नियालिरहेका छन्।
पछिल्ला दिनमा राजनीतिले आइओएमलाई झन् गिजोल्दै लगेको उनको ठहर छ। अहिले सँस्था विधिले भन्दा राम्रा विद्यार्थीका भरमा चलेको ठहर उनको छ। नयाँ मेडिकल कलेजका लागि भएको दबाब पनि यही राजनीतिको सेरोफेरोमा घुमेको र विश्वविद्यालयले चिकित्साशास्त्रको मर्म नबुझेको उनको ठहर छ। विश्वविद्यालय पनि आइओएमको क्षमता बढाउनतिर भन्दा दबाबतिर मात्रै लागेको बुझाई उनको छ।
कुनै पश्चाताप छैन
दुई भाई दुई बहिनीमध्ये अधिकारीका भाईबहिनी दुवै अमेरिकामा छन्। परिवारले आफूलाई चिकित्सक बनाउन निर्णय लिएपनि उनले भने छोराछोरीलाई कुनै दबाब दिएनन्। श्रीमती डा.निलम पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छिन्। छोरा राजनीतिक विश्लेषक छन् भने छोरी इन्जिनियरिङको पढाई गर्दैछिन्। जिन्दगीको यो मोडमा आइपुग्दा उनलाई आधारभूत वैज्ञानिक नबनेर चिकित्सक बनेकोमा कुनै पश्चाताप छैन। भन्छन्, ‘स्वार्थ नराख्ने हो भने चिकित्सक बनेर धेरैलाई संकटमा सहयोग गर्न सकिने रहेछ’। कहिलेकाही मन भन्छ, ‘चिकित्सकभन्दा अरु विधामा नै राम्रो हुन्थ्यो कि ?तर, धेरै स्वार्थ नराख्ने हो भने चिकित्सक बनेर धेरैलाई संकटमा सहयोग गर्न सकिने भएकाले यही नै बाटो रोजेकोमा उनी सन्तुष्ट रहेको बताउँछन्।