कोरोनाको लहर शुरु हुनु अघिल्लो बर्ष अर्थात् सन् २०१९ मा धरानबाट शुरु भएको डेंगु नेपालको लगभग सबै जिल्ला (६८ जिल्लामा फैलिएको) सम्म फैलिएको थियो। यो नेपालको इतिहासमा नै पहिलो पटक धेरै संक्रमित भएको, लामो अवधि र भौगोलिक रुपमा धेरै जिल्लाहरुसम्म फैलिएको अवस्था थियो। वास्तवमा, लेखकले २०१९ को मनसुन अगाडि देखिएको डेंगुले व्यापक महामारीको रुप लिनसक्ने र क्रमश: नेपालभरि नै फैलन सक्ने प्रक्षेपण गरेको थियो। तर पनि डेंगुको फैलावटलाई रोक्न भने असफल भएका थियौं।
काठमाडौं शहरमा सम्भवत नेपालको सबैभन्दा बढी शिक्षित बसोबास गर्ने भएता पनि डेंगुका बारेमा जानकारी भने अति न्यून तर भ्रम अत्यधिक देख्दा लेखक आश्चर्यचकित भएको थियो। डेंगु के हो, कसरी फैलन्छ, लामखुट्टेले कुन समयमा बढी टोक्छ र डेंगु शंका लागे के गर्ने भन्ने अत्यन्त न्यून जानकारी भएको लेखकले अनुभव गरेको थियो। गत वर्ष पनि डेंगु काठमाडौंमा देखिएको थियो।
डेंगु एक भाइरस हो। हालसम्म यसका डेंगु '१', '२', '३ र '४' गरि चार प्रजातिहरु (सेरोटाइप) छन्। नेपालमा यी चारै सेरोटाइपहरु प्रमाणित भइसकेको छ। नेपालमा पहिलो पटक सन् २००४ मा यो भाइरस पुष्टि भएको थियो। तत् पश्चात नेपालमा वर्षेनी जसो देखिदै आइरहेको छ। डेंगु भाइरस एडीस जातको लामखुट्टेले सार्ने गर्दछ। यसको शरीर कालो सेतो जेब्राको जस्तै रंगको हुन्छ।
संक्रमित व्यक्तिलाई टोक्दा रगत मार्फत भाइरस लामखुट्टेको शरीरमा प्रवेश गर्दछ र ८-१२ दिनपछि सो संक्रमित लामखुट्टेले अर्को व्यक्तिलाई टोक्दा भाइरस सर्ने गर्दछ।
जमेर बसेको पानीमा यसको वृदि विकास हुने गर्दछ। विशेष गरेर फालिएका ड्रम, गाडीका टाएर, फालिएका प्लास्टिकका झोला आदीमा संकलन भएका पानीमा लामखुट्टेको वृदि विकास बढी हुने गरेको पाइन्छ। घरमै पनि संकलन गरिएका पानीमा लामखुट्टेले आफ्नो वृदि विकास गर्ने गरेको पाइन्छ।
राती सुत्दा राम्ररी झुल लगाएर सुतेमा लामखुट्टेको टोकाई र संक्रमणबाट बच्न सकिने धेरैको बुझाई हो। विगतमा सरकारले पनि लामखुट्टेको टोकाईबाट बच्न झुल नि:शुल्क दिने गरेका थिए। यसबाट विशेषत मलेरिया नियन्त्रण गर्नमा धेरै सहयोगी भएको पनि थियो। मलेरिया 'एनोफेलेस' नामक लामखुट्टेले फैलाउने गर्दछ। तर डेंगु फैलाउने लामखुट्टे भने फरक अर्थात् एडीस जातको लामखुट्टे हो।
एडीस जातको लामखुट्टे विशेषत बिहान तथा बेलुकी (सुर्यास्त अगाडि) बढी सक्रिय र टोक्ने गर्दछ। सन् २०१९ को डेंगु महामारीमा कतिपय संक्रमितहरुका आफ्ना टोल/वडाहरुमा डेंगु फैलिएको नभएता पनि डेंगु फैलिरहेको ठाउँमा आफ्ना कार्यालयहरु रहेका भनेका थिए। अर्थात् संक्रमण बस्ने घरबाट नभइ कार्यालयबाट भएको प्रष्टै देखिन्थ्यो। तर कार्यालयमा दिनको समयमा मात्र कर्मचारीहरु रहने भएकोले र त्यहा वरिपरि संकलन हुने पानीको बारेमा खासै चासो नहुने/नदिने हुँदा लामखुट्टेको संख्या बढ्ने र बढी टोक्ने गर्दछ। धेरैले आफू बस्ने घरको मात्र विशेष ध्यान दिने गरेको पाइन्छ।
ज्वरो आउनु, टाउको दुख्नु, आँखाको गेडी दुख्नु, जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाक वा बान्ता हुनु, शरीरमा स-साना बिबिराहरू देखिनु डेंगुको मुख्य लक्षणहरू हुन।
ज्वरो घटेको २४ देखि ४८ घण्टा महत्वपूर्ण हुन्छ। यो समयमा बिरामीमा लक्षण कडा हुनसक्दछ। यो समयमा पेट असाध्य दुख्ने, तारनतार बान्ता हुने, गिजा वा नाकबाट रगत बग्ने, बान्ता वा दिसामा रगत देखा पर्ने, थकित हुने, बेचैनी हुने, कलेजोको आकार बढ्ने जस्ता चेतावनीका साङ्केतिक लक्षणहरू देखिन सक्दछ।
अन्तमा, डेंगु फैलाउने एडीस जातको लामखुट्टे विशेषत कार्यालय समयमा बढी सक्रिय हुने र टोक्ने हुँदा आफ्नो घर वरिपरि मात्र नभई आफ्नो कार्यालय वा आफू दिनमा काम गर्ने/रहने ठाउँ वरिपरी पनि पानी जम्न नदिऔं र डेंगु फैलनबाट रोकौं। किनभने हाल नेपालमा डेंगुको ग्राफ उकालो लाग्ने क्रम शुरु भैसकेको छ।
(डा शेरबहादुर पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)