काठमाडौं- नेपालको प्रमुख क्यान्सर केयर सेन्टर तथा अस्पतालमध्ये एक हो, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल। यो अस्पतालको स्थापना २१ वर्षअघि भएको थियो।
आजभन्दा दुई दशकअघि नेपालमा क्यान्सरको उपचार निकै झन्झटिलो र सबैको पहुँचमा थिएन। क्यान्सरको निदान र उपचार गर्ने स्वास्थ्य संस्थाहरु निकै कम थिए। क्यान्सरको सामान्य उपचार गर्न पनि भारत या अन्य बाहिरी देश जानुपर्ने बाध्यता थियो।
नेपालमै क्यान्सर रोगको सहज उपचारका लागि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अग्रसरता लिएका थिए। सन् १९९२ मा तत्कालीन प्रधानमन्त्री कोइराला र तत्कालीन चिनिया प्रधानमन्त्री लिपेङबीच क्यान्सर अस्पताल बनाइदिने सम्झौता भएको थियो।
२०५३ सालमा शिलन्यास भएको अस्पतालको २०५७ साल असोज १० उद्घाटन भयो। एक सय शय्याको ‘डे केयर अस्पताल’ को रुपमा सेवा दिएको अस्पताल हाल पाँच सय शय्यामा सञ्चालित छ।
वर्षेनी बढ्दो बिरामी चाप तर सेवा र शय्या सीमित
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न पुग्ने बिरामीको संख्या वर्षेनी बढ्दो छ। चितवन सहित कपिलवस्तु, सप्तरी, सर्लाही, झापा लगायतका जिल्लाबाट बिरामीहरु उपचारका लागि पुग्छन्। तर त्यहाँ पुगेर सहजै उपचार पाउन सक्ने अवस्था अहिले पनि छैन।
बढ्दो चाप र सीमित शय्याका कारण बिरामीहरु सेवा लिन पर्खनुपर्ने बाध्यता छ। पाँच सय शय्या बिरामीको चाप अनुसार पर्याप्त नभएकाले हाल पनि सबै बिरामीले सहज रुपमा सेवा पाउन नसकिरहेको अस्पतालका निर्देशक डा देजकुमार गौतम बताउँछन्।
उनी भन्छन्, ‘बिरामीको चाप अनुसार यो शय्या पर्याप्त होइन। रेडियो थेरापी, सिटि स्क्यान गर्न, एमआरआई गर्न, अप्रेशन गर्न बिरामीहरु पर्खनुपर्छ। चाप अनुसार अस्पतालको शय्या एक हजार पुर्याउनुपर्ने आवश्यकता छ।’
अस्पतालको गत २२ वर्षको तथ्यांकले उपचारका लागि पुग्ने बिरामीको संख्या वर्षेनी बढ्दो क्रममा रहेको देखाउँछ। गत २२ वर्षमा १८ लाख २ हजार ९७९ जना बिरामीले ओपिडी सेवा लिएका छन्। सन् २०१४ बाट उपचार सेवा लिनेको संख्या एक लाख माथि पुगेको अस्पतालको तथ्यांक छ।
तर कोभिड १९ महामारीका कारण सन् २०२० मा भने उपचार लिन पुग्ने बिरामीको संख्यामा भने कमी आएको छ। वर्षेनी करिब डेढ लाख बिरामीले उपचार लिँदै आएकोमा कोभिडका कारण सन् २०२० मा ९० हजार ५७१ जना बिरामीले मात्र उपचार लिएका छन्।
कोभिड महामारी अघि दैनिक ८ सयदेखि एक हजारसम्म बिरामी आउने गरेकोमा हाल ५ सयदेखि ६ सयसम्म मात्र बिरामी आउने गरेको डा गौतमले बताए।
उनले भने, ‘कोभिड अघिसम्म यहाँ वर्षेनी करिब डेढ लाख बिरामीले उपचार सेवा लिने गर्थे। यो संख्या वर्षेनी बढ्दो क्रममा थियो। तर अहिले घटेर ९० हजारमा पुगेको छ। दैनिक सेवा लिन आउने बिरामीको चाप पनि घटेको छ।’
गत वर्ष उपचारका लागि आएका ९० हजार ५७१ मध्ये २४ हजार ८९ जना नयाँ बिरामी थिए।
कुल बिरामीमध्ये पनि २ हजार ९१ पुरुष र २ हजार ५१७ महिला गरी ४ हजार ६०८ जना क्यान्सरका नयाँ बिरामी थिए। अस्पतालमा उपचारका लागि आउने कुल बिरामीमध्ये वर्षेनी २५ देखि ३० हजार क्यान्सरका बिरामी हुने गरेको डा गौतमले जानकारी दिए।
उनले भने, ‘कुल बिरामीमध्ये एक तिहाई एक चौथाई क्यान्सर रोगका बिरामी हुन्छन्। वर्षेनी ६ देखि ८ हजार क्यान्सरका नयाँ बिरामीको उपचार हुन्छन्। देशभरीका कुल क्यान्सरका बिरामीमध्ये ७५ प्रतिशत बिरामीलाई हाम्रो अस्पतालले सेवा दिइरहेको छ।’
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा देखिएका मुख्य १० क्यान्सर
क्यान्सरका बिरामीमध्ये पहिलो नम्बरमा फोक्सो (५५४), दोस्रो पाठेघरको मुख (४९५), तेस्रो स्तन (४६६), चौथोमा पेट (२३५), पाँचौमा अण्डाशय र गल ब्लाडर (२१३), छैठौँमा जिब्रोको (१६३) क्यान्सर छन्। पुरुषमा फोक्सोको क्यान्सर मुख्य समस्या देखिएको छ भने महिलामा पाठेघर मुखको क्यान्सर पहिलो नम्बरमा छ।
१. फोक्सोको क्यान्सर (५५४)
२. पाठेघर मुखको क्यान्सर (४९५)
३. स्तन क्यान्सर (४६६)
४. पेटको क्यान्सर (२३५)
५. अण्डाशयको क्यान्सर (२१३)
६. गल ब्लाडरको क्यान्सर (२१३)
७. जिब्रोको क्यान्सर (१६३)
८. रेक्टमको क्यान्सर (१६२)
९. ब्लाडरको क्यान्सर (१५०)
१०. हड्डी, जोर्नी र अन्य (१३८)
क्यान्सर हुनेमा ६० देखि ६४ वर्ष उमेर समूहका सबैभन्दा धेरै छन्। ६० देखि ६४ वर्षका ५६५, ५५ देखि ५९ वर्षका ५२५, ६५ देखि ६९ वर्षका ४७४, ४५ देखि ४९ वर्षका ४५३, ७० देखि ७४ वर्षका ३६७ जना छन्। २० वर्ष मुनिका २६४ जना छन्।
गत वर्ष २ हजार ७४२ वटा मेजर अपरेशन भएका छन् भने ३ हजार १६६ जनाले किमोथेरापी सेवा लिएका छन्।
५ हजार ६६१ जनाले सामजिक सेवा इकाई अन्तर्गत विपन्न नागरिक कोषबाट सेवा पाएका छन्। सरकारले क्यान्सर लगायत विभिन्न आठ प्रकारका रोगको उपचारका लागि एक लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ।
ओपिडीसँगै अस्पताल भर्ना भएर उपचार गर्ने बिरामीको संख्या पनि वर्षेनी बढ्दो छ। सन् २०२० मा ७ हजार २५० बिरामी भनाई भई उपचार सेवा लिएका छन्। गत २२ वर्षमा १ लाख ६४ हजार ८८९ जना बिरामी भर्ना भई उपचार सेवा लिएको अस्पतालको तथ्यांक छ।
अस्पतालले सेवा सुरु गर्दा दुई वटा मेजर अपरेशन थिएटर, एउटा माइनर अपरेशन थिएटर, दुई वटा लिनेयर एक्सीलेटर मेसिन, एउटा सिटि स्क्यान थियो। तुलनात्मक रुपमा अस्पतालको भौतिक पूर्वाहरु बढेको छ।
आठ वटा अपरेशन थिएटर, ४० शय्याको एचडीयू, आइसीयू र पोस्ट अपरेटर वार्ड छ। ३५ शय्याको डे केयर थेरापी (केमो गर्ने ठाउँ), चार वटा रेडियोथेरापी गर्ने मेसिन, दुई वटा सिटि स्क्यान मेसिन छ भने थप दुई वटा लिनेयर एक्सीलेटर मेसिन आउने क्रममा छ।
क्यान्सर अस्पतालले सर्जरी, प्याथोलोजी, इक्युनोहिस्ट्रीकेमेस्ट्री, रेडियो थेरापी, किमो थेरापी लगायत सेवाहरु सञ्चालन गरिरहेको छ।
तर अझै पनि यहाँ पेट सिटी स्क्यान र बोन म्यारो प्रत्यारोपणको सुविधा छैन। बिरामीहरु यी सेवा लिन बाहिर जानुपर्ने बाध्यता छ। यी सेवाहरु सुरु गर्न सरकारसँग पहल गरिरहेको उनले बताए।
पुराना उपकरणहरु हटाई नयाँ राख्नुपर्ने, रोबोर्टिक सर्जरीको व्यवस्था गर्नुपर्ने, मोलिक्युलर ल्याबको स्थापना गर्न आवश्यक भएको उनले बताए। पेट सिटि स्क्यान, बोन म्यारो प्रत्यारोपण, रोबोर्टिक सर्जरी सेवाहरु सुरु गर्ने उनको योजना छ। ८० विशेषज्ञ चिकित्सक, २० मेडिकल अधिकृत गरी ७४७ जना कर्मचारी छन्।
क्यान्सर नीति स्पष्ट नहुँदा अस्पताल सञ्चालनमा समस्या
सरकारले क्यान्सर नीति स्पष्ट नबनाउँदा अस्पताल सञ्चालनमा समस्या भएको डा गौतम बताउँछन्। क्यान्सरको बिरामी उपचार गर्ने विषयमा सरकारले स्पष्ट नीति बनाउनुपर्ने उनले बताए।
‘सरकारको क्यान्सर नीति के हो ? बिरामीले सबै पैसा तिर्नुपर्ने हो वा बिरामीलाई निशुल्क गर्ने हो ?’ उनको प्रश्न थियो।
बिरामीको चार्ज, सरकारले दिने पुँजीगत खर्चमा दिने सहयोग र स्वास्थ्य कर कोषबाट प्राप्त हुने रकम यस अस्पतालको मुख्य आम्दानीका स्रोतहरु हुन्। सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन २०६८ तथा सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) नियमावली र निर्देशिका अनुसार यसबाट उत्पन्न हुने रोगको रोकथाम, निदान र उपचारको लागि सरकारले स्वास्थ्य कर कोषको स्थापना गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुर्तिजन्य पदार्थमा लगाइएको करबाट वर्षेनी करिब १६ अर्ब राजश्व संकलन हुन्छ। जसमध्ये २५ प्रतिशत रकम स्वास्थ्य कर कोषमा राख्नुपर्ने ऐनमा उल्लेख छ। १६ अर्बको २५ प्रतिशतले स्वास्थ्य कर कोषमा वर्षेनी ४ अर्ब आउनुपर्नेमा हाल ४० करोड रुपैयाँ मात्र आउँछ।
स्वास्थ्य कर कोषमा आउने उक्त ४० करोड रुपैयाँ रकम तीन किसिमले खर्च हुन्छ। ४० करोडमध्ये ७५ प्रतिशत अर्थात् करिब ३० करोड रुपैयाँ क्यान्सर रोगको उपचार, नियन्त्रण र अनुन्धानका लागि अस्पतालहरुमा मन्त्रालयले पठाउने गरेको छ। ती अस्पतालहरुमध्ये पनि चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा मात्र करिब २५ करोड रुपैयाँ पठाउने गरेको छ।
आफैँले आम्दानी गरेर कर्मचारीको तलबभत्ता सहित अस्पताल सञ्चालन गर्नुपर्दा समस्या हुने गरेको उनले बताए।
‘हामीले आफैँ आम्दानी गर्नुपर्छ। जति बिरामीले पैसा तिर्छ त्यो हाम्रो आम्दानी हो। पैसा धेरै कमाउने हो भने चार्ज बढाउनुप¥यो। तर सरकारले अनुमति दिदैन।’ उनले भने, ‘यहाँ प्रयोग गर्ने उपकरणहरु करौडौँका हुन्छन्। हाम्रो कुल आम्दानीको ३० प्रतिशत यी उपकरणहरुको मेनटेनमै खर्च हुन्छ। यसले गर्दा कर्मचारीलाई तलब दिन, अस्पताल सञ्चालन गर्न गाह्रो भइरहेको छ।’
मन्त्रालयको नेतृत्व परिवर्तन भइरहँदा समस्या बुझाउन र समाधान गर्न नसकिएको उनको अनुभव छ।
क्यान्सर अस्पताललाई अध्ययन संस्थान बनाउनुपर्ने माग
सरकारले क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचार गर्न राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्ने निर्णय गरेको थियो। सरकारले राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गरी बिपी कोइराला ममोरियल क्यान्सर अस्पताललाई संस्थानको मातहत सञ्चालन गर्ने निर्णय गरेको थियो। जसको अस्पतालका कर्मचारीहरुले खुलेरै विरोध गरेका थिए।
‘बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन २०५३’ को प्रस्तावनामा यो स्वायत्त संस्था रहने भनिएको छ। जसमध्ये ऐनको दफा ५ मा ‘क्यान्सर रोग सम्बन्धी उच्चस्तरीय अध्ययन अनुसन्धान गर्ने र सोको लागि आवश्यक जनशक्ति तयारी गरी यस क्षेत्रमा आत्मनिर्भरता प्राप्त गर्ने’ भन्ने उल्लेख गरिएको छ।
डा गौतमले यस अस्पताललाई नै अध्ययन संस्थान बनाउनुपर्ने बताए। यस अस्पताललाई नै अध्ययन संस्थान बनाउनका लागि आवश्यक तयारी समेत अघि बढाएको उनले बताए।
उनले भने, ‘क्यान्सर अध्ययन संस्थान बनाउने सरकारको योजना अहिले केही भएको छैन। तर यस अस्पताललाई संस्थानको रुपमा विकास गर्न एमडी र एमसीएस गर्ने दुई जना विद्यार्थीले सुरु गरिसकेका छन्। यो कार्यक्रम यसको एक खुड्किला हो भन्ने लाग्छ। हाल ब्यालचर नर्सिङ अंकोलोजी पढाई हुन्छ।’
सेवासँगै यो अस्पताललाई शैक्षिक संस्थाको रुपमा विकास गरिनुपर्ने उनको माग छ। यसका लागि सरकारले ऐन कानूनको व्यवस्था गर्नुपर्ने उनले बताए।
यो अस्पतालको आफ्नै ७५ विघा जमिन छ। जसमध्ये ४० विघा जमिन अस्पतालले प्रयोग गरिरहेको छ। बाँकी केही जमिनमा बगैचा छ भने खाली पनि छन्। कुल २१९ वटा भवन छन्। जसमध्ये अस्पतालको सेवा सञ्चालनका लागि प्रयोग भएका भवन ४० वटा छन्।