काठमाडौं- झ्याल बाहिर नजर डुलाउँदै उनी भन्दै थिइन्, ‘काठमाडौँ दिनप्रतिदिन प्रदूषित हुँदैछ। हिमालहरु देखिन छाडेका छन्। अब प्रदूषण कम गर्नुको विकल्प छैन।’ २५ वर्षको उमेरमा उनी काठमाडौँ आउँदा टड्कारै हिमाल देखिन्थ्यो। भीडभाड थिएन, प्रदूषण पनि यति बिघ्न थिएन। त्यो समय नेपालको वातावरण, हिमाल, पहाड र मानिसहरूको नम्र व्यवहारले कायल भएकी थिइन् उनी।
अस्ट्रेलियाबाट घुम्न आएकी किशोरीको लागि नेपाल नयाँ थियो। घुम्दै हिँड्दा उनलाई नेपाल जति सुन्दर लाग्यो, उति नै भयावह यहाँका मानिसको अवस्था। देश सुन्दर भए पनि यहाँका मानिसले भोग्नु परेका विभिन्न चुनौती देखेर उनी अस्ट्रेलिया फर्किइन्। तर मन भने नेपालमै थियो।
मानिसहरू जस्तोसुकै अवस्थामा भए पनि अत्यावश्यक स्वास्थ्य र शिक्षाको पहुँचमा हुनुपर्ने उनको बुझाइ थियो। तर नेपालका दुर्गममा बसोबास गर्ने नागरिकहरू स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकताको पहुँचमा नपुगेको उनले देखेकी थिइन्। केही आधारभूत सर्वेक्षणहरू गरेपछि उनले समुदायको आवश्यकता अनुसार नेपालमा काम गर्ने निधो गरिन्। त्यही अनुसार २५ वर्ष अघि ‘अडारा ग्रुप’को सुरुवात गरिन्।
उनी अर्थात् ‘ओडेट एक्सेल’। ओडेटले सुरुवात गरेको अडारा ग्रुपले २५ वर्ष यता हुम्लामा स्वास्थ्य र शिक्षाको पहुँचको लागि काम गर्दै आएको छ। ओडेटलाई सानैदेखि दुर्गम क्षेत्रमा काम गर्ने इच्छा थियो। उनी मानवतामा विश्वास गर्थिन्। त्यही मानवताले डोर्याएर उनले नेपालको दुर्गम क्षेत्रमा काम गर्ने निधो गरेकी थिइन्।
२५ वर्ष पहिले हुम्लामा आफ्नो जीवनकालमा एक पटक पनि स्वास्थ्य जाँच नगरेका मानिस भेटिन्थे। मातृ मृत्यु र नवजात शिशुको मृत्युदर उच्च थियो। जति बेला हुम्ला सडकसँग जोडिएको थिएन, त्यति बेला अडारा समूह हुम्लासँग जोडिन पुग्यो। त्यो समय हुम्लालाई स्वास्थ्य र शिक्षाका कार्यक्रमहरू अति नै आवश्यक थियो। मानिसलाई स्वास्थ्य उपचारको महत्व बुझाउँदै त्यस्ता समुदायलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउनु अडारा समूहलाई ठूलो चुनौती थियो।
त्यस्ता लक्षित समुदाय र मानिसको स्वास्थ्य सुधार गर्न अडाराले त्यही समुदायको आवश्यकता र सहजता अनुसार काम गर्न थाल्यो। ओडेट भन्छिन्, ‘परिवर्तन गर्ने हो भने लामो समयसम्म र भुइँ तहसम्म काम गर्नुपर्छ। समुदायलाई हेरेर काम गर्नुपर्छ।’
त्यही कारण अडाराले सुरुवातदेखि हालसम्म हुम्लामा स्थानीय स्वास्थ्य सेवाहरूमा पहुँच सुधार गर्न, बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न र नुवाकोटको ग्याङ्फेदीमा बाल बेचबिखन कम गर्ने उद्देश्यले काम गरिरहेको छ। युगान्डामा मातृ, नवजात र बाल स्वास्थ्यमा दुई दशकभन्दा बढी काम गरेको अनुभव लिएर अडारा समूह नेपालको हुम्लामा मातृ र नवजात शिशुको नतिजा सुधार गर्न प्रयासरत छ। त्यसका लागि नर्स, महिला स्वास्थ्य स्वयंसेविका र अन्य स्वास्थ्यकर्मीहरूलाई तालिम र प्रशिक्षण दिने गरेको छ।
ओडेटका अनुसार ग्रामीण विकासमा मातृ, नवजात र बच्चाको स्वास्थ्य निकै महत्वपूर्ण हुन्छ। ‘जनचेतना जगाउँदै र नयाँ परियोजनाहरूको विस्तार गरेर हुम्लामा मातृ तथा नवजात शिशु मृत्युदर घटाउने लक्ष्यमा छौँ। हरेक महिलाको जस्तोसुकै अवस्थामा भए पनि सुरक्षित मातृत्वको अधिकार हुन्छ। त्यस कारण सुरक्षित सुत्केरी गराउन हुम्लाको चौगनफायामा बर्थिङ सेन्टरको स्थापना गर्न सहयोग गरेका छौँ,’ उनले भनिन्।
०००
‘हुम्ला जानुभएको छ ?,’ ओडेटले हामीलाई प्रश्न गरिन्। ‘छैन’ भन्न नपाउँदै उनले हामीलाई हुम्ला जान सिफारिस गरिन्। उनी अडारा सुरु भएको २५औँ वर्षको उपलक्ष्यमा भर्खरै हुम्ला पुगेर आएकी हुन्। अहिलेसम्म उनी तीन पटक हुम्ला पुगिसकिन्।
यो पटक हुम्लाको बसाइ ओडेटको लागि फरक रह्यो। २५ वर्षको अन्तरालमा उनले हुम्लामा धेरै परिवर्तन महसुस गरिन्। हुम्लामा स्कुल गइरहेका बच्चाहरू, लामो बाटो हिँडेर स्वास्थ्य चौकी आइरहेका महिलाहरू र स्वास्थ्य सेवा दिन तयार स्वास्थ्यकर्मीहरू देख्दा उनलाई संसारमा असम्भव भन्ने केही रहेनछ भन्ने लाग्यो।
केही हप्ता अगाडि उनी हुम्ला पुगेकै समयमा अडाराले नर्सहरूलाई सुरक्षित सुत्केरी कसरी गराउने भन्ने तालिम दिएको थियो। तालिम सकिएको दुई दिनपछि नै सुस्मिता बोहोरा नाम गरेकी नर्सले सीमित स्रोत–साधनमा एउटी गर्भवतीलाई सफलतापूर्वक सुत्केरी गराइन्। सुस्मिताको फोटो देखाउँदै ओडेट भन्छिन्, ‘अब हुम्लामा गर्भवतीले ज्यान गुमाउनु पर्दैन। सुस्मिताहरु सयौँ मानिसको ज्यान बचाइरहेका छन्।’
ओडेट हुम्लाका मानिसबाट आफू धेरै प्रेरित भएको बताउँछिन्। ‘जुन चिज नहुँदा हामी एक दिन बाँच्न सक्दैनौँ, त्यस्ता चिजको पहुँचमै नपुगी हुम्लाका मानिसको जीवन कटेको छ। म उनीहरूलाई सम्मान गर्छु। आफू उनीहरूसँग जोडिन पाएकोमा गर्व महसुस गर्छु,’ उनले भनिन्।
हुम्लासँगै अडाराले नुवाकोटको ग्याङ्फेदीमा समेत काम गर्छ। ग्याङ्फेदीमा कुनै समय १२ वर्षदेखि माथि उमेर समूहका किशोरीहरू नै भेटिँदैनथे। उक्त उमेर समूहका किशोरीहरू कि बेचबिखनमा पर्थे कि त बेचिने डरले परिवारले नै छिटो विवाह गरिदिन्थ्यो। अडाराले काम गर्न थालेयता उक्त क्षेत्रमा बालिकाहरू सुरक्षित छन्। बेचबिखन न्यूनीकरण भएको छ।
अडाराले यस्ता काम गर्नका लागि नेपाल सरकारसँग बजेट लिने गरेको छैन। स्थानीय तर र मन्त्रालयहरूसँग समन्वय गरेर भने काम गर्ने गरेको ओडेटले बताइन्। अस्ट्रेलियामा आफू र आफ्नो समूहले विभिन्न व्यवसाय गरेर कमाएको रकमको मुनाफालाई उनीहरूले युगान्डा र नेपालमा खर्च गर्ने गरेको ओडेट बताउँछिन्।
अडारा समूह आफूले सुरु गरे तापनि यहाँसम्म आउनुमा आफ्नोभन्दा बढी टिमको भूमिका रहेको उनी बताउँछिन्। कसैले अडाराको कुरा गर्दा आफूलाईभन्दा पनि पूरै टिमलाई सम्झियोस् भन्ने चाहन्छिन् उनी। ‘आजसम्म युगान्डा र नेपालका दुर्गममा जेजे गरियो त्यो सबै मैले मात्रै गरेको होइन। टिमको काम हो। टिम निकै महत्वपूर्ण छ,’ उनले भनिन्।
६० वर्ष पुगिसक्दा पनि ओडेटसँग त्यही किशोरीको जस्तो हिम्मत छ, जसले सन् १९९८ मा अडाराको सुरुवात गरेको थियो। विश्वका दुर्गममा बाँचिरहेका नागरिकको लागि धेरै काम गर्न बाँकी भएको उनी बताउँछिन्। ओडेटलाई लाग्छ, सामाजिक कार्यबाट रिटायर्ड हुनु भनेको मानवताबाट रिटायर्ड हुनु हो। त्यस कारण त्यस्ता समुदायको अवस्था सुधार्न आफू लागिरहने उनको भनाइ छ।
लामो समयदेखि यही क्षेत्रमा निरन्तर काम गरिरहेकी छन् ओडेट। उनले विश्वव्यापी रूपमा विभिन्न अवार्ड र सम्मानहरू समेत प्राप्त गरेकी छन्। सन् १९९५ मा ओडेटलाई द वल्र्ड इकोनोमिक फोरमद्वारा ग्लोबल लिडर चुनिएको थियो। उनले सन् २०१० मा योङ प्रेसिडेन्ट्स अर्गनाइजेसन सोसल इन्टरप्राइज नेटवर्कस्बाट आर्थिक न्याय र सामुदायिक प्रभाव पुरस्कार प्राप्त गरेकी थिइन्।
सन् २०१२ मा ओडेटले टेलस्ट्रा एनएसडब्ल्यु कमनवेल्थ बैंक बिजनेस ओनर अवार्ड जितेकी थिइन् र एनएसडब्ल्यु टेलस्ट्रा बिजनेस वुमन अफ द इयर अवार्डको विजेता भएकी थिइन्। उनी सन् २०१२ मा अस्ट्रेलियामा अस्ट्रेलियाको फाइनान्सियल रिभ्युको १०० प्रभावशाली महिलामध्ये एक पनि थिइन्।
महिला र बालबालिकाको स्वास्थ्यको लागि अडारा समूहको स्थापना गरेर सेवा गरेबापत सन् २०१३ मा, अडेटलाई अस्ट्रेलियाको मानार्थ अर्डर प्रदान गरिएको थियो। त्यसैगरी सन् २०१४ फोब्र्समा ‘परोपकारको नायक’ अर्थात् ‘हिरो अफ फिलोन्थ्रोपी’ को रूपमा सम्मान गरिएको थियो। सन् २०१५ मा पनि उनलाई प्रतिष्ठित अस्ट्रेलियाली व्यवसायी महिलाका रूपमा सम्मान गरिएको थियो। सन् २०१५ मै उनले विश्वस्तरीय न्युजिल्यान्डर अवार्ड प्राप्त गरेकी थिइन्।
अडेटलाई फिलान्थ्रोपी अस्ट्रेलियाद्वारा अस्ट्रेलियाको ‘लिडिङ फिलान्थ्रोपिस्ट’ नाम दिइएको थियो। त्यस्तै सन्् २०१९ मा उनले ‘वाईपीओ ग्लोबल इम्प्याक्ट लिगेसी अवार्ड’ प्राप्त गरेकी थिइन्। उनको यो ३८औँ नेपाल यात्रा हो। नेपाल आउँदा उनलाई खुसी लाग्छ, नेपालसँग जोडिन पाउँदा गर्व महसुस गर्छिन्। त्यस कारण अन्तिम श्वास हुन्जेल हरेक वर्ष नेपाल आइरहने उनको धोको छ।
- स्वास्थ्य खबरपत्रिका मासिकको जेठ अंकमा प्रकाशित सामग्री