३५ वर्षीय टिकेन्द्रको जीवन राम्रै चलिरहेको थियो। जिल्लाको सरकारी अफिसमा एक प्राविधिक सहायकको रूपमा कार्य गर्थे। जीवन स्थिर गतिमा कागजपत्र-कम्प्युटरको काम, चिया-खाजा ब्रेक र कहिलेकाहीँ फिल्डको कामका साथमा अगाडि बढिरहेको थियो। उनी एक संयुक्त परिवारमा धनगढी बजारको बाहिरी भागमा बस्छन्। टिकेन्द्र परिवारमा सबैका प्रिय पात्र हुन्। मोटरसाइकल किनेदेखि जीवन सहज भएको छ र छिमेकमा गाह्रो-साह्रो पर्दा उनी सधैँ सहयोगका लागि हाजिर हुन्छन्।
सुदूरपश्चिमेली परिवारमा गोरसपातको ठूलो महत्त्व छ। उनको घरमा दुहुनो गाई-भैँसी प्रायः हुन्छ नै। घरको जीवन खुसी र हलचलपूर्ण नै थियो। दैनिक जसो घरमा चाउचाउ, चाउमिन, चटपटे वा मासु, सेल-पुरी जस्ता मिठो-मसिनो खानेकुरा बनेकै हुन्थे। घरमा कोही न कोही पाहुना आइरहन्थे र चिया पनि दिनमा ३-४ पटक बनेकै हुन्थ्यो। हेर्दा पनि हृष्टपुष्ट, मोटोघाटो, कहिल्यै रक्सी-चुरोट नखाने टिकेन्द्र घर-परिवारको नजरमा स्वस्थ थिए। तर यो धारणा एकाएक परिवर्तन भयो।
पछिल्लो केही महिनामा उनी सधैँ थकित, पेट फुलेको जस्तो र अल्छी महसुस गर्न थाले। विशेष गरी रातीको खानापछि अत्यधिक भारीपन हुन्थ्यो। तर अफिसको व्यस्तता, पारिवारिक जिम्मेवारी अनि स्वास्थ्यको लागि समय छैन भन्दै उनले वेवास्ता गरिरहे।
एक दिन आयुर्वेद चिकित्सालय, धनगढीमा सबै परीक्षण तथा टेस्टहरू गरिन्छ र उपचार पनि राम्रै हुन्छ भन्ने थाहा पाएपछि उनी अफिसको समय कटाएर चिकित्सकलाई भेट्न राजपुर धनगढीस्थित सो चिकित्सालयमा पुगे। चिकित्सालयमा परीक्षण गराउँदा उनको:
बिएमआई (उचाइ अनुसारको तौल) ३२,
पेटको गोलाइ १११ से.मि.,
रगतमा चिनीको मात्रा २१०,
SGPT 110,
रक्तचाप १४०/९० देखियो।
अल्ट्रासाउन्ड गराउँदा कलेजोमा बोसो जमेको (ग्रेड २ फ्याट्टी लिभर) पाइयो। चिकित्सकले यो समस्या सामान्य नभएको र मोटोपना, खानपान र जीवनशैलीको कारण हुने बताए।
नेपालमा परम्परागत खानपान र जीवनशैलीलाई विस्थापित गर्दै निष्क्रिय जीवनशैली र रेडिमेड, अधिक चिल्लोपन, नुन र गुलियोपनयुक्त खानपानका कारण मेदोरोग (नन-अल्कोहोलिक फ्याट्टी लिभर डिजिज) वृद्धि भइरहेको छ। साथै दक्षिण एसियालीहरूमा मांसपेशीको मात्रा कम हुनु, भित्री अङ्गहरूमा बोसो अधिक हुनु र पेटको गोलाइ अधिक हुनाले दक्षिण एसियालीहरूमा कलेजोमा बोसो जम्ने सम्भावना बढी हुन्छ। मेदोरोग दीर्घकालीन कलेजो रोगको प्रमुख कारण हो, जुन विश्वव्यापी रूपमा करिब २५ प्रतिशत मानिसहरूमा पाइन्छ। मेदोरोग सामान्य बोसो जम्ने (साधारण स्टियाटोसिस) देखि कलेजो सुन्निएर हुने स्टियाटोहेपाटाइटिससम्म फैलिन सक्छ, जुन क्रमशः बिग्रिँदै जाँदा कलेजो फेल हुने र कलेजोको क्यान्सरसम्म पुर्याउन सक्छ।
मेदोरोग (कलेजोमा बोसो जम्ने) भनेको के हो?
मेदोरोग (फ्याट्टी लिभर) भनेको कलेजोको कोषहरू भित्र केही विशेष बोसोहरू (ट्राइग्लिसराइड) असामान्य रूपमा जम्मा हुनु हो। यो रोग प्रायः तौल बढी हुनु, मधुमेह, कोलेस्ट्रोल, उच्च रक्तचाप जस्ता चयापचय सम्बन्धी (मेटाबोलिक) जोखिम कारकहरू साथै मदिरा, कहिलेकाहीँ केही औषधि वा वंशानुगत समस्याका कारण पनि हुन सक्छ।
चरक संहितामा (सूत्रस्थान २१) मेदोरोगलाई "व्यायाम नगर्नु, दिनमा सुत्नु वा सूर्योदयपछि सुत्नु, मधुर–स्निग्ध (गुलियो-चिल्लो) आहार" आदिका कारण बढ्ने मेद–प्रधान रोगको रूपमा व्याख्या गरिएको छ। जुन व्यक्तिले व्यायाम गर्दैन, दिनमा सुत्छ, कफवर्धक आहार ग्रहण गर्दछ, विशेषतः मधुर रस र स्निग्ध पदार्थको अधिक सेवन गर्दछ, तिनमा मेदको वृद्धि (Adipose tissue hypertrophy/ hyperplasia) हुन्छ। यस रोगमा अग्नि विकृति (मेटाबोलिक डिस्फंसन), वातदोषको विकृति र अन्ततः जटिल विकारहरू उत्पन्न हुन्छन्।
आधुनिक यकृतविज्ञानमा मेदोरोग भनेको अत्यधिक बोसो युक्त यकृत विकार (Hepatic Steatosis) हो, जसमा इन्सुलिन प्रतिरोध, एडिपोस टिस्युको असन्तुलित स्राव, बढी फ्याट्टी एसिडको प्रवाह, लिपोटोक्सिसिटी र आन्द्रा–यकृत सुजन (gut–liver axis) प्रमुख भूमिका खेल्छन्।
मेदोरोगका लक्षण के हुन्?
मेदोरोग भएका मानिसहरूलाई सामान्यतया कुनै लक्षण देखिँदैन, तर उनीहरू थकान महसुस गर्न सक्छन्। कहिलेकाहीँ यो रोग क्रमशः बढ्दै गएर गम्भीर अवस्थासम्म पुग्छ, जसमा फाइब्रोसिस वा सिरोसिस (कलेजोमा स्थायी क्षति पुर्याउँछ) हुन सक्छ। निदान पक्का गर्न र क्षतिको कारण तथा स्तर पत्ता लगाउन विभिन्न परीक्षणहरू आवश्यक पर्न सक्छ। धेरैजसो अवस्थामा धेरै वर्षसम्म कुनै स्पष्ट लक्षण नदेखिने रोग हो। रोगको ढिलो चरणमा पनि तपाईँलाई लामो समयसम्म कुनै लक्षण नदेखिन सक्छ।
सामान्य रूपमा देखिन सक्ने लक्षणहरू:
थकाई, कमजोरी वा सधैँजसो अल्छी लाग्ने।
पेटको दायाँ माथिल्लो भागमा असहजता (त्यही ठाउँमा कलेजो हुन्छ)।
ऊर्जा नहुने वा काम गर्न मन नलाग्ने।
गम्भीर अवस्थामा देखिन सक्ने लक्षणहरू (छिट्टै चिकित्सकलाई देखाउनु पर्ने):
छालामा र आँखामा पहेँलोपन।
छालामा सजिलै निलो दाग लाग्ने।
पिसाब गाढा हुने।
पेट फुल्ने वा पेटमा पानी जम्ने।
रगत वान्ता हुने।
धेरै कालो, टारजस्तो दिसा।
मस्तिष्कीय लक्षणहरू: बिर्सने, मुड परिवर्तन, निर्णय क्षमता कमजोर हुने, मानसिक भ्रम।
शरीर चिलाउने।
मेदोरोगका कारण के हुन्?
मेदोरोगका सबैभन्दा सामान्य कारणहरू यस प्रकार छन्:
अत्यधिक मात्रामा मदिरा, गुलियो र तारेको भोजन सेवन।
मोटोपना।
मेटाबोलिक जोखिम कारकहरू– जस्तै शरीरमा बढी तौल हुनु, इन्सुलिन प्रतिरोध (मधुमेहमा देखिने), रगतमा बोसो (ट्राइग्लिसराइड र कोलेस्ट्रोल) को उच्च मात्रा हुनु, र उच्च रक्तचाप।
विषाक्त पदार्थहरू (Toxins)।
केही औषधिहरू– जस्तै कर्टिकोस्टेरोइड्स, टामोक्सिफेन, र केही किमोथेरापी औषधिहरू।
गर्भावस्था।
यी सबै अवस्थाहरूले शरीरमा बोसो बढी उत्पादन गराउँछन् वा बोसोको उत्सर्जन (निकाल्ने प्रक्रिया) ढिलो गराउँछन्। त्यसैले, बोसो कलेजोका कोषहरूमा जम्मा भई भण्डारण हुन्छ। केवल बढी बोसो भएको खाना खाने बानीले मात्र फ्याट्टी लिभर हुँदैन, तर यसले रोग हुने जोखिम कारकहरू बढाउन सक्छ। दुर्लभ अवस्थामा, गर्भावस्थाको अन्तिम चरणमा पनि कलेजोमा बोसो जम्मा हुन सक्छ। यस अवस्थालाई गर्भावस्थाको फ्याट्टी लिभर भनिन्छ, जुन सामान्य फ्याट्टी लिभर भन्दा अलग रोग मानिन्छ।
रोगको चरणहरू र प्रगति
१. साधारण बोसो जमेको (शून्य अवस्था): कलेजोमा बोसो जम्छ तर सूजन वा दाग हुँदैन। पूर्ण रूपमा सुधार सम्भव।
२. बोसो जम्नको साथमा सूजन (पहिलो र दोस्रो अवस्था): बोसोका साथै सूजन सुरु हुन्छ, थोरै फाइब्रोसिस देखिन सक्छ। ७–१० प्रतिशत तौल घटाउँदा उल्लेखनीय सुधार सम्भव।
३. फाइब्रोसिस (तेस्रो अवस्था): कलेजोमा गहिरो दाग बस्न थाल्छ। चिकित्सकीय निगरानी आवश्यक।
४. सिरोसिस (चौथो अवस्था): कलेजोको संरचना नै बिग्रिन्छ। लिभर फेलियर वा क्यान्सरको जोखिम। विशेषज्ञ उपचार अनिवार्य।
परीक्षणहरू
मेदोरोग प्रायः सुरुवाती अवस्थामा लक्षणविहीन हुने भएकाले परीक्षणको विशेष महत्त्व हुन्छ। जोखिम समूह (मोटोपना, मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल भएका, ३० वर्ष पुगेका व्यक्तिहरू) मा नियमित जाँच आवश्यक हुन्छ।
शारीरिक परीक्षण:
बिएमआई (उचाइ अनुसारको तौल)
पेटको गोलाइ
रक्तचाप मापन
दोष, धातु, मल मूल्याङ्कन
अग्नि अवस्था परीक्षण
नाडी परीक्षा
जिह्वा, नेत्र, त्वचा निरीक्षण
रगत परीक्षण:
LFT (Liver Function Test): SGPT/ALT, SGOT/AST
लिपिड प्रोफाइल (Triglyceride, LDL, HDL, Total Cholesterol)
Fasting Blood Sugar / HbA1c
Serum Insulin (आवश्यकता अनुसार)
Serum Bilirubin, Albumin (गम्भीर अवस्थामा)
इमेजिङ परीक्षण:
पेटको अल्ट्रासाउन्ड: कलेजोमा बोसोको मात्रा अनुमान गर्न।
फाइब्रोस्क्यान: कलेजोको कडापन मापन गर्न।
एमआरआइ (विशेष अवस्थामा)।
उपचारहरू:
आहार विहार:
तारेको, गुलियो, प्याकिङ गरिएको खानेकुरा कम खानुहोस् वा नखानुहोस्।
जुसको सट्टा पानी पिउनुहोस्।
रक्सी पूर्ण रूपमा छोड्नुहोस्।
फलफूल खानुहोस्, यसको जुस नपिउनुहोस्।
रातो मासु कम गर्नुहोस् र यसको सट्टा माछा वा कुखुराको मासु खानुहोस्।
सेतो चामलको सट्टा ब्राउन राइस, कोदो, फापर, किनुवा प्रयोग गर्नुहोस्।
चिप्सको सट्टा नट्स र बीउहरू खानुहोस्।
मैदाको पास्ताको सट्टा गहुँ वा कोदोको पास्ता खानुहोस्।
रातिको खाना हल्का र सुत्नुभन्दा ३ घण्टा अघि खानुहोस्।
नियमित व्यायाम (हिँडाइ, योग, साइकल) गर्नुहोस्।
दिनमा सुत्न नहुने, ब्रह्ममुहूर्तमा उठ्ने, तनाव घटाउने।
शरीर शुद्ध गर्ने चिकित्सा (पञ्चकर्म विधिहरू) (रोगी बलवान भएमा प्रयोग गर्न मिल्ने):
विरेचन (औषधिद्वारा पखाला लगाउने) ले पित्त-कफको शोधन।
लेखन बस्ति– मेदहर (बोसो घटाउने) बस्ति।
निरुह बस्ति– जडिबुटीको काढा प्रयोग गरिने वस्ति।
उद्वर्तन (सुख्खा मालिस– त्रिफला चूर्ण आदिको)।
शमन चिकित्सा:
पुनर्नवा– कलेजो कार्यक्षमता सुधार र सूजन घटाउने।
भुईँ अमला– कलेजोको पुनर्जीवन।
चुत्रो– सूजन हटाउने।
त्रिफला– कलेजोमा जमेको बोसो कम गर्ने।
योगासन, प्राणायाम र ध्यान:
योग आसनहरू: सूर्य नमस्कार, अर्ध मत्स्येन्द्रासन, धनुरासन, भुजङ्गासन, पवनमुक्तासन।
प्राणायाम: नाडी शोधन, भस्त्रिका, कपालभाति।
के कलेजोको बोसो हटाउन सकिन्छ?
कलेजोमा जमेको बोसो सुरुवाती अवस्थामै थाहा भएमा हटाउन सकिन्छ। ५ देखि १० प्रतिशत शरीरको तौल घटाउनु सबैभन्दा उत्तम उपाय हो। गुलियो खानेकुरा बन्द गर्ने, प्रशोधित खाना नखाने र नियमित व्यायाम गर्नाले यसलाई उल्ट्याउन सकिन्छ। तर, सिरोसिस भइसकेपछि यसलाई उल्ट्याउन गाह्रो हुन्छ।
चिकित्सकको सल्लाहअनुसार टिकेन्द्रलाई जिब्रोमा राख्दा गुलियो स्वाद लाग्ने खानेकुरा पूर्ण रूपमा बन्द गर्न र टर्रो (कसिलो/कषाय) स्वाद भएका खानेकुरा समावेश गर्न सुझाव दिइयो। भोक लागेपछि मात्र भोजन गर्ने, र भोजन गर्दा मधुर, अमिलो, नुनिलो, तितो, पिरो (अदुवा, मरिच, पिप्ला जस्ता मसला) तथा टर्रो— यी छ वटै रस समावेश भएको सन्तुलित आहार लिन सुझाइयो।
उनलाई दिनमा एक छाक मात्र अन्नसहितको सन्तुलित भोजन गर्न सल्लाह दिइयो। “चराले जस्तो थोरै मात्रा अन्न सेवन गर्ने, भिक्षा माग्ने जोगीले जस्तो हिँड्ने र गाई–गोरुले जस्तो सागपात खाने” भन्ने व्यवहारिक जीवनशैली अपनाउन प्रेरित गरियो।
औषधिको रूपमा बिहान–बेलुका अर्जुन (Terminalia arjuna) को बोक्रा दूधमा पकाएर पिउने तथा सुत्ने बेलामा त्रिफलाको काढा सेवन गर्न दिइयो। ४५ दिनको अवधिमै उनको तौल १० केजी घट्यो। ५ फिट ७ इन्च उचाइ भएका टिकेन्द्रका लागि ६५ केजीसम्म तौल उपयुक्त मानिन्छ। रगत परीक्षणमा कलेजो सुन्निएको सूचकहरू (Liver enzymes) उल्लेखनीय रूपमा घटेर सामान्य दायरातर्फ आए। अब उनको शरीरमा फुर्ती थियो, अनुहारमा आत्मविश्वास देखिन्थ्यो, र काम गर्ने ऊर्जा उल्लेखनीय रूपमा बढेको थियो।
-(डा. ओम प्रकाश कलौनी प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढीमा कार्यरत छन्।)