काठमाडौं- ‘तपाईंको त्यहाँ के भएको?’ एक बिरामीले नर्स इन्दिरा अधिकारीको घाँटीतिर देखाउँदै सोधे। उनले ठट्यौलो पारामा जवाफ फर्काइन्, ‘ओहो ! तपाईंले हेर्ने बित्तिकै पो यहाँ यस्तो भएछ नि !’
बिरामीको यो प्रश्नले इन्दिराको मन चसक्क नभएको होइन तर हरेक कुरामा ठट्टा गर्ने इन्दिराको स्वभाव नै हो। इन्दिराको घाँटी र कान वरपरका छालामा सेता–सेता दाग छन्। जसलाई भिटिलिगो अर्थात् सेतो दुबी भनिन्छ। यही दुबीका कारण इन्दिराले धेरै पटक यस्ता प्रश्नको सामना गर्नुपरेको छ।
गोरखामा जन्मिएकी इन्दिरा एक दिन नुहाएर ऐना हेर्दै थिइन्। एक्कासि उनले आफ्नो कानको छेउको भागमा केही लागेको महसुस गरिन्। ऐनालाई नजिक ल्याएर हेर्दा कान पछाडि केही सेतो दाग थियो। केही चिज लागेको हो कि भनेर पुछ्न खोज्दा पनि दाग उस्तै रहिरह्यो। उनी कुदेर आमा भएको ठाउँमा पुगिन् र देखाइन्। आमाले कपाल पन्छाएर कान पछाडि र वरपरको भाग हेर्दा धेरैतिर छाला त्यस्तै भएको देखिन्।
त्यतिबेला इन्दिरा १४ वर्षकी थिइन्। परिवारले पनि उनको छालामा भएको परिवर्तन याद गरेको थिएन। त्यो घटनापछि आमाले नजिकका मान्छेहरूसँग सोधखोज गरिन्। फरकफरक मान्छेले त्यो समस्या कम गर्न धेरै सल्लाह दिए। कसैले फोटो धोएको पानी लगाउन भने त कसैले कुनै झारको लेप लगाउन। घरमा लगाएका केही औषधिले काम गरेन। पछि उनको परिवार नै चितवन बसाइँ सर्यो। चितवन पुगेपछि उनीहरूले अस्पतालमा पनि देखाए। तर औषधिले पनि समस्या निको नभएको इन्दिरा बताउँछिन्।
स्कुल पढ्दा साथीहरू, घरमा आउने आफन्तहरू र बाटोमा भेटिने अन्जान मानिसहरू सधैँ उनीतिर जिज्ञासु आँखाले हेर्थे। हेर्ने मात्रै होइन, सर्छ भन्ने डरले कति नजिक पर्नै चाहँदैनथे। स्कुलमा कोही एउटै बेन्चमा बस्न मानेनन् त कतिले होस्टेलको रुम सेयर गर्न खोजेनन्। तर उनीसँग प्रश्नहरूको सामना गर्नुको विकल्प थिएन। प्रश्नहरूको अगाडि त उनी चुपचाप बस्थिन् तर तिनै प्रश्नको जवाफ दिँदादिँदै थाकिसकेकी थिइन्।
आफ्नो छालामा भएको समस्याका कारण उनमा दिन प्रतिदिन आत्मविश्वास घट्दै थियो। कसैले केही भनिहाल्ने पो हो कि भन्ने डरले मन खाइरहेको थियो। नयाँ मान्छेसँग भेट्ने हिम्मत हुँदैनथ्यो। त्यही दुबीको दाग छोप्न उनले ढाडमा ट्याटु समेत खोपाइन्।
जब नर्सिङ पढेर चितवन मेडिकल कलेजमा काम गर्न थालिन्, इन्दिरालाई बिस्तारै आफ्नो समस्या सानो लाग्न थाल्यो। ‘हरेक दिन अस्पतालमा कति थरी समस्या लिएर बिरामीहरू आइपुग्नुहुन्थ्यो। बिरामीका अनेकौँ समस्या अगाडि त मेरो समस्या आफैंलाई सानो लाग्यो। त्यसपछि मैले बिस्तारै आफैँलाई स्वीकार्न थालेँ,’ उनले भनिन्।
आफूलाई आफैँले स्वीकारे पनि उनलाई प्रश्नहरूले भने छाडेनन्। अस्पतालमा काम गर्दै गर्दा उपचारका लागि आएका कयौँ बिरामीले समस्याबारे सोध्थे। आजसम्म पनि उनी प्रश्नहरूकै परिधिमा बाँचिरहेकी छन्। ‘कुनै समय मलाई अरूले गर्ने प्रश्नले कति समस्या बनायो। अहिले पनि मान्छेहरूले सोध्न त सोधिरहनुहुन्छ तर मलाई वास्ता लाग्दैन। यति भनिरहँदा पनि कहिलेकाहीँ आफूलाई धेरै मन परेको कपडा लगाउन हिच्किचाउँछु। सोध्नेलाई सामान्य लागे पनि त्यही कुराले हामीलाई मानसिक रूपमा ट्रिगर गरिरहेको हुने रहेछ,’ उनले भनिन्।
०००
अघिल्लो वर्ष कलंकीका १७ वर्षीय सम्राट केसी (नाम परिवर्तन) ११ कक्षामा पढ्दै थिए। उनी एक दिन सन्चो छैन भनेर कलेज गएनन्। त्यसैगरी उनी अर्को दिन पनि कलेज जान खोजेनन्। ठ्याक्कै यही बिरामी भएको भन्ने पनि केही थिएन। उनकी आमा सन्तोषी (नाम परिवर्तन) ले छोरा दिन प्रतिदिन कोठामै बसिरहने र पढ्न मन नगरेको महसुस गरिरहेकी थिइन्। एक दिन आमाले कलेज किन नगएको भनेर सोध्दा सम्राट उल्टै आमासँग झोक्किए। उनको पढाइसन्तोषजनक नै थियो। न त कलेजबाट नै केही गुनासो आएको थियो। तर एक्कासि छोराले कलेज जान्न भनेपछि सन्तोषीले समस्या के हो पहिचान गर्न खोजिन्।
धेरै सोधखोज गर्दा पनि सम्राट केही बोलेनन्। त्यसपछि सन्तोषी आफ्नो छोराका नजिकका साथीहरूको सम्पर्कमा पुगिन्।
साथीहरूसँगको कुराकानीमा कक्षाका केही साथीहरूले सम्राटको अनुहारमा आएको डण्डीफोरलाई लिएर खिसिट्युरी गरेको पत्तो लाग्यो। सन्तोषीले छोरालाई धेरै सम्झाउने कोसिस गरिन्। तर सम्राटले तनाव लिन छोडेनन्।
त्यसपछि सन्तोषीले छोरालाई लिएर त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगिन्। चिकित्सकले सम्राटलाई केही लगाउने औषधि दिए अनि परामर्श पनि गरे। चिकित्सकले दिएको औषधिले उनको समस्या केही हदसम्म समाधान भयो। त्यसपछि उनी नियमित कलेज जान थाले। ‘यो उमेरमा डण्डीफोर आउनु सामान्य रहेछ भन्ने डाक्टरलाई भेटेपछि मात्रै बुझेँ। साथीहरूले अनेक नाम दिएर जिस्क्याउँदा अप्ठ्यारो लाग्थ्यो। आजकल सामान्य हुँदैछ,’ सम्राट भन्छन्।
०००
दाङकी २४ वर्षीय सुमित्रा विक (नाम परिवर्तन) को बच्चैदेखि छाती र अन्य केही भागमा सेतो दुबी थियो। स्कुल पढुन्जेल उनलाई त्यो कुराको त्यति धेरै चासो लाग्दैन थियो। दुबी झट्ट हेर्दा देखिने ठाउँमा पनि थिएन। उमेर बढ्दै जाँदा दुबी पनि फैलिँदै गयो। एक दिन उनको आँखाको परेला छेउमा दुबी देखियो। जब देखिने ठाउँहरूमा दाग बढ्दै गयो, उनमा चिन्ता बढ्दै गयो। कलेजमा साथीहरूले पनि के भएको भन्दै सोध्न थाले। उनलाई आफ्नो समस्याबारे बुझाउँदा–बुझाउँदै झर्को लाग्थ्यो। त्यसैमाथि कतिपय रोग सर्ला भनेर डराउँथे।
‘नदेखिने ठाउँमा आउन्जेल खासै वास्ता लाग्दैनथ्यो। अनुहारमा आउन थालेपछि चिन्ता लाग्यो र उपचारतिर लागेँ,’ उनले भनिन्। सुरुमा धुलिखेलमा जाँच गराइन्। त्यहाँको औषधिले केही सुधार नगरेपछि बानेश्वरको निजी क्लिनिकमा पुगिन्। त्यही बीचमा कोभिड महामारी फैलियो र समयमा औषधि नपाइने समस्या भयो। हाल उनी अल्का अस्पतालमा उपचाररत छिन्। अल्का अस्पतालमा सेतो दुबीको उपचारमा प्रयोग हुने फोटोथेरापीको सुविधा नभएकाले उनी पाटन अस्पताल लगनखेलमा हरेक हप्ता फोटोथेरापी गराउँछिन्।
सुमित्राको अवस्थामा सुधार हुँदै गइरहेको छ। सुधार हुन थालेपछि आत्मबल पनि बढिरहेको उनी बताउँछिन्। ‘आजकल मलाई पहिलेभन्दा धेरै हिम्मत आउँछ। अस्पताल जान थालेपछि निको हुन्छ भन्ने थाहा भयो र अहिले आत्मबल बढेको छ। दाग कम हुँदै गएकाले अरु मानिसले पनि निको हुने रहेछ भन्ने विश्वास गर्न थालेका छन्,’ उनले भनिन्।
०००
यी त छालासम्बन्धी समस्या भएका बिरामीले परिवार, साथीभाइ र समाजबाट भोग्नुपरेका व्यवहारका केही उदाहरण मात्रै हुन्। छालासम्बन्धी दीर्घ समस्या र रोगहरू सेतो दुबी, सोरायसिस अर्थात् कत्ले रोग, एक्जिमा, चाया, पोतो, डण्डीफोर र ढुसी जस्ता रोगहरूको सङ्क्रमण हुँदा बिरामी मानसिक रूपमा नै कमजोर हुने गरेको पाइन्छ। त्यस्ता बिरामीलाई परिवारले नै साथ नदिने, स्कुल÷कलेजमा साथीभाइबाट हेपिने, समाज र छरछिमेकबाट पनि दुव्र्यवहार भोग्नुपर्ने अवस्था छ। रोगका कारण एकातिर बिरामीको छाला बिगारिरहेको हुन्छ भने समाजमा हुने दुव्र्यवहारले मानसिक अस्वस्थता समेत निम्त्याइरहेको छ।
अमेरिकाको नेसनल लाइब्रेरी अफ मेडिसिनले सन् २०२० को डिसेम्बरमा प्रकाशन गरेको एउटा अध्ययनले समेत छालासम्बन्धी रोग भएकाहरूलाई मानसिक समस्या हुने देखाएको छ। छालासम्बन्धी रोगको मनोसामाजिक बोझको विषयमा सिंगापुरको एक बस्तीमा बस्ने मानिसहरूबीच गरिएको उक्त अध्ययनले छालासम्बन्धी समस्या भएकाहरूमा डिप्रेसन, सामाजिक रूपले एक्लै बस्न चाहने, एक्लोपन र जीवनको गुणस्तर कम हुने सम्भावना बढी भएको देखाएको थियो। उक्त अध्ययनले छालासम्बन्धी रोगको बोझ कम गर्न मनोसामाजिक पक्षमा बढी जोड दिनुपर्ने देखाएको थियो। छाला रोगले मानसिक स्वास्थ्यमा असर गर्ने र मानसिक अस्वस्थताले छालासम्बन्धी रोगहरू बढ्ने विज्ञहरू बताउँछन्।
नेपालमा पनि छालासम्बन्धी समस्याले बिरामीलाई परेको असरबारे बुझ्न डीएलक्यूआई अर्थात् डर्माटोलोजी लाइफ क्वालिटी इन्डेक्स हेर्ने गरिएको पाटन अस्पताल लगनखेलका डा भाष्करमोहन कायस्थ बताउँछन्। यो इन्डेक्स सधैं र सबै बिरामीको भने हेरिँदैन। छालासम्बन्धी भिटिलिगो अर्थात् सेतो दुबी, कत्ले रोग, एक्जिमा, चाया लगायतका रोगमा त्यो इन्डेक्स निकालिन्छ। प्रायः एमडी पढ्ने रेजिडेन्ट चिकित्सकहरूले थेसिस गर्दा मात्रै त्यो इन्डेक्स निकाल्ने गरिन्छ। डा कायस्थ भन्छन्, ‘उक्त इन्डेक्समा १० वटा प्रश्न हुन्छ। जुन अंग्रेजीमा हुन्छ, त्यसलाई विज्ञहरूले नेपालीमा रूपान्तरण गर्छन्। एमडी पढाउने रेजिडेन्टहरूले थेसिस गर्दा त्यस्ता विषयहरू प्रयोग हुन्छन्। त्यसमा ७० देखि १०० जना बिरामीलाई त्यो फर्म भर्न लगाउने गरेका छौँ। त्यसरी हेर्दा छालासम्बन्धी रोगले मानसिक र सामाजिक रूपमा त्यसको असर उच्च देखिन्छ। हीन भावना आउने, बिरामीहरू एक्लै बस्न रुचाउने, निराश हुने, डिप्रेसनको सिकार हुने, आत्महत्याको कोसिस गर्ने, परिवार र समाजले समेत उसलाई हेला गर्ने लगायतका समस्या देखिन्छन्।’
नेपाली समाजमा छालासम्बन्धी समस्या हुँदा पूर्वजन्मको पाप भन्ने, बिरामीको आसपास नपर्ने, बिरामीलाई छिःछि र दुरदुर गर्ने चलन छ। बिरामीलाई भएको रोग आफूमा सर्छ भन्ने सोचेर त्यस्ता समस्यासँग जुधिरहेका बिरामीलाई हेयभावले हेर्ने गरेको पाइन्छ। तर त्यस्तो व्यवहारले बिरामीहरू मानसिक रूपमा कमजोर हुने मनोचिकित्सक डा सरोज ओझा बताउँछन्। ‘त्यस्ता बिरामीलाई समाजमा हेर्ने दृष्टिकोण, परिवारले दिने साथ र आफ्नै सोचले समेत नकारात्मक असर पार्न सक्छ। जसका कारण बिरामीको मनोविज्ञान कमजोर हुन्छ। मनोविज्ञान कमजोर हुनाले एन्जाइटी तथा डिप्रेसन हुन सक्छ। निन्द्रा नलग्ने, पढाइमा ध्यान नजाने, आत्मविश्वास कम हुने जस्ता समस्या आउन सक्छ। यस्ता समस्या हुनाले बिरामीले दैनिक जीवनमा आफूले गर्नुपर्ने काम पूरा गर्न सक्दैनन्,’ उनले भने।
कतिपय अवस्थामा बिरामी आफैँले पनि आफ्नो छालामा भएको समस्यालाई अस्वाभाविक मानेर तनाव सिर्जना हुने विज्ञहरू बताउँछन्। विशेषगरी कलाकार या आफ्नो छालालाई लिएर बढी सचेत हुने मानिसलाई त्यस्तो समस्या हुन्छ। ‘कतिपय अवस्थामा व्यक्तिको पेसा व्यवसाय, पहिचान नै छालाको सौन्दर्यसँग जोडिएको हुन्छ। त्यस्ता मानिसलाई आघात बढी हुन्छ। तर हाम्रो सामाजिक मान्यताअनुसार पनि छालाको सौन्दर्यको विषय अत्यन्तै महत्वपूर्ण भएकाले बिरामीलाई नकारात्मक असर पार्छ नै,’ मानसिक अस्पताल पाटनका मनोचिकित्सक डा वासुदेव कार्की भन्छन्। साथै हाम्रो समाजले त्यस्ता समस्यालाई कसरी स्वीकारेको छ र त्यस्ता बिरामीलाई कसरी हेरेको छ भन्ने कुराले समेत असर गर्ने उनी बताउँछन्।
बिरामीलाई कसरी सहयोग गर्ने?
‘यदि बिरामीलाई जुन कुराले समस्या दिइरहेको हुन्छ, त्यो रोग हो। तर समस्या दिइरहेको छैन भने त्यो कुनै रोग होइन’, त्रिवि शिक्षण अस्पतालका छाला रोग विशेषज्ञ प्राडा द्वारिका श्रेष्ठ भन्छन्, ‘छालासम्बन्धी समस्या देखिने ठाउँमा हुने हुनाले मान्छेले सोधेर हैरान गर्छन्। धेरै जनाले सोधेपछि सानो कुरा भए पनि समस्या भोगिरहेकाहरूलाई तनाव हुन्छ। जसका कारण बिरामीलाई मानसिक रूपमा असर गर्छ। त्यस्ता समस्या बिरामीलाई नै समस्या लाग्दैन भने अरूले सोधेर हैरान पार्नु हुँदैन।’
एक त नेपालमा अझै पनि मानसिक स्वास्थ्यको विषयमा खुलेर कुरा गरिँदैन। त्यसैमाथि छालासम्बन्धी रोगले निम्त्याउने मानसिक समस्याको विषयमा कसैले हेक्का नै राखेको पाइँदैन। जानी–नजानी बिरामीमाथि दुव्र्यवहार भइरहेको हुन्छ। त्यस कारण छालासम्बन्धी रोगको विषयमा जनचेतना फैलाउनु आवश्यक भएको चिकित्सकहरू बताउँछन्। ‘प्रत्येक रोगका फरकफरक लक्षण हुन्छन्। त्यसले मानिसमा पार्ने असर पनि फरकफरक हुन्छन्। त्यसैले छालासम्बन्धी कुन रोग सर्छ र कुन सर्दैन भनेर जनचेतना फैलाउन जरुरी हुन्छ,’ डा कायस्थ भन्छन्।
छालासम्बन्धी बिरामीलाई धेरै मनोसामाजिक सहयोग आवश्यक हुने हुनाले उनीहरूलाई साथ दिनुपर्छ। कतिपय अवस्थामा छालासम्बन्धी समस्या भएर बिरामीहरू अस्पताल नगई घरमै बसिरहेका हुन्छन्। उनीहरूलाई उपचारको पहुँचमा पुर्याउन सहयोग गर्नुपर्छ। मनोचिकित्सक कार्कीका अनुसार उपचारको क्रममा पनि त्यस्ता बिरामीलाई छालाको सौन्दर्य र आफ्नो जीवनको लक्ष्यलाई कसरी सँगसँगै लैजाने भनेर उत्प्रेरणा दिइन्छ। उनी भन्छन्, ‘बिरामीले भोगिरहेको समस्या के हो र समाधान के हो भन्नेबारेमा मनोशिक्षा दिने काम गर्छौँ। त्यो अवस्थाबाट कसरी अगाडि बढ्ने, तनाव कसरी व्यवस्थापन गर्ने जस्ता मनोसामाजिक परामर्शको पाटोहरूमा काम गर्छौँ। बिरामीको आत्मविश्वास कमजोर हुने कुनै पनि व्यवहार, लाञ्छना, खिसिट्युरी र बारम्बार प्रश्न गरिरहनु हुँदैन। हामीले बिरामीको अवस्था सहज रूपले स्वीकार्नुपर्छ। सामान्य रूपमा लिइदिनुपर्छ।’
चिकित्सकले पनि बिरामीलाई औषधि र मल्हम मात्रै दिएर नहुने डा ओझा बताउँछन्। ‘यसको उपचार प्रक्रियामा चिकित्सकको पनि भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ। छालाका चिकित्सकले बिरामीलाई मानसिक समस्या निम्त्याएको छ कि छैन भनेर विचार गर्नुपर्छ। बिरामीलाई समाजले कसरी हेरिरहेको छ, बिरामीले के महसुस गरिरहेको छ र परिवारको साथ कस्तो छ भन्ने कुरामा ध्यान दिन जरुरी छ। औषधि मात्रै दिएर हुँदैन। बिरामीको मनोविज्ञानलाई पनि ख्याल गर्नुपर्छ। उपचारसँगै परामर्श पनि दिनुपर्छ,’ उनले भने।
छालासम्बन्धी रोगको उपचार गर्ने जनशक्तिलाई मानसिक स्वास्थ्यसम्बन्धी तालिम पनि दिनुपर्ने र अन्य जनचेतनामुलक कार्यक्रमलाई अगाडि लैजानुपर्नेमा उनको जोड छ।
- स्वास्थ्य खबरपत्रिका मासिकको जेठ अंकमा प्रकाशित सामग्री