नेपालमा सूर्तीजन्य पदार्थको प्रयोगबारे पछिल्लो समय आएका तथ्याङ्कले एक गम्भीर सामाजिक स्वास्थ्य संकटलाई उजागर गर्छ। अनुसन्धानका तथ्यहरूले देखाएको चिन्ता कुनै नयाँ होइन, तर समस्या जित्ने प्रयास भने अझै सुस्त छ। आजको चुनौती केवल लत बसेकालाई बच्छ्र्याइ गर्ने होइन—समुदाय, विद्यालय, बजारदेखि सार्वजनिक स्थलसम्म फैलिएको सूर्ती संस्कृति नै रूपान्तरण गर्ने हो।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले वर्षेनी प्रकाशित गर्ने प्रतिवेदनका अनुसार विश्वमा प्रति वर्ष करिब ८० लाख मानिस धुम्रपानजन्य रोगका कारण ज्यान गुमाउँछन्, जसमा करिब १२ लाख ‘सेकेन्ड–ह्यान्ड स्मोक’ अर्थात् अरूले सेवन गरेको धुवाँका कारण मर्नेहरू छन्। यी तथ्याङ्कले सूर्ती केवल व्यक्तिगत रुचिमा सीमित रहेन, सामाजिक जोखिम बनिरहेको छ।
नेपालमा पनि समस्या फरक छैन। आफैं प्रयोग नगरेका व्यक्तिले समेत वरपरका धुवाँ, गन्ध र दूषित वातावरणका कारण दीर्घकालीन जोखिम बोकिरहेका छन्। तर विडम्बना, नियम कानुन कडा छन्, तर कार्यान्वयन भने अपेक्षित रुपमा प्रभावकारी भइरहेको छैन।
हाम्रो देशमा १८ वर्ष ननपुगेकालाई सूर्तीजन्य पदार्थ बेचबिखन गर्न नपाइने, एक/दुई पिस देखाएर बेच्न नपाइने, सार्वजनिक स्थलमा सेवन गर्न नपाइने जस्ता नियम धेरै पहिले नै बने। तर बजारमा हेर्नुहोस्- कानुन कागजमा जति कडा छ, व्यवहारमा त्यति नै खुकुलो।
यही कारणले नै डब्लृचओले प्रस्तुत गरेको एक अध्ययनले कर बढाउँदा धुम्रपान गर्ने संख्यामा १०% कर वृद्धि हुँदा करिब ४% उपभोक्ता घट्ने प्रवृत्ति देखाएको निष्कर्ष नेपालका नीति–निर्माताले बुझ्नुपर्छ। यदि कर, चेतना र नियन्त्रण, तिनै पक्ष सक्रिय भए, समस्याले आफैँ सीमित हुन थाल्छ।
सबैभन्दा चिन्ताजनक तथ्य भनेको मधेश प्रदेशका विद्यार्थीबीच ‘करेन्ट’ जस्ता पदार्थको प्रयोग बढिरहेको अनुसन्धानले देखाएको छ। विद्यालय, क्यान्टिन र साथीहरूको घेरो नै प्रयोगको प्रवेशद्वार बनेको छ।
विद्यालय (जसले चेतना जगाउनुपर्ने हो) त्यो नै जोखिमको केन्द्र त बन्दै गएको छैन? यस अवस्थामा अभिभावकदेखि शिक्षक, स्थानीय तहदेखि स्वास्थ्यकर्मी सबैको सक्रियता अनिवार्य देखिन्छ।
अर्को महत्वपूर्ण प्रश्न- लत बसेकाहरूलाई के गर्ने?
हाम्रो समाजले प्रायः उनीहरूलाई दोष दिन्छ, लज्जाको विषय बनाउँछ, बेवास्ता गर्छ। तर लत छाड्नु ‘इच्छा, सहयोग र वातावरण’को संयुक्त परिणाम हो।
लत छुटाउने तरिका कसैलाई सामाजिक प्रतिष्ठाको चिन्ता, कसैलाई स्वास्थ्यसम्बन्धी चेतावनी, कसैलाई घरपरिवारको दबाब—प्रेरणा फरक–फरक हुन्छ। त्यसैले एउटै विधि सबैमा लागू हुन्छ भन्ने अपेक्षा गलत हो।
सहयोग गर्ने कार्यक्रम सुरु हुनु प्रोत्साहनको कुरा हो, तर ती कार्यक्रम पुगेका सबै स्थानमा क्रियाशील छन् भनी दाबी गर्न सकिन्न। यी सेवाहरूलाई सहज, गोप्य र निःशुल्क बनाउनु आजको आवश्यकता हो।
सार्वजनिक स्थलहरूमा सूर्तीजन्य पदार्थको प्रयोग घटिरहेको तथ्य उत्साहजनक छ। तर के हामीले हरेक ठाउँमा सुरक्षित वातावरण पाएका छौँ? कतै धुवाँ, कतै र्यापर, कतै पानपरागका दाग, यी सबैले केही सुधार भए पनि लक्ष्य अझै टाढै रहेको दर्शाउँछन्।
सार्वजनिक स्थलमा धुम्रपानबाट असर परे आवाज उठाउने साहस हामी सबैमा हुनुपर्छ। कानूनले अधिकार दिएको छ- प्रयोग गर्ने हिम्मत चाहिन्छ।
सञ्चारमाध्यमले लगातार प्रसारण र सामग्रीमार्फत सूर्तीजन्य पदार्थको असरबारे चेतना जगाउँदै आएको प्रगति महत्त्वपूर्ण छ। मिडिया निरन्तर क्रियाशील रह्यो भने परिवर्तनको गति अझै तीव्र बन्न सक्छ। समाजले सूचना पायो भने, विकल्प रोज्छ। विकल्प रोज्यो भने, परिवर्तन सम्भव छ।
सूर्तीजन्य पदार्थले समाजमा फैलाएको जोखिम रोक्न राज्यको नीतिगत कडाइ, समुदायको सामाजिक दवाब, मिडियाको निरन्तर चेतना र व्यक्तिगत अनुशासन, चारै स्तम्भ एकसाथ मजबुत हुनु आवश्यक छ।
यदि हामीले आज कडाइ गर्यौँ भने, भोलिका पुस्ताले स्वस्थ वातावरण पाउँछन्। यदि हामी मौन बस्यौँ भने, हामीले देख्दै आएको क्षति अझै बढ्दै जान्छ।
(स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा थपलियाले स्वास्थ्य खबर फाउन्डेसनको अन्तरक्रिया कार्यक्रममा राखेका विचारको सम्पादित अंश)