ललितपुर– शंखरापुर नगरपालिका–६, साँखुकी राधा महर्जनको मिर्गौला प्रत्यारोण गर्नुपर्ने भयो। उनलाई मिर्गौला दान गर्नका लागि उनका भाइ हरिगोपाल प्रजापति तयार भए।
स्थानीय तहमार्फत दिदी भाईको नाता प्रमाणित भएर किष्ट मेडिकल कलेजले प्रत्यारोपणको प्रक्रिया अघि बढायो।
तर, मिर्गौला प्रत्यारोपणका लागि तयार भएका बेला मिर्गौला प्रत्यारोपण स्वीकृत समितिले दुई जनाको नागरिकतामा उल्लेखित जन्म मितिमा प्रश्न उठायो।
एउटै कोखबाट जन्मिए पनि राधा र हरिगोपालको नागरिकतामा उल्लेखित मितिमा जम्मा २३ दिनको मात्रै फरक थियो। त्यसपछि समितिले जिल्ला प्रशासन कार्यालयबाट नागरिकतामा उल्लेखित मिति सच्याउन भन्यो।
राधा पटक–पटक स्थानीय तहले प्रमाणित गरेको कागजातसहित नागरिकता संशोधनका लागि जिल्ला प्रशासन काठमाडौं पुगिन्।
तर, प्रशासनले सबै प्रमाण पुग्दा पनि नागरिकता संशोधन गरिदिएन। नागरिकता संशोधन नहुँदा उनले समयमै मिर्गौला प्रत्यारोपण गर्न पाइनन्।
अन्ततः असार ७ गते राधा आफ्नो अवस्था गम्भीर भएको मिर्गौला प्रत्यारोपणका लागि आवश्यक कागजात पुग्दा पनि प्रशासनले नागरिकता संशोधन नगरेको र सोही कारण आफ्नो उपचार रोकिएको भन्दै उच्च अदालत ललितपुर पुगिन्।
उनले किष्ट मेडिकल कलेज, जिल्ला प्रशासन कार्यालय काठमाडौंसहित ६ जनालाई विपक्षी बनाएर मुद्दा दायर गरिन्।
पीडितको गुनासोपछि उच्च अदालत पाटनले असार ८ गते नै प्रशासन, अस्पताल र अन्य विपक्षका नाममा उपचार नरोक्नू भन्ने आदेश दियो।
रिट निवेदकको बाँच्न पाउने अधिकार र नेपालको संविधानको मौलिक हक अन्तर्गतको स्वास्थ्य सम्बन्धी अधिकार तथा मानवाधिकारको रक्षा गर्दै अदालतले समयमा रिट निवेदकले उपचार नपाएको अवस्थामा बाँच्न पाउने र स्वास्थ्य सम्बन्धी हकबाट बञ्चित हुने देखिई अविलम्ब बिरामीको मिर्गौला उपचार कार्य सुचारु गर्नू र निवेदिकाको हकमा मिर्गौला प्रत्यारोपण कार्य नरोक्नु भनी विपक्षीहरुको नाममा उच्च अदालतले आदेश दियो। अदालतको आदेशपछि मात्रै मेडिकल कलेजले उपचार प्रक्रिया अघि बढाएको थियो।
अदालतले आदेश दिएकै दिन मेडिकल कलेजले राधाको मिर्गौला प्रत्यारोपण गर्यो। मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको तथा अहिले दाता र ग्रहणकर्ता दुवैको स्वास्थ्य अवस्था सामान्य भएको किष्ट मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत अक्षय प्रसाद गौतमले बताए। शंखरापुर नगरपालिका–६, साँखुमा जन्मिएकी राधा महर्जनका २ जना दिदी र २ जना भाइ छन्।