काठमाडौं- नेपाल मेडिकल काउन्सिलले चिकित्सक डा. मनोजकुमार गुप्तामाथि कारबाही गरेको छ। काउन्सिलको ११ र १२ फागुनमा बसेको पूर्ण बैठकले उनलाई ६ महिनाका लागि प्रोबेशनमा राख्ने निर्णय गरेको हो।
काउन्सिलका रजिस्ट्रार डा. सतिसकुमार देवका अनुसार प्रोबेशनको अर्थ डा. गुप्ताले अब अन्य चिकित्सकको निगरानीमा रहेर काम गर्नुपर्ने हुन्छ। शल्यक्रियामा संलग्न चिकित्सकहरूको बयान तथा विषयविज्ञको रायका आधारमा काउन्सिलले उक्त निर्णय गरेको उनले बताए।
बाराका ३७ वर्षीय सुरेश शाह कानु पित्तथैलीको समस्या भएपछि १४ कात्तिक २०८० मा प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि पुगेका थिए। अस्पतालमा कार्यरत डा. गुप्ताले पित्तथैलीको रिपोर्ट नआउँदै शल्यक्रियाको तयारी गर्न भनेका थिए। सोही दिन उनले शल्यक्रिया गरी पित्तथैली निकालिएको र परीक्षणका लागि पठाइएको बताएका थिए, तर रिपोर्ट उपलब्ध गराएनन्।
शल्यक्रियापछि सुरेशको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि परिवारले उनलाई अन्य अस्पतालमा लगेको थियो। त्यहाँ गरिएको परीक्षणमा पित्तथैलीको उचित जाँच नगरी शल्यक्रिया गरिएको र भित्री अंगमा क्यान्सर फैलिएको चिकित्सकहरूले बताएका थिए। उपचारकै क्रममा सुरेशको ३२ साउन २०८१ मा मृत्यु भयो।
डा. गुप्ताको लापरबाहीका कारण मृत्यु भएको भन्दै परिवारले २८ पुस २०८१ मा नेपाल मेडिकल काउन्सिलमा उजुरी दर्ता गरेको थियो। सोही उजुरीमाथि अनुसन्धान गर्दै काउन्सिलले बयान र विषयविज्ञको रायका आधारमा कारबाही गरेको जनाएको छ।