काठमाडौं - अझै पनि २३ प्रतिशत एचआईभी संक्रमित उपचारको दायरा बाहिर रहेको एक तथ्यांकले देखाएको छ। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको तथ्यांक अनुसार अझै पनि २३ प्रतिशत एचआईभी संक्रमित उपचार बाहिर छन्।
केन्द्रका निर्देशक डा सर्वेश शर्माका अनुसार हाल नेपालमा ३४ हजार ३३७ जनामा एचआईभी संक्रमण भएको अनुमानित तथ्यांक छ। जसमध्ये २६ हजार ३७२ संक्रमितहरुले एन्टिरेट्रोभाइरल (एआरभी) उपचार लिइरहेका छन्। जुन कुल संक्रमितको ७७ प्रतिशत हो।
हाल सरकारले नेपालभरका ६४ जिल्लाका एआरटी केन्द्रमा निशुल्क रुपमा उपचार सेवा दिदै आएको डा शर्माले बताए। एड्सका कारण सन् २०२४ मा ५ सय ६९ जनाको मृत्यु भएको छ। नेपाल हाल एचआईभी संक्रमणको हिसाबले केन्द्रिकृत महामारीको अवस्थामा रहेको उनले बताए।
उनले भने, ‘हाल नेपालमा एचआइभी संक्रमण केन्द्रिकृत महामारीको रुपमा छ। यो भनेको एक वा एक भन्दा बढी एचआइभी सर्न सक्ने जोखिम दर पाँच प्रतिशतभन्दा बढी रहेको अवस्था हो। सर्वसाधारण तथा प्रसूती सेवा लिएका एचआइभी संक्रण दर एक प्रतिशत भन्दा कम हो।’
यौनकर्मी, कारागारका कैदीबन्दी तथा सुईंको माध्यमबाट लागु औषधको प्रयोग गर्नेहरुमा भने अझै पनि संक्रमण उच्च रहेको डा शर्माले जानकारी दिए। सरकारले सन् २०३० सम्म एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिएको छ। सन् २०२६ सम्ममा अनुमानित एचआइभी संक्रमितमध्ये ९५ प्रतिशतको पहिचान तथा पुष्टि भएका ९५ प्रतिशतको उपचार गर्ने लक्ष्य राखिएको जानकारी डा शर्माले दिए।
विश्वमा एचआईभी र एड्सको अवस्था
विश्वमा सन् १९८१ मा पहिलो एचआईभी संक्रमित फेला परेको थियो। सन् २०२४ को अन्त्यसम्म ९ करोड १४ लाख व्यक्तिहरु एचआईभीबाट संक्रमित भइसकेका छन्। ४ करोड ४१ लाख व्यक्तिहरुको एड्सको कारणले मृत्यु भइसकेको छ।
सन् २०२४ सम्म कुल संक्रमितमध्ये ७७ प्रतिशत एन्टीरेट्रोभाईरल उपचारमा छन्। विश्वमा हरेक दिन ३६ सय मानिसहरु एचआईभी संक्रमित हुने गर्छन्।
२०३० सम्म महामारी उन्मूलन कसरी सम्भव ?
सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्नका लागि ९५–९५ –९५ को नीति लिइएको छ। जस अनुसार ९५ प्रतिशत संक्रमितहरुले आफ्नो संक्रमणको अवस्थाबारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुँच हुने र ती औषधि खानेहरुमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्यून हुने बताइएको छ।
धेरै बिरामीहरु अझै पनि उपचारको दायरा बाहिर रहेकोले सन् २०३० सम्ममा महामारी उन्मूलनका लागि बिरामीहरुलाई उपचारको पहुँच बाहिर ल्याउन अत्यावश्यक रहेको डा अनुप बास्तोला बताउँछन्। समुदायको सहभागितामा एचआईभीको परीक्षण दर बढाउन आवश्यक रहेको उनले बताए।
उनले भने, ‘जो मानिसहरुलाई परीक्षणका लागि अस्पताल ल्याउन कठिन हुन्छ। त्यस्ता मान्छेहरुलाई समुदायको सहभागितामा परीक्षण गराउन आवश्यक छ।’
परीक्षणका लागि मात्रै नभई उपचारका लागि पनि सामुदायिक सहभागिता एकदमै महत्वपूर्ण भएको उनी बताउँछन्। पछिल्लो समय दातृ निकायको बजेट कटौती भइरहेको अवस्थामा राज्यले एचआईभी नियन्त्रणको क्षेत्रमा बजेट बढाउनुपर्ने डा बास्तोलाको धारणा छ। कटौती भइरहेको बजेटलाई कसरी पूर्ती गर्न सकिन्छ भन्ने विषयलाई सोच्नुपर्ने अवस्था रहेको उनको जिकिर छ।
एड्सका लक्षणहरु
–ज्वरो आउनु
–पखाला लाग्नु
–वजन घट्दै जानु
–कुपोषणका लक्षणहरु देखिनु
–छालाामा विभिन्न समस्या आउनु
–कमजोर महसुस हुनु
संक्रमणको कारण
–असुरक्षित यौन सम्पर्क
–एचआईभी संक्रमित रगत लिँदा
–सुईं तथा सिरिन्जको साझा प्रयोग
कसरी बच्ने ?
–सुरक्षित यौन व्यवहार अपनाउने
–औजार उपकरणहरुको प्रयोग निर्मलीकरण गरेर मात्रै प्रयोग गर्ने
–असुरक्षित यौन सम्पर्क हुँदा कन्डमको प्रयोग अनिवार्य रुपमा गर्ने