पाकिस्तानमा जन्मिएकी डा इरा नइम एक दशकदेखी दुबईमा मनोचिकित्सकको रुपमा काम गरिरहेकी छिन्। मानसिक स्वास्थ्यलाई प्राथमिक उपचारमा समावेश गराउनु पर्छ भनेर आवाज उठाइरहेकी इरा यतिबेला नेपालमा छिन्। नर्भिक इन्टरनेशनल अस्पतालले आयोजना गरेको कार्यक्रममा उनले आफ्नो प्रस्तुति समेत दिइसकेकी छिन्। विशेष गरी कगनेटिभ बिएभोरिएअल थेरापीमा काम गर्ने उनै इरासँग स्वास्थ्यखबरकर्मी अन्शु खनालले गरेको कुराकानी:
अझै पनि धेरै देशहरुमा मानसिक स्वास्थ्यलाई सामान्य रुपमा लिइँदैन। यसलाई सहज बनाउन के गर्न सकिन्छ?
यदी हामी समाजमा केही परिवर्तन चाहन्छौं भने सुरुवात हामी बाटै गर्नुपर्छ। हामीले व्यक्तिगत रुपमा आफ्नो भावनाहरू,चाहनाहरू व्यक्त गर्न सुरु गर्नुपर्छ। आफूले महसुस गरिरहेको भावनाहरुलाई दबाउनको सट्टा त्यसबारेमा कुरा गर्न थाल्नुपर्छ। धेरैलाई मानसिक समस्या भन्ने बित्तिकै पूर्णरुपमा मानसिक सन्तुलन गुमाउनु या पागल हुनु भन्ने लाग्छ। त्यसैले हामीले हरेक क्षेत्रबाट मानसिक स्वास्थ्यलाई बहसको विषय बनाउने, छलफल गर्ने जस्ता कामहरू गर्नुपर्छ। साथै,मानसिक स्वास्थ्य समस्याहरुको विषयमा पर्याप्त जनचेतना फैलाउन जरुरी छ।
महिला मनोचिकित्सकहरुलाई यो क्षेत्रमा कस्तो किसिमको चुनौतीहरू छन्?
मैले महिला भएकै कारण यो क्षेत्रमा त्यस्तो असहजता भोगेको छैन। किनकी दुबईमा पुरुषको तुलनामा बढी महिला मनोचिकित्सकहरू छन्। मानसिक समस्या भएका मानिसहरू हामीसँग कुरा गर्नका लागि सहज भएर नै आएका हुन्छन्। नभए पनि उनीहरुलाई सहज बनाउनु हाम्रो कर्तव्य हुन्छ। तर दक्षिण एसियाली देशहरुमा महिलाको तुलनामा पुरुषहरू आफूलाई मानसिक समस्या भएको छ भन्न सक्दैनन्। पुरुषहरुलाई मानसिक समस्या छ भनेर स्वीकार गर्न नै गाह्रो भइरहेको हुन्छ। उनीहरुलाई आफू डिप्रेसनमा छु भन्दा म बलियो छैन भन्ने खाले गलत भावना आउछ। त्यसकारण कहिलेकहीं केही पुरुष बिरामीहरू भने हामीसँग खुल्न डराए जस्तो गर्छन्। तर यो क्षेत्रमा महिला मनोचिकित्सक र पुरुष मनोचिकित्सक भन्ने खाले भेदभाव भने छैन।
त्यसो भए पुरुषको तुलनामा बढी महिलाहरू मानसिक स्वास्थ्यको विषयमा खुलेर आइरहेका छन्?
आफ्ना भावनाहरू अभिव्यक्त गर्नमा पुरुषहरुको तुलनामा महिलाहरु अगाडि नै छन्। त्यसैगरी मानसिक स्वास्थ्य समस्या भयो भनेर अस्पताल आउनेहरुमा पनि महिलाहरु कै संख्या बढी हुन्छ।
विगत दश वर्षमा काम गर्दैगर्दा यो क्षेत्रमा कस्ता परिवर्तनहरू महसुस गर्नु भएको छ?
विगत दश वर्षमा यो क्षेत्रमा धेरै परिवर्तन भएको छ। केही वर्ष पहिले मैले मेरो बुवालाई म मनोविज्ञान पढ्छु, भन्दा अचम्म पर्नु हुन्थ्यो, के गर्दै छ मेरो छोरी भन्ने जस्तो गर्नु हुन्थ्यो तर अहिले अवस्था त्यस्तो छैन। पाकिस्तानमा पनि मानिसहरु खुल्न थालेका छन्। मनोचिकित्सकहरुको संख्या समेत बढ्दो छ। त्यस्तै अन्य देशहरुमा पनि धेरै कामहरू भएको छ। पछिल्लो समय सामाजिक संजालले पनि यो कुरालाई फैलाउन सहयोग गरेको छ। आज मैले मानसिक स्वास्थ्यको कुरा गर्न थालें भने मेरो भाईबहिनीले पनि यो विषयमा चासो देखाउन सक्छन। त्यस्तै उनीहरुका साथीहरुले पनि यसको विषयमा कुरा गर्न थाल्छन् त्यसरी नै यो आमामानिसको चासोको विषय बन्न सक्छ। विगत दश वर्षमा धेरै परिवर्तन भए तापनि हामीले गर्नुपर्ने भने अझै धेरै छ।
अहिले मानसिक स्वास्थ्यको क्षेत्रमा मुख्य चुनौती के हो?
दक्षिण एसियाली देशहरुमा मानसिक स्वास्थ्यको लागि चुनौती भनेको सरकारले दिने बजेटमा हो। हरेक आर्थिक वर्षमा कुन देशले मानसिक स्वास्थ्यलाई कति बजेट छुट्याउछ भन्ने कुराले धेरै महत्व राख्छ। दक्षिण एसियाली देशहरुमा मानसिक स्वास्थ्यको लागि छुट्टयाइएको बजेट पर्याप्त छैन।
दुबईका मानिसहरुले मानसिक स्वास्थ्य समस्याहरुलाई कसरी लिन्छन्?
केही वर्ष यता दुबई सरकारले मानसिक स्वास्थ्यमा धेरै जनचेतनामुलक कामहरू गरेको छ। मानसिक स्वास्थ्यलाई राम्रो बजेट छुट्टयाएको छ, मानसिक स्वास्थ्यको लगी धेरै सुविधाहरू विस्तार गरेको छ। मानिसहरू मानसिक स्वास्थ्यको विषयमा खुलेर बोल्न थालेका छन्। साथै, मानसिक स्वास्थ्य समस्या लिएर अस्पताल सम्म आइपुग्नेहरुको संख्या बढेको छ। पाकिस्तान र नेपालको तुलनामा दुबईमा मानसिक स्वास्थ्यमा धेरै कामहरु भएको छ।
नेपालीहरुले आफ्नो मानसिक स्वास्थ्य अवस्था राम्रो बनाउन केके गर्न सक्छन्?
यसको लागि नेपालले साक्षरता दर बढाउन कोसीस गर्नुपर्छ। मानसिक स्वास्थ्यको विषयमा अभिभावक र शिक्षकहरुलाई पनि बुझाउन जरुरी छ। साथै, सरकारले पनि गम्भीर भएर काम गर्नुपर्छ किनभने तथ्यांक हेर्दा नेपालमा १४६ मनोचिकित्सक र १०४ मनोचिकित्सक मात्र छन्। नेपालको जनसंख्याको तुलनामा यति मनोचिकित्सकहरू पर्याप्त छैनन्। नेपाल सरकारले मानसिक स्वास्थ्यको विषयमा अझै धेरै जनचेतनामुलक कार्यक्रम गर्ने, मनोविज्ञान विषयको लागि बजेट थप गर्ने जस्ता कामहरू गर्न सक्छ।
अहिले तपाईं प्राथमिक स्वास्थ्यमा मानसिक स्वास्थ्य समावेश गर्नुपर्छ भन्ने विषयमा काम गरिरहनु भएको छ। यो विषयलाई प्राथमिक उपचारमा समावेश गर्न किन जरुरी छ?
यदी तपाईंको पेट खराब छ या, तपाईंको धेरै टाउको दुखिरहेको छ अथवा मुटुको धड्कन बढिरहेको छ। यी समस्याहरू यदी तपाईंले आफ्नो अभिभावकलाई सुनाउनु भयो भने उहाँहरुले तपाईंलाई डाक्टरकहाँ लैजान्छन्। तपाईंलाई डाक्टरकहाँ जान र तपाईंका आमाबुवालाई अस्पताल लैजान सजिलो छ। तर यदि तपाईं आफ्नो अभिभावकलाई गएर मलाई प्यानिक अट्याक भइरहेको छ भन्नुस त! के उहाँहरूले तपाईंलाई मनोचिकित्सकमा जान भन्नुहुन्छ? १०० मध्ये, सायद एक व्यक्तिले मनोचिकित्सकमा जाउ भन्छन्। त्यसैले मानसिक स्वास्थ्य समस्याहरू पहिचान गर्न प्राथमिक हेरचाह चिकित्सकहरूको यो ठूलो जिम्मेवारी हो।
मानसिक स्वास्थ्यको विषयमा कुनै व्यक्तिको के भूमिका रहन्छ?
यदी तपाईं समाजको लागि केही गर्न चाहनुहुन्छ भने सुरुवात आफैँ बाट गर्नुहोस्। आफूलाई खुसी बनाउने चिजहरू गर्नुहोस्। कोही मानिस तपाईंसम्म आएर आफ्ना भावनाहरू व्यक्त गर्न चाहन्छ भने उसलाई सल्लाह दिन नलाग्नुस्, उसलाई सुनिदिनुहोस्। स्वस्थ खाने कुरा खानुहोस्, राम्रोसँग सुत्नुहोस् र व्ययाम गर्नुहोस्। किनकी करिब ९८ प्रतिशत शारीरिक र मानसिक समस्याहरू स्वस्थ खाना, राम्रो निन्द्रा र व्यायामले निको हुन्छ।