ऋतु विभाजनका बारेमा चर्चा गर्दा हामीकहाँ छ वटा ऋतुहरू वर्णन गरिएको छ। शिशिर, वसन्त, ग्रीष्म, वर्षा, शरद र हेमन्त- यी छ वटा ऋतुहरू हामीकहाँ वेदकालीन समयदेखि हालसम्म प्रचलनमा छन्। समय गणनाको वेदकालीन प्रणाली अनुसार दुई पक्षको एक मास, दुई मासको एक ऋतु, तीन ऋतुको एक अयन र दुई अयनको एक वर्ष मानिएको छ। आज पनि वेदमा उल्लेख गरिएको समय विभाजनलाई हामी पूर्वीय सभ्यतामा मात्रै नभई पाश्चात्य सभ्यतामा समेत विभिन्न रूपमा पालना गर्दै आएका छौं।
वसन्त ऋतुलाई ऋतुहरूको राजा पनि मानिन्छ। यस समयमा हुने हरियाली, पालुवा पलाउने, विभिन्न फूलहरू फुल्ने भएकाले वसन्त ऋतु मनमोहक हुने गर्दछ। आयुर्वेद अनुसार वसन्त ऋतुमा कफ दोष प्रकोपित हुने गर्दछ। अझ भनिएको छ कि हेमन्त र शिशिरमा सञ्चित भएको कफ सूर्यका किरणहरूको तीव्रताद्वारा वसन्त ऋतुमा प्रकोपित हुन्छ। कफ दोषको प्रभावका कारण शरीरमा भरिपना, आलस्य, शीतलता आदि लक्षणहरू देखा पर्छन्।
मोटोपनाको समस्याबाट गुज्रिरहनु भएको छ र तौल नियन्त्रणका लागि उपयुक्त समयको खोजीमा हुनुहुन्छ भने तपाईंका लागि वसन्त अत्यन्त उत्तम समय हो। तौल नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्ने आहार र व्यायामको दृष्टिकोणलाई मध्यनजर गर्दा वसन्त ऋतु तौल घटाउनका लागि सही समय मानिन्छ।
आयुर्वेदमा उल्लेख गरिए अनुसार वसन्त ऋतुमा सेवन गर्नुपर्ने आहारको विवेचना गर्दा कफ दोषको शमन गर्नका लागि हलुका र कम क्यालोरीयुक्त खानाहरू सेवन गर्नुपर्ने बताइएको छ। कम क्यालोरी भएका लघु आहार, जो सजिलै पाचन हुन्छन् र जसमा चिल्लो पदार्थ कम हुन्छ, त्यस्ता आहार सेवन गर्दा अधिक क्यालोरी सेवनबाट भएको मोटोपना नियन्त्रण गर्न सकिन्छ। आधुनिक पोषण विज्ञानमा क्यालोरी डिफिसिटको अवधारणामा समय (महिना/ऋतु) अनुसारको आहार नियम उल्लेख पाइँदैन, तर हाम्रो जस्तो हावापानी र मौसमीय विविधता भएको स्थानमा बस्ने व्यक्तिहरूले मौसमको गुण र स्वभाव अनुसार क्यालोरी डिफिसिटको नियम अपनाउँदा अझ बढी लाभ प्राप्त गर्न सक्छन्। वसन्त ऋतु उपवास (फास्टिङ)का लागि पनि अत्यन्त अनुकूल मौसम हो। अघिल्ला दुई ऋतु (हेमन्त र शिशिरमा) उपवास अपथ्य अर्थात् वर्जित गरिएको छ। त्यसैले कम क्यालोरी सेवन वा उपवासको माध्यमबाट तौल नियन्त्रण गर्नका लागि वसन्त ऋतु उपयुक्त मानिन्छ।
अब व्यायामको कुरा गरौं। कडा किसिमका व्यायाम गर्न मिल्ने र शरीरमा अधिक मात्रामा व्यायाम गर्न सकिने शक्ति हुने समय हेमन्त, शिशिर र वसन्त ऋतु हुन्। हेमन्त र शिशिर ऋतुमा तीक्ष्ण र अधिक मात्राको व्यायाम निर्देश गरिएको भए पनि उक्त समयमा लघु (कम क्यालोरी) तथा फ्याटरहित आहार सेवन गर्न हुँदैन। तर वसन्त ऋतुमा भने कम क्यालोरी सेवन, समय–समयमा उपवास तथा तीक्ष्ण र अधिक मात्राको व्यायाम एकसाथ गर्न सकिन्छ। मोटोपना नियन्त्रणका लागि क्यालोरी डिफिसिट र क्यालोरी बर्न (कम क्यालोरी सेवन र प्राप्त क्यालोरी जलाउने) दुवै सिद्धान्त यस मौसममा लागू गर्न सकिने भएकाले आयुर्वेदको ऋतु निर्देश अनुसार वसन्त ऋतु तौल नियन्त्रणका लागि उत्तम मानिन्छ।
भौगोलिकता र मौसमीय विविधता भएको स्थानमा बस्ने व्यक्तिहरूले तौल नियन्त्रणका लागि उचित आहार र व्यायाम सम्बन्धी सल्लाह तथा परामर्श आयुर्वेदिक चिकित्सकमार्फत प्राप्त गर्न सक्छन्।