काठमाडौं- पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालले आफ्नो विशेषज्ञ सेवा विस्तार गर्ने क्रममा वरिष्ठ पल्मोनरी, क्रिटिकल केयर तथा स्लीप मेडिसिन विशेषज्ञ प्रा. डा. रमेश चोखानीलाई आबद्ध गरेको छ। तीन दशकभन्दा लामो चिकित्सकीय अनुभव बटुलेका डा. चोखानी श्वासप्रश्वास तथा फोक्सो रोगको उपचारमा सक्रिय छन्।
डा. चोखानीले भारतको मौलाना आजाद मेडिकल कलेज, नयाँ दिल्लीबाट एमबीबीएस पूरा गरेका हुन्। उनले वल्लभभाई पटेल चेस्ट इन्स्टिच्युट, नयाँ दिल्लीबाट ट्युबरकुलोसिस तथा छाती रोगमा डिप्लोमा र सोही विषयमा एमडी गरेका हुन्।
क्लिनिकल उपचारसँगै प्राध्यापन र अनुसन्धानमा पनि उनको विशेष दखल छ। उनले नेपाल मेडिकल कलेजको मेडिसिन विभागमा लामो समय प्राध्यापकको रूपमा कार्य गरिसकेका छन्। उनका दर्जनौँ शोध र लेखहरू अन्तर्राष्ट्रिय तथा राष्ट्रिय चिकित्सा जर्नलहरूमा प्रकाशित छन्। यसअघि उनले नर्भिक इन्टरनेशनल अस्पतालमा वरिष्ठ विशेषज्ञका रूपमा सेवा प्रदान गरिसकेका छन्।
डा. चोखानीको आगमनले अस्पतालको श्वासप्रश्वास, फोक्सो, क्रिटिकल केयर तथा 'स्लीप डिसअर्डर' सम्बन्धी उपचार सेवामा थप गुणस्तर आउने अस्पतालले विश्वास लिएको छ। 'हामी आधुनिक प्रविधि र अनुभवी चिकित्सकमार्फत उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यमा छौँ,' अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'डा. चोखानीको विज्ञताले बिरामीहरूले अब अझ प्रभावकारी र विश्वसनीय उपचार प्राप्त गर्नेछन्।'