२०४८ सालमा रोशनी लक्ष्मी तुईंतुईं भक्तपुर बहुमुखी क्याम्पसमा आईएससी पढ्दै थिइन्। सोही समयमा भक्तपुर नगरपालिकाले प्रत्येक वडाका दुई जनालाई स्वास्थ्यसम्बन्धी तालिम दिने सूचना निकाल्यो। रोशनी ७ नम्बर वडाकी बासिन्दा थिइन्। वडा अध्यक्षले उनलाई सो तालिम लिन सिफारिस गरे। उनले त्यो प्रस्ताव सहजै स्वीकारिन् र तालिम लिने निधो गरिन्।
भक्तपुरमा त्यो समय हैजा, कुपोषण र परिवार नियोजनको साधन प्रयोग नगर्ने समस्या थियो। त्यो तालिम लिएर उनी लगायत स्वास्थ्यकर्मीले घरघरमा गएर रोग लाग्न नदिने ‘प्रिभेन्टिभ’ र स्वास्थ्य राम्रो गर्ने ‘प्रोमोटिभ’ सेवासँगसँगै स्वास्थ्य समस्या भएकालाई प्रेषण गर्ने काम गरे। त्यो कार्यक्रमले सो क्षेत्रमा राम्रो प्रभाव पार्यो। प्रत्येक वडामा एक÷एक जना पुरुष र महिला खटिँदा मात्रै हैजा, कुपोषण, महिला र बच्चाको स्वास्थ्यमा सुधार आयो। त्यसपछि रोशनीले आफू पनि स्वास्थ्य क्षेत्रमा आउने हो भने समाजका लागि केही गर्न सक्छु कि भन्ने सोचिन्। उनलाई त्यो समयसम्म स्वास्थ्यमा के–के पढ्न पाइन्छ भन्ने विस्तृत जानकारी थिएन। सोही समयमा एक जना शिक्षक पेसामा आबद्ध दाइले उनको सर्टिफिकेट हेरेर नर्सिङ पढ्ने सल्लाह दिए। तिनै दाइले नर्सिङ पढिरहेकी निभा प्रजापतिसँग उनको भेट गराइदिए। भेटमा निभाले आफू नेपालगन्ज पढिरहेकोले उनलाई पनि नेपालगन्ज नै पढ्ने सल्लाह दिइन्।
भक्तपुरमा जन्मिए पनि सो समयमा उनी काठमाडौँसम्म पनि एक्लै हिँडेकी थिइनन्। नेपालगन्ज त उनको लागि धेरै परको कुरा थियो। तर पनि रोशनीलाई स्वास्थ्यमा काम गर्ने रस पसिसकेको थियो। निभाको आड पाएर उनले नेपालगन्ज पढ्ने निधो गरिन्।
निभाले नै रोशनीको फर्म भरिदिन सहयोग गरिन्। त्यतिन्जेलसम्म पीसीएल नर्सिङ पढ्न प्रवेश परीक्षा दिनु पर्दैनथ्यो। तर रोशनी प्रवेश परीक्षा दिनुपर्ने पहिलो ब्याच भइन्। परीक्षा दिनुपर्ने भएपछि उनलाई नेपालगन्ज नै जानुपर्ने भयो।
२०५० साल फागुन १० गते प्रवेश परीक्षा थियो। कहिल्यै थानकोट नकाटेकी रोशनीलाई नेपालगन्ज कसरी पुग्ने भन्ने तनाव थियो। लक्ष्यको अगाडि डरको के मतलब ! रोशनी एक्लै नेपालगन्ज जान तयार भइन्। निम्नवर्गीय परिवारमा हुर्किएका कारण दुई जनाको आउने–जाने गाडीभाडा उनीहरूसँग थिएन। आमाबुवा खेती किसानी गर्थे।
सोही समय भक्तपुरकै एक जना अर्को साथीले पनि पीसीएल पढ्न फर्म भरेको उनले थाहा पाइन्। त्यसपछि उनीहरू दुई जना सँगै नेपालगन्ज गए। काठमाडौँबाट रात्रि बसमा ८१ रुपैयाँमा नेपालगन्ज पुगिन्थ्यो। उनको बुबासँग उनको गाडी भाडाको लागि दिने ८१ रुपैयाँ समेत थिएन। उनले वडामा गरेको कामको मासिक ३ सय रुपैयाँ तलब थियो। उनले त्यहीँ काम गर्दाको तलब जम्मा गरेर राखेकी थिइन्। साँझ चार बजे काठमाडौँबाट हिँडेका उनीहरू भोलिपल्ट बिहान ५ बजे नेपालगन्ज पुगे।
त्यो समय अहिलेजस्तो फोन सुविधा थिएन। निभाले उनलाई कलेजसम्म पुग्ने बाटो भेटमै बताएकी थिइन्। ‘बसको अन्तिम स्टेसनमा ओर्लने बित्तिकै पोस्ट अफिस हुन्छ। त्यहाँबाट सिधै अगाडि गएपछि अस्पताल आउँछ र अस्पतालसँगै हाम्रो कलेज हो,’ निभाले यसरी रोशनीलाई बाटो बुझाएकी थिइन्।
नेपालगन्ज पुगेर बस रोकिएपछि अगाडि हेर्दा पोस्टअफिस थियो। त्यहाँबाट अस्पताल खोज्दै उनीहरू सिधै अगाडि गए। रोशनीको दिमागमा अस्पताल र क्याम्पस भनेको ठूलो संरचनाको हुन्छ भन्ने थियो। उनीहरूले कतै अस्पताल नै देखेनन्। निभाले अलमल पर्यो भने रिक्सा या टाँगाको सहायता लिन भनेकी थिइन्। सोहीअनुरूप उनीहरूले रिक्सालाई आफूहरूलाई कलेज लगिदिन अनुरोध गरे। भक्तपुरका रैथाने उनीहरूको खस भाषा राम्रो थिएन। रिक्सावाला पनि राम्ररी खस भाषा बुझ्दैनथे। रिक्सावालाले उनीहरूलाई कलेज त पुर्याइदिए तर उक्त कलेज थियो– महेन्द्र बहुमुखी क्याम्पस।
फेरि त्यही रिक्सामा उनीहरू जहाँबाट चढेका थिए त्यहीँ फर्किए। त्यहाँ आएर हस्पिटल कहाँ हो भनेर सोधे। हस्पिटल त्यहीँ अगाडि रहेछ तर सोचेजस्तो भव्य संरचनामा भने रहेनछ। त्यसपछि अस्पतालमा एप्रोन लगाएकाहरूलाई सोधेर नर्सिङ कलेज पुगिन्। कलेज अस्पतालभन्दा ठ्याक्कै पछाडि रहेछ।
भोलिपल्ट बिहान परीक्षा दिएर साँझको बस चढेर उनीहरू काठमाडौँ फर्किए। एक हप्तापछि रिजल्ट आयो। उनको नाम निस्कियो। उनीसँगै गएकी साथीको भने निस्किएन। उनले नाम निस्कियो भने भर्ना गर्दिनू भनेर निभालाई २ हजार पैसा र डकुमेन्टहरू छाडेकी थिइन्। निभाले उनको भर्ना गरिदिइन्। त्यसपछि बन्दोबस्तको सामान लिएर रोशनीलाई दाइले नेपालगन्ज पुर्याइदिए।
एक वर्ष वडामा काम गर्दा ३ हजार जम्मा भएको थियो। फर्म भर्दादेखि भर्ना गर्नेसम्म र नेपालगन्ज आउजाउ गरेर उनको बचत सकिइसकेको थियो। घरमा पैसा माग्ने अवस्था थिएन। त्यो समय त्रिभुवन विश्वविद्यालयले हरेक विद्यार्थीलाई मासिक रूपमा २ सय निर्वाह भत्ता दिन्थ्यो। त्यही २ सय उनको गर्जो टार्ने बाटो भयो। ‘होस्टेलको भाडा महिनाको १० रुपैयाँ थियो। बचेको १९० बाट महिनाभरिको खर्च पुर्याउने गर्थेँ। कलेजलाई तीन महिनाको १ सय २५ तिर्नुपथ्र्यो। वार्षिक ५ सय तिर्नुपथ्र्यो,’ रोशनी विगतमा पुगिन्, ‘त्यो ५ सय कहाँबाट ल्याउने समस्या भयो। मैले नगरपालिकामा काम गरेको एक वर्षपछि जाइका भन्ने संस्थाले भक्तपुर र नुवाकोटमा पोषण सर्भे गर्ने एउटा कार्यक्रम ल्याएको थियो। त्यो समय काम गर्दा दिनको ३ सय सय रुपैयाँ कमाइ हुन्थ्यो। सो पैसाले मेरो पहिलो वर्षको पढाइमा सहज भयो। साथै पढाइमा दाइले धेरै सहयोग गर्नुभयो।’
पहिलो पटक घरबाट लामो समयको लागि त्यति टाढा गएकी रोशनीलाई सुरुवाती दिनमा घुलमिल हुन समय लाग्यो। नेपालगन्जको गर्मीले निकै आत्तिइन्। उनलाई त्यो समय पढाइ कहिले सकिएला जस्तो लाग्थ्यो। नेपालगन्जमा पढ्न थालेपछि मात्रै उनले काठमाडौँमा समेत नर्सिङको पढाइ हुने रहेछ भन्ने थाहा पाइन्। पढाइ काठमाडौँ सार्ने कोसिस पनि गरिन् तर सम्भव भएन। त्यसपछि विस्तारै नेपालगन्जमा बानी पर्न थाल्यो।
धेरै गर्मी हुने हुनाले शिक्षकहरू नेपालगन्ज जानै मान्दैनथे। त्यो समय उनले क्याम्पसमा हरेक दिन साँझ ५ बजेपछि पुस्तकालयमा बसेर पढ्ने रुटिन समेत बनाएकी थिइन्। ‘हामी त्यहाँ पढ्न गएका थियौँ। पढ्नपर्छ भन्ने मेरो बुझाइ थियो। ८–२ बजे ड्युटी हुन्थ्यो, त्यसपछि २–५ बजेसम्म जेजे गरे पनि ५–७ बजेसम्म लाइब्रेरीमा बसेर पढौँ भनेर मैले त्यो नियम बनाएको थिएँ। रुचि भएका साथीहरू आउँथे, हामी मिलेर पढ्थ्यौँ,’ उनले भनिन्।
त्यो समयमा अनमीबाट आएकाहरूलाई अंग्रेजी माध्यमको किताब गाह्रो हुन्थ्यो र उनले उक्त किताबको एकाइहरू नेपालीमा उल्था गरी उनीहरूलाई पढ्नमा सहयोग गर्थिन्। उनी भन्छिन्, ‘कक्षाका अन्य साथीहरूलाई पढ्न सहयोग गरेँ र अरूलाई पढाउन पनि आफू धेरै पढ्नुपर्ने भयो। उनीहरूलाई नेपालीमा उल्था गरेर बुझाउँदा मैले झन् धेरै सिक्ने अवसर पाएको थिएँ। यसले मेरो पढाइ अझ बढी मजबुत भयो र तेस्रो वर्षको नतिजामा म नेपालभरिमा दोस्रो भएँ।’
रोशनी लक्ष्मी २०५४ वैशाख ९ गते पढाइ सकेर काठमाडौँ फर्किएकी थिइन्। घर आइपुगेको भोलिपल्टदेखि नै काठमाडौँ मोडल हस्पिटल बागबजारमा नर्सको रूपमा काम सुरु गरिन्। रिजल्ट पनि नआएको उक्त समयमा उनको तलब मासिक ४ हजार थियो। रिजल्ट भएपछि बढेर ४४ सय भयो। उनी त्यहाँ मेडिकल वार्डमा काम गर्थिन्। तर कहिलेकाहीँ भने जुन वार्डमा पनि काम गर्नुपर्ने हुन्थ्यो, उनको लागि त्यहाँ काम गर्नु निकै सिकाइपूर्ण र पारिवारिक माहोल थियो। उनले त्यहाँ २०५६ सालसम्म काम गरिन्।
०००
त्यो समय भक्तपुरमा क्यान्सर अस्पताल सञ्चालन भइरहेको थियो। रोशनीमा कुनै एउटा विषयमा मात्रै फोकस्ड भएर काम गर्ने इच्छा पनि थियो। भक्तपुर आफू जन्मिएको ठाउँ, उनले मोडल अस्पताल छाडेर भक्तपुर क्यान्सर अस्पतालमा काम गर्ने सोचिन्। तर क्यान्सर अस्पतालमा काम गर्न सोचे जति सहज भएन। त्यहाँ भावनात्मक रूपमा आफूलाई बलियो बनाउन सकिनन्। ‘क्यान्सरका बिरामीमध्ये पनि धेरै बच्चा हुन्थे। त्यसैमाथि उपचार गर्दागर्दै धेरैजसोको ज्यान जान्थ्यो। म तिनै बच्चाको आमासँगै बसेर रुन्थेँ। मैले त्यहाँ आफूलाई धेरै बलियो बनाउन नसकेर लामो समय काम पनि गरिन्,’ उनले भनिन्।
त्यसैबीचमा उनले लोकसेवाको परीक्षा दिइन्। दोस्रो नम्बरमा नाम निस्कियो। नेपालगन्ज पढेर फर्किएपछि उनलाई उपत्यका बाहिर काम गर्न जाने मन थिएन। उनको रोजाइमा उपत्यकाको एउटा मात्रै अस्पताल थियो– नरदेवी आयुर्वेद अस्पताल।
उनको नरदेवीबाट सरकारी जागिरको यात्रा सुरु भयो। त्यतिन्जेल अस्पतालमा सुई र औषधिसँग काम गरेको उनलाई आयुर्वेद अस्पतालमा काम गर्नुपर्ने थियो। ‘पीसीएल पढ्दा हाम्रो कोर्ष बढी एलोपेथिकमा फोकस्ड हुन्थ्यो। होलिस्टिक र अल्टरनेटिभ मेडिसिनको बारेमा पनि थोरै जानकारी हुनुपथ्र्यो। नरदेवीमा जानुभन्दा पहिले कुनै पनि किसिमको प्रशिक्षण दिइएको थिएन। नरदेवीमा गएपछि सिनियर दिदीहरुसँग प्रशिक्षण हुने गरी धेरै कुराहरू सिकियो। भष्म, चूर्ण लगायतका धेरै कुराहरूको बारेमा जानकारी राखेँ। काम गर्दागर्दै बिस्तारै सिकियो,’ उनले भनिन्।
त्यसपछि उनले लोकसेवाबाट नर्सिङ अधिकृतमा नाम निकालिन् र वीर अस्पतालमा नियुक्ति भयो। वीरमा नर्सिङ अधिकृतदेखि वरिष्ठ नर्सिङ प्रशासकसम्म १२ वर्ष काम गरिन् रोशनीले।
वीर अस्पतालमा काम गर्दा उनलाई अस्पतालको कामको व्यवस्थापन र पढाउने दोहोरो जिम्मेवारी थियो। त्यहाँ मेल सर्किजल वार्ड, भीआईपी वार्ड, पेइङ मेडिकल वार्डमा काम गरिन्। साथै, अस्पताल नर्सिङ प्रशासक भइसकेपछि अस्पतालको नर्सिङ विभाग व्यवस्थापन गर्न सहयोग गरिन्। आफू पढ्ने समयदेखि नै उनलाई पढाउन मन पथ्र्यो र नियमित रूपमा वीर अस्पताल पढाउने काम पनि गरिन्।
उनले काम र पढाइ सँगसँगै लगिरहेकी थिइन्। महाराजगन्ज नर्सिङ क्याम्पसमा बीएन र एमएनको पढाइ सकाइन्। बीएन र एमएन दुवैमा रोशनी नेपाल टपर हुन्। ‘पीसीएलपछि मैले पढाइमा कहिल्यै दोस्रो हुनु परेको छैन र पढ्नलाई पैसा तिर्नु पढेको छैन,’ उनी भन्छिन्।
वीर अस्पतालपछि २०७४ सालको भदौमा ११औँ तहमा नाम निकालेर उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चिकित्सा महाशाखामा प्रमुख नर्सिङ प्रशासकको रूपमा काम गरिन्। २०७५ सालमा नेपालमा संघीय संरचनाअनुसार कार्यालयहरुको पुनर्संरचना हुँदा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा भनेर नयाँ महाशाखा बनेको थियो। उक्त महाशाखाको पहिलो निर्देशकको रूपमा रोशनी नियुक्त भइन्। २०७५ देखि ७८ सम्म उनले त्यहाँ निर्देशकको रूपमा काम गरिन्। महाशाखामा काम गर्दा ९५ प्रतिशतभन्दा बढी कार्य प्रगति र शून्य बेरुजु कायम गर्न सफल भएकोमा उनी निकै गौरवान्वित भएको बताउँछिन्। स्वास्थ्य सेवा विभिन्न समूह र उपसमूहबीच टिमवर्क हुनुपर्ने र कुनै एक वा दुई समूहलाई मात्रै जोड दिन नमिल्ने उनको तर्क छ।
त्यसपछि उनी केही समय वीर अस्पताल नर्सिङ क्याम्पसको क्याम्पस प्रमुख समेत भएकी थिइन्। २०७८ साल चैत ९ गतेदेखि हाल उनी कान्ति बाल अस्पतालमा प्रमुख नर्सिङ प्रशासक र कान्ति बाल अस्पताल नर्सिङ क्याम्पसको नर्सिङ क्याम्पस प्रमुख समेत हुन्।
परिवारको जिम्मेवारी
रोशनी लक्ष्मीसहित परिवारमा एक जना दाइ र एक–एक जना भाइ र बहिनी थिए। स्कुल पढ्ने उमेर नहुँदै उनी दाइको पछि लागेर स्कुल जान खोज्थिन्। घरकाले उनलाई उमेर सानो भएको भन्दै भर्ना गरेका थिएनन्। स्कुल जान नपाएको भन्दै एक दिन उनी निकैबेर रोएपछि तीन वर्षको उमेरमै उनका काकाले स्कुल भर्ना गरिदिए। दाइसँगै हुर्किएकी उनले कहिल्यै घरमा छोरी हो भन्ने विभेदको व्यवहार महसुस गर्नु परेन्। नर्सिङ पढ्दै गर्दा पनि उनलाई आफूले यो गर्न सक्दिनँ भन्ने भावना कहिल्यै आएन्।
पीसीएल नर्सिङ सकाएर जागिर गर्ने समयमा उनलाई भाइबहिनी पढाउने जिम्मेवारी आएको थियो। उनले मोडल हस्पिटलमा काम गर्न थाल्दा भाइलाई अमृत साइन्स क्याम्पसमा भर्ना गराइदिइन्। भक्तपुरबाट ठमेल दिनहुँ आउने–जाने गाडीभाडा नपुग्ने हुनाले भक्तपुरकै एक जना भाइसँग बालाजुमा एउटा कोठा खोजेर राखिदिएकी थिइन्। पछि ती साथी बिरामी परेपछि बागबजारमा कोठा सारिदिइन्। आईएसीको पढाइ सकेपछि भाइले जे पढे पनि छात्रवृत्तिमा नाम निकालिदिए हुन्थ्यो भन्ने उनको चाहना थियो।
भाइले इन्जिनियरिङ पढ्ने रुचि देखायो। पुल्चोक क्याम्पसमा नाम निकाल्यो। तर उपत्यका भित्रको भएर होस्टेल दिइएन। उनले भाइलाई हरेक दिन गाडीभाडा पुग्ने मात्रै पैसा दिन्थिन्, खाजा घरबाटै लैजान भन्थिन्। कलेजमा होस्टेल कसरी पाउँछ भनेर सोध्दा उपत्यकाका विद्यार्थी टप भएको अवस्थामा मात्रै पाइने भन्ने थाहा पाइन्। उनले भाइलाई राम्रोसँग पढेर टप गर्न भनिन्। भाइले पनि मिहिनेत गरेर पहिलो सेमेस्टर टप गर्यो। त्यसपछि भाइले होस्टलमा बस्न पायो। बल्ल उनलाई ढुक्क भयो।
भाइको बन्दोबस्त हुँदै गर्दा बहिनी एसएलसी पास भइसकेकी थिइन्। बहिनीलाई सानो उमेरदेखि नै एमबीबीएस पढ्ने रहर थियो। त्यो समय पैसा तिरेर पढ्दा १५ लाख लाग्थ्यो। उनी भन्छिन्, ‘म मोडेल अस्पतालमा चार हजारको जागिर खान्थें। १५ लाख कहाँबाट ल्याउने?’
उनले बहिनीलाई नर्सिङ पढ्न कर गरिन्। उनी आफैं त्यो समय बीएन गर्दै थिइन्। बहिनीले महाराजगन्ज नर्सिङ क्याम्पसमै पीसीएलको पढाइ सुरु गरिन्। एमबीबीएस पढ्न नपाएको भन्दै बहिनी उनीसँग ६ महिना बोलिनन्। अहिले बहिनी वीर अस्पतालमा कार्यरत छिन्। भाइ नेपाल टेलिकममा इन्जिनियर छन्। दाइ स्कुल पढाउँछन्। यो देख्दा रोशनीलाई निकै गर्व लाग्छ।
यसैबीच २०६० सालमा रोशनीको विवाह भयो। महाराजगन्जमा पढ्दै गर्दा त्यहीँ एमबीबीएस पढ्दै गरेका चिकित्सकसँग उनको प्रेम विवाह भयो। उनका श्रीमान् नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहप्राध्यापक छन्।
०००
रोशनी २०७४ मा प्रमुख नर्सिङ प्रशासकको रूपमा नियुक्त भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्य सुरु गरेपछि ऐन, नीति, रणनीति, निर्देशिका, मापदण्ड जस्ता दस्तावेजको मस्यौदा बनाउने काममा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लागिन्। मन्त्रालयपछि नर्सिङ महाशाखामा हुँदा पनि स्वास्थ्यसँग सम्बन्धित र कार्यक्रमसँग विभिन्न निर्देशिका, मापदण्ड र अन्य दस्तावेज बनाउने र कार्यान्वयन गर्ने काममा लागिरहिन्।
तत्काल नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखामा हुँदा धेरै वटा नयाँ काम गर्न पाएकोमा उनलाई निकै खुसी लाग्छ। उनले महाशाखामा हुँदा विद्यालय नर्सिङ तथा स्वास्थ्य सेवा कार्यक्रम सबै प्रदेशमा सुरु, नर्सहरूलाई नेतृत्व र व्यवस्थापनसम्बन्धी विभिन्न तरिकाबाट क्षमता अभिवृद्धि, सामुदायिक स्वास्थ्य तथा घरदैलो नर्सिङ सेवा कार्यक्रम, मिडवाइफ्री सेवा सुरु, ज्येष्ठ नागरिक स्वास्थ्य सेवा, नर्सिङ तथा मिडवाइफ्री रणनीति लगायतका थुप्रो कामहरूमा नेतृत्व लिएर काम गरिन्।
किताब लेख्ने नर्स
रोशनीको जीवनमा अर्को छुटाउनै नहुने पाटो हो किताब लेखन। उनी पीसीएल पढ्दादेखि नै सबै किताब अंग्रेजीमा हुन्थ्यो। नेपाली लेखकले लेखेको किताब नै भेटिँदैनथ्यो। काठमाडौँ फर्किएपछि उनी पार्टटाइम अनमी र सीएमएलाई पढाउने पनि गर्थिन्। त्यो पढाउने समयमा उनी नोटहरू तयार गर्थिन्। त्यही समय उनलाई मोडल अस्पतालका डा सीताराम श्रेष्ठ र नर्स राधिका घिमिरेले किताब छाप्न प्रेरणा दिए। उनलाई किताब छाप्नेबारे केही जानकारी थिएन। उनीहरूले नै विद्यार्थी पब्लिकेसनमा कुरा गरिदिए। उनीहरूकै हौसलाले उनले तीन वटा किताब निकालिन्। त्यसपछि उनलाई किताब लेख्ने लत बस्यो। हालसम्म उनको १२ वटा किताब प्रकाशित छन्।
०००
नर्सले आफ्नो दक्षताको मापन आफैँ गर्नुपर्ने रोशनीको बुझाइ छ। उनका अनुसार नर्सिङ पेसामा लागेकाहरू एकदमै मिहिनेती, जिम्मेवार, उत्तरदायी र लगनशील हुन जरुरी छ। नेपालमा नर्सिङका दक्ष जनशक्तिहरू उत्पादन भइरहेको उनी बताउँछिन्। ‘पछिल्लो समय दक्ष जनशक्तिहरू उत्पादन भइरहेका छन्। शिक्षामा महिलाको पहुँच बढ्दै आएको छ। महिलाहरू आर्थिक रूपमा बलियो हुँदै आएका छन्। हामीले नर्सिङ पेसाको महत्व नेपालभित्र बनाउन सकेका छैनौँ, नेपाल बाहिर भने राम्रो छ। पढाइ, जीवनयापनको लागि नर्सिङ राम्रो छ,’ उनी भन्छिन्।
योसँगै सुधार गर्नुपर्ने पाटोहरू पनि धेरै रहेको उनले बताइन्। भनिन्, ‘अहिले विद्यार्थीहरूमा प्राक्टिकल एक्सपोजर कमजोर छ। हुन त नर्सिङको कोर्सको सुरुवातमै कम्युनिकेसनको पक्ष पढाइ हुन्छ तर अहिले नर्सिङ पेसामा बोलचाल, कम्युनिकेसनको पाटो व्यावहारिक रूपमा सुधार्नु पर्नेछ। विद्यार्थीहरूमा सहानुभूति पनि कम देखिन्छ। त्यो नहुँदा धेरै समस्या भइरहेको छ।’
नर्सिङ पेसा सेवामुखीभन्दा बढी व्यापारीकरण भएको उनको बुझाइ छ। एउटा संस्थामा काम गरिराखेको अवस्थामा अर्को संस्थाले अलि बढी पैसा दिने भयो भने छोडेर जाने चलन बढेको उनी बताउँछिन्। पैसा मात्रै पनि ठूलो कुरा होइन, अन्य प्रोत्साहनका क्षेत्रहरू पनि विकास हुनुपर्ने उनले बताइन्। नर्सहरू जिम्मेवारीवोध र उत्तरदायी नभएकोमा उनको गुनासो छ। नर्सले त बोल्दा कसैलाई उत्प्रेरणा होस् भन्ने हिसाबले काम गर्नुपर्छ।
नर्सहरू कुनै एउटा विषयमा विशेषज्ञता (स्पेसलाइजेसन) भएर काम गर्नुपर्ने उनको धारणा छ। त्यस्तै काम गर्दा इन्टरफेयर हुनु नहुनेमा पनि उनको जोड छ। ‘स्वास्थ्य सेवा सामूहिक कार्य हो, कुनै पेसा विशेषको मात्रै होइन। त्यस कारण टिममा सबैलाई उत्प्रेरणा दिएर काम गर्नुपर्छ। चिकित्सक मात्रै भएर स्वास्थ्य उपचार सम्भव हुँदैन, नर्सहरूको कामको पनि सम्मान गर्ने गर्नुपर्छ,’ उनले भनिन्।
-(स्वास्थ्य खबरपत्रिका मासिकको जेठ अंकमा प्रकाशित सामग्री)