विगत डेढ दशकभन्दा बढी समयदेखि जुम्लामा एनेस्थेसियोलोजिस्टका रूपमा काम गर्दै गर्दा कर्णालीका बिरामीहरूले भोग्ने स्वास्थ्य चुनौतीहरू मैले नजिकबाट देख्ने अवसर पाएको छु। दुर्गम भेगबाट गम्भीर अवस्थामा अस्पताल आइपुग्ने बिरामी, सीमित स्रोतसाधनका बीच उपचार गर्ने प्रयास, र अन्ततः बाध्य भएर बाहिर रिफर गर्नुपर्ने अवस्था यहाँको यथार्थ हो।
जुम्लास्थित अस्पतालमा आईसीयू सेवा उपलब्ध भए पनि आवश्यक उपकरण र प्रविधिको अभाव अझै चुनौतीका रूपमा रहेको छ। विशेषगरी पर्याप्त भेन्टिलेटर र 'इनभेसिभ मोनिटरिङ' उपकरणको अभावले गम्भीर बिरामीको उपचारलाई प्रभावकारी बनाउन कठिनाइ भइरहेको छ। यदि यी उपकरण पर्याप्त मात्रामा उपलब्ध भए धेरै बिरामीलाई जुम्लामै उपचार गर्न सम्भव हुने मेरो विश्वास छ।
मेरो अनुभवमा कर्णालीका धेरै बिरामी गम्भीर अवस्थामा मात्र अस्पताल आइपुग्छन्। कतिपय बिरामीहरू दुर्गम गाउँबाट दिनौँ पैदल यात्रा गरेर अस्पताल पुग्ने गर्छन्। भौगोलिक कठिनाइले गर्दा समयमै अस्पताल पुग्न नसक्ने अवस्था यहाँ सामान्यजस्तै छ।
धेरैपटक हामीले गम्भीर बिरामीलाई 'हेली-रेस्क्यु' गरेर ठुला सहरमा पठाउनुपर्ने अवस्था पनि आएको छ। तर कर्णालीका अधिकांश परिवारका लागि हेलिकप्टर उद्धार अत्यन्त महँगो हुन्छ। आर्थिक अवस्था कमजोर भएका परिवारका लागि यो लगभग असम्भवजस्तै निर्णय हुन्छ। कतिपय अवस्थामा बिरामीको स्थिति अत्यन्त जटिल भए पनि आर्थिक कारणले तुरुन्तै हेली-रेस्क्यु सम्भव हुँदैन। यसले उपचारमा ढिलाइ हुने र जोखिम बढ्ने स्थिति सिर्जना गर्छ।
अर्को महत्त्वपूर्ण चुनौती भनेको केही दुर्गम समुदायमा अझै पनि प्रारम्भिक उपचारका रूपमा धामी–झाँक्रीजस्ता परम्परागत पद्धतिमा विश्वास गर्ने प्रचलन हुनु हो। धेरै बिरामीहरू सुरुमा त्यहीँ उपचार गराएर अवस्था निकै बिग्रिएपछि मात्र अस्पताल ल्याइन्छन्। यस्तो अवस्थामा ढिलो गरी अस्पताल पुग्ने बिरामीहरूको उपचार झन् जटिल हुन्छ।
यी सबै परिस्थितिहरूले कर्णालीमा क्रिटिकल केयर सेवा अझ सुदृढ गर्नुपर्ने आवश्यकतालाई प्रस्ट बनाउँछन्। यदि स्थानीय स्तरमै गुणस्तरीय आईसीयू सेवा उपलब्ध भयो भने धेरै गम्भीर बिरामीलाई समयमै उपचार गर्न सकिन्छ।
पछिल्ला केही वर्षमा टेलिमेडिसिन सेवाले पनि महत्त्वपूर्ण सहयोग पुर्याउन थालेको अनुभव मैले पाएको छु। जटिल केसहरूमा काठमाडौँ वा अन्य विशेषज्ञ केन्द्रका चिकित्सकहरूसँग टेलिमेडिसिनमार्फत परामर्श लिन सक्दा उपचारको निर्णय लिन ठुलो मद्दत मिल्छ। विशेषगरी आईसीयूमा रहेका जटिल बिरामीहरूको व्यवस्थापनमा यस्तो सहयोग निकै उपयोगी साबित भइरहेको छ।
क्रिटिकल केयर सेवा सुधारका लागि उपकरण मात्र पर्याप्त हुँदैन। त्यसलाई सही ढंगले प्रयोग गर्ने दक्ष जनशक्ति पनि अत्यन्त आवश्यक हुन्छ। त्यसैले स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि, तालिम र निरन्तर मार्गदर्शन पनि समान रूपमा महत्त्वपूर्ण छन्।
यदि सरकारको तर्फबाट आवश्यक भेन्टिलेटर, इनभेसिभ मोनिटरिङ प्रणाली तथा अन्य अत्यावश्यक उपकरण उपलब्ध गराउन सकियो भने कर्णालीका अस्पतालहरूमा क्रिटिकल केयर सेवा अझ प्रभावकारी बन्न सक्छ। यसले गम्भीर बिरामीको उपचार स्थानीय स्तरमै सम्भव बनाउनेछ।
कर्णालीजस्तो दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा सुदृढ गर्नु चुनौतीपूर्ण अवश्य छ, तर उचित पूर्वाधार, उपकरण र दक्ष जनशक्ति विकास गर्न सकियो भने धेरै बिरामीको ज्यान बचाउन सकिन्छ। साथै गरिब परिवारलाई अनावश्यक आर्थिक बोझबाट पनि जोगाउन सकिनेछ।
यदि कर्णालीमा क्रिटिकल केयर प्रणालीलाई दीर्घकालीन रूपमा सुदृढ गर्न सकियो भने यहाँका हजारौँ बिरामीका लागि जीवनरक्षक सेवा आफ्नै क्षेत्रमा उपलब्ध हुनेछ भन्ने मेरो विश्वास छ।