जुम्ला — कर्णाली प्रदेशको दुर्गम क्षेत्रमा सेवा दिइरहेका एक चिकित्सकले चार महिनादेखि तलब नपाएको भन्दै गम्भीर गुनासो गरेका छन्। छात्रवृत्ति करारअन्तर्गत जुम्लाको कालिकाखेतु प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर आशिष प्याकुरेलले दुर्गम क्षेत्रमा सेवा दिँदा पनि प्रदेश सरकारबाट तलब नपाउँदा मन खिन्न भएको बताएका छन्।
डाक्टर प्याकुरेलका अनुसार उनी चार महिनाअघि छात्रवृत्ति करारमा कर्णालीको दुर्गम क्षेत्र जुम्लामा सेवा गर्न आएका हुन्। तर, सेवा सुरु गरेदेखि अहिलेसम्म प्रदेश सरकारबाट तलब नपाएको उनले बताएका छन्।
'मैले पटक–पटक जिल्ला जनस्वास्थ्य कार्यालयमा सोधेर थाकिसकेको छु,' उनले भने, 'प्रदेशमा कुरा गर्दा केन्द्रबाट रकम आएको छैन भन्ने जवाफ पाइन्छ।'
उनले दुर्गम कर्णालीमा चिकित्सकको अभाव रहेको अवस्थामा यस्तो व्यवहारले भविष्यमा यहाँ काम गर्न आउने डाक्टरहरू निरुत्साहित हुने चिन्ता व्यक्त गरेका छन्। 'कर्णालीमा काम गर्नु आफैंमा चुनौतीपूर्ण छ। त्यसमाथि छात्रवृत्ति बन्धनमा आएका डाक्टरलाई यस्तो व्यवहार गरियो भने भविष्यमा यहाँ कोही डाक्टर आउन चाहँदैनन्,' उनले बताए।
जुम्लाको चिसो मौसम र दुर्गम अवस्थाबीच सेवा दिइरहँदा आफ्नो मेहनतको पारिश्रमिक नपाउँदा मन खिन्न भएको उनले बताएका छन्। “दुर्गम क्षेत्रमा बसेर सेवा गरिरहेको छु तर तलब नै नआउँदा निकै निराश भएको छु,” उनले भने।
सम्बन्धित निकायले आफ्नो आवाज सुन्ने र समस्या समाधान गरिदिने आशा गरेको उनले बताए। डा आशिष प्याकुरेल हाल जुम्लाको कालिकाखेतु प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत छन्।